Skip to content

साँगुरी भञ्ज्याङ!

ढाकरभरी
सपनाहरूको भारी बोकेर
विकासको लहरहरुसंगै
चेतनाको सिंढीहरु
उक्लिनु भन्दा पहिले
मेरै छाती माथी
कञ्चन रोडाहरुमा
सरप-सरप
यरप-यरप
मलाई टेक्दै हिड्नेहरु
खै कहाँ – कहाँ पुगे कुन्नी ?

आज म एक्लो भएको छु
साह्रै नै सुनसान भएको छु
मेरो सेरोफेरोमा
“हुई पकन्दी” भन्नेहरु छैनन्
पालामख्यालीहरु सुनुँ -सुँनु लाग्छ
हाक्पारेसाम्लोहरु गाउँ-गाउँ लाग्छ
र त संझनाहरु पनि चर्को न चर्को भइदिन्छन्।

नयाँहरुको त कुरै नगरौं
पुरानै आँखाहरुले पनि
घुमाउरो पक्की बाटोको घुम्तीहरुदेखी मात्र
मलाई चिहाउने गर्छन्
म भन्दा अग्लो – अग्लो पहाडको टुप्पोमा उभिएर
नचिने झैं गरि नियालेर हेर्ने गर्छन्
त्यो पल झन् मलाई साह्रै एक्लो भए झैं लाग्छ
र मनभरी एउटा अमिलो छाल
यसरी उठिरहन्छ:
टाढैबाट “हुई पकन्दी” मात्रै भनेपनि
म कति खुसी हुन्थें होला!

आधुनिकताको रवाफमा
आफ्नै जवाफ दिन नसक्नेहरुलाई
टाढैबाट “हुई पकन्दी” मात्रै भनेपनि
म कदापी गुनासो गर्ने थिइन
“हुई पकन्दी” फर्काएर
सबै भन्दा पहिले
त्यै पुरानो भरियाहरुलाई
उहिलेको जस्तै सिकाउँने थिएँ,
पालाम ख्यालीहरु
हाक्पारे साम्लोहरु
तर उहिलेको जस्तै
ढाकरको भारिहरु नै
बोक्न वाद्य पार्ने थिइन।

आखिरमा
पुरानो तोक्माको डोबहरु
जति दुखे पनि
जतिसुकै बल्झिए पनि
बिना गुनासो
सबैलाई संझिरहन्थें
दोहोरो “हुई पकन्दी” मा
म साँगुरी भञ्ज्याङ!

चाँगे-५, ताप्लेजुङ
हाल: धरान-१०, सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *