पुरस्कार थाप्ने फोबिया


आज भोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग बढेर गएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरोलो पारिरहँदो रहेछ, गाँजिरहँदो रहेछ । हुनत यो आत्मरति, आत्मालाप, आत्मराग वा आत्मप्रशंसाको भोक आजका मनुवामा मात्र रहेको छ र उहिलेका मनुवाहरूमा थिएन भन्ने कुरा काटे पनि साँचो होइन । उहिले उहिलेका रिखिमुनि र बुढापाकामा वा देउदेउतामा पनि यो रोगको भोक खपिनसक्नु गरी हुने गरेकै हो । उनीहरू ता आजका भन्दा अझ बढी यसका भोका हुन्थे । भक्तले उपार्जन गरेको सबै थोक उनैलाई अर्पण गरेर भक्तले चाहिँ रुखका मुनि घन्ट बजाई हरिभजन गरी बस्नु भन्ने कुरा उनीहरूले मनुवालाई भनेका थिए । सेतै दारी फुलेका बुढा ब्रह्मा हुन् कि समुद्रमा सुतेको भान पार्ने विष्णु हुन् वा जतिओटी गोपिनी भएर पनि नअघाएका कृष्ण हुन् कि आफू नाङ्गै देखिए पनि अरु सबैबाट केही न केही खोजिरहने हन्तकाली बाबा शिव नै किन नहुन् आत्मरतिका स्रोत यिनै हुन् । बुढा ब्रह्माको ता कुरै छाडौं । आफ्नी छोरीमाथि आत्मरति मात्र नभई रति नै गर्ने कामुक ती बुढा जति पापी यो दुनियाँको इतिहासमा कोही छैनन् । आफूसँग भएको सबै कुरा उनीहरूलाई नै अर्पण गरेर आफू भने भोको पेटमा उनीहरूको नाम जपेर घन्ट बनाई बस्नु भन्नु जतिको चुतिया जुक्ति केही पनि हुँदैन । ‘तँसँग भएको सबै मेरै हो, त्यो सबै मेरा हजुरमा चढाएर मेरो गुणगान गरेर रित्ता हात लगाउँदै लँगौटी कसेर रुखका फेदमा बस्’ भन्ने ती ईश्वरहरू महान् हन्तकाली र आत्मरतिका उदाहरण हुन् । यही आत्मरति आजका मान्छेमा आइरहेको छ, छाइरहेको छ, पलाइरहेको छ । उहिलेको अलकापुरीका राजा इन्द्र अर्काले उन्नति गरेको देखिसहन्नथे । अरुअरुले उनैको मात्र जयगान गर्नैपथ्र्यो । आजको सेतो घरका वा ओबामापुरका इन्द्रहरू पनि अरुको उन्नति देखिसहन्नन् । मानौं यो दुनियाँमा उनीहरू जत्तिका अरु कोही होलान्, उनीहरूको हैकमलाई चुनौती देलान् भनेर सधैं अरुलाई तर्छाइरहेका हुन्छन्— खबरदार म जतिको हुन पाउँदैनौ । माथि माथि जाने र उन्नति गर्ने अधिकार मेरै मात्र हो । तिमीहरू मेरो भजन गरेर बस, धोती कसेर बस, मेरो स्तुतिगान गरी बस, घन्ट बजाई बस ।

यो अरुलाई उन्नतिको सिंढीमाथि चढ्न र अघि बढ्न नदिने चलन आजको होइन रहेछ । यिनै देवदेवीका पालादेखिको रहेछ । यो आफैं मात्र खाऊँ र लाऊँ अरुले चाहिं खरानी नै घसिरहून् रुखैका फेदमै बसिरहून् भन्ने आत्मरतिको उदय उषाकालदेखि नै भएको रहेछ । यो भनेको आत्मरति हो । यो भनेको आत्मसम्मानको फोबिया हो । यसको पुरानो उदाहरण भनेका यिनै मान्छेले बनाएका देउदेउताहरू रहेछन् । अर्को चाहिँ खरानी नै घसेर बसोस् र आफू चाहिँ त्यसैले कमाएको सिरीसम्पत्तिमा रजाइँ गरी बसूँ भन्ने ती देवदेवीहरू वास्तवमा सारै नै स्वार्थी र अल्छेमतिका उपज रहेछन् । आजका केही राष्ट्रहरू जो आफूसरहको उन्नति अरु कसैले गर्लान् र पौंठेजोरी खोज्लान् भनेर उन्नत हुनबाटै रोकिरहेका छन् यो पनि उनै कल्पित ईश्वहरूबाट आयातीत एकतन्त्रीय विचार हो ।

हाम्रै आदि पुर्खाहरूले बनाएको ईश्वरलाई हामीले नै पहिलो उपनिवेशवादी बनाएका रहेछौं । उनीहरूले यदाकदा हतियारतन्त्रबाट पनि औपनिवेशिक धर्म पालेका थिए भन्ने वर्णन हामीले गरेका भए तापनि बढी मात्रामा उनीहरू मतियारतन्त्रबाट आफ्नो उपनिवेशवाद दुनियाँदारीमा हालेका थिए भन्ने वर्णन गरेका रहेछौं । मतियारतन्त्रको पीठाधीशका रुपमा आफैंलाई सर्वोच्चतम मान्ने पुराना रिखिमुनिहरू जेभाले नै थिए । आफू र आफ्नो विचारलाई नमानेको झोंकमा अर्कोलाई भस्म खरानी नै पार्ने दुर्वासा जस्ता रिखि भनेका नै आत्मरतिका नमुना हुन् । खरानी घसेर छालाको कट्टु लगाउने लट्टाधारी बाबा बमभोलेलाई किन चाहियो राम्री न राम्री श्रीमती ? भस्मासुरले माग्यो भनेर किन भस्म पार्नुपरेको ? तत्काल सृष्टि गरिदिनु नि आफ्नी जत्तिकै राम्री एक झलल बलेकी अप्सरा । आफू जस्तोसुकै भए पनि राम्रो जति सबै आफूलाई नै चाहिने कुरा भनेकै आत्मरतिको उदाहरण हो । भोले बाबालाई नपुग्दो के थियो र ससुरालीको भतेर खान जान मन लागेको ? ससुरालीबाट निम्तो नआउनासाथ ससुराको टाउको नै काटेर बोकाको टाउको लाइदिनु जस्तो फट्याइँ र चुतियागिरीको उदाहरण यो दुनियाँमा अर्को के हुन सक्छ ? अब आजका ज्वाइँलाई मात्र किन दाइजोका लोभी भन्ने ? शिवबाबा नै दाइजोका हन्तकाली रहेछन् भन्ने कुरा अब पुष्टि हुन्न र ? माइताबाट लोग्नेलाई केही नदिएको बहानामा अँगेटीका डढ्ने सतीलाईबाट आजका दाइजोका लागि मरिरहेका बुहारीहरुको उदाहरण उहिल्यैदेखि थियो भन्ने कुराको प्रमाण भएन र ? अझ आफ्नी स्वास्नीलाई एकै छिनका लागि भेट्न नदिएको झोंकमा द्वारपालका रुपमा रहेका गणेशको टाउकै काट्नु जस्तो खतरानाक कुरा अरु के हुन सक्छ ? यो ता हाम्रा नेपालका दिव्य बार वर्ष जङ्गलमा बसेकाहरूले गिँड्ने गरेको भन्दा पनि डरलाग्दो कुराको उदारहण हो । यी उदाहरणहरूबाट हामी भन्न सक्छौं आत्मरतिको फोबिया आजको होइन रहेछ ।

मानमनितो नपुग्दा रिसले तिलमिलाउनेहरू उहिले पनि रहेछन् र आज पनि छन् । यो परम्परा आजको होइन रहेछ । आफ्नो अधीनमा बस्न नरुचाउनेहरूको लोध्रो काढ्ने काम उहिलेदेखि नै चलेको रहेछ । विरोधीहरूको दमन गरेर पाखा लगाउने होस् वा हाम्रो देशका राजा वीरेन्द्रको जस्तै वंश विनासै गरेर भए पनि आफ्नो दुनो सोझो गर्ने काम नै किन नहोस् त्यो चलन आजको मात्र रहेनछ ।

अहिलेको नेपाल यो चलन निकै तेजिलो गतिमा चलेको छ । हाल स्वर्गीय भइसकेका मान्छेको कुरा गर्नु उति राम्रो ता होइन तैपनि कुरा स्वर्गीय भइसकेकै मान्छेबाट कोट्याऊँ । केही वर्ष पहिले नै स्वर्गीय भइसकेका एकजना जमिन्दारज्यूको कुरा हो यो । उहाँ हुनुहुुन्थ्यो नै भनौं अब । सम्मान र मानमनितोको भोक उहाँको जतिको ता बमभोले बाबामा पनि थिएन होला भन्ने मेरो ठम्याइ छ । पैसाको खोलो उर्लिएपछि उहाँलाई त्यसको कमी भएनछ कमी भएछ सम्मानको । अनि उहाँले एक ठाउँमा प्रस्ताव राख्नु भयो—‘२५ लाख दिन्छु, यो क्याम्पसको नाम मेरो नाममा राखिदेऊ । सकिन्छ भने मेरो भव्य सम्मान पनि गरिदेऊ । यसो खास्टो पनि ओढाइदेऊ, अरु त्यति नै थापिदिन्छु मेरो सालिक पनि राखिदिने भए । कसो, के भन्छौ ? हुन्छ ? कि पैसा कम भो हँ ?’ भन्दै एक सरकारी क्याम्पसमा चारो छरेर त्यसलाई किनेर त्यस क्याम्पसको नाम नै आफ्नो नाममा खरिद गर्न चाहनुहुन्थ्यो । पछि क्याम्पसका चिफले–‘सरकारी क्याम्पस तपाईंका नाममा बेच्न मिल्दैन बा, तपार्ईं नै एउटा निजी कलेज खोलेर त्यसमा तपाईंको नाम र शालिक नै ठड्याउनु होस् है’ भनेर उहाँलाई बिदाइ गरिदिएका थिए । यो पनि एउटा नाम र सम्मान खोज्नेहरूको उदाहरण हो । उहाँले पैसामै किन्न सकिने भए नेपाललाई नै किन्नुहुन्थ्यो होला अनि नेपाललाई आफ्नो नामको राज्य बनाउनुहुन्थ्यो होला । देशैभरि सालिक राख्नुहुन्थ्यो होला । तर मिलेन उहाँलाई । माइक्रोसफ्ट कम्पनीको मालिक जत्तिको भएको भए उहाँले नेपालै हान्न पनि बेर लगाउनुहुन्नथ्यो । तर ऊ भन्दा अलिक गरिब भएर मात्र उहाँले पार्कहरू, साधारण स्कुलहरू, बाटोघाटोहरू, कलेज र चोकहरू किन्न र तिनमा आफ्नो नाम राख्ने अनि बाहिरी निर्माण भन्दा आफ्नो शालिक चाहिं भव्य राख्ने विचार गर्नुभएको थियो । यो काममा पनि उहाँले सबैतिर सफलता पाउनु भएको देखिएन । एक ठाउँमा बाटो चौडा पारिदिएको निहुँमा सालिक ठड्याउनु भएको थियो त्यही पनि शिवजीले गणेशको शिरच्छेदन गरेझैं आजका नव ताण्डवनृत्यकारहरूले शिरोच्छेदन गरेर बिताएछन् । केही दिन ता उहाँ शिरबेगरको मुडुलो देखिनुहुन्थ्यो के कुतौजी परेर हो कुन्नि त्यो पनि पो अहिले देखिन छाडेको छ ।

पछि कसले हो उहाँलाई सम्मान र नामका लागि ता साहित्यको फाँटमा लगानी गर्दा फलदायी हुने कुरा सुनाएछ । त्यसपछि उहाँको मन त्यता फिरेछ र देशैमा नभएको पुरस्कार थापेर साहित्यकारहरूलाई ललिपप बाँड्न थाल्नुभएको रहेछ । उहाँको यो जुक्ति नै उहाँलाई फलदायी भएछ– किनभने पुरस्कारको चारो छरेर साहित्यकारहरूलाई उहाँले पिन्जडामा हालेको सुगा जस्तो पार्नु भएको छ । अहिले उहाँका उत्तराधिकारीहरूले साहित्यकारहरूलाई पुरस्कारको चारो छरिरहेका छन् । केही साहित्यकारहरू पनि उठ भन्दा उठेका देखिन्छन् बस भन्दा बसेका देखिन्छन् गोपीकृष्ण बोल् भन्दा गोपी कृष्ण को……. भनेका छन् । मानौ उनका उत्तराधिकारीहरूले गोपीकृष्ण बोल भन्ने डफ्फा नै तयार पारेका छन् । यो मानसम्मान खोज्ने मानफोवियाको चलन नै हो । यी मान खोज्नेहरु पनि माफियाकै शैलीमा देखिन थालेका छन् । छोराछोरी, नातिनातिना, पत्नीहरू, बुहारीहरू, नोकर चाकरहरू, सालासाली, झट्केलाहरू र आउरेबाउरे सबैलाई खानपानको बन्दोवस्त गरिदिएर पछि बाँचेको कनिका सुगालाई छरेर पिन्जडामा छर्दै गोपीकृष्ण भनाउनमा यिनीहरु अहिले माफियाको शैलीमा साहित्यकारलाई कज्याइरहेका छन् । बिचरा भोको साहित्यकार तिनीहरुको खोरिया खनिरहेका हुन्छन् । मानौं ती कुनै ठुलो जमिनदारले पालेका कमैयाहरु हुन् जो मुक्तिका लागि भन्दा पनि मालिकको भजन गरेर मालिक पुराण कथुर्नमा तँछाड् मछाड् गरिहेका हुन्छन् ।

हुनत आजभोलि चारोका रुपमा खास्टो, च्यादर, रजाई, दोलाइँ वा दोसल्लाहरू भिराएर लेखकहरूलाई बन्धक बनाई आत्मरति गर्नेहरूको पनि बहारै छ । यसो गर्न जमिनदार नै हुनु पर्ने कुरा पनि अनिवार्य रहेको छैन । अनिकालमा परेका लेखक नामका जन्तुहरू वा घरको पाङ्दुरले काम काटिरहेका र पेटकाटेर जिब्रो कोक्याइरहेका हन्तकाली लेखक रुपी सुघाहरू पनि तिनीहरुले थापेको दुवाली वा पिंजडामा पस्न र गोपीकृष्णको बोल बोलेर घुँडा धस्न तँछाड् मछाड् गरिरहेका देखिन्छन् । अब ता मैले माथि चर्चा गरेका जिमीदारबालाई मात्र सम्मानको फोबिया थियो भन्नु पनि पाप लाग्ने कुरा भएको छ । आज सीताराम, हरेराम, वंशीराम, केवडीराम, कालुराम, भालुराम, ठालुराम लगायतका देश थाम्नेहरूले नै सुगालाई कनिका छरेर पल्काइरहेका छन् । सुगाहरू पनि गोपीकृष्ण को……! भनिरहेका छन् । मेरो जानकारीमा यसबारेको एउटा राम्रो उदाहरण छ ।

एउटी आमै छिन् मेरो जानकारीमा । उनी जवान छँदा विदेशका चार चौरस्ता चहार्नमा चतुर थिइन् । अहिले देशमा चर्चित महिला नेत्री हुन पुगेकी छित् । ती जर्खरिएकी आमैले धेरै क्षेत्रमा चारो छरेको देखिन्छ । यसका साथै उनको लेखक पत्रकारहरूलाई चारो छर्ने त्यो प्रवृत्ति पनि कम घतलाग्दो छैन । बम्बै रिटायर्ड आमै आफूलाई क्रयविक्रय गरिसकेर आफूजस्तै बैंसालु चेलीहरू गोप्य निर्यात आयात यान्ड कम्पनी लिमिटेडकी प्रमुखका रुपमा रहेकी छिन् । सबैलाई थाहा छ । उनी माथिल्लै तहसम्म पहँुच भएकी भएको हुँदा कसैले पनि उनलाई छुन सक्तैन । आजभोलिको महिला हकहित र संरक्षण मञ्चकी प्रमुख पनि उनै हुन् । उनलाई समाजमा मनाइने कार्यक्रममा प्रमुख अतिथिका रुपमा नबोलाउनु भनेको कार्यक्रम सञ्चालन गर्नलाई आर्थकि दानापानीको अभाव बेहोर्नु हो । उनले आफैं लगानी गरेर निकै ओटा धुसा ओढिसकेकी छिन् । उनका हातबाट निकै जनाले धुसाहरू ओढिसकेका छन् । उनका अन्तरात्मामा सम्मान फोबियाको भोक बढेर गएको छ । आज ता उनी महिला नेतृको हकदार भएर देशका ठाउँठाउमा खास्टो ओड्न पुगिरहेकी छिन् । उनी नपुगे पनि उनका नाममा देशैभरिबाट सम्मानका लागि तयार गरेको प्रमाणपत्रहरू, खास्टो र दोसल्लाहरू आउँछन् भन्ने सुनेको छु । हो होइन, उनै जानुन् । संयोगवश उनै आमैकोमा म पनि पुगें ।

आमैका द्वारपालले ढोकामा केही बेर रोकेपछि आमैको बैठक कक्षमा पुगें । केही बेर उनका बैठककोठाको अवलोकन गर्दै थिएँ । बैठकमा आफैलाई महिला सुरक्षा आयोग, महिला अधिकार आयोग, नारी चेतना सहकारी, नारी कल्याण संस्था लगायतका संघससथाहरुबाट सम्मान र अभिनन्दका प्रमाणपत्रहरुले बैठक कोठाको भित्तो सजिएको देखें । मेरा मनमा भएको शंका जुलाफ खाएको भोलिपल्ट पेट सफा भएझैं सफा भयो । आमैलाई महिला र बालबालकल्याण मन्त्रालयबाट देशकी सर्वश्रेष्ठ महिलाको सम्मान मिलेको रहेछ । आमैले देशबाट पाएको सम्मानको विवरण देखेर मलाई भित्रैदेखि कोक्याएर वाक्वाकी लाग्न खोज्दै थियो त्यसै बेला भर्खरका केही युवतीहरुलाई अघि लगाएर उनी बैठकमा फुत्त निस्किइन् अनि साथैका ती युवतीहरुलाई अराइरहेकी थिइन् ।

राम्रोसँग सिँदुर पोते लगाउनू, पुलिसले सोध्यो भने किउरेट गर्न हिंडेका भन्नू । कसैले चै पारि सपिङ गर्न जाँदैछु भन्नू । कसैले लोग्ने बिरामी छन्, अस्पतालमा छन् उपचारका लागि जाँदैछु भन्नू आदि केही कुरा युवतीहरुलाई अर्जापिरहेकी थिइन् । युवतीहरुले मलाई बैठकमा बसेको देखेर केही अप्ठेरो माने झैं गरे । तिनीहरुलाई सम्झाउँदै मतिर देखाउँदै उनले भनिन्— ‘यी नानीदेखि किन डराएका ? यी ता हाम्रो गाना गाउने हितेकार पो हुन् त । अलिकति पैसाको चारो छरिदिएपछि यस्ताहरुले हाम्रो गाना गाइहाल्छन् नि । यी नानी अलिकति पत्रकार पनि गर्छन् । बढी चैं साहित्येकार नै गर्छन् । लौ हिंड नडराइकिन ।’

त्यसपछि मात्र युवतीहरु खुलेका देखिए । मलाई लाग्यो आजको दिन आमै युवतीहरुको थोक व्यापारमा लागेकी छिन् । फुर्सदमा छैनन् । अनि मैले बिदा हुन खोज्दै भने–‘हजुर, अहिले तपाईंलाई फुर्सद रहेनछ । म पछि भेटेर कुरा गरौंला । अहिलेलाई बिदा पाऊँ ।’

आमैले मलाई बिस्तारै कानै नेर आएर आश्वस्त पार्दै भनिन्–‘हुन्छ हुन्छ, तिमी जाऊ अहिले । अहिले मलाई फुर्सद भएन, जाऊ तिमी । मैले तिम्रा सबै कुरा बुझेको छु । यसो हितेसित्ते लेख्छौ क्यारे । पत्रकार पनि गर्छाै क्यारे । त्याँ हाम्रो खन्तरेले थापेको गजनीदेवी सुखमली छलीमाया पुरुस्कार छ । त्यो पुरुस्कार यस पालि तिमीलाई दिनू भनिदिउँला हुन्न ? तर हेर मेरा बारेमा मेरा खन्तरेका बारेमा राम्रो गरी खबरमा लेखिदेउला नि ! त्यसै ता कहाँ हुन्छ र ? कि के भन्छौ ” उनी आफ्नै रवाफमा भन्दै गाइन् ।

मैले पनि विचारै नगरी फ्यास्स सोधेंछु– ‘अनि त्यो गजनीदेवी सुखमली छलीमाया पुरुस्कार चैं कतिको छ ?!’

उनी रिसाइहालेकी रहिनछिन् र भनिन्—‘चारहजार, चाररुपियाँ, चार पैसा र चार दाम छ । अहिले बजार भाउ अलिक बढेकोले पुरुस्कारको रासी अकिल बढाइदेउ भनम्ला न म हुन्न ?” भन्दै उनी एकोहोरो आफ्नै कममा लागिरहिन् ।

मलाई यसो भन्दाभन्दै उनले केही युवतीहरुलाई गाडीमा हालिन् आफू तिनको गोठालो जस्तो भएर गाडीमा चढेर बाहिर लागिन् । म पनि उनको घर दरबारबाट बाहिरिएँ । कुरा यति हो । अब आफैं बुझे भो मान्छेलाई सम्मानको लोभ कति रहेछ । मलाई पनि यो पालिको गजनीदेवी सुखमली छलिमाया पुरस्कारको लोभमा पारिन् आमैले । मलाई पनि पुरस्कारको सम्मान फोबियाले गाँजेर ल्यायो ।

यस पालिका यो पुरस्कारको खास्टो (कात्रो चैं नभनौं क्यारे !) ओढिन्छ कि क्या हो त ? चारै हजार मात्र किन नहोस् धेर थोर ता आखिर हुन्छ नै । जति भए पनि भरअभरमा त्यो पुरस्कार पाइयो भने केही काम काटिहाल्थ्यो कि त भन्ने लागेकोले अहिले गजनीदेवी सुखमली छलीमाया पुरस्कारको महत्व दर्साउने लेख लेखेर आमैलाई खुसी पार्ने पक्षमा छु । तर पुरस्कार कति बढाउन सिफारिस गर्ने हुन् थाहै भएन । बढाएको पुरस्कारको रासी कति हुने हो भन्ने थाहा पाउन पाए यसो केही दिन भए पनि मोजमस्ती ता गरिन्थ्यो कि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *