Skip to content


“म तपाईँलाई हजुरबुबा भनेर बोलाउँछु है।” अचानक पछाडिबाट आएको आवाजले झस्किए उनी। नाकको डाँडीमा अडिएको चश्मा मिलाउँदै उनले आगन्तुक तर्फ हेरे। रसाएको आँखाले देखेको धुमिल आकृति बिस्तारै प्रष्ट हुँदै गयो। त्यस्तै अठार – उन्नाइस वर्षको ठिटो उनी भएतिर आउँदैथियो।

उसको अनुहारमा एक चमक उनले देख्न सक्थे। उनलाई थाहा थियो यो चमक आजको लागि मात्र थियो। भोलिबाट उसको पनि हबिगत त्यहाँ भएका अन्य सबैको व्यक्तिको जस्तै हुने थियो। तर यो भाव उनी आफ्नो अनुहारमा ल्याउन चाहन्थेनन् त्यसैले मुसुक्क हाँस्दै जवाफ फर्काए – “हुन्छ बाबु। आखिर तिमी पनि मेरो नाति सरह नै त हौ नि। अनि बाबु कहाँबाट आएको हो नि? यहाँ प्रवेश कसरी पायौ त?” – उनले थप जिज्ञासा राखे।

“म पुर्वी तराईदेखि आएको हो हजुरबुबा। मलाई यहाँ पठाउन मेरा मित्रहरूले ठूलो सङ्घर्ष गरे। तीन-चार दिन आफ्नो दैनिक काम-काज, पठन-पाठन समेत ठप्प पारेर पुर्ण सङ्घर्ष गरे। विद्यार्थी सङ्घर्षको कारण मन्त्री परिषदसम्मको बैठक बसेर मलाई यहाँ पठाउने निर्णय गर्न सफल भएछन। मलाई त हजुरको बारेमा धेरै कुरा थाहा छ। मलाई सामाजिक शिक्षा पढाउनुहुने गुरूले हजुरको बारेमा धेरै कुरा भन्नु हुन्थ्यो।”

उनले पुलुक्क उसको मुखमा हेरे मात्र केही बोलेनन।

“हजुरबुबा, भोलिको उत्सव त हाम्रै लागि होइन र?” – उसले मौनता भङ्ग गर्दै उत्सुकता व्यक्त गऱ्यो।

“हो बाबु। हाम्रै लागि हो। यो उत्सव तिमी हामी जस्तै बिस्थापितहरूका लागि हो।” – उनले जवाफ दिए।

“तर किन हो म त कसैलाई पनि उत्साहित देख्दिन त?” – अचम्भित मुद्रामा उसले प्रश्न गऱ्यो।

“बाबु, यो प्रश्नको उत्तर त मात्र समयसँग छ। त्यसैले समय भन्दा अगाडि यसको खोजी गर्नु उचित हुँदैन। तिमी यहाँ यसपालि मात्र आएका हौ त्यसैले तिमीलाई यसको मेसो छैन। तर चिन्ता कदापि नगर। भोलि बिहानै तिमी र म लगायत हामी सबै जना उत्सव स्थलतिर जानेछौँ अनि तिमीलाई सबै कुरा थाहा हुन्छ।” – खल्तिबाट रूमाल निकालेर चश्मा पुछ्ने निहुँमा आँखा पुछ्दै शहिद दशरथ चन्दले भने।

२०७१ माघ १६ शहिद दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *