स्वर्गमा हाहाकार मच्चियो।
सबै देवगणहरू जम्मा भएर देवराज इन्द्रछेउ पुगेर बिन्तीभाउ गर्न थाले।
“देवेन्द्र, हामी सङ्कटमा पऱ्यौँ।” – पवन देव।
“अब अरू प्रतिक्षा गर्न सकिँदैन।” – वरूण देव।
“हाम्रो शक्ति क्षीण हुँदै गइरहेछ।” – अग्नि देव।
देवताहरूको अनूनय सुनेपछि देवेन्द्रले भने – “हे देवगण! हाम्रो सङ्कटको बेलामा हामीले परमपिता ब्रह्माजीसँग गुहार माग्ने हो। हिँडनुहोस हामी सबैसँगै जाऔँ।”
देवेन्द्र लगायत सबै देवगण सिर्जनहार परमपिता ब्रह्माजीका शरणमा पुग्दा भए र आफ्नो सम्पूर्ण सङ्कटको बेलिबिस्तार लगाउँदा भए।
चतुर्मुखले देवगणको कारूणिक पुकार सुनिसकेपछि केही बेर मनमा गम्दै भन्नुभयो – “शान्त देवगण! हाम्रो शक्ति क्षीण हुँदै जानुको कारण पृथ्वीतलमा कम हुँदै गएको उपासना र पुजा-आजाको कमी हो। यो सब आस्थाको सङ्कटको घडी हो। पृथ्वीतलमा हाम्रो शक्तिको मुख्य श्रोतमाथि बिस्तारै बाह्य हस्तक्षेप हुँदै आउनु यसको प्रमुख कारण हो। त्यसैले हामी सबै अब पालनहार भगवान बिष्णुको शरणमा जाऔँ। वहाँको कल्कि अवतार लिने समय भइसक्यो। अब वहाँले नै हामीलाई यो सङ्कटबाट पार लगाउनुहुन्छ।”
ब्रह्माजी, देवेन्द्र लगायत सबै देवगण मिलेर भगवान बिष्णुको चरणमा हाजिर भए।
“प्रभु हाम्रो सङ्कट प्रति निगाह बक्सियोस।”
“अब छिट्टै नै कल्कि अवतार लिएर सत्ययुग फिर्ता गरिबक्सियोस प्रभु।”
“हाम्रो सङ्कट निवारण गर्नुहोस हे पालनहार।”
देवताहरूको यस्तो बिन्ती सुनेपछि भगवान बिष्णुले केही बेर ध्यान दृष्टिले अवलोकन गर्नुभयो र चिन्तित मुद्रामा देवगणलाई भन्नुभयो।
हे! देवगण! मेरो कल्कि अवतारले नेपाल भूमिमा जन्म लिएको रहेछ।
देवगणको मनमा आशा पलायो – “त्यसो भए हाम्रो सङ्कट मोचन नेपाल भूमिबाट आउने भयो। तर हे दया निधान यस कुराले ता हामीमा हर्षको सञ्चार भइरहेछ तर हजुरको अनुहार मलीन देख्दैछु। सन्तापको कारण मर्जीहोस हे दीन दयाल।”
“हे! देवगण! त्यो लठूवाले ता देवर्षि नारदलाई बन्दी बनाई रातारात धर्म परिवर्तन गरिसकेछ!”
२०७१ माघ २८ (११ फेब्रुअरी २०१५) लघुकथा कुनोको चाैथो वर्षप्रवेशको अवसरमा प्रेषित।
