घरायसी कामधन्दामा व्यस्त सरला फोनको घण्टी सुनेर फोनतिर लम्कन्छे।

“हजुर सरला म्याडम बोल्नुभएको होइन?” उताबाट आवाज आउँछ।

“हजुर बोल्दैछु।” सरला जवाफ दिन्छे।

“म विद्यासागर कलेजबाट प्रिन्सीपल बोल्दैछु। हजुरको बाबु बिनयको विषयमा केही कुरा गर्नु थियो हजुर यसो विद्यालयतिर आउनुहोला न है?”

शैक्षिक भ्रमणको लागि भनेर दुइदिन अगाडि निस्केको छोरोको बारेमा विद्यालयबाट त्यसरी फोन आउँदा उसको मनमा चस्को पस्यो। कुनै अनिष्टको आशङ्काले उसको मनमा घर गर्यो। फोन राख्नासाथ, हतार-हतार विद्यालय तर्फ लागि ऊ।

“के भयो सर बाबुलाई।” अत्तालिँदै प्राचार्य कक्षमा पस्नासाथ उसले सोधी।

“कृपया नआत्तिनुहोला। मलाई जहाँसम्म लाग्छ, तपाईँको बाबुलाई केही भएको छैन। भ्रमणको लागि भनेर बाबुले घरबाट कति पैसा लगेको थियो?”

अचानक आएको यो प्रश्नले उसलाई झस्कायो। यसतर्फ उसको ध्यान नै गएको थिएन। भ्रमण जानु अघि उसले विद्यालयको फिसमेत भनेर पैसा केही दिन अघिदेखि नै माग्दै थियो। उसको बाबुसँग दुबईमा फोन गरेर उसले पचासहजार मगाएर बिनयकै हात पठाएकी थिई। भ्रमणको लागि भ्रमण शुल्कका साथै विद्यालयको फि चुक्ता गर्नु उसलाई अचम्म त लाग्दैथियो तैपनि उसका बाबु बिदेशिएदेखि बजारको किनमेल देखि घरका कामधन्दामा पनि बेलाबेलामा सघाउने बिनयमाथि उसको पुरापुर विश्वास थियो।

उसले प्राचार्यलाई उसले ल्याएको रकमको जानकारी दिई। त्यसपछि केहीबेरको मौनतालाई भङ्ग गर्दै प्राचार्यले भन्न थाले।

“हेर्नुस, हामीले हजुरलाई अगाडि पनि रमिलासँग बाबुको हेलमेलको बारेमा पटक-पटक जानकारी गराएका थियौँ तर हजुर त्यो कुरा मान्न तयार हुनुभएन। छोरोमाथि हदैभन्दा बढी विश्वास छ भन्नुहुन्थ्यो। हिजो रातिदेखि दुवैजना इटहरीको लजबाट भागेर बेपत्ता भएका छन्….

प्राचार्यले त्यसोभन्दा भन्दै उसको आँखा अगाडि अन्धकार छायो। टेबुलको सहारा लिन खोज्दा खोज्दै कतिखेर भुँइँमा टाउको बजारियो पत्तै पाइन।

२०७१ पौष २८, सोमबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

4 thoughts on “बिश्वास (लघुकथा)”

  1. निकै दिनपछि्को मझेरी अागमनसमा
    निकै दिनपछि्को मझेरी अागमनसमा तपाइँलाइ स्वागत छ । अागमनका साथ काेसेली सुमधुर दिनभो । धन्यवाद ।

    1. धन्यवाद होम जी, अब अलि अलि
      धन्यवाद होम जी, अब अलि अलि समय निक्लँदै छ।

  2. धन्यवाद सम्पादक ज्यु। यहाँको
    धन्यवाद सम्पादक ज्यु। यहाँको मायाले तानीरहन्छ नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *