Skip to content


एक रात समुद्रीयात्रामा निक्लेको एक घोडसवार सडक किनारको एक बिश्रामगृहमा पुग्यो। उ घोडाबाट ओर्लियो र अरू सबै यात्रुहरू जस्तै मानिसहरू तथा रात प्रति निश्चिन्त हुँदै घोडा बिश्रामगृहको द्वार नजिकैको एउटा रूखमा बाँध्यो र बिश्रामगृहभित्र पस्यो।

बिहान यात्रु बिउँझेपछि आफ्नो घोडा चोरीएको थाहा पायो। उसलाई आफ्नो घोडा हराएकोमा र चोरीको बिचार कुनै मानिसको मनमा आएकोमा दुःख लाग्यो।

त्यसपछि त्यस बिश्रामगृहमा बस्ने उसका सहयात्रीहरू उसको नजिक आए र कुरा गर्न थाले।

पहिलो व्यक्तिले भन्यो, “कति बेवकुफ तपाईँ त, घोडालाई तबेलाबाहिर बाँध्नु हुन्छ त?”

अनि दोश्रोले भन्यो, “अझ घोडाको खुट्टा नबाँधी छोड्ने!”

अनि तेश्रोले भन्यो, “पाटे अल्छी र सुस्तहरूले मात्र घोडा राख्छन्।”

यो सबै सुनेपछि त्यो यात्रुलाई आश्चर्य लाग्यो। उसले मुख फोऱ्यो, “मित्रवर, मेरो घोडा चोरी भएको छ त्यसैले तपाईँहरू सबै यहाँ जम्मा भएर मेरै दोष तथा कमजोरीहरू देखाउन हतार गरिरहनु भएको छ। आश्चर्य, यहाँहरूबाट एकै शब्दको गुनासो पनि त्यो चोरको बारेमा निस्केको छैन जसले मेरो घोडा चोऱ्यो।”

खलिल जिब्रानको लघुकथा Criticsको नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *