हाँस भन्छौ जानाजानी, सपना टुटेको छ
रैन रै’छु भाग्यमानी, सपना टुटेको छ
हिजो आज जिन्दगीमा, बादल लागेपछि
आँखाबाट बग्छ पानी, सपना टुटेको छ
मन किन दुखी हुन्थ्यो, पराई भा’को भए
सजाएछु आफ्नै ठानी, सपना टुटेको छ
खुशी भन्नु भ्रम रैछ, निराश हुन्छु ज्यादा
ब्यर्थै पा’को जिन्दगानी, सपना टुटेको छ
यता जस्तै भा’को होला, हालत उता तिम्रो
भन्दै छौ कि मेरी रानी, सपना टुटेको छ
-निर्मला थापा
