Skip to content


“आज आमा अलि छिटो आए त हुने नि !”
शरीर दुखेकोले होला आज आमालाई अलि धेरै सम्झिएकि छु । घन्टौ अघि देखि धुम्म परेको आकाशको छाटकाट देख्दा लाग्छ आज राति ठुलै पानी पर्ला जस्तो छ । हत्तपत्त खाना पकाएर पर्खिए आमालाई तर आज पनि आमा आउनु भएन । किन होला आजभोलि धेरै दिन देखि आमा ढिलो हुदै जानु भएको छ । नखाई सुतौ भने आमा रिसाउनुहुन्छ । खाउँ आज पटक्कै खाने मन छैन । चिसोले हो कि कमजोरीले हो आज बिहानै देखि लगातार शरीर दुखेर हैरान पारिरहेको छ ।
‘भो आज नखाई सुत्छु जे त होला । ”
गम्लङ्ग सिरक ओढेर पल्टिए ओछ्यानमा । अहँ ! ओछ्यान पटक्कै तात्दैन । बाहिर बिजुली चम्किरहेको छ । यस्तो मौसम पनि मेरी आमाले किन नबुझ्नुभएको होला । सोच्दै ओच्छ्यानमा पल्टिए ।
जीवनका सोर्हौ वसन्त पार गरिरहदासम्म मलाई यसरी प्रतिक्षामा आमाले कहिल्लै पनि राख्नुभएको थिएन । तर खै किन हो गएको दुई तीन महिना देखि आमाले मलाई त्यति ध्यान दिनु भएको छैन । यस्तै प्रतीक्षा गरेर बितेका छन् आजभोलिका मेरा रातहरू । प्रतिक्षामा आँखा टोल्याउदा टोल्याउदै आफै ढाकिन्छन आँखाका परेलीहरू । पत्तै पाउदैन कतिखेर निदाउछु । उठ्दा भने सधै आमाको कोखमा नै हुने गर्छु । आफूले ओढ्ने गरेको सिरक बरु कहिलेकाही बरालिएर शरीरबाट यताउति भैदिन्छ तर मेरी आमाको शरीर मबाट यताउति भएको मैले कहिल्लै थाह पाएकी छैन । आजभोलि मेरा रातहरू प्राय:अधुरा भैदिएका छन् आमाको अनुपस्थितिले । तर पनि आमाको न्यानो अँगालोले बेरिएर उठ्दा आमाको वात्सल्य मायाबाट म कहिल्लै अधुरो र अपुरो भने रहन परेन ।
“जीवन संघर्ष हो छोरी थाक्नु हुदैन ”
म रुदा मेरी आमा सधै यसै भन्नुहुन्छ । खै मलाई के थाहा संघर्ष के हो अनि जीवन के हो ? मेरो जीवन भने पनि संघर्ष भने पनि मलाई मेरी आमाको कोख नै सबै थोक हो । मेरा सबै आवश्यकताहरू मेरै आमाका कमाइका प्राप्तिहरू हुन् । जसलाई मन चाहे खर्च गर्न पाइरहेकि छु । मैले कहिल्लै हात थाप्नु परेन मेरा आवश्यक्ताका लागि । आमाको बाकस मेरा लागि सधै खुल्ला रहे । सक्थे पकाए खाए नसक्दा बजारका तैयारी खाना लिएर खाए । आमाको जीवन कसरी बितेको छ,जीवनको संघर्षमा आमा थाक्नुभयो कि भएन मैले कहिल्लै बिचार पनि गरिन ।
“सकेको पढ्नु छोरी पढेर ठुलो मान्छे बन्नु पर्छ ”
आमाका यिनै उपदेशहरू पछ्याउदै पढिरहेकी छु राम्रै स्कुलमा । नपुग्दो कहिल्लै भएन । दिनभर आमा अफिसमा जानुहुन्छ । कहिलेकाही आमाको अनुपस्थितिले आफूलाई एक्लो महशुस गराई दिदा तिनै एक्लो समय मेरा लागि अधुरा भै दिन्छन । पढाइ अनि गृहकार्य सकेर साथीभाइसँग खेल्दा नै मेरा अधुरा दिनहरू सजिलै बित्ने गर्छन । त्यसैले पनि होला मैले कहिल्लै पनि आफू एक्लो भएको महसुस गरिन । हो मैले मेरो बाबा भन्न पाइन, दिदी बहिनी वा भाइ दाइ भन्न पाइन तर समाज वरिपरि मेरा धेरै आफन्तहरू भैदिए । त्यसैले मलाई परिवारको रिक्तता कहिल्लै महसुस नै भएन । यस्तै के के सोच्दै पल्टिरहेको छु एक्लो यो ठुलो कोठामा जहा म धेरै दिन देखि आफूलाई एक्ली महशुस गरिरहेकी छु ।
“भयो अब म सुत्छु तपाईं जानुस छोरी पनि अँझै निदाएकि छैन होला”
प्रतिक्षामा खुल्ला रहेको कोठाको ढोका अगाडिबाट सुनिएको मेरी आमाको आवाजले म झसङ्ग भए । जीवनका यति धेरै रातहरूमा मैले यसरी मेरी आमा पुरुषसँग हातेमालो गर्दै हिडेको र घरमा आएको कहिल्लै थाहा पाएको थिएन । निद्राले अधकल्चो भएको आँखा राम्रोसँग मिच्दै मैले ढोका तर्फ़ देखिरहेको त्यो अत्यासलाग्दो र घिनलाग्दो दृश्यले म छाँगाबाट खसे जस्तै भए । दृश्यमा मेरी आमा कुनै पुरुषको अंगालोमा बेरिनु भएको छ । शरीरको साडीको सप्को भुइमा लतारिएर आफूखुसी खेलिरहेको छ । सधै गाठो पर्ने मेरी आमाको चुल्ठो फुकेर लथालिङ्ग भएको छ । हात हल्लाउदै त्यो पुरुष गैसकेपछि आमा खुट्टा लर्खराउदै कोठा भित्र पस्नुभयो । यी सबै दृश्य मैले नचाहेर पनि चुपचाप हेरिरहेको छु । मन उकुसमुकुस भै रहेको छ तर पनि एक शब्द नबोली सिरक भित्र गुजुल्टी परिरहे ।
“तृष्णा! ए तृष्णा!! निदाइसकिस कि क्या हो”
ढोका छेवैको कुर्चीमा बसेर आमाले आफ्नो शरीरका लुगाहरू एक एक गरेर फुकाल्दै जानु भयो । हाते ब्यागबाट पैसाहरू निकाल्दै राम्रोसँग मिलाउदै जानु भयो र सिधै बाथरुमतिर लाग्नुभयो ।
“छोरी तृष्णा खाना खायौ ”
मैले ओढिरहेको सिरक उठाउदै मेरो टाउको सुम्सुमाउनु भयो । मैले यी सबै थाहा पाएर पनि थाहा नपाए जस्तो गरिरहे । बिहान देखि दुखिरहेको शरीर अँझ जोड जोडले दुखिरहेको थियो । मेरा आँखा भरि केही क्षण अगाडिको दृश्य बल्झिरहेको थियो । बाहिर एकनासले आकासबाट पानी दर्किरहेको थियो । झ्यालका काप- कापबाट थोपा थोपा गरेर पानीका छिटाहरू कोठा भित्र छिरिरहेका थिए । लामो समयदेखि आमाको प्रतिक्षामा टोलाइरहेका मेरा आँखाहरू सिधै आमाको आँखामा ठोक्किन साथ म भक्कानिएर रोए । चुक घोप्टिए सरिको कालो रातले मेरी आमाको बर्तमानको वास्तविकतामा पर्दा लगाउने कोशिस गरिरहेको थियो । समय समयमा चम्किरहने बिजुलीको प्रकाशले भने मेरी आमाबाट लुकाइएको वास्तविकता एक एक गरी नियाल्दै थियो तर म भने आमाको न्यानो कोखमा सुक्क सुक्क गरी रोइरहेको थिए ।
“आमा मैले आज जे देखे के त्यो सत्य थियो?”
क्षण भरमै मेरो मन मस्तिष्क भरि संगालिएका प्रश्नहरू बिस्फोट गरी सुनसान कोठाभरी छताछुल्ल पारिदिए । अनायासै,अन्जानमा एक्कासि पोखिएका मेरा आश्चर्य भरिएका प्रश्नले आमाको बिगत बल्झाउदै बर्तमानको यथार्थरुपी वास्तविकतामा बिस्कुन फिजाए जसरी असरल्ल पारिदिदा उत्पन्न परिरिस्थितिले आमा घोप्टो परि निकै लामो रुवाइ रुनु भयो । जीवनका सोह्र वर्षसम्म परिस्थितिको भुमरीमा परेर किनारा लागेको जिन्दगीको पाटो यसरी पकछ्याल्ल हुने गरी पोखिएला भनेर सायद मेरी आमाले सोच्नुभएको पनि थिएन होला । म दुबिधामा थिए के भनौ के नभनौ । मैले जे भनेर आमाको मन दुखाए त्यो मैले भन्नु थियो वा थिएन । मलाई के थाहा मेरो बाल मस्तिष्कले देखेको त्यो अकल्पनित दृश्यले मेरी आमाको हृदयमा यति ठुलो चोट पर्ला भनेर ।
लाम्चो गहुगोरो मेरी आमाको अनुहार यसरी झ्याप्प निभेको बत्ती जस्तो अँध्यारो कहिल्लै देखेको थिएन । सधै गाजल खेल्ने आँखामा आज आँशु खेलिरहेका थिए । सधै ठाडो हुने शिर आज घन्टौसम्म निहुरिएको थियो ।पश्चातापले म जलिरहेको थिए । बाहिरबाट कोठाभित्र छिरेको चिसो सिरोठो पनि मलाई न्यानो महसुस भैरहेको थियो । आमाको शिर उठाउदै आँखामा आँखा जुधाए तर आमाका आँखाका नानीहरू लजाउदै परेली भित्र लुकिरहेका थिए । आमाको शरीरबाट निस्किएका पुरुष गन्ध र नशाको गन्धले आमाको खिल्ली उडाइरहेका थिए । सुनसान कोठामा निस्तब्ध हामी दुई प्राणि आफैसँग लज्जाबोध गर्दै नतमस्तक भैरहेका थियौ । कोठा बाहिर आकासबाट एकनासले दर्किरहेको पानी क्रमस थामिदै थियो । यता मेरो शरीर भने झन् जोड जोडले दुखेर भारी हुदै गइरहेको थियो ।
” छोरी तिमीले आज जे देख्यौ त्यो सत्य हो ”
घोसे मुन्टोमै हिम्मत बटुलेर आमाले यसो भन्दै गर्दा बिजुलीको प्रकाश कोठाको खुल्ला झ्यालबाट छिरेर कोठाभरी छरपस्ट भै रहेको थियो । आकासमा गर्जिरहेको बादलले तर्सिरहेको अघि देखिको मेरो मन आमाको तितो जवाफले झन् गर्हौ हुदै गइरहेको थियो । एकनासले मैले आमाको मुखाकृत नियालिरहे । कहीं कतै लुकिरहेका यथार्थहरू पाइन्छन कि भनेर तर भेट्टाउन सकिन । केवल लज्जबोध रपश्चातापमा आँखाहरू झुकिरहेका थिए । मुखका छालाहरूले आफ्नो रंग बदलिरहेका थिए ।
“आमा मलाई आज तपाईंले भन्नै पर्छ कि सधै यसरी मध्ये रातसम्म किन बाहिर हुनुहुन्छ अनि अघि तपाईंलाई कोठाको ढोकासम्म पुर्याउन आउने को थियो ?”
अनभिज्ञताले उब्जाएका मन भरिका शंकाले म भरिएको थिए । पोख्नु मेरो बाध्यता थियो अन्यथा म भरिएर छताछुल्ल भैदिए भने सम्हाल्ने कोही पनि थिएन । जे थियो सबै मेरी यिनै आमा मात्र थिइन् ।
“बोल्नुस न आमा । आज तपाईं बोल्नै पर्दछ । लुकाएर राखिएका तपाईंका जीवनरुपी गहनाहरू एकै कोठामा राखेर मसँग कति दिन पो लुकाउन सक्नुहुन्छ र ।
जान्ने उत्सुकताले म लुटपुटिए त्यही पुरुष गन्ध मिसिएको मेरी आमाको कोखमा । जुन कोख मेरो जीवनको पाठशाला थियो अनि ओत लाग्ने घर थियो ।
“सोह्र वर्षसम्म झुठ बोल्दै लुकाएको मेरो वास्तविकता जानेर तिमीले के पाउछ्यौ र छोरी ! कृपया मलाई यसरी बाध्यतामा नपार । तिमीले अघि जे देख्यौ त्यो केवल तिम्रो भ्रम मात्र थियो । यसलाई बिर्सियौ भने बरु तिमीलाई राम्रो हुने छ ।”
यथार्थ पोखिन खोज्दै गरेका वास्तविकताहरू मेरी आमाको मुखसम्म आएर पनि बाध्यतामा दबिएको मैले महशुस गरिरहेको थिए । तर जोर जबरजस्ती गर्न सकिन ।
“त्यसो भए आमा मेरा यी देख्ने आँखा अनि सुन्ने कानहरूलाई मेरो अन्तर आत्माबाट भ्रम हुन् भनेर चिता बुझाउन सकुला र ।”
” जीवन र जिन्दगीका भोगाइहरूमा कहिलेकाही देखिने वास्तविकताहरू यथार्थ नहुन पनि सक्छन । यदि यथार्थ भै दिए पनि त्यस भित्र गर्भित भएर तुहिएका वास्तविकताहरू काम नलाग्न पनि सक्दछन । त्यसैले छोरी शम्सान घाटमा पुरिएको लासलाई कोट्याउने कोशिस नगर ।”
यसो भन्दै गर्दा आमाका आँखाबाट निरन्तर बर्सिएका आँशुहरूले मलाई खबरदारी गरिरहेको भान भै रहेको थियो । सकी नसकी मेरा कोमल हातहरूले आमाका आँशुहरू पुछिरहे । आमाका आँशुहरूका रंग अनि स्वादहरू मेरो शरीर भरि लत्पतिएका छन् त्यसैले अस्थायी रुपमा मिसिएका पुरुष गन्धहरू मेरो मातृत्व प्रेमलाई नकार्न सकेन । म अँझै लुटपुटिए मेरी आमाको कोखमा अनि प्रेममय हातले सुम्सुमाए मेरी आमाका हरेक अंगहरू जो मेरा थिए केवल मेरा मात्र थिए ।
घन्टौ देखि ह्वाङ्ग भएर खुलिरहेको कोठाको ढोका ढ्प्काए । झ्यालहरू राम्रोसँग लगाउदै गर्दा आकाशतिर एक टकले नियालिरहे । अघिसम्म बादलले धपक्क ढाकेको आकाश क्रमस कञ्चन हुदै थियो । शहरमा कुकुरहरू एकनासले भुकिरहेका थिए । ग्याँस चुल्हो सल्काएर चिसिएको खाना तताईवरि आमाको अघाडी राखी दिए । आमा भने अँझै पनि मौन भै रहनु भएको थियो ।
” छोरी तिमीलाई थाहा छ तिम्रो बाबा कहा हुनुहुन्छ ” बिगत वर्ष देखि मैले खोजेको जवाफको प्रश्न मैतिर फर्किएको थियो । मैले बारम्बार गर्ने प्रश्नमा सधै भरि एउतै जवाफ पाइरहन्थे-“तिम्रो बाउ त तिमी नजन्मिदै मरिसके । ” आज त्यही प्रश्नको उत्तर मेरी आमाले मसँग माग्दा भने म स्तब्ध भए ।
” मेरो बाबा त मरी सक्नुभयो त्यसैले स्वर्गमा हुनुहुन्छ ।”
आमा फेरि भक्कानीनु भयो । भक्कानिदै गर्दा खसेका आँशुका ढिक्काहरू एक-एक गरेर आफू अगाडिको थालमा तप्प-तप्प चुहिरहेका थिए । मैले बुझिन मेरी आमा किन फेरि सम्झिदै रोइरहनुहुन्छ भनेर ।
” भो नरुनु आमा । अब मैले कहिल्लै पनि तपाईंको मन दुख्ने गरी यस्ता प्रश्नहरू सोध्ने छैन । ”
बितेका पलहरू दोहोरीएको ठानेर सान्त्वना दिन खोजे ।
खाना छोडेर आमा फेरि पलंगमा जानुभयो अनि दराज खोलेर वर्षौ देखि लुकाइएका प्रमाणहरू निकाल्दै एक-एक गरेर ओच्छ्यानमा फाल्न थाल्नुभयो । म भने डराइरहेको थिए आमाको भावाभश देखेर । मैले हेरिन ती लुकाइएका प्रमाणहरू जसले मेरो जीवनमा कुनै अर्थ राख्दैन थियो ”
“तिम्रो बाबा मरेको छैन छोरी । यो दुनियामा अँझै जिउदै बाचेको रहेछ । परिवारको दवाबमा तिमी ४ महिनाको गर्भमा छदा भागेको तिम्रो कायर बाबा अँझै पनि यो दुनियामा जिउदै बाचेको मैले भेट्टाएकी छु । ”
म झसङ्ग भए । अघि भर्खरसम्म मरेको बाबा जिउदो छभन्दा म आमाको भनाइमा विश्वस्त हुन सकिरहेकी थिइन । विश्वस्त हुने न त कुनै विश्वासिलो आधार थियो न त कुनै प्रमाण । भर्खर ओच्छ्यानमा फालिएका प्रमाणरुपी तस्बिरहरू र कागजका टुक्राहरूमा कसरी मैले मेरो जिउदो बाबा भेट्टाउन सक्थे र !
“खै कहा हुनुहुन्छ मेरो बाबा । मलाई देखाई दिनुस मेरो बाबा जिउदो हुनुहुन्छ भने । होइन भने झूठ बोलेर मलाई किन अँध्यारोमा थुन्न चाहनुहुन्छ ।”
मेरो मन आवेशले भरिएको थियो अनि उत्कण्ठ अभिलाषाले मन फुरुङ्ग पनि हुदै गइरहेको थियो ।
“म देखाउन चाहन्न यो समाजमा तिम्रो बाबालाई अनि चिनाउन पनि चाहन्न । यो समाजको अगाडि तिम्रो बाबा मरिसकेको छ । तेह्र वर्ष देखि मरिरहेको तिम्रो बाबालाई मैले यो समाजमा देखाए भने समाजले मलाई अर्कै परिचय दिने छ । केही क्षण अगाडि तिमीले जुन दृश्य देखेर म प्रति आफ्नो मन बनायौ त्यसै गरी यो समाजले मन बनायो भने म नाजवाफ हुने छु । तेह्र वर्ष देखि भागेर लापत्ता भएको तिम्रो बाबालाई सन्यासीको भेषमा मैले केही समय अगाडि यही शहरमा भेट्टाएको छु । हुन त मैले कहिल्लै पनि खोजिन तिम्रो बाबालाई तर उसले बितेका तेह्र वर्षसम्म हामीलाई खोजेको रहेछ । देखेपछि मन पलाएर आयो । जस्तो अवस्थामा देखे पनि मन उस्तै थियो बिचार उस्तै थियो अनि आत्मीयता उस्तै थियो त्यसैले म पग्लिए उसको अगाडि । हो त्यही व्यक्ति थियो जुन तिमीले केही क्षण अगाडि देखेकी थियौ । ऊ चाहन्छ यो समाजमा आफ्नो परिचय दिएर स्थापित हुन अनि ऊ चाहन्छ तिम्रो स्विकरोक्त्ति पनि । तर यी सबै मैले सहजै आटेर गर्न सकिरहेकी छैन । म त केवल उसको म प्रतिको आसक्ति अनि अपनत्व देखेर पग्लिए तर यो समाज त्यसरी पग्लन सक्ने छैन । ”
मन कुनै ठुलो पहाडले थिचें जस्तै भारी भएर आयो । म नाजवाफ भैरहेको थिए । निस्तब्ध कोठामा मैले मेरी आमाको सिंगो शरीर धेरै वर्ष पछि दोहोराई दोहोराई हेरिरहेको थिए । पैतिस वर्ष पनि पुगी नसकेकी मेरी आमाको शरीरमा एक्लोपनाले उब्जाएको न त कुनै संकेतहरू देखिरहेको थिए न त आफ्नो लोग्नेको अनुपस्थितिले पुर्याएको कुनै चोटहरू देखिरहेको थिए । माया प्रेम अपनत्व र आसक्तिका कथाहरू त मैले केवल पुस्तकहरूमा मात्र पढेको थिए । व्यवहारले आज मलाई मेरै घरले पढाइरहेको थियो । यति लामो समयसम्म गुम्साएर राखेका मेरी आमाका प्रेम र आसक्तिका पीडाहरू बिगतमा न त मैले बुझ्ने चाहे न त आमाले नै मलाई बुझाउन चाहनु भयो । प्रेमिका मरेको नाटकले गुम्साएको चोटहरू बल्ल आज मैले मेरी आमाको बर्तमानको रुपरेखामा देखिरहेको थिए । पति पीडाबाट दबिएर बाच्न विवश भएकी एउटी नारीका एक्लोपनाको पीडाहरू बल्ल मैले बुझ्न सकिरहेकी छु । मैले बल्ल आज मात्र देख्न सकेकी छु प्रेम अपनत्व र आसक्ति भावाबेश्मा आएर मार्न सकिदो रहेनछ । यो त मान्छेको भौतिक शरीर नमरेर जादासम्म लिसो टासिए जस्तै टासिएर बास्दो रहेछ । हो आज मैले यही यथार्थ मेरी आमाको यी शरिरहरूमा सल्बलाइरहेको देखिरहेकी छु । आजसम्म त मैले आमाको शरीरमा लागेका कुनै चोट र चिन्हहरूमा मात्र खोज्ने प्रयास गरे तर प्रेम अपनत्व र आसक्ति त भावनामा पो हुदो रहेछ । अन्यथा सोह्र-सोह्र वर्षसम्म छुट्टिएर अलग भएर बसेको भौतिक शरीरमा किन यति ठुलो आसक्ति ?
“छोरी म एक छिन बाहिर गएर चिसो हावामा बस्न चाहन्छु ”
बिगत बल्झिएर आमा गली सक्नुभएको थियो । उठेर ढोका खोल्दै आमासँगै बाहिर निस्किए । ढोका छेवैमा उही मान्छे थ्याच्च भुइमा बसेर हाम्रा अहिले सम्मका सबै बार्तालाप सुनिरहेको रहेछ । मलाई देख्न साथ छोरी सम्बोधनले मेरो टाउको सुम्सुम्याउन खोज्दै थियो । म डरले दगुर्दै कोठामा गए अनि अघिदेखि आफूले ओढ्ने गरेको सिरक लिएर अर्को कोठामा गएर कोठाको चुक्कुल लगाएर पल्टिए । ओच्छ्यानमा पल्टिएर मैले देख्दै नदेखेको मेरो बाबाको बारेमा सपनाहरू बुन्न थाले । पति र पत्नी बिचको कहिल्लै नटुंगिने सम्बन्ध देखेर म आफै पनि लालायित भै रहेको थिए । भित्तामा झुण्डिएको घडीले बिहानको संकेत गरिरहेको थियो । बाहिर खुलेको आकासमा बादलका झुण्डहरू एक आपसमा मिल्दै आ-आफ्नै रफ्तारमा आफ्नो भविष्यको खोजीमा हातेमालो गर्दै जोड जोडले दौडिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *