Skip to content


सुरक्षाको घेरा भित्र बसेर
कोही पनि ‘असुरक्षित छैनन’ भनिदिन्छन मान्छेहरू!
आफूलाई काँडाले घोचेन भन्दैमा
काँडाको विशेषता ‘तीखो हुनु वा घोच्नु होइन’ भनिदिन्छन मान्छेहरू!
कसैको शरीरको चौटा लुछिँदा उसैलाई,
‘सहिष्णुता’ को पाठ पढाउन खोज्छन मान्छेहरू!
मानसिक रुपले बिक्षिप्त भएको अवस्थामा,
‘शान्त’ रहने उपदेश दिन्छन मान्छेहरू!
रगतपक्ष भएको शरीरलाई घिसार्दै कुनामा पुर्‍याएर
‘हाँसेर बाँच’ भन्छन मान्छेहरू!
भोको पेट र नाङ्गो पिठ्युँमा टेकेर भाषण गर्दै
‘राष्ट्रभक्ति’ को पाठ पढाउँछन मान्छेहरू!
हिम्शाको पराकाष्ठा नाघेपछि निस्किएको आर्तनादलाई
सजिलै, ‘नकारात्मक सोच’ भनिदिन्छन मान्छेहरू!
यस्तैहरूको विम्ब भित्र अटाउँदै
आफूलाई ‘सुखी ठान्नु परेको छ’ भनिदिन्छन मान्छेहरू!
जतिसुकै साहस बोकेकाहरू किन नहुन,
आँटीलो हुनुको ‘गर्व’ त्यागेर
‘समाजवाट बाहिरिएर वाँच्न सक्तैनौँ/
चाहँदैनौँ’ भनिदिन्छन मान्छेहरू!
त्यसैले उत्तानो टाङ् नै लगाउनु परे पनि,
‘सफल जीवनको भान’ गरिदिन्छन मान्छेहरू!
ती मान्छेहरू; यी मान्छेहरू
हरेक क्षण
सफल कलाकारको अभिनय गर्न निपुण ‘हामी’ मान्छेहरू!

Leave a Reply

Your email address will not be published. Required fields are marked *