कवि शिरोमणि र मेरा पिता सोमनाथ घिमिरे व्यासको सम्पर्क एउटा अनौठो संयोगबाट हुन पुगेको थियो । त्यही संयोगले नै रामेछापको एउटा दुर्गम गाउँका पहाडिया पण्डितको परिवारलाई काठमाडौँमा बसोबास गर्ने अवसर जुरेको थियो ।
रामेछापको ठोसे भाषा पाठशालाका शिक्षक मेरा पितालाई आफ्नै गाउँ गहिराथोकका नरबहादुर खत्रीले जग्गासम्बन्धी मुद्दा हालेछन् । त्यही मुद्दाको तारेखमा १९९८ सालमा काठमाडौँ आएर रामेछापकै सुंदारपानी गाउँका कप्तान तेजबहादुर कार्कीको गहिरीधारास्थित घरमा बस्नुभएछ मेरा पिता । त्यसैबेला श्री ३ भीमशमशेरकी बुहारी जर्नेल रामशमशेरकी पत्नी समुद्रकुमारी राणाले टंगाल दरबारमा पुराण लगाउने भइछन् । पण्डित ब्राह्मणहरूको खोजीका क्रममा तेजबहादुरको सिफारसिमा पिता सोमनाथलाई त्यस पुराणमा बस्ने मौका जुरेछ ।
सप्ताह महापुराणका मुख्य वाचक पण्डित लेखनाथ पौड्याल हुनुभएछ । घेरामा विभिन्न आकर्षक फुर्का झुन्ड्याइएको झिल्के तासको पगरी लगाएको टाउको हल्लाउँदै बीचबीचमा आफ्ना कविताबाट समेत उदाहरण दिँदै पुराण वाचन गर्ने रमाइलो शैली थियो रे उहाँको । सप्ताहको तेस्रो दिन पुराण भन्दाभन्दै घाँटी दुखेर स्वर सुकेर अस्वस्थ हुनुभएछ लेखनाथ । उहाँको वाक्य नै नखुलेपछि त्यही पुराणमा वरण भएका ब्राह्मणहरूमध्येबाट नै एक जनालाई वाचक छानेर काम चलाउने निर्णय गरएिछ । कमान्डर इन चिफ पद्मशमशेरसहित ठूलठूला जर्नेल, कर्नेल, तिनका पत्नी र भाइभारदारहरू पुराण सुन्न आउने हुँदा केही तलबितल पर्यो भने अनिष्ट पो हुने हो कि भन्ने डरले उपवाचक उमानाथ (हिरण्यशमशेरको दरबारका पण्डित)सहित सबै पण्डितहरू पुराण वाचक बन्न हच्किचाएछन् । अन्त्यमा नपत्याइनपत्याई रामेछापे पण्डित सोमनाथ घिमिरेलाई सोधिएछ, उहाँले निर्धक्कसँग ‘सक्छु, भन्छु’ भन्नुभएछ । त्यसपछि माइला गुरुज्यू हेमराज पाण्डे, हेडगुरु सोमनाथ सिग्देलसहित पण्डित लेखनाथहरूका अगाडि एक अध्याय भागवत् अर्थसहित भन्न लगाइएछ । वाचन सन्तोषजनक देखिएपछि चौथो दिनदेखि लेखनाथको ठाउँमा काम चलाउ भएर बसी पुराण भन्न लगाइएछ मेरा पितालाई । सप्ताहको सांगेसम्म उहाँले नै भन्नुपरेछ । उहाँको वाचनकलाबाट कर्ता समुद्रकुमारीसहितका राणा परविार कतिसम्म प्रभावित भएछन् भने एक वर्षपछि १९९९ सालमा सोमनाथ घिमिरेलाई रामेछापबाट झिकाई शिक्षकको जागिरबाट राजीनामा दिन लगाई समुद्रकुमारीले आफ्नो दरबारमा पुराणवाचक पण्डितमा नियुक्त गरछिन् । यति मात्र होइन, फेर िअर्को सप्ताह लगाएर उहाँलाई नै वाचक बनाएर नयाँ घरजग्गा-गाईगोठसहित दान दिइछन् । टंगाल गहनापोखरीको त्यसै नयाँ घर प्रवेशको साइतका बेला हाम्रो परविार २००३ सालमा रामेछापबाट आई काठमाडौँ बसाइँ सरेको थियो ।
कवि शिरोमणि लेखनाथ भीमशमशेरकी कान्छी पत्नी सीता महारानीका पण्डित हुनुहुन्थ्यो भने सोमनाथ सीता महारानीकै बुहारी समुद्रकुमारीका पण्डित हुनुभयो । लेखनाथले जर्नेल तेजशमशेर राणाबाट घरजग्गा दान पाउनुभएको थियो भने सोमनाथले समुद्रकुमारी राणाबाट । यस्तो समानता भएका, सासू-बुहारीको दरबारका यी दुई पण्डितमा सम्बन्ध, सम्पर्क हुनु स्वाभाविकै भयो । त्यसमाथि पनि लेखनाथसँगैको घटना तारतम्यबाट आफू सदरयिा भएर नेपाल खाल्डो निवासी हुन पाएकामा सोमनाथको उनीप्रति कृतज्ञता भाव हुनु पनि स्वाभाविकै थियो । समुद्रकुमारी राणा र मेरा पिता सोमनाथबाट पाएको जानकारी अनि आफैँले देखेका घटनाहरूका आधारमा लेखनाथको जीवनका केही झल्याकझुलुक तस्बिर यहाँ प्रस्तुत गरेको हुँ मैले ।
भीमशमशेरको दरबारमा केटाकेटी र महिलाहरूलाई पढाउने काम पहिले पण्डित भूरमणि गर्थे । उनी सोझा र सरल प्रकृतिका भएकाले केटाकेटीहरूलाई काबूमा ल्याउन सकेनन् । समुद्रकुमारीकी सासू, भीमशमशेरकी माहिली पत्नी वदन दिव्येश्वरीले आफ्नो दरबारका हजुरिया पण्डित सदाशिव दीक्षित (डा. हेमाङ्ग दीक्षितका हजुरबुबा)लाई केटाकेटी पढाउने एक जना गतिला पण्डित खोजिदिन भनिन् । सदाशिवले आफ्ना छोराछोरी पढाउन घरमा पोखराका एक जना विद्यार्थी राखेको छु, उनैलाई ल्याइदिन्छु भनी लेखनाथलाई भीमशमशेरको टंगाल दरबारमा १९६८ सालमा प्रवेश गराएका थिए । लेखनाथ भीमशमशेरका छोरा यज्ञशमशेर, नातिहरू वसन्त, सुवर्ण, महावीर, सत्य, मनशमशेरसहित बुहारी छोरीहरू समुद्रकुमारी, टुकुमैयाँ आदिलाई पढाउनुहुन्थ्यो । कतिलाईर् त अक्षरारम्भ पनि गराउनुभयो उहाँले । भीमशमशेरका केटाकेटी पढाउने सन्दर्भमा कवि लेखनाथले १९६८ सालतिर पञ्चतन्त्रलाई संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभयो । त्यसबेलासम्म हाम्रा लेखनाथ कवि शिरोमणि भइसक्नुभएको थिएन, बरु राणाका दरबारका अदना शिक्षक हुनुहुन्थ्यो । तत्कालीन राणा प्रधानमन्त्री भीमशमशेरका केटाकेटीलाई पढाउन सजिलो होस् भनेर नै पञ्चतन्त्रलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्नुभयो । त्यो पुस्तक भीमशमशेरलाई समर्पण गर्दै लेखनाथ यस्तो लेख्नुहुन्छः
हुनुहुन्थ्यो महाराज भीमशमशेर भूपति
जसको प्रोज्वल देखिन्थ्यो सर्वदा न्यायपद्धति
उहाँको प्रेरणाद्वारा लोककल्याण खातिर
भाषामा लेखिएको यो पञ्चतन्त्र मनोहर !
उहाँकै कीर्तिको दिव्य पताका तुल्य भइकन
फर्फराओस् भनी गर्छु श्रद्धासाथ समर्पण !
लेखनाथ बेलाबेला सीता महारानीको दरबार सीता भवन -अहिलेको बालमन्दिर, नक्साल) जानुहुन्थ्यो र टंगाल दरबारमा समुद्रकुमारीकहाँ पनि आउनुहुन्थ्यो । समुद्रकुमारी विशेष तिथिपर्वमा ब्राह्मण भोजन गराउँथिन् । लेखनाथ भान्सामा धोती फेरेर खान बस्नुहुन्थ्यो । भोजन चाँदीका थाल-कचौरामा पस्किएको हुन्थ्यो । एकपटक तरकारी मुखमा हाल्नेबित्तिकै झोक्किएर उहाँले सोध्नुभो, “आज कोही राणाजी मरे कि क्या हो ?” समुद्रकुमारीले भनिन्, “कोही मरेको छैन ! किन र पण्डित बाजे ?” “अनि किन तरकारी अलिनो त ?” यो सुनेपछि ढिके नून पिँधेर भान्से बजैले रिकापीमा टक्र्याइन् । लेखनाथको क्रोध फेरि भान्से बज्यैसँग यसरी खनियो, “के काँचो नून खाने गोरु देख्यौ मलाई ?” यस्तो रिसाहा स्वभाव थियो लेखनाथको । एकादशी कहिले बाजे ? भनेर कसैले सोध्यो भने, मेरो घ्याम्पोमा जहिले चामल सकिन्छ, त्यही दिन एकादशी ! भन्नुहुन्थ्यो । यस्तो ठट्टा गर्न पनि पोख्त हुनुहुन्थ्यो उहाँ ।
००८ असार २९ गते राजा त्रिभुवनबाट लेखनाथले मासिक दुई सय रुपियाँसहित ‘कवि शिरोमणि’ उपाधि पाउनुभयो । यसबाट लेखनाथको परविारमा हर्ष त छायो नै, आफ्नै दरबारका पण्डितलाई कदर गरिएकामा सीता भवन र टंगाल दरबारमा पनि खुसीयाली छायो । त्यसै दिन लेखनाथ सीता महारानीकहाँ दाम राख्न आउने भन्ने खबर आयो । सीता महारानीले त्यस अवसरमा उपस्थित हुन समुद्रकुमारीलाई पनि डाकिछन् । समुद्रकुमारीका दरबारबाट उनका परविारसहित मेरा पिता पनि सीता भवन जाने सुइँको मैले पाएँ । त्यो दाम राखेको हेर्न जाने ढिपी मैले गरेँ । पिताजी नआउँदै समुद्रकुमारीको मोटरमा घुसेर सिटमा बसेँ । त्यो बेला भर्खर १० वर्ष लागेको थिएँ म । सबै जना सीता भवन गएर बैठक कोठामा बस्यौँ । सीता महारानी, समुद्रकुमारी र उनका नातेदार राणा परिवारहरू कौचमा विराजमान थिए । अरू छेउको भुइँको गलैँचामा बसेका थिए । यत्तिकैमा लेखनाथ पण्डित बाजे बैठक कोठाभित्र प्रवेश गर्नुभयो । कालो शेरवानी कोट, सेतो सुरुवाल, मक्खी बुट्टे टोपी लगाएका निधारमा श्रीखण्ड चन्दनको त्रिपुण्ड घसेका, लट्ठी टेकेका लेखनाथ त्रिभंगी हिँडाइमा सेतो लामो दारी हल्लाउँदै आउनुभएको थियो । लट्ठी ढोकाको कुनातिर ठड्याएर सीता महारानीका अगाडि उहाँ उभिनुभो । शेरबानीको तल्लो जेबमा हात घुसारी चाँदीका तीन-चारवटा डबल झिकेर भुइँमा फालेर अँजुली आकार बनाएका दुवै हातघुँडा अगाडिबाट तलमाथि गर्दै उहाँले यी शब्द बोल्नुभो, “श्री ५ को सरकारबाट मलाई कवि शिरोमणिको मान र भत्तासमेत बक्सियो । त्यही खुसीयालीमा दाम राख्दै भिक्षुक स्वस्ति गर्छ !” सीता महारानीले मेरा पितातिर हेरेर सोधिन्, “यो कवि शिरोमणि भनेको कस्तो जागिर हो, के दर्जा हो ? पण्डितजी !” पिताजीले कुरो बुझाएर भन्नुभो, “कविता-सिलोक लेख्नेहरूमा सबभन्दा गतिलो जान्ने कवि लेखनाथ बाजे हो भनेर कदर गरेर दिएको दर्जा हो यो, जागिर होइन ।” अनि, ‘ए ! कुरो बुझेँ, खुसी लाग्यो’ भन्दै भुइँमा खसालेको डबल टिप्न भनिन् लेखनाथलाई । उहाँले ती डबल टिपेर फेर िगोजीमा घुसार्नुभयो । यत्तिकैमा सीता महारानीले एउटी सुसारेलाई इसारा गरनि् । चाँदीको छाप्री, किस्ती बोकेकी सुसारे अघि सरेपछि लेखनाथलाई टीका र माला लगाएर थैलीमा केही दक्षिणा पनि दिइन् सीता महारानीले । लेखनाथ पण्डित बाजेको त्यस्तो दर्जा, मान बढेकामा त्यहाँ उपस्थित सबैले हर्ष प्रकट गरे । लेखनाथले सीता महारानीका अगाडि झुकेर स्वस्ति गर्दैर् दाम राखेको त्यो दृश्य ताजै छ मेरो आँखामा आज पनि । अहिले म सोच्छु, भर्खर प्रजातन्त्र आएर निरंकुश राणा शासन सकिएको बेला छ, राजा त्रिभुवनले कवि शिरोमणिको मान दिएका छन् तर दाम राखेर दर्शन गर्न पुग्छन् लेखनाथ राणा श्री ३ भीमशमशेरकी पत्नी सीता महारानीकहाँ ! आजको सार्वभौम अधिकार सम्पन्न स्वाभिमानी पुस्ताका दृष्टिमा लेखनाथको त्यस्तो व्यवहार अनौठो लाग्न सक्छ ! तर, त्यस बेलाको समाज र लेखनाथका दृष्टिमा यसलाई आश्चर्यको विषय बनाउनुपर्ने कारण देखिँदैन । जुन परिवेशबाट अघि बढ्दै सङ्कटको भुमरीमा गोता मार्दै कास्कीको अर्चलेबाट सदर राजधानी आएर भीमशमशेरलाई रिझाउने मौका टंगाल दरबारकै भरथेगबाट पाएर लेखनाथको प्रगतिको ढोका खुल्यो, त्यस्ता आफ्ना उन्नतिका कारक राणाहरूका सामु त्यस्तो आस्था प्रदर्शन अस्वाभाविक र अनुचित होइन कि ? विचारणीय छ ।
लेखनाथको दारीबारे पनि समुद्रकुमारीबाट रमाइलो कुरा सुनेको थिएँ मैले । पहिले उहाँको गालामा दारी थिएन रे ! दाहिने गालामा सानु मासुको डल्ला थियो । पढाउन लाग्दा केटाकेटीहरू ‘यो डल्लो के हो गुरु ?’ भनेर सोध्थे रे ! लेखनाथको जवाफ हुन्थ्यो, “यो मेरो कविताको पोको हो, चाहिएका बेला यहीँबाट निकाल्छु ।” यसरी आफ्नो त्यो डल्लोबारे धेरैले जिज्ञासा राख्न थालेपछि डल्लो छोप्न नै उहाँले दारी पाल्न थाल्नुभएको कुरा मैले सुनेको हुँ ।
पछिसम्म पनि लेखनाथको सीता भवन र टंगाल दरबार धाउने क्रम चलिरहेकै देखिन्थ्यो । ०१८ सालतिर सीता भवनबाट र्फकंदा लेखनाथ हाम्रो घरमा पिताजीलाई भेट्न आउनुभएको थियो । पिताजीलाई त्यसबेला बराबर भारतको कलकत्ता जाने काम पर्दथ्यो । लेखनाथले कलकत्ताबाट एउटा टेक्न हुने राम्रो लट्ठी ल्याइदिन भन्नुभएको रहेछ । त्यही लिन आउनु भएको रहेछ । नयाँ लट्ठी लिएर आफ्नो पुरानोचाहिँ छाडेर उहाँ जानुभएको थियो । छोडेको लट्ठी पुर्याउने निहुँमा ठमेलस्थित कवि शिरोमणिको घरमा म सर्वप्रथम गएको थिएँ । त्यसबेला रचना पत्रिकाको प्रकाशन तयारी चलिरहेको थियो । मैले मौकाको फाइदा उठाउँदै रचना निम्ति एउटा कविता मागेँ । तर, कविशिरोमणिले नयाँ कविता आफूसँग नभएकाले पछि दिने आश्वासन दिएर बिदा गर्नुभो । एक-दुईपल्ट उहाँको घर गए पनि कविजी कहिले सुतेर आराम गररिहेको र कहिले सञ्चो नभएकाले गर्दा कविता नपाइ र्फकनुपर्यो । कविशिरोमणिको कविता रचनामा छाप्ने संयोग नजुरेकामा अहिले मलाई थक्थक् लाग्छ । जेहोस्, नेपाली वाङ्मयमा आफ्नो अकाट्य छाप छोड्ने महान् स्रष्टा कविशिरोमणिलाई नजिकबाट हेर्न र केही जान्न पाएकामा आफूलाई गौरव लाग्नु स्वाभाविकै हो । उहाँको समेत कारणबाट आफ्नो परिवार काठमाडौँबासी हुन पाएकामा ती विख्यात काव्यशिल्पीप्रति झन् श्रद्धाले अनायास मेरो शिर निहुरिन्छ ।
नेपाल साप्ताहिक ३२६
