Skip to content


झरी ठुलो बेगमा छ । आकास धरतीलाई ब्राम्हास्त्र झैँ लाग्ने डरलाग्दो चट्याङ्ग प्रहार गर्दै थियो । ती प्रहारहरू कतै रुखका हाँगाहरूलाई सुकाउन झरे भने कतै बस्न बस्न लागेको बस्ती उठाउन । भोलि उज्यालो भएर घाम देख्न पाउने झिनो आशामा सारा संसारको सुत्ने कोसिस जारी छ । निद्रा कसैलाई परेको छैन ।

भिटामिनको सीसी दुलो पारेर बनाएको मट्टितेल बत्तीको सहारामा बीरबहादुर आफ्नो छोराले लाहोरबाट पठाएको दुई वर्ष पुरानो चिठी एकाउन्नौ पटक पढ्दै छ । छतको फुटेको टायलबाट पानी चुहुदो छ । चुहिएको पानी आतंकबाट बच्न कतै बटुका कतै अम्खरा त कतै कसौंडी थापिएको छ । बीरबहादुरकी पत्नी निर्मला ओछ्यान मिलाउदै छिन् । गोठमा गाइ बस्तु कराएको पनि सुनिन्छ ।

“नसुतेर के गरिराख्या ?” निर्मलाले एक गिलास तातो पानी बीरबहादुरको नजिकै राखेर सोधिन् ।

“तलाई निद्रा लागेको छ र ?” बीरबहादुरले आफ्नो चस्मा मिलाउदै निर्मलातिर फर्केर सोध्यो ।

निर्मला केही बोलिनन् । तर उसको मौनताले धेरै कुरा प्रस्फुटन गरेको थियो जुन कि त उनैले बुझेकी थिइन् कि वीर बहादुरले अलि अलि बुझेको थियो कि भगवानले यदि छन् भने ।

“तिमीहरूलाई खुसीले राख्न सकिन हगी ?” बीरबहादुरले चस्मा फुकालेर सिरानी नजिकै राखे । अनि खाटमा पल्टिदै भने ।

“ह्या सुत्नुस् अब के नचाइने कुरा गरिरा ?”

“मैले त केही कमाउन सकिन अलि अलि भएको पनि कुकुरले लाहोर गएर कमाएर ल्याउछु भनेर लिएर गयो आजसम्म अत्तोपत्तो छैन । एक चोटी चिठी पठाएको थियो न त त्यस पछि चिठी नै आएको छ न त खबर नै । बुहारी ल्याएर घरमा राखिदिएको छ । त्यसको पो बिचल्ली भएको छ बरा । तैले पनि काम गर्न नसक्ने भैहालिस् बिचरा त्यो बुहारी मात्रैले घाँस, दाउरा, कुलो अनि पधेरो एक्लैले कसरी गरोस् । घरको हालत यस्तो छ छत बनाउन सकेको छैन।”

कान्छा बा…. कान्छा बा……

भोलिपल्ट बिहानै बीरबहादुर बाँसको चोया पानीमा भिजाउदै थिए । गाउको हुलाकी गोठको तगारो देखिनै चिच्याउदै आयो । “सरकारले पोहोर खोलाले बगाएको खेतको पैसा दिने भएको छ । कठ्ठाको दुई हजार । तपाईं पनि आफ्नो पैसा लिन सदरमुकाम जने हैन ?”

बीरबहादुरको अनुहारमा एकाएक वसन्त लाग्यो । दुई थोपा तप तप खुसीका आँसु आँखाबाट चुइएर उनका गलबन्दीमा झर्यो । हृदयले चाहेकोभन्दा बढी जस्तो माहोल हुँदै थियो, त्यसैले ऊ अत्यन्त विस्मित भयो । एकछिन त उसलाई विश्वास नै भएन बिपना भन्ने त्यसैले सुटुक्क आफ्नो हातमा भएको चोया खुर्कने छुरीले बिस्तार हातमा घोच्यो । अनि बिपना भन्ने प्रमाणित भएपछि चिच्याउदै निर्मलालाई बोलायो ।

“काली ! अब हाम्रो दु:खका दिन रित्तिए छन् । त भन्थिस् नि भगवान्ले एक दिन हामीलाई जरुर हेर्छन् भनेर हेर, त आज भगवानले हेरेका छन् । अब त्यो पैसाले हामी घर राम्रो बनाउनु पर्छ अनि लालबहादुरले बारी बेच्छ रे त्यो पनि किन्नु पर्छ । ल्या त त्यो मेरो कोट अलि राम्रो भएर जानु पर्यो नि पैसा लिन त”

निर्मला भित्रबाटै सम्पूर्ण कुरा सुन्दै थिइन् त्यसैले हत्तपत सन्दुकबाट कोट झिकेर ल्याइदिन । निर्मलाको अनुहारमा आज धेरै वर्ष पश्च्यात चमक देखेका छन् बीरबहादुरले । उनी पनि गद्गद् छन् आज ।

उनी कुदा र कुद गरेर सदरमुकाम पुगे । बटामा मिठा मिठा सपना बुन्दै । बुढो ज्यान थकाइ त अधिक नै लागेको थियो होला तर सुखको दिनमा साना तिना दु:खको कसले वास्तागर्छ । उनी एक ठाउमा पनि टुसुक्क नबसी सदरमुकाम पुगे ।

त्यहाँ मान्छेहरूको भीड अत्यन्तै देखिएको थियो । चार पाच जना त ढुंगा लिएर कार्यालयतिर हान्दै पनि थिए । पुलिसले उनीहरूलाई समातेर लादै थियो । त्यो मध्धेको एउटा चिच्यायो, “सरकारले गरिबको लागि भनेर ल्याएको योजना तिमीहरू धनिहरू कै लागि त होनी । हाम्रा बाजु बराजे देखि दु:ख गर्दै आएको त्यो एउटा फगटो थियो त्यसलाई पनि ऐलानी र नम्बरी भन्ने अनेक बहाना बनाएर हाम्रो लागि आएको पैसा यो पाली पनि तिमीहरू नै खायो । हामी गरिब त जन्मन्छौ मर्छौ । तिमीहरूको स्वास्नी ने झुम्रो किन्न पाएनन् भने त बरवाद नै भैहाल्छ नि ।”

पुलिसले तिनीहरूलाई कुट्दै लग्यो । बीरबहादुर पनि ऐलानी भन्ने सब्दबाट झस्कियो । उसले पनि पैसा नपाउने भयो । डङ्गुर जग्गा भएको जमिनदारहरूले पैसा पाए खान लाउन नपुग्ने बीरबहादुरले पैसा पाएन । निरास भएर रित्तै हात घर फर्कियो । फर्कादा ऊ धेरै पटक ढुंगामा थकाइ मार्दै आएको थियो । आफ्नो लोग्नेको निरास अनुहार देखेपछि निर्मलाले केही सोधिनन् बीरबहादुर अलिकति भात खाएर सुत्न गयो । निर्मला रातभरिनै खातमा पल्टेर आँसु झरिनै रहिन् ।

यहिरहेछ जीवनको समय चक्र । दु:ख अलिकति सुख अनि फेरि दु:ख

Leave a Reply

Your email address will not be published. Required fields are marked *