Skip to content


‘सुनरी त मर्नै लागेकी छ रे !’ गाउँभरि हल्ला फैलियो । हिजै म सुनरीलाई हेर्न गएकी थिएँ, दुब्लाएर ख्याउटी सुनरी, आँखा फुस्रा, ओठमुख कलेटी परेका, कपालभरि टाटैटाटा, हत्केलामा फोकैफोका, नीलो दबाईको झोल कटकटिएर हातमै सुकेको थियो । मिसरी र बबुनी मभन्दा जेठा हुन्, सुनरी र मेरो उमेर एउटै हो, हामीसँगै हुक्र्यौं, आमाको पछि लाएर काम गर्न आउने ऊसित टालाटुली बटुलेर पुतली खेलेको, कहिलेकाहीँ झगडा गरेको सम्झिन्छु । पुतली खेल्दा मात्र उसको मेरो समान हैसियत हुन्थ्यो, हामी आ–आफ्ना पुतलीका आमा, अरू बेलाजस्तो उसले मलाई मान गरेर बोल्नु नपर्ने । सीमित मान्छेको उठबसमा हुर्केका हाम्रा साथी भनेकै काका ठूलाबुबाका छोरीहरू र यिनै सुनरीहरू न हुन् ।

ऊ मर्न लागेकी छ भन्ने सुन्दा किशोर मन आहत भयो । पटकपटक त्यहाँ पुगेर कारण जान्ने प्रयास गरेँ तर केटाकेटी भनेर कसैले बताएनन् । ‘हामीले जान्न नहुने कुरा हो भने ऊ पनि त हाम्रै उमेरकी हो, उसले भोग्नुपर्ने, हामीले जान्न नहुने ?’ सुत्ने बेलामा डराउँदै हजुरआमालाई यही प्रश्न राखेकी थिएँ, ‘उसको बिहे भैसक्या छ, कति गनगन गरेकी, नकराईकन सुत्’ हजुरआमाले हकार्नुभयो । सुनरीको बिहेको आफ्नै कथा छ, उसकी दिदी मिसरीको ससुरालबाट परार साल खबर आयो, पेटको बिमारीले मिसरी मरी रे ! दैवको लेखा मानेर चिनकाचिन्कीले रोएरै चित्त बुझाए, मिसरीले छाडेका दुई सन्तानको स्याहार र घरखेतको काम धान्न अधबैँसे ज्वाइँलाई कान्छी छोरी सुनरी दिन बाध्य भए उनीहरू । माइली बबुनीको सानैमा बिहे भइसकेको र दुई सालपछि गौना दिनुपर्ने हुनाले उसलाई भिनाजुको स्वास्नी हुनुपरेन तर सुनरीको सिउँदो खाली नै थियो । अब ज्वाइँले आफ्नो उमेर मिल्दो केटी खोजेर पाउँदैन । नेपाल, भारत जता गए पनि यो भेगमा बस्ने उनीहरूको समुदायमा छोरीहरूको बालखैमा विवाह र किशोरी हुनासाथ गौना बिदाइ हुने चलन छ । विधवा विवाह गर्न पनि आफ्नै भाउजू हुनुपर्‍यो, त्यो पनि दाजुसँग बिहे मात्र भएको तर गौना नभएको, अर्थात् दाजुले नछोएको । कसैले छोडेको ल्याउन पनि कहाँ खोजेर पाओस् ?

मधेशमा आइमाईहरू सहन्छन्, सड्छन्, मर्छन् तर घर छोडेर बस्ने कुरै आउँदैन । जिन्दगीभरि राँडै बस्नु पर्ला भन्ने डरले ज्वाइँ हरेक दिन जसो ससुराली धाउन थाल्यो । त्यही किशोरी साली पनि फुत्की भने कसलाई स्वास्नी बनाऊँला भनेर बालख सन्तानहरूको दुहाई दियो । ‘अहिले जोडा नमिले पनि एक–दुई सन्तानकी आमा भएपछि सुनरी नै बूढी देखिन थाल्छे’ भन्दै समाज, आफन्त, नातागोता सबैले चिनकालाई कान्छी दिएर ज्वाइँको उपकार गर्न सुझाए । मन त कहाँ मानेको थियो र चिन्कीको तर ज्वाइँले दाइजो लिन्न, मैले ल्याएकै लुगामा छोरी बिदा गरिदिए पुग्छ’ भनेपछि हुन्छ भन्न बाध्य भई । आफूहरूको एक कोला खेत छैन, छोरीले त कमसेकम एक बिघा खेतमा गरिखान पाउँछे, नाति–नातिनाले दुई गाँस भात खान रुँदै हिँड्नु नपर्ला भन्ने आशले गाजल, टीका, चुरा लगाइदिएर छाती चरक्क चर्काउँदै एक दिन चिन्कीले सुनरीको बिदाइ गरी । मारे पाप पाले पुण्य भन्ने नजरले ज्वाइँलाई टिठलाग्दो गरी हेर्दा सुनरी घुम्टोभित्र असिनपसिन हुँदै कति रोएकी थिई, जान्नँ भनेर कति लडीबुडी गरेकी थिई । रुँदै दाजुचाहिँले बोकेर लडियामा हालिदियो, लडियामा जोतिएका गोरुहरूले पनि आँसु चुहाए कि ? पारि भारत पुग्दासम्म हिक्कहिक्क गरिरहेकी सुनरीलाई यसरी भिनाजुले स्वास्नी बनाएर भित्र्याएको थियो । त्यसपछि सुनरीका दुर्दिनहरू सुरु भए, ‘सुनरीले दु:ख पाएकी छ रे ! सासूले काम गरिन भनेर सिलौटोमा हात राखेर लोहोराले कुच्याउँछिन् रे, लोग्नेले रक्सी खाएर लात्तैलात्ताले हान्छ रे’ त्यो गाउँमा इष्टमित्र भएकाहरूले आउँदा–जाँदा यस्ता कुरा सुनाउँथे । फर्काएर माइत ल्याउने चलन छैन, दु:खसुख भाग्यमा जे छ, सहेर बस्नै पर्‍यो, बूढाबूढी चुपचाप बालख छोरीको दुर्दशा सुनिरहन्थे । ‘दमादबाबुलाई बोलाएर सम्झाउने पो हो कि, बालखै छ विचरा, काम सिकाएर पठाउँला, सुनरीलाई ल्याउन पर्‍यो’ चिन्कीले हत्ते गरेर छोरी लिन गएको चिनका एक्लै फर्कियो । ‘छोराछोरीको स्याहार कसले गर्छ ? गाईगोरुको जतन कसले गर्छ ? खेतमा काम कसले गर्छ ?’ सासूले सातै खाइदिइन् ।

सुनरीले बिरामी हुँदा पनि ऐया भन्न पाइन । सासू र लोग्ने उसबाट उमेरदार जवान आइमाई मिसरीझैँ काम र व्यवहार खोज्थे । खपिनसक्नु पीडा भएको कुरा कसले बुझ्ने ? कलिलो ज्यानमाथि खेलवाड भएको कुरा कसले देख्ने ? ओछ्यान छाड्नै नसक्ने हुँदा पनि अल्छीनी बहाना बनाएर सुतेकी भन्दै लोग्नेले लात उज्याउँदा रोक्नछेक्न को आउने ? यसपटक रगत नथामिएर साह्रै भएपछि मर्छे कि भन्ने डरले आमाछोरा उसलाई माइत फर्काइदिने निधोमा पुगे । कानून त नेपालमाभन्दा भारतमा कडा थियो त्यस बेलामा पनि, दहेजको नाममा बुहारी मार्नेहरू जेलमा सडेको उनीहरूले नदेखेका होइनन्, मिसरी मर्दा पो थानामा उजुरी परेन तर सुनरी पनि मरी भने पुलिसले छोड्दैन, माइतीमै मरी भने अवगालबाट जोगिन्छ भनेर सुनरीलाई लोग्नेले चिनकाको आँगनमा फालेर गयो ।

बबुनीसँगै लुकेर फेरि त्यहाँ पुगेँ ‘यी ऐसन हाल होगैल,’ (यी यस्तो हाल भयो) भन्दै बबुनीले सुनरीको रगतले भिजेको टालो फेरिदिई । ओहो कस्तो डरलाग्दो, के भा’को यस्तो ? घाउ नै घाउले सुन्निएको, आङै जिरिंग भयो । दिनभरि वाकवाकी लागिरह्यो ।

आज सुनरीको विषयमा पञ्चायत बस्दै छ, चिनकाले पञ्चायतलाई गुहार लगाए, सुनरीले न्याय पाउन यसभन्दा सजिलो उपाय छैन । चौकिंदारले गाउँभरि हाँक लगायो । सुनरीको ससुरालवालालाई हाजिर हुन खबर पठाइयो । यो भेगका जनताका केही साझा गाउँले कानूनहरू छन्, जहाँ देशको सीमानाले अर्थ राख्दैन, सीमा नाघेर यो दुवै देशमा बाध्यकारी मानिन्छ, यसमध्ये पञ्चैती पनि एउटा हो । मलाई सुनरीको पञ्चैती सुन्नु छ । सबै कुरा घरको मूलढोकापछाडि छेलिएर सुन्नुको विकल्प थिएन । किन किन फुत्त बाहिर निस्कन डरभन्दा बढी लाज लाग्यो । बेसोमती भइन्छ जस्तो, छोरीमान्छे अति नै आज्ञाकारी हुनुपर्छ भन्ने मनोविज्ञानले यसरी गाँजेको थियो कि आफ्नै घरको बरन्डामा बसेर छलफल सुन्न हाड कँपाउनु पर्ने । सुनरीको विषयमा बहस सुरु भयो । किन यस्तो बेहाल भयो भन्ने कुराको उत्तर खोजियो । किन मरणासन्न हुने गरी पिटेको भन्ने प्रश्न उठाइयो ।

रात पर्‍यो कि सुनरी कहिले कुलातिर, कहिले उखुबारीतिर, कहिले रहरबारीतिर लुक्न भाग्दिरहिछ, ‘खेतखलिहानबाट खोजेर ल्याउँदाको सास्ति भयो अनि बानी सुधार्न पिटेको’ भनेर लोग्नेले सफाइ पेस गर्‍यो । एक दिन त परालभित्रै लुकेर निदाइछ, रातरातभर गाउँबस्तीभरि, नहरकुलाभरि खोज्दा दु:ख भएकाले सबैले यस्तो पगलीलाई किन बिहे गरेर ल्याएको भनेर खिल्ली उडाए रे ! गाउँलेकै सल्लाहमा पगली सुधृन्छे कि भनेर उसलाई हल्का करेन्ट लगाएको कुरा पनि उनीहरूले स्वीकारे । त्यसपछि त दिउँसै कहिले डेहरीभित्र लुक्ने, बारीतिर भाग्ने, हुँदाहुँदा छिमेकीको घरमा लुक्न पस्न थालेकीले आफूहरूले साह्रै दु:ख पाएको र आफ्नो इज्जत घटेको कुरा उठाए । यो सब उसले काम ठग्नलाई गरेको, ढोका थुनेर सुती मात्र रहन्छे, काम गराउन पनि नपिटी अर्को उपाय नै नभएको कुरा गरे । काम बिगार्दा सासूले पिट्नु चलन हो भने मुखमुखै लाग्दा स्वास्नीलाई एक–दुई थप्पड लगाउनु सामान्य कुरा भएको तर्क पेस गरे । आफ्नै दिदीका छोराछोरीलाई हेलाँ गर्छे, घर गरिखानुपर्ने जातले यसरी अल्छी मान्न पाइन्छ ?’ भन्दै उल्टै समाजसामु सुनरीकै दोष पो देखाए । सबै कुरा सुनेर समाज घोरियो ।

१४ मात्र टेकेकी सुनरी ३१ नाघेको लोग्नेको डरले लुक्दै भागेको कुराले पञ्चायतमा रौँ बराबर महत्त्व पाएन । सुनरीको डरको कारण, लुक्नु/भाग्नुको कारण कसलाई पो थाहा नहोला तर सबै मुख सिएर बसे । जोडा नमिलेको बिहे सुनरीको मात्र भएको होइन, जसरी अरूले सहे, उसै गरी शहिदिनुपर्ने भयो । लोग्नेका लागि उसले आफ्नो मनमा भएको डर सहनुपर्ने भयो, लोग्नेका लागि उसले आफ्नो तनमा लागेको घाउचोट सहनुपर्ने भयो । एक–दुई पञ्च–भलाद्मीले उमेर नभरिदाँसम्म सुनरीलाई माइतै बस्न दिनुपर्छ, अहिले नै घर फर्काउनु हुँदैन’ भन्ने कुरा उठाए तर यता सुनरी धेरै वर्ष माइत बस्दा उता लोग्नेले अर्की ल्यायो भने ऊ त घरकी न घाटकी हुन्छे भनेर बहुमत यसको विपक्षमा उभियो । आइमाईले दोस्रो बिहे गर्ने सम्भावनाको नजिक समाज पुग्नै सकेको थिएन । जवान हुँदै गएपछि उसलाई घर चाहिन्छ, एकपटक घर बिग्रेकीको दोस्रो बिहे गराउन चिनकालाई धौ धौ पर्छ, सुनरीको कारण पछि गाउँ नै गनाउने हुनुभन्दा बरू अहिले सहेकै राम्रो भनेर बूढापाकाले अति नै दूरदर्शी भएर सल्लाह दिए । ‘बिहे भइसकेकी चेली, कतिन्जेल माइतमा अटाउली ?’ पढेलेखेकाले पनि प्रश्न उठाए ।

केही दिन माइतमा बसेर घाउचोट निको पार्ने, आइन्दा सुनरीमाथि हातपात नगर्ने, तर्साएर होइन फकाएर काम गराउने सर्तमा चिनकाले समेत दिइसकेकी छोरी घरै पठाउन उचित देख्यो । सुनरीका ससुराले सबै सर्त मन्जुर गरे । फैसला सुनरीको विपक्षमा भयो । ऊ लोग्नेको घर फर्किनुपर्ने भयो । दिउँसो उसको घाउ देखेर आएकी र अहिले ढोकाको आड लाएर यी सब सुनिरहेकी मेरो मुटु काँपिरहेको थियो । कुनामा टुक्रुक्क बसेर पञ्चैती सुनिरहेको सुनरीको दाजु मकराहे जुरुक्कै उठेर घरतिर गयो । एकैछिनमा फहरिदै चिन्की त्यहाँ बिलौना गर्न आइपुगी । पञ्चैतीमा आइमाई रुँदै कराउँदै आएको यो पहिलोपटक थियो । कस्तो विडम्बना π पीडितको अनुपस्थितिमा सभा बस्ने यो कस्तो सामाजिक परम्परा ? जसका बारेमा निर्णय गरिँदैछ, उसैलाई एक वचन नसोधी उसैका बारेमा निर्णय गरिदिने यो कस्तो पञ्चैती अधिकार ? चिन्कीले बिन्ती गरिरही, एकपटक सुनरीलाई पञ्चायतमा ल्याउन पाउँ भनेर । चिन्की रोइरही, एकपटक पञ्चायतले छोरीको घाउचोट हेरिदेआोस् अनि मात्र फैसला गरोस् भनेर । तर, गँवार आइमाईको रोनाधोना मानेर सबैले लखेटे, अरू त अरू चिनकाले नै पाखुरा समाएर उसलाई घरतिरै फर्काइदियो । सबैले भने, आइमाईहरू भावनामा बग्छन्, अदूरदर्शी हुन्छन्, बडा दूरदर्शी निर्णय गरेर पञ्चायत उठ्यो ।

पुगनपुग दुई महिनासम्म चिनकीले सुनरीको खुब सेवाजतन गरी । जसले जे भन्छ, त्यो खोजेर खुवाई, झारबुट्टा खोज्न कति गाउँ चहारी, निमको छाली घोटेर घाउमा लेप लगाउने, निमको पात उमालेर घाउ पखालिदिने, आमाको सेकतापले सुनरी केही हेर्न हुने भई । बबुनी भन्थी, उसको घाउमा खाँटा बस्न लागेको छ रे † तर, बेलाबेला तर्सेर चिच्याउन भने अँझै छोडेकी छैन । यस्तैमा एक दिन खिचडी (माघे संक्रान्ति) आयो, पञ्चैतीको भाका अनुसार सुनरीलाई लिन लोग्ने आइपुग्यो, चिनकाले रोइरहेका आमाछोरीलाई बलजफ्ती छुट्याएर सुनरीको बिदाइ गर्‍यो । जब अँध्यारो रात सुरु हुन्थ्यो, बबुनी भाँडा माझ्दामाझ्दै, चुलो पोत्दापोत्दै बेलाबेला झस्किन्थी, सुनरी फेरि चिच्चाइरहेकी होली । जब उज्यालो घाम उदाउँथ्यो, तब चिन्की तर्सिन्थी, रातभरि बगेको छोरीको रगत रोकिएको छ कि छैन होला ? आमाछोरीले जति भगवान् पुकारे पनि आखिर एक दिन अशुभ खबर आयो, फगुवाको भोलिपल्ट सुनरी भगवान्की प्यारी भई रे !

प्रकाशित: वैशाख २१, २०७३
http://nepal.ekantipur.com/news/2016-05-03/20160503124230.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *