Skip to content

सरकार हराएको सुचना


देशसँग सोधें
तिमीलाई हाक्ने
सारथी खोइ भनेर
देश हाँस्यो गलल्ल
अचरजमा परें अलमल्ल भएँ
देशले हास्दै भन्यो
सरदार अहिले सुकुलामा हुनहुन्छ
मरेतुल्य सुत्नु भा छ
खोइ आजकल अलिक बढी पिउनुहुन्छ
त्यसैले ओछ्यानमा धेरै बेर जिउनुहुन्छ

फेरि सोधें हे देश तिम्रो अस्मिता लुटिएन
देशले भन्यो छाती चिरिएको छ अहिले

परदेशीलाई सोधें के देश दुख्दैन आजकल
दुख्ने ठाउनै सकिसक्यो
धेरै दुखेपछि दुख्दो रहेन छ

ठुलो जुलुश आयो परबाट
न्यायको घाम खोज्दै सडकमा
अपराधीलाई फाँसी दे /अपराधीलाई फाँसी दे
ती स्वरहरू कोकिल थिए
साँझ घर फर्कदा लुटिए

फेरि देशलाई सोधें यो किन के को लागि
देश बोल्यो रुँदै भन्यो
गतीछाडा र मतिमाराहरूले
मलाई पनि बाँकी राखेनन्

आकाशलाई सोधें के तिमी देख्दैनौ यो
उसले भन्यो कालो वादल बढेको छ

हिमाल पग्लेर आँशु झार्दै
चर्किएको छातीमा पीडा छोपेर
आमाले सुम्सुम्याइन
भक्कानिएर रोइन
“कति रोयौ होला नानी
कति दुख्यो होला नानी
सहुन्जेल दुखेको सहेर
बेहोस हुन्जेल दुख्यो होला नानी
बेहोसीमा पनि दुख्यो होला
चेतमा धेरै दुख्यो होला
भत्भती पोल्यो होला
रगतमा होलि भयो
पापी चढिरह्यो
कति रोइन होला
कति छटपटाइन होला

हे ! सरदार के तिम्रो देशमा
बाच्न पाइन्छ ?
के तिम्रो देशमा हास्न पाइन्छ
के यो देश मरेको होइन र ?”
———————–

Leave a Reply

Your email address will not be published. Required fields are marked *