मित्रस्य चक्षुसा समीक्षामहे


यौटा थिए मित्र बडो उदार, अर्का थिए झन् अँझ होनहार ।
देखेर यो भान परिरहन्थ्यो, संसार यिनकै छ कि बारबार ।।

अग्ला बडो पुष्ट र ज्यानदार, चौडा थियो पुष्ट विशाल भाल
थियो दुवैको अनुहार यस्तो फुलिरहेको छ गुलाफ जस्तो ।।

हुन्थ्यो बडो यत्नसँगै दुवैको, पुग्थ्यो त्यतै दृष्टि सधैं सबैको,
सङ्घर्ष गर्र्थे श्रममा रमाई उत्कृष्टता हासिल गर्नलाई ।।

बेग्लै थिए तापनि एक जस्ता लाग्थे दुवै मित्र अनन्य जस्ता
दुवै बने दीक्षित एक साथ मानौ उदाए जून मध्ये रात ।।

लामो कथालाई छिनाउँछु म महत्वकै मात्र चिनाउँछु म
बेकामका ब्यर्थ कुरा कथुर्नु त्यो व्यर्थको काम घिनाउँछु म ।।

यौटा भए सेवक कर्मचारी अर्का गए सात समुद्र पारि
जो मित्रता थ्यो तब तोडिएछ मितेरी अन्तैतिर जोडिएछ ।।

जो मित्रता थ्यो नङ मासु जस्तो जोडिरहेकै कि आँत जस्तो
तथापि यौटा घरमै रमाए पारि गए जो ती उतै बिलाए ।।

समुद्रपारि जब पुग्छ कोही त्यो हाँस्छ वा बस्तछ रोइ रोई
के जान्नु तिनको गति हुन्छ कस्तो म ठान्छु त्यो हुन्छ भिखारी जस्तो ।।

संयोग यस्तो हुन गो विचित्र स्वदेशमै थे जुन एक मित्र
अनाहकै सङ्गत बढ्न थाल्यो बाराङ्गनाकासँग भित्र भित्र ।।

वाराङ्गनै मात्र कहाँ थिए र साथै त्यहाँ मद्य पनि पिएर
उत्ताउलो काम समेत गर्न लाग्थे उनी ज्यान पनि दिएर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *