जिन्दगीमा अँझै के के, हुन बाँकी छ ?
कति रोएँ अरू कति, रुन बाँकी छ ?
चकमन्न अँध्यारोले, निल्यो सधैं नै
तारा झरे टिल्पिलाउँदो, जुन बाँकी छ
बैगुनीले भुलिसके, टाढा सम्झिँदै
किन भन्थे फलानोको, गुन बाँकी छ ?
चाहनाका अग्ला महल, बले हुर्हुरी
खरानीको थुप्रो लाग्यो, छुन बाँकी छ
धर्मभन्दा पाप धेरै, गरे जस्तो भो
गंगाजलले अधर्म ती, धुन बाँकी छ
वेदनाले छातीभित्र, पोल्छ भतभती
विरहका पोका सबै, फुन बाँकी छ
रछ्यानमा मिर्किए झैं, भयो प्रतिभा
कस्ले सोच्छ खिया भित्र, सुन बाँकी छ ?
जननीलाई भुल्थेँ कहाँ, फिर्छु अवश्य
तिर्नु पर्ने भारा तथा, नून बाँकी छ
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
