उत्साहले नाच्न अघी बढेछन्
यो पृथ्वीमा पृथ्वी उँभो चढेछन्
आफैं तिनी गुन्गुन गर्न थाल्थे
नेपाल रच्छु भनी रेखी हाल्थे ।।
गला गलाबाट सुसाई गीत
यो याममा एक लगाई प्रीत
मानौ इतिहास म रच्छु यस्तो
कतै रचिएन कि भन्नु जस्तो ।।
उनी थिए एक अनन्तदर्शी
यो देशको भाग्य र दूरदर्शी
उन्कै पसीनाहरु माथि हामी
बनिरहेछौं किन पश्चगामी ।।
यो बारीमा फूलहरु फुलायौ
यो खेतमा धानहरु झुलायौ
हाम्रो सुनौलो इतिहास लेख्यौ
नेपालको दूर भविष्य देख्यौ ।
वसन्त धेरै यहीं भित्र आए
शीतोष्णका तापहरु हराए
यो देशको यस्तरी गीत गाए
मानौ यतै शंकर गौरी आए ।।
सानाहरुलाई परास्त पा¥यौ
ठुलाहरुको पनि सेखी झा¥यौ
यो राष्ट्र विस्तार गरेर छाड्यौ
अखण्डताको ध्वजदण्ड गाड्यौ ।।
हे राष्ट्र तारा तर आज हामी
बनेर उल्लु सरीका बिकामी
यो राष्ट्रको इज्जत खेल्न थाल्यौं
जे जे दिएथ्यौ सब पोल्न थायौं ।।
यो देशको हालत आज यस्तो
कित्ता र कित्ताहरु चुँड्नु जस्तो
बिलो लगाए सरी बाँड्न थाल्यौं
धुजा धुजा पारी चिरेर फाल्यौं ।।
मेरो यता पर्छ न आ यता तँ
तेरो उता पर्छ नजा उता तँ
गर्छन् घरैभित्र लगाई साँध
लड्छन् यहाँ दाजु र भाइ आज ।।
चोक्टा र लाम्टाहरु लुछ्न लाई
ब्वाँसाहरुले जसरी लडाइँ
गर्र्छाैं त्यसै माफिक आज हामी
गर्छाैं त्यसै माफिकको छुल्याइँ ।।
आई उताबाट जमे बसेर
ल्याए कताबाट यता पसेर
यो देशको नाम हराउँदैछ
विदेशी झन्डा फहराउँदैछ ।।
