Skip to content


हेर्छु उच्च हिमाल दङ्ग परदै हो शिर मेरो भनी
ति पाखा र पहाड छन् सुनसरी संसारम मै धनी
खोला वग्छ सुसेली हालि दिनहुँ बाँड्दै मिठो संगीत
हावा चल्दछ सर्सरी गगनमा बोकेर मिठो प्रीत ।। १ ।।

मेचिलाई विपद् पर्यो यदि भने कोशि सधैं साथ छ
सम्मै फाँट पहाड ज्यान बलियो हिमालको माथ छ
पग्लिएर सधैंभरी हिमगिरी अमृत झैं बग्छ जो
सट्टामा रसिलो छ पर्वत अझै कैल्यै सकिदैन त्यो ।। २ ।।

सेती रापती गण्डकी अनि महाकाली यहाँका भुषा
यि विष्णुमती बाग्मती नहर झैं सुक्दै गएका कता
पापैपाप पखाली शुद्ध गरने गङ्गा अति शुद्ध छिन्
मान्छेको व्यवहारले रुप गयो दिक्दार मान्दै बगीन् ।। ३ ।।

आउँदा छठ ईद क्रिस्मसहरु हाँस्छीन् मिथिलापुरी
शान्तिका दुतका तपोभुमी उता व्युँझाउछीन् लुम्बिनी
आस्थाका सबका धरोहर बनी मन्दिर मस्जिद छन्
आस्था धर्मप्रति भए पशुपति साह्रै कला मस्त छन् ।। ४ ।।

स्तुपा बौद्ध स्तम्भ दृष्टि गरदा क्या धन्य भो जिवन
शान्ति खातिर लौ स्वयम्भु पुगदा चङ्गा सरी भो मन
देख्दैछु कविता प्रकृति भरीमै झोला भरी पार्नु छ
लेख्दै श्लोक प्रतिक विम्बहरुले स्वर्गै यतै झार्नु छ ।। ५ ।।

फेवा आँगनीमा रमाई जसरी माछापुच्छर् नाच्दछ
ताहिँ ताल मिलाई गण्डकी अनि सेती कम्मर् भाँच्दछ
सृष्टिकै अति उच्च सुन्दरी उनि मुस्ताङकी संगी हुन्
रारा हात समाई छम्छम गरी धौलागिरी नाच्दछिन् ।। ६ ।।

टाढा जो छ उ गर्छ सोधनि सधैं कस्तो छ नेपाल यो
जान्दैन जसले महत्व भुमिको सस्तो छ नेपाल यो
विश्वैमा चिनिने प्रकृति रुपको कस्तो छ नेपाल यो
आँखा चिम्म हुँदा पनि नभुलने यस्तो छ नेपाल यो ।। ७ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *