Skip to content

पर्वका परिकार (माघे संक्रान्ति)


हरेक वर्षको माघ १ गते माघे संक्रान्ति मनाउने प्रचलन छ । माघे संक्रान्ति भन्नेबित्तिकै घ्यू, चाकु, तिलको लड्डु, तरुल, सेल, फुलौरा आदि परिकारहरूको सम्झना आउँछ । हाम्रो देशको चाडपर्व, संस्कृति र सोसँग गाँसिएको खानपान प्रकृति एवं मौसम सुहाउँदो छ । तराईमा यो दिन माघी नामले विशेष पर्वका रूपमा मनाउँछन् । कतिपय स्थानमा ठूलो मेला, हाटबजार लाग्ने गर्छ । माघ जाडो महिना भएकाले शरीरलाई न्यानो राख्न बढी शक्तिको आवश्यकता पर्छ । शक्तिले नै शरीरलाई ताप दिने र क्रियाशील बनाउने गर्छ । तसर्थ यस्तो मौसममा शक्तिबर्द्धक खाद्यवस्तुको सेवन गर्न आवश्यक हुन्छ । माघ महिनामा जाडोबाट शरीरलाई सुरक्षित राख्न माघे संक्रान्ति पर्वविशेषको शक्तिबर्द्धक खानाको विशेष महत्त्व छ ।

माघे संक्रान्तिमा खाने विभिन्न खाद्य परिकारहरूमध्ये चाकु प्रमुख परिकार हो । उखुको रसबाट बनेको चाकुले शरीरलाई शक्ति दिनुका साथै यसमा खनिज पदार्थ पनि प्रशस्त पाइन्छ । यसमा पाइने पोटासियम र म्याग्नेसियमजस्ता खनिज तत्त्वहरूबाट स्नायु प्रणालीलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । रक्तअल्पता भएका महिला, बालबालिका तथा गर्भवती महिलाहरूका लागि चाकु लौहतत्त्वको राम्रो स्रोतका रूपमा लिन सकिन्छ । यसको सेवन रक्तअल्पता न्यूनीकरण गर्नमा मद्दत मिल्छ । त्यसैले सुत्केरी महिलाले चाकु खाएमा शिशुका लागि प्रशस्त दूध आउँछ भन्ने पनि किंवदन्ती रहिआएको छ ।

चिनीलाई पकाउँदा खैरो रंगको हुन्छ, जसले खानामा स्वाद र वास्ना थप गर्न एवं खाना स्वादिलो बनाउन मद्दत गर्छ । एक सानो चम्चा चाकुले करिब २० किलो क्यालोरी शक्ति प्रदान गर्छ । यसर्थ मधुमेहबाट ग्रसित बिरामीबाहेक सबैले यसको सेवन गर्न सकिन्छ । विशेषतः बालबालिका, युवती, महिला, गर्भवती महिला, सुत्केरी महिलालाई यसको सेवनले रक्तअल्पताजस्तो जोखिम रोगबाट बचाउन मद्दत पुर्‍याउँछ । दमको रोगीहरूलाई पनि चाकु लाभदायक हुन्छ ।

माघे संक्रान्तिमा चाकुसँगसँगै घ्यू पनि खाइन्छ । त्यसैले नेवार समुदायमा यस पर्वलाई ‘घ्यःचाकु संलु’ भन्ने गरिन्छ । घ्यू पनि शक्ति प्रदान गर्ने खाद्यवस्तु हो । एक ग्राम चिल्लो पदार्थले ९ किलो क्यालोरी शक्ति प्रदान गर्छ । एक चम्चा घ्यूले करिब ४५ किलो क्यालोरी शक्ति प्रदान गर्छ । शरीर मोटोपन हुनेहरूले यसको सेवन नियन्त्रित रूपमा मात्र गर्नुपर्छ । घ्यूमा ब्युटेरिक एसिड भनिने चिल्लो पदार्थको अंश हुन्छ, जसले घ्यूमा मीठो वास्ना प्रदान गर्छ । दालमा घ्यू झानेर वा खानामा घ्यूको प्रयोगले खानालाई स्वादिलो बनाउनमा पनि मद्दत गर्छ । साथै जाडोमा चिल्लो पदार्थको सेवनले शरीरलाई न्यानो पार्न मद्दत गर्छ ।

माघीमा तिलमा चाकु मिलाई तिलको लड्डु बनाई खाने प्रचलन छ । तिलको तेल हाम्रो स्वास्थ्य र शरीरका लागि राम्रो मानिन्छ । यसले केही हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट गर्छ । यसले रक्तनलीमा हुने अवरोधलाई हटाउन पनि मद्दत गर्छ । तिलको तेलमा शरीरका लागि आवश्यक चिल्लो तत्त्वहरू रहेको हुन्छ । तिलमा भएको पौष्टिक तत्त्वले आन्द्राको कोषहरूलाई पोषणतत्त्व आपूर्ति गर्ने कार्यमा मद्दत गर्छ । तसर्थ यसलाई गुणकारी आयुर्वेदिक तेलका रूपमा लिने गरिन्छ ।

माघे संक्रान्तिमा तरुल उसिनेर, भुटेर वा तरकारीका रूपमा खाने गरिन्छ । तरुल हिन्दु जातिको पवित्र खानाका रूपमा मान्दै आएको छ । काँचो तरुलमा एन्टी न्युटि्रसनल तत्त्व जस्तै- शरीरलाई हानि गर्ने र कोक्याउने तत्त्व हुँदा काँचो तरुल खान स्वस्थकर हुँदैन । पकाएको तरुलमा यी तत्त्वहरू निर्मूल हुन्छ । तरुल शक्तिबर्द्धक खाद्यवस्तु भएकाले शरीरमा शक्ति प्रदान गरी जाडोयाममा शरीर सुरक्षित राख्न मद्दत गर्छ । यसले हामीलाई शक्ति दिनुका साथसाथै प्रशस्त खनिज पदार्थसमेत रहेकाले शरीरलाई फाइदाजनक हुन्छ ।

यस पर्वमा शक्तिबर्द्धक खानाका परिकार खानुका साथै चामल र दाल मिसाएको खिचडी, माछा-मासुको पनि सेवनले शरीरलाई वृद्धि विकास गर्ने आवश्यक प्रोटिन तत्त्वहरूको आपूर्तिले शरीर स्वस्थ राख्न मद्दत गर्छ । माघे संक्रान्तिमा शक्तियुक्त, प्रोटिनयुक्त, चिल्लो पदार्थ, खनिज तत्त्वहरू प्रशस्त भएका विभिन्न परिकार बनाई चाडपर्व विशेष खाद्य पदार्थको सेवन गर्ने प्रचलनले समयानुकूल सन्तुलित भोजनमा पर्वको विशेष महत्त्व रहेको छ ।

लेखक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी उपमहानिर्देशक हुन् ।

1 thought on “पर्वका परिकार (माघे संक्रान्ति)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *