दोस्रो दर्जाको नागरिक म


मैले कहिल्यै जस पाइन
तराई झरेँ धोती भएँ
पहाड गएँ पाखे भएँ
नेपाली भनेर कसैले भनेनन्

दिनभरि भारी बोक्छु
आफ्नै श्रम बेच्छु
थकाई मार्न चौतारामा बस्दा
मलाई भरिया भन्छन
मलाई नाम्ले भन्छन
तर कहिल्यै मलाई श्रमजीवी भनिदैन

म धारामा बारिन्छु
बजारमा प्रतिबन्धित हुन्छु
यी हातमा सियोका डोबै डोब छन
आँखाले धागो उन्न सकुन्जेल
उन्कै कपडा सिलाउछु
र उन्कै मुखबाट दलिद कहलाउछु
म कहिल्यै मेहनति नेपाली हुन सकिन

एकछाक जोहो गर्न
थोत्रा कागज फलाम टिप्छु
सडक पेटीमा सुत्छु
मानिश त के कुरा सडकमा
कुकुर लेसम्म लघार्छ
खाते भन्छन सँभ्रान्त बुज्रुकहरू
तर कसैको नजरमा म बेसहारा बालक हुन सकिन

दिनभरि घाँस काट्छु
गाई चराउछु, गोबर सोहोर्छु
सखारै दुध दुहेर
उसकै दलिनमा पुर्याँउछु
र फर्कदाँ म गोठालो हुँ भन्ने
आभास लिएर फर्किन्छु
म सम्मानित कृषक हुन सकिन
एउटा गोठालो सिवाय !!

आमुल परिवर्तनका नारा आए
कृषी क्रान्तिका भाषण ठोकिए
दलिद प्रथा बिरुद्ध चर्का चर्की भए
कान चिरेका जोगिहरू छ्याप्छ्याप्ति देखिए
सडक बालक कै नाम बेचेर रातोरात करोडपति भए लखपतिहरू

तर म दोस्रो दर्जा को नागरिक भएर
पुस्ताउनी बाँचिरहेको छु
मानौ यै मेरो बिरासत हो !!

तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभूमिको छातीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *