Skip to content

असुरक्षित छोरीहरु प्रति समर्पित

छोरीहरू,
अपरिचित बाबाको धेरै धेरै सम्झना l
घरै भित्र पालिएका मानवरुपी दानबहरूबाट तिमीहरूमा भएको एसिड आक्रमणको खबरले मर्महात भएको छु l तिमी प्रतिको अन्यायले सिंगो देश रोएको बेला मेरा आदर्शका शब्दले मलम पट्टिको काम गर्ने छ भनेर मैले किमार्थ सोचेको छैन l पुरुष भएर जन्मिएको पश्चातापले आफूलाई जलाइरहदा शब्दहरूको घोडा चढेर राहतको अनुभूति लिने मात्र प्रयास गरेको हु अन्यथा सोची दिने छैनौ l
गरिबी र अभावको ज्वालामा रापिएर छटपटाइरहेको बेला आहात थपेर तिमीहरूको जीवन र जिन्दगी बिगार्ने दानबहरू म जस्तै पुरुषको मुखौटा लगाएका प्राणि भएको ग्लानिबोधले उकुसमुकुस भैरहेकोले केवल स्वास फेरेर बाच्ने धृष्टता मात्र गरेको हु l
छोरीहरू,हुनत तिमीहरू पनि म जस्तै कुनै पुरुष बाबाका सन्तानहरू हौ.l मेरा यी आवेशयुक्त शब्दहरू ती बाबा वा अन्य पुरुष नातेदारहरू प्रति कदाचित होइन l म सम्मान गर्छु ती बाबाहरूलाई जसले तिमीहरूलाई यो धर्ती देखाउने मौका प्रदान गरे l परिस्थिति र अवस्थाहरूसँग लडेर तिमीहरूलाई यो धर्तीमा स्वतन्त्रसँग बाच्न कति योगदान पुर्याए वा पुर्याएनन त्यो छुट्टै बहसको विषय भएकोले म आज त्यता तर्फ़ गएर सापटी स्वरुप प्राप्त गरेका शब्दहरूलाई खेर फाल्न चाहन्न l
म सोचिरहेको छु तिमीहरू छुन्मुनाउदै खेल्ने तिम्रो घरको आँगन आज तिमी बिना कसरी बाच्न सकेको होला l तिमी बिनाका ती गोरेटाहरू कसरी सल्बलाउन सकेका होलान l अनि सोचिरहेछु तिमी बिना तिम्रा आमाहरूका ओठहरू कसरी हास्न सकेका होलान l यतिबेला तिमी पीडामा छौ जुन पीडाले तिमीलाई छोरी भएर जन्मिएकोमा आत्माग्लानि गराइरहेको छ l पुरुष प्रधान यो समाजमा देखिएको यो रवैयाले घृणा जगाइरहेको छ जसले गर्दा अस्पतालको बिछौनामा पल्टिएर आफ्नो भविष्यमा लागेको कालो बादल देखेर हरपल तिमी भक्कनिदै रोइरहेकी छौ l
तिमी हुर्किएको आमाको कोख अनि तिमी खेल्ने तिम्रो आँगनले तिमीलाई आफ्नो स्वतन्त्रतामा बाच्न सिकायो l भर्खर पलाउदै गरेका पखेटाहरूको सहारामा तिमी खुल्ला आकासमा रमाउन उड्दै गर्दा तिम्रो स्वतन्त्रतामा नेल लगाउन चाहने मानवको मुखौटा लगाएको दानबले तिम्रो पछाडिबाट शरीरमा एसिड फालेर पुरुषत्वको बहादुरी देखाएछ l लाज मानेन त्यो पुरुषले l पर्दा पछाडिबाट आक्रमण गर्नु नै बहादुरी हो सायद उसका अभिभावकबाट त्यसले त्यही शिक्षा लिएको हुनु पर्छ l मलाई थाहा छ छोरीहरू, त्यो अपराधी पनि तिमी जस्तै कुनै दिदी वा बहिनीको दाइ वा भाइ हुनुपर्छ l र मलाई यो पनि थाहा छ कि उसको त्यो दानबीय व्यवहारलाई आफूले ओढ्ने गरेको बर्की भित्र गम्लङ्ग पारेर लुकाउने पात्रहरू मध्यका केही पात्रहरू उसका दिदी-बहिनी वा आमा पनि तिमीहरू जस्तै छोरीहरू हुन् भनेर l तर के गर्छ्यौ छोरीहरू, तिमी हामी हुर्किएको समाज नै त्यस्तै दानाबरुपी कायर छोराहरूको संरक्षण गरेर आफूलाई लायक अभिभावकमा दर्ज गर्न लालायित समाजका केही अंसहरू हुन् भनेर l तिमीहरूले अस्पतालका शैयाहरूबाट आफू प्रति भएको अन्याय र अपराधीले आजसम्म पाएको उन्मुक्तिको यथार्थ पोख्दै गर्दा तिम्रा आँखाहरूबाट बगेका आंशुहरूले म समुद्र पारि बसेकोलाई पनि पोलिरहेको छ तर त्यही बसेर तिम्रो हाम्रो संरक्षण गर्ने ठेक्का लिएर बसेका ठेकेदारहरू लाज पचाएर आफ्नो कायरता संचार माध्यमहरूबाट बिना हिच्किचाहट विश्वसामु प्रदर्शन गरिरहेका छन l छोरीहरू, अब तिमीहरूले बुझ्ने पर्छ यो समाजको वास्तविक यथार्थता र उठ्नु पर्छ चिराग बोकेर त्यस्ता दानबको बिरुद्दमा र त्यस्ता पशुहरू हुर्काउने र जोगाउने समाजका बिरुद्दमा l तिमीलाई थाहै छ छोरी योभन्दा अति घृणा, सहनै नसक्ने र,देख्नै नसक्ने घटना बारा जिल्लाकी नाबालक छोरी पूजामा घटेको छ l अपराधीले ती फ़क्राउदो फूलको रस मात्र चुसेन बल्कि सिंगो बोटनै चुडेर लग्यो l त्यतिमात्र होइन छोरीहरू, सुन्दै छु शिक्षाको ज्योति बाडेर संसार चिनाउने ठेक्का लिएको अर्को दानबले पनि नाबालक छोरीमाथि उस्तै हर्कत गरेर सिंगो पुरुषहरूको मुहारमा कालो पोत्ने काम गरेको छ l तिमी पीडाले दुखिरहदा सिंगो मुलुक तिमीभन्दा अँझै स-साना कोपिलाहरूको मुनाहरू चुडिएको आक्रोसले दन्दनी बलिरहेको छ l तर हेर त सरकार आफ्नो नालायाकिमा पनि गर्व गरेर मुस्कुराइरहेको छ l मैले सुनेको छु छोरीहरू, तिमीहरू एस एल सी को तैयारीमा पनि छौ भनेर l तिमीहरूको त्यो दायित्व र अधिकारको बारेमा मलाई केही भन्नु छैन l छ त केवल यति मात्र कि छोरीहरू तिमीहरूले अब किताबी ज्ञान मात्र लिएर पुग्दैन l सिंगो समाज,राष्ट्र र विश्व चिन्ने ज्ञान पनि अब तिमीहरूले लिनु पर्दछ l बौद्दिकता निरीहतामा हुर्किदैन यसले फराकिलो धरातल पनि खोज्दछ l फराकिलो धरातलमा टेकेर तिमीहरूले आफू र आफू जस्तै थुप्रै छोरीहरूको पक्षमा वकालत र बहस गरेर यो धर्तीमा भएका सम्पूर्ण छोरीहरूको स्वतन्त्रता पूर्वक बाच्न पाउने अधिकार पितृसतात्मक यो समाज र राज्यबाट खोसेर लिउने प्रण पनि गर्नु पर्दछ l
थुप्रै छोरीहरू यो बेला कोपरिएका छन्; चिथोरिएका छन्; अनि निमोठिएर मारिएका छन् l सात समुद्र पारि तिमी जस्तै मेरा आफ्नै छोरीहरूको उज्यालो भविष्यको लागि खाडी मुलुकमा बसेर रगत र पसिना बेच्दै गर्दा घरमा भएका छोरीहरूको सुरक्षाको चिन्ताको रापले भत्भति पोलिएको छु l यस्तो अवस्थामा पनि आफ्नो उपस्थिति जनाएर तिमीहरूको सुरक्षा कवच बन्न नसकेकोमा आत्मा ग्लानिले मुटु छिया छिया भएको छ l गरिबी,अभाव र देशको राजनीतिक परिस्थितिले गर्दा थुप्रै बाबाहरू विदेशको गुलाम बनेर बन्दकीमा बेचिन बाध्य भएका छन् l हामीहरूको यो वास्तविकतालाई पनि बुझ्ने छौ र सिंगो मुलुकका दिदी-बहिनी र आमाहरूको सुरक्षामा पनि ध्यान दिने प्रण गर्ने छौ भन्ने आशा र विश्वास सहित तिमीहरूको शिघ्र स्वास्थ लाभको कामना गर्दछु l

Leave a Reply

Your email address will not be published. Required fields are marked *