‘ए ! तिमीहरूले सुन्यौ ? भोलिदेखि यहाँ यी थोत्रागाडीहरू पार्किङ नगर्नु, यो ठाउँ खाली हुनुपर्छ’–ट्राफिकको हवल्दारले उर्दी लगायो धोवीखोलाको किनारमा मिनिट्रकहरू पार्किङ गरेर कामको पर्खाइमा रहेका ड्राइवरहरूलाई ।
‘हाम्रा गाडीले बाटोमा के अबरोध पुर्याएको छ र सर ?’–एउटा ड्राइवरले कारण जान्न चाह्यो ।
‘अबरोध–सबरोध थाहा छैन, नराख्ने भनेपछि नराख्ने सुनिस् नि’–हवल्दार कड्कियो ।
‘किन नराख्ने ? हामीले झण्डैलाख खर्च गरि–गरी खोलाको बगर पुरेर र पर्खाल लगाएर बनाएको पार्किङ पो हो त यो, बाटामा गाडी राखेर अबरोध पुर्याएको छ र ! हटा भन्ने बित्तिकै हटाउँनलाई’–अर्को ड्राइबर सुरियो आफ्नो निमेक गरिखाने ठाउँमाथि धावा बोल्नेमाथि जाइ लागौला झैं गरेर ।
‘ए ! तँ राष्ट्रसेवक प्रहरीको मुखमुखै लाग्ने ? अब थाहा पाउँलास्’–प्रहरीले फूर्ति देखायो बर्दीको र धम्किदियो– भोलिदेखि एउटा गाडी देखुँ त टुइचर लगाएर बग्गीखानामा पुर्याइन भनें ।
हवल्दारको व्यवहारले रुष्टभएका ड्राइभरहरू के भयो हँ ? के भयो हँ ? भन्दै थपिन थालेपछि हवल्दार सेतो पूलतिर लाग्यो । पूलको मुखैनिर पुगेका बेला मैले हवल्दारलाई कोट्याएँ र सोधे–‘हैन हवल्दार साब् यी गाडीहरू हटाउँनुको खास् कारण चैं के हो ? बुझ्न पाइन्छ नि ।’
हवल्दार फनक्क पछाडि फर्कियो र बाटोमा भरखरै लगाईएको सोलार ल्याम्पपोष्टलाई देखाउँदै भन्यो–‘उ ऽ त्यो सोलार बत्तीलाई कति पर्छ तपाईलाई थाहा छ ?’
मैले अनभिग्यता जनाउँदै थाहा छैनमा मुण्टो हल्लाएँ ।
मैले थाहा छैनको संकेत गर्ना साथ उसैले फूर्तिसाथ भन्यो–‘साढे दुइलाख ।’
‘यो बत्ती र यी मोटरहरूको के सम्बन्ध छ र ?’–मलाई उसका कुराले आश्चर्य चकित नबनाई छोडेन ।
‘किन छैन ?’–उसले मेरा प्रश्नको जवाफमा प्रश्नै गर्यो र फेरि अर्को प्रश्न पनि थप्यो–‘यो सोलार कसले जडान गरेको थाहा छ ?’
मैले फेरि थाहा छैनको संकेतमा मुण्टो हल्लाएँ । मेरो अनभिग्यताको संकेतले उसको अनुहार उज्यालो भयो अनि उसले अँझ उच्च स्वर बनाएर आफैं उत्तर दियो–‘करसा’ब्ले, र अर्को प्रश्न पनि थपिहाल्यो–‘यो ठाउँ बाहेक अन्यत्र कतै जडान भएको छ त यस्तो बत्ती ?’
मैले पुनः छैनमा मुण्टो हल्लाएँ ।
अनि उसले जोसिएर भन्यो–‘साढे दुइलाख पर्ने सोलारबत्ती जडान गर्नसक्ने र टोललाई झिलिमिलि पार्न सक्ने कस्को ह्याउँ करसा’ब बाहेक, अनि त्यस्तो पावरफुल कर्नेलका घर अगाडि यस्ता खातेका थोत्रा गाडी लाम लगाएर पार्किङ गर्ने हो त ?’–हवल्दारले गाँठी कुरा खोल्यो र थप्यो–‘अब यो ठाउँमा पार्किङ पाए करसा’ब्को गाडीलेमात्र पाउँछ अरुकाले पाउँदैन बरु ठाउँनै खालि बस्छ ।’
‘अनि तपाईलाई आदेश चैं कसले दियो नि ?’–मैले अन्तिम जिज्ञासा राखें ।
‘यो पनि कुनै आदेश दिनु पर्ने कुरा हो ?’–हवल्दार कूर्लियो ।
हवल्दारको कुर्लाईले केही समयसम्म त मलाई एक भन्नु न दुई भन्नु बनायो तर मैले तुरुन्तै आफूलाई सम्हालें र ‘हत्यारा, डाँका तथा लुटेरालाई आफ्नो हनुमान हो भनेर राष्ट्रप्रमुख तथा सरकार प्रमुखलेनै अँगालो मारेर चोख्याउँने र त्यसैलाई न्याय भएको ठानिने देशमा यी मजदुरहरूको उठीबास लगाउँनु र मुखमा लात्तले हान्नु पनि न्यायोचित कर्म भित्रै पर्दो हो’–भन्दै चित्त बुझाएँ ।
जुरोपानी-४,झापा
