१. प्रेमको बैङ्क
रूपैयाँको मात्र होइन प्रेमको पनि बैङ्क हुन्छ
फोटोको के कुरा ? हृदयको पनि फ्रेम हुन्छ
यी सबै तन र मन झरिला हुँदाका कुरा हुन् –
आँत मरेपछि र दाँत झरेपछि सबै खङग्रङ्ग हुन्छ
२. जिन्दगीः एक शब्दचित्र
आकार कटाइमा परेको
जिन्दगी बाँसको चोया हो
बाटेर खिरिलो भएको
जिन्दगी डोरीको पोया हो
तर असफलता हात लागेपछि
जिन्दगी छोडाएको मकैको खोया हो
३. आशा
भीडतन्त्र प्रजातन्त्रलाई आहत भो
प्रजातन्त्र जनताको चाहत हो
बजार महङ्गीको मुरली बजाउँदै छ –
फगत आन्दोलन नै अहिलेलाई राहत भो
४. व्यवहार
दिन न रात कहीँ सुनिदैँन सफा कुरा
आस्था भाकेथ्यौं व्यवहारले देखाए अपूरा
देशमात्र नभएर मान्छे नै अल्पविकसित हामी–
मौका पर्नासाथ एकर्कालाई धस्छौं छुरा !!
पेशल आचार्य
टीकाथली–४, ललितपुर
हाल : उपप्राध्यापक, मन्थली क्याम्पस, मन्थली, रामेछाप
