Skip to content

चूडामणि रेग्मीः भाषा र साहित्यका एक अथक यात्री


२०१२ सालमा पूर्वतिरका सचेत २४ जना युवाहरुको भेलाद्वारा संखुवासभाको चैनपुरमा जनसांस्कृतिक सभा नामको संस्था गठन गरिएको थियो । यसै संस्थाद्वारा तीन महिने ‘नौला पाइलो’ नामक पत्रिकाको प्रकाशन समेत आरम्भ भएको थियो । वि.सं.२०१३ सालमा उक्त २४ जनामध्येका बनारसमा पढ्दै गरेका केही युवाहरुले ‘नौलो पाइलो’ पत्रिकाको पहिलो अंक प्रकाशन समेत गर्न थालेका थिए । यसका प्रधान सम्पादक बालकृष्ण पोखरेल थिए । झर्राे नेपाली साहित्य र संस्कृतिको नमुनाका रुपमा ‘नौलो पाइलो’ प्रकाशन गर्न थालेपछि झर्राे नेपाली आन्दोलन चम्किएको थियो । नेपाली भाषामा संस्कृत र अंग्रेजी भाषाको थिचोमिचोको विरोधमा चम्किएको थियो यो आन्दोलन । भाषा र साहित्यको सङ्लो रुपको आवश्यकता ठानेर गरिएको आन्दोलन थियो झर्राेवादी आन्दोलन । त्यही डफ्फाको कान्छो सदस्य थिए चूडामणि रेग्मी । सुरुकै अवस्थाबाट यस फाँटमा लागेका उनै झर्राेवादी आन्दोलनका कान्छा सदस्य चूडामणि रेग्मीको २०६८ सालमा नै उनको हिरक जन्मोत्सवको सन्दर्भ थियो । त्यसै सन्दर्भमा उनबाट हुन पुगेको भाषिक, पत्रकारिता तथा साहित्यिक योगदानका बारेमा सानोतिनो आकलन गर्ने काम यस लेखनमा गएिको थियो । त्यस लेखलाई केही परिमार्जन गरी त्यस यताका रेग्मीले गरेका योगदानहरुलाई समेत समावेश गरी यहाँ त्यही लेख पुन: समकालीनमा समावेश गर्ने योजना गरिएको छ । उनको जन्मोत्सव निकट भएको सन्दर्भमा त्यही पुरानो लेख पुन: यहाँ प्रकाशित गर्नु पनि सान्दर्भिक हुने ठानिएको छ ।

१९९३ साल चैत्र २९ गते संखुवासभाको वाना गाउँमा पिता पीताम्बर र माता खिलेश्वरीदेवी रेग्मीको कान्छो पुत्रका रुपमा चूडामणि रेग्मीको जन्म भएको हो । आज ७५ वर्ष पार गरिसकेका रेग्मीको जीवनलाई भाषा साहित्य र पत्रकारितामा समर्पित जीवन मान्न सकिन्छ । उनी २०१० सालपछि वनारसको अध्ययनकालबाटै साहित्यतिर फर्किएका हुन् । वनारसका उनका अध्ययन सहपाठीहरुमा बालकृष्ण पोखरेल, कोषराज रेग्मी (निजका जेठा दाजु), स्व. वल्लभमणि दाहाल (निजका भानिज), तारानाथ शर्मा, माधव भँडारी, पोसराज निरौला, विपीनदेव ढु्रङ्गेल आदि थिए । यसै गरी उनका नजिक टाढाका मित्रहरुमा श्यामप्रसाद शर्मा, कमल दीक्षित, वासुदेव लुइँटेल, कृष्णप्रसाद पराजुली आदि पनि हुन पुगेका थिए । यिनै निकट वा दूरका मित्रकै प्रेरणा प्रभाव प्रोत्साहन आदिबाट उनमा भाषा, साहित्यमा र राजनीतिको मार्कसवादी फाँटमा झुकाव बढेको हो, जो अद्यापि यथावत् रहेको देखिन्छ । संस्कृत भाषाको साहित्य विषयमा आचार्य (१९५९ई.) गरेका रेग्मीको जागिरे शैक्षिक जीवन २०१७ सालपछि झापाबाट सुरु भएको थियो । २०२१ सालदेखि झापाको मेची कलेजमा नेपाली विषयको प्राध्यापकको रुपमा नियुक्ति लिएर कार्यरत रहँदै स्वत: अवकाश पाउनुपर्ने अवधिको १६ महिना अघिबाटै रेग्मीले २०५५ सालमा सहप्राध्यापकको पदबाट खुलासँग भाषा र साहित्यको सेवा गर्ने विचारले स्वैच्छिक अवकास लिएका थिए र हालसम्म पनि उनले लिएको विचार अनुसार नै प्रयत्नरत पनि छन् ।

चूडामणि रेग्मीका जीवनका विभिन्न पक्षहरु छन् । उनी साहित्यिक पत्रकार पनि हुन्, सम्पादक र प्रकाशक पनि हुन्, भाषासेवी र साहित्यका साधक पनि हुन् । राजनीति भने उनको आस्थाको विषय मात्र हो । यी आदि अनेक क्षेत्रबाट उनलाई नियाल्न सकिन्छ । उनका सिर्जनाहरुमा काव्य २, कथा ४, निबन्ध ९, हास्यव्यङ्ग्य २, भाषा व्याकरण ३ गरी जम्मा २० ओटा कृतिहरु प्रकाशित भएका छन् । अन्य लेखकहरुले उनका बारेमा पनि धेरै कृतिहरु लेखेका छन् ।
सम्पादक रेग्मी :

२०१३ सालदेखि नै उनले सम्पादनकार्य समेतमा हाल हालेका हुन् । ‘छात्रदूत’ (२०१३ वनारस), ‘छहारी’ (२०१५ सहसम्पादन विराटनगर), ‘मोती’ (२०२३, भद्रपुर), ‘युगज्ञान’ साप्ताहिक २०२६ देखि २०४८ सम्म, भद्रपुर) ‘यथार्थ कुरा’ (पाक्षिक, २०५२ देखि हालसम्म, भद्रपुर), ‘जुही’ त्रैमासिक, २०३८ देखि हालसम्म, भद्रपुर) जस्ता पत्रपत्रिकाहरुको सम्पादन तथा प्रकाशन गरेका छन् । यिनमध्ये उनले सम्पादन गरेका ‘युगज्ञान’ बाहेकका सबै पत्रिकाहरु साहित्यिक हुन् । साप्ताहिक पत्रिका भएर पनि ‘युगज्ञान’ ले कथा, कविता, निबन्ध जस्ता साहित्यिक विधामा पर्याप्त योगदान पुर्याएको कुरा ‘युगज्ञानको भाषा साहित्यको योगदान २०३९’ नामक कमल गुरागाईं (हाल नेपाली विभागप्रमुख मेची क्याम्पस) ले गरेको त्रि.वि. शोधप्रबन्धबाट सिद्ध हुन्छ । यसै पत्रिकामा प्रकाशित भएका साहित्यिक सामाग्रीहरुका संकलनका रुपमा विभिन्न व्यक्तिहरुका १० भन्दा बढी पुस्तकाकार कृतिहरु प्रकाशित भइसकेका छन् । प्राध्यापक मोहनराज शर्मा र सहप्राध्यापक होम सुवेदीका हास्यव्यङ्ग्य संग्रहहरु क्रमश: ‘मिस्टर झप्पुसिंह डबल एमए’ र ‘कालीपोके’ ‘युगज्ञान’मै प्रकाशित कृतिहरु हुन् । यस पत्रिकामा बालकृष्ण पोखरेल तथा तारानाथ शर्माले ‘भासेली सुरेली’ स्तम्भमा, माधव भँडारीले ‘फूल र काँढा’ स्तम्भमा, मोराश र होम सुवेदीले पुछारको पातो स्तम्भहरुबाट पर्याप्त सामग्रीहरुको प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रमा गहिरो योगदान दिएका छन् । यसबाट रेग्मीको सम्पादनमा निस्केको ‘युगज्ञान’ साप्ताहिक अखबार भएर पनि साहित्यका क्षेत्रमा पनि ठुलो योगदान दिने पत्रिकाको रुपमा थियो भन्ने सिद्ध हुन्छ । यसको श्रेय सम्पादक चूडामणि रेग्मीलाई नै जान सक्छ । उनको सम्पादनमा हालसम्म निस्किने अन्य पत्रिकाहरुमा ‘यथार्थ कुरा’ पाक्षिक र ‘जुही’ त्रैमासिक भने साहित्यिक नै हुन् । भाषा साहित्यको क्षेत्रकै लागि समर्पित हुने रेग्मीका यी पत्रिकारुको सम्पादनबाट भाषा साहित्यकै क्षेत्रमा योगदान पुगिरहेको कुरा निर्विवाद छ ।

अन्य पत्रपत्रिका तथा संघ संस्थाहरुका माध्यममा चूडामणि रेग्मी :

देशका विधिन्न स्थानबाट निस्कने पत्रिकाहरु र देशका विभिन्न संघसंस्थाहरुले चूडामणि रेग्मीका बारेमा विशेषाङ्क प्रकाशन, सम्मान प्रदान, चर्चा परिचर्चाको आयोजन र पुरस्कार प्रदान गर्ने काम गरेको कुरा पनि स्मरणीय छ । धुलिखेलबाट मोहन दुवालको प्रधान सम्पादकत्वमा प्रकाशित हुने ‘जनमत’ मासिक पत्रिकाको अंक ५४, झापाको काँकरभिट्टाबाट प्रकाशित हुने ‘सुसेली’ त्रैमासिक (अङ्क ८) र भरतपुर चितौनबाट प्रकाशित हुने ‘हाम्रो सिर्जना’ (पूर्णाङ्क १०) ले चूडामणि रेग्मीबारेमा विशेषाङ्क प्रकाशन गरेर उनको भाषिक तथा साहित्यिक योगदानको गहिरो विश्लेषण गरेर मूल्याङ्कन गरेका छन् । यसै गरी शेषराज शिवाकोटी (हाल माननीय न्यायाधीश, पुनरावेदन अदालत—दाङ) ले आफ्नो सम्पादनमा निस्कने ‘ज्ञानगुनका कुरा’का बेग्लाबेग्लै तीन अंकमा रेग्मीका योगदानको विस्तृत परिचय र मूल्याङ्कन गरेका छन् । यसै पत्रिकाले रेग्मीलाई पूर्वाञ्चलका मोतीराम (२०५७) भन्ने उपाधिसहित एक बेग्लै कृति प्रकाशित गरेको छ जसबाट रेग्मीको तत्कालीन अवधिसम्मको सक्रितालाई उक्त उपाधि दिएकोमा उपाधि सार्थक देखिन्छ । अझ यस उपाधिलाई सार्थकता गर्ने अर्काे महत्वपूर्ण कार्य पनि रेग्मीबाट हुने गरेको छ । झापा लगायत पूर्व, मध्य र पश्चिम नेपालका साहित्यकारहरुलाई सद्भाव यात्रा गराई पोखरा, भैरहवा, हेटौंडा, इलाम, इटहरी, विराटनगर, झापाको गौरादह, मोरङको बेलबारी आदि स्थानमा आफ्नै अगुवाइमा साहित्यको साहित्यकारहरुका साथ सद्भाव साटासाट गर्ने यात्रा गराएको उदाहरण छ । यस उदाहरणबाट रेग्मीलाई पूर्वका मात्र नभनी नेपालकै अहिलेका नयाँ मोतीराम भन्न सकिने कुरा स्थिति पनि छ । उनबाट हुन पुगेको साहित्यिक तथा भाषिक योगदानका बारेमा विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीहरुले २०३९ सालदेखि नै शोध कार्य गर्न थालेको देखिन्छ । हासम्म १२ भन्दा बढी विद्यार्थीले उनको व्यक्तित्व, कृतित्व, योगदान आदिमा अनुसन्धान गरिसकेका छन् । उनको कृतित्वका बारेमा बेग्लाबेग्लै कृतिहरुमा विभिन्न १० भन्दा बढी साहित्यिक समीक्षकहरुले चर्चा, विश्लेषण मूल्याङ्कन पनि गरेका छन् । २०६६ साल चैत्र २८ गते श्री रेग्मीको जन्मदिन पारेर ‘सप्तकोशी’ साप्ताहिक इटहरीले श्री रेग्मीको योगदानमाथि आधारित भव्य अभिनन्दन विशेषाङ्क (८८७ पृष्ठ लामो) प्रकाशित गरी झापाको चन्द्रगढीमा सदम्पती अभिनन्दन र रथयात्रा समेत गरेको थियो । यसबाट समाजका विभिन्न क्षेत्रबाट र पत्रपत्रिकाहरुबाट रेग्मीबाट हुन गएको योगदानबारे समयसमयमा मूल्याङ्कन भइरहेको, सम्मान र कदर पनि भइरहेकै देखिन्छ ।

साहित्यिक विशेषाङ्क प्रकाशनमा कीर्तिमान :

श्री रेग्मीले ‘जुही’ प्रकाशनबाट हालसम्म ६० ओटा पुस्तकहरु प्रकाशन गर्नु बाहेक ‘जुही’का ६५ र ‘यथार्थ कुराका’ ५० अंक प्रकाशन गरिसकेका छन् । यी दुवै पत्रिकाका सबै अङ्कहरु विशेष महत्व राख्ने प्रकारका र विशेष रुपका छन् । ‘जुही’ र ‘यथार्थ कुरा’ ले साहित्यका विभिन्न विधा र नेपाली साहित्यकारहरुको व्यक्तित्व तथा कृतित्वमाथि आधारित भएका अनेकौं महत्वपूर्ण विशेषाङ्क प्रकाशित गरेका छन् । यसबाट रेग्मीलाई साहित्यिक विशेषाङ्क प्रकाशन गर्नमा कीर्तिमान नै कायम गरेको व्यक्तिका रुपमा राखेर हेर्न सकिन्छ । ‘जुही’का चौथो अङ्कबाट नै विशेषाङ्क प्रकाशनको क्रम सुरु भएको छ । ‘जुही’का विशेषाङ्हरुमा हास्यव्यङ्ग्य अङ्क ४, समालोचना अङ्क ५, कथा अङ्क, ७, ४२, ४३, ४४ र ५३, काव्य अङ्क ८, पुष्पनाथ शर्माको उपन्यास अङ्क १२, ध.च.गोतामे अङ्क १६, भाषा अङ्क १७, उपन्यास तथा कथाकार सरोज ओली अङ्क ३३, झापाली साहित्य अङ्क ३६, भक्तबहादुर नेपाली अङ्क ३९, भारतीकालीन साहित्यकार राधिका राया अङ्क ४५, माधव भँडारी अङ्क ४७, निबन्ध अङ्क ४९ र ५२, स्वर्ण अङ्क ५०, हास्यव्यङ्ग्यकार विश्वशाक्य अङ्क ५४, कवि श्यामकृष्ण अङ्क ५६, कवि तथा समीक्षक डा.हृषीकेश उपाध्याय अङ्क ५८, कवि रोहिणीविलास लुइँटेल अङ्क ५९, महाकवि सोमराज अभय अङ्क ६२, गजलकार मधुपोखरेल अङ्क ६४ र महाकवि तथा प्रगतिशील लेखक मोदनाथ प्रश्रित अङ्क ६५ प्रकाशित भइसकेका छन् । यसै गरी ‘यथार्थकुरा’ पाक्षिकका पनि अनेकौं विशेष अङ्क प्रकाशित भएका छन् । प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्मा अङ्क १०, कवि कमल जङ्गली अङ्क ३८, झापाली साहित्य अङ्क ३९,४०, ४१, स्व. वल्लभमणि अङ्क ४२, स्व. नरेन्द्र चापागाई अङ्क ४३, साहित्यकार हरिहर खनाल अभिनन्दन अङ्क ४४, उपन्यास तथा कथाकार पुण्यप्रसाद खरेल अङ्क ४६, साहित्यकार केपी ढकाल अङ्क ४७ आदि प्रकाशित भएका छन् । अहिले झापा र झापाबाहिरका कतिपय साहित्यकारहरुको विशिष्टताका बारेमा ‘जुही’का ६६ र ६७ अङ्क पनि विशेष अङ्ककै रुपमा प्रकाशन भइसकेका छन् । यी दुई अङ्कका साथ होम सुवेदीद्वारा सम्पादित ‘प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरु’ समालोचनात्मक कृतिलाई २०६९ साल बैशाख ११ गते झापाको सुरुङ्गामा विमोचन गरिएको थियो । यसै गरी ‘जुही’ को आगामी अङ्क साहित्यकार सञ्जय थापा अर्थात् प्रदीप नेपाल विशेषाङ्क हुने गरी निकाल्ने काममा उनको एक वर्षीय योजना छ । यो अहिलेसम्म प्रकाशित भएका विशेषाङ्कहरु भन्दा ठुलो र महत्वपूर्ण हुने र प्रदीप नेपालको ६० औं जन्मदिन पारेर विमोचन गरिने कुरामा पनि उनी अहिलेदेखि नै लागिपरेका छन् । यसका लागि यो उमेरमा र झापाको गर्मीमा लेखकका घरघर साइकल चढेर रेग्मीले सामग्री बटुल्ने काम गरिरहेका छन् भने सामग्री संकलन तथा उक्त कृति प्रकाशनका लागि देशका विभिन्न स्थानमा उनैका शब्दमा (व्यूरो) खडा गरी उच्च तथा बौद्धिक वर्गका साथ सम्पर्कबाट सामग्री तयार गरिरहेका छन् । नेपालका कुनै साहित्यकारले ३६ ओटा भन्दा बढी साहित्यिक तथा भाषिक विशेषाङ्क प्रकाशन गरेको उदाहराण सम्भवत नपाइएला । यसै आधारबाट नै उनलाई साहित्यको विशेषाङ्क प्रकाशन गर्ने काममा कीर्तिमान कायम गर्ने साहित्यकार वा प्रकाशकको रुपमा आकलन गर्न सकिन्छ ।

रेग्मी देशका विभिन्न स्थानबाट सम्मातिन र पुरस्कृत समेत भएका छन् । झापाको महानन्द पुरस्कार, पोखराको आमा सेतुलीमाया शाक्य पुरस्कार, मदन पुरस्कार स्वर्णवर्ष सम्मान काठमाडौं, वाणीपुरस्कार विराटनगर, नरेन्द्र चापागार्इं स्मृति पुरस्कार विराटनगर, भैरव पुरस्कार काठमाडौं तथा हेटौंडा आदि अनेकौं साना ठुला साहित्यिक संघसंस्थाहरुबाट रेग्मीलाई अभिनन्दन तथा मानसम्मान गरिएको छ । उनी अहिले पनि खाइनखाई, आफ्नो निवृत्तिभरणको पैसालाई नै प्रयोग गरी साहित्यको क्षेत्रमा कार्य गरिरहेका छन् । महिलालाई प्रोत्साहन दिनु, जोडी साहित्यकारहरुलाई खोजीखोजी सदम्पती सम्मान गर्नु, साहित्यकारहरुको जीवनमा रहेर वा कृतिहरुमा रहेर तिन माथि विशेषाङ्क प्रकाशन गर्नु उनको विशिष्टता हो । जोडी साहित्यकारहरुको सम्मान गर्नु, महिला साहित्यकारको कदर गर्नु, शैली विज्ञानलाई मन पराउनु, भाषा र सहित्यको क्षेत्रमा गम्भीर काम गर्नु र साहित्यकारहरुको सद्भाव यात्रा देशका विविन्न स्थानमा गराउनु नै उनले आफ्नो मूल लक्ष्य मानेका छन् । हीरक जयन्ती मनाइरहेका यस्ता अथक साधकको दीर्घायुको कामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *