युवापुस्ता माझ निकै लोकप्रिय पर्व हो – भ्यालेन्टाइन डे,अर्थात प्रणय दिवस । त्यसतो युवा सायदै भेटिएला, जसलाई यसको महत्त्व र मिति थाहा नहोस । पछिल्लो समय नेपाली समाजमा घुस्दै गएको पाश्चात्य परम्परा मध्ये निकै नाम चलेको पर्व हो भ्यालेन्टाइन डे । जुन हरेक अङ्ग्रेजी वर्षको फेब्रुअरी १४ तारिख संसारभरका युवायुवतीहरूले धुमधामका साथ मनाउने गर्दछ्न ।
नेपालमा विशेषत : युवापुस्ता माझ चलेको पाईएता पनि पश्चिमी मुलुकहरूमा सबै उमेर समुहका मानिसहरू यो पर्वमा झुम्मिने गर्दछ्न । विशेषगरी किशोरावस्थाका केटा-केटी,प्रेमी-प्रेमिका,दम्पति र प्रेम प्रस्ताव राख्न आतुरहरू गुलाफको फुल र उपहार साटासाट गरी यो पर्व मनाउने गर्दछ्न ।
यसको ऐतिहासिकतालाई हेर्ने हो भने निक्कै दुखदायी घटना कोट्याउनु पर्ने हुन्छ । प्रसङ्ग तत्कालीन रोम सम्राट क्लाउडियस द्बत्तीयसँग जोडिएको छ । प्रेम र विवाहमा स्वतन्त्रता हुँदा आफ्नो सैन्य संरचना कमजोर हुने धारणाले उनले प्रेम र विवाहलाई प्रतिबन्ध लगाएका थिए । प्रेम गर्नु त के विपरित लिङ्गीसँग नजिकिन र बोल्न समेत बन्देज थियो । तर एकजना धर्म गुरु सेन्ट भ्यालेन्टाइन भने त्यसतो प्रावधानको विरुद्धमा थिए । त्यस्तो बन्देज धर्म विपरित हो भन्ने उनको भनाई थियो । अनुशासनको दायरा भित्र रहेर गरिने प्रेमबाट ईश्वर समेत खुसी हुन्छ्न भन्ने उनको मान्यता थियो । त्यसैले उनले सबैमा प्रेमको सन्देश छरे । प्रेम गर्न उत्प्रेरित गरे । निषेधाज्ञा तोडेर सामुहिक विवाह अभियान चलाए । धेरैको जोडि बाँधि दिए । यस घटनाबाट क्रुद्ध बनेका सम्राट क्लाउडियसले भ्यलेन्टाइनलाई जनता भड्काएको,शान्ति सुव्यवस्थामा खलल पुर्याएको,मुलुकको हित विपरीतको कार्य गरेको जस्ता आरोप लगाएर मृत्युदण्ड दिए ।
त्यो दिन थियो ई.पु २७० को फेब्रुअरी १४ । पछि सोही घटना र भ्यालेन्टाइनले प्रेमको नाउँमा गरेको प्राण उत्सर्ग को सम्मानमा भ्यालेन्टाइन डे मनाउने चलन शुरु भएको हो ।
भनिन्छ प्रेममा संसार पल्टाउन सक्ने शक्ति हुन्छ। यसले जातपात,रुपरंग,धर्मवर्ण केही हेर्दैन भन्ने मान्यता रहि आएको छ । तर पछिल्लो समय युवापुस्ताबाट प्रेमको गलत परिभाषा र अप व्याख्या हुन थालेको छ । तत्कालीन समयमा भ्यालेन्टाइनले गरेको प्राण उत्सर्गको अवमूल्यन हुन थालेको छ । प्रविधिको द्रुत विकाससँगै यसले प्रेमलाई सस्तो बनाउदै छ । मोबाइल,फेसबुक जस्ता प्रविधिबाट अनेकौं प्रेमी,प्रेमिका बनाउने चलन बढेको छ । युवाको नजरमा राम्री युवती त युवतीको नजरमा अलि मालदार युवक परि हाल्नाले प्रेम निक्कै सस्तिएको छ ।
हुन त सबैलाई एउटै टोकरीमा हाल्न मिल्दैन तर अधिकतम को जीवनमा यो प्रसङ्ग मेल खान्छ । जसको कारण भ्यालेन्टाइनको आत्मा भड्किएको छ । यो परम्परालाई तोडेर सच्चा प्रेम गर्ने वातावरण बनेको खण्डमा पक्कै पनि भ्यालेन्टाइनको आत्माले शान्ति पाउने थियो । त्यसैले प्रेम सप्ताह मनाइरहदा सबैलाई आग्रह छ । सच्चा प्रेम गरौं । प्रेमलाई फेसन नबनाऔं । भ्यालेन्टाइन डे को सबैलाई शुभकामना !!!
