Skip to content

समयसँगैको यात्रामा मेरो पत्रकारिता


पढाइसँगै रोजगारीका रुपमा सुरुवात भएको मेरो पत्रकारिता अहिले बलियो भएको मलाई महशुस भएको छ । जब म स्नातक तहको पढाइका लागि भनेर घरबाट सदरमुखामतिर झरे जीवन कष्ठकर हुदै जान थाल्यो । सुरुमा पढाइ खर्चमा अलि सहज होला भनेर पत्रकारिता पेशाको सुरुवात गरियो । त्यसपछि पेशाप्रति मेरो आकर्षण बढ्यो । आजभोलि म पेशाप्रति नजिक छु ।

नेपालमा व्यवसायिक पत्रकारिताको विकास भएको त्यति लामो समय भएको छैन । पत्रकारितामा आर्क्षित हुने र पछि पलायन हुनेको संख्या पनि त्यति नै छ । म सानी थिए । कक्षा ७मा पढ्थे । उति बेला पत्रकार भनेका पुरुष मात्रै हुन्छन् भन्ने आम मानिसमा बुझाई अनि मेरो पनि । फाट्टाफुट्ट मात्रमा पत्रकार महिलाहरू भए पनि काठमान्डौँमै सीमित थिए होला । तर अहिलेको अवस्था पहिलेकोभन्दा धेरै फेरिएको छ । हरेक जिल्लामा पत्रकार महिला पत्रकारितामा व्यवसायिक बन्दै गएका देखिन्छन् ।

म १४ वर्षकी हुदाँ सुन्ने गर्दथे रेडियो नेपालका रिता तिमील्सेना दिदीको कार्यक्रम सानो संसार । त्यस कार्यक्रमलाई सुन्दा मलाई पनि रेडियोमा काम गर्न पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । जीवनलाई यात्रा गराउने क्रममा पढाइको क्रम पनि बढेदै गयो । गाउँमा क्याम्पस थिएन । जिल्लामा पनि ४ वटा मात्रै थिए । मेरो घरबाट नजिक पर्ने क्याम्पस भनेको दार्चुला सदरमुखाममा रहेको दार्चुला बहुमुखी क्याम्पस थियो । म पढ्छु भनेर त्यही गए । केही महिना पछि रेडियो नयाँ नेपाल एफ एममा मैले समाचार पढ्ने र लाईभ कार्यक्रम सञ्चालन गर्ने मौका पाएँ । त्यसपछि निरन्तर काममा मेहनत गदैँ गए । त्यसैले अहिलेसम्म यस पेशामा छु । मेरो त्यही बेलादेखी थाहै नहुनेगरी पत्रकारितामा आर्कषण बढेको रहेछ । पछि म यही पेशामा आवद्ध भए ।

हामीले काम कहाँ बसेर गरेका छौँभन्दा पनि कस्तो काम गरेका छौँ भन्ने कुरामा भर पर्छ । हो सुविधा सम्पन्न ठाउँ र फराकिलो क्षेत्रमा बसेर काम गर्दा त्यति धेरै समस्या उत्पन्न नहुन सक्छन् । किनभने श्रोतसाधनको अभाव हुदैँन । मिडियालाई राम्रोसँग बुझ्ने शिक्षित मानिसहरूको बसोवास हुन्छ । यहाँ ठाउँ पनि सानो हुन्छ, तिललाई पहाड बनाउने मान्छेहरूको चरित्र हुन्छ । ठिक समयमा काम गर्छू भनेपनि यातयात, विधुत, इन्टरनेट, क्यामरा, ल्यापटप कुनै न कुनै चिजले धोका दिएकै हुन्छन् । सदरमुकाममा बसेर रिपोर्टिङ्ग हुदैन, गाउँमै जानुपर्यो । अवसरभन्दा धेरै चुनौती नै छन् । अवसर त जिल्लामा बसेर काम गर्न पाइन्छ त्यति मात्रै त हो ।

पत्रकारिता क्षेत्रमा लागेको करिब ४ वर्ष पुरा हुन लाग्यो । प्रमाणपत्र तह सकिएपछिरहरका आवेगहरूभन्दा पनि पढाइको खर्चमा केही राहत मिल्ला भनेर पत्रकारितामा होमिएकी म पछिल्लो समयमा रेडियो प्रति निकै रुची बढ्न थाल्यो । रेडियो सुन्न थाल्यो भने, गीत संगीत सुन्न थाल्यो भने पढाइ बिग्रन्छ भन्ने सुनेकि थिए तर मलाई भने विग्रीनेभन्दा पनि थप सहयोग मिल्यो । काम गर्ने क्रममा मैले सम्झनै पर्ने आदरणीय दिदी राजमति बम, उहाँले निकै सहयोग गर्नुभयो । त्यसै गरी अहिले दार्चुला एफ एमका स्टेशन म्यानेजर कमल राज जोशी सर उँहाको सहयोगमा मैले आफ्नो पत्रकारिताका पाईलाहरू अगाडि बढाएको हुँ । उहाँहरूले सहयोग र हौसला नदिएको भएको आज सायद म पत्रकारिताबाट पलायन भैसकेकी हुन्थेँ । अहिले पनि रेडियामा आवद्ध छु ।

त्यसरी शुरु भएको पत्रकारिता यात्राको दौरानमा धेरै चिज देखियो धेरै चिज भोगियो पनि । मोफसलमा अँझै पनि सञ्चार माध्यमहरू व्यवसायिक हुन सकेका छैनन् । अधिकांश रेडियो पत्रपत्रिकाको स्थापना व्यवसायिक आवरण दिएर राजनीतिक आस्था र प्रतिशोधको आधारमा हुँदा सञ्चार उद्यमी र सञ्चारकर्मी सबै जोखिममा छन् । मेरो पत्रकारिताको यात्रा यहाँसम्म त चलेको छ तर पत्रकारिताले मेरो घरमा सहयोग पुगेको छैन । मेरो पेशा साथीभाइलाई देखाउनका लागि निकै आकर्षक छ । तर यसभित्रको पीडा कि मैले भोगेकी छु कि म जस्तै अर्को पत्रकार साथीहरूले ।

वास्तवमा यो पेशा चुनौतीपूर्ण पेशा हो । सधैं नयाँ दिन, नयाँ सामाचार, नयाँ खोज र नयाँ सोच आवश्यक पर्दछ । कुनै पनि पेशा चुनौतीपूर्ण हुन्छ यद्यपी यो पेशाबाट आफनोभन्दा पनि अरुको लागि बोलिदिने पेशा हो । पहिलो कुरा पारिश्रमिक हो । आजसम्म मैले थोरै भए पनि पारिश्रमिकको समस्या झेल्नु परेको छैन । यद्यपी धेरै पत्रकार पैसाको समस्याले पेशा छाडेर पलायन भएको छन । पछिल्लो समयमा यसै क्षेत्रमा अध्ययन गरेका युवा पुस्ताले अबको पत्रकारितालाई मजबुत बनाउनु पर्दछ । योग्यता क्षमता बनाएर आएमा पेशामा टिक्न सकिन्छ । पत्रकार भएपछि सबै थोक पाएजस्तो, सबैभन्दा ठुलो भएजस्तो भावना हटाउनु पर्दछ । सौखभन्दा पनि पेशा बनाएर अगाडि बढन सके मात्र यस क्षेत्रमा टिक्न सकिन्छ । अहिलेको अवस्थामा यस क्षेत्रमा धेरै अवसर छन । पत्रपत्रिका, रिडियो, टेलिभिजन र अनलाइन गरी थुप्रै अवसरलाई समय अनुकुल आफू अगाडि बढने माध्यम बनाउन सकिन्छ ।

अन्तमा अहिले मैले पत्रकारिता मेरो लगनशिला र मेहनतको कदर हो भन्ने बुझेकी छु । धेरै अभिभावकहरू आफ्ना सन्तानलाई डाक्टर, पाईलट, नर्स, इन्जिनियर र सरकारी जागिरे होस् भन्ने चाहना राख्नुहुन्छ । त्यसरी नै पत्रकारिता र राजनीतिमा पनि लागोस् र समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरोस् भन्ने धारणा राखिदिनुभयो भने यो क्षेत्र पनि त्यत्तिकै राम्रो बन्नेछ भन्ने अनुरोध गर्न चाहन्छु ।

कमला कुवँर
रेडियो निंगलाशैनी एफएम बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *