शीरबाट खसेको त्यो गुराँस !



अझै उस्तै होला कि फेरियो होला त्यो गुराँसे लेक ? माथि थुम्कोमा बादलका थेग्लाहरू त्यसै गरि बास बस्न आउँँछन कि आउँदैनन् होला ? कुहुकुहुको श्वरमा बिरह गाउने कोइलीको भाका फेरियो या उस्तै होला ? सिम्लेको फेदिनेर छङ्छङ् खस्ने छाँगोको आवाजमा भिन्नता आयो कि उस्तै होला ? भष्मे मुन्तिर घाम ओरालो लागेपछि ढल्कने दिनका आकार र गोधुलीको रंग उस्तै होला या त्यसमा पनि भिन्नता आइसक्यो ?

बाँसको झ्याङमा साँझ नपर्दै र विहान नझर्दै कोकोहोलो हाल्ने सारौँका बथानहरूको चिरविर पनि बदलिए कि उस्तै होलान् ?

खोल्साभरी पाकेका एैसेलू टिप्ने र शीरभरी गुराँस सिउरिएर घाँसे गाउने गोठाला दाइदिदीहरूको भाका फेरियो कि उस्तै होला ? फरियाको झोलीमा काखे नानी खेलाउँदै हजुरआमाले गाउने लोहोरीभित्रको बालप्रेम अझै उस्तै छ कि छैन ?

जीवन यात्रामा पैताला राख्दै उकाली चढेको एक किस्साका सफेद चित्रहरु पुराना एल्वमझैँ पल्टाउन मन लाग्छ । घामपानी ले खुइलिँदै गएको चित्रझैँ लाग्ने ति पुराना यादहरू मल्टिप्लेक्सका पर्दामा उत्रिएजस्तै सदृष्य उपस्थित हुन्छन् । त्यीमध्ये मथिङगलको चलदृष्यमा बसन्तको एकसाँझ अझै गाढा बनेर आउँछ ।
000

‘यो बाटो कहाँ पुग्ने दिदी ।’

‘राम्दी ।’

स्याउलाको भारीले छोपिएको अनुहारभित्रैबाट घले भिरेकी दिदीले जवाफ दिइन् । सायद गुरुङ्नी हुनुपर्छ । उनको बानी त्यस्तै थियो कि उकालो चढ्दा भारीले श्वास बढेर हो, उनले त्यत्ति राम्रो जवाफ दिइनन् ।

त्यसपछि मैले फेरि सोधेँ ।

‘कति समय लाग्छ होला दिदी गुराँसे लेक पार गर्न ?’

‘फटाफट हिँडे त्यस्तै दुई घण्टा जति लाग्छ’ उनले बोकेको भारी भित्तामा अडेस लगाउँदै भनिन् र आफैँले पनि सोधिन ‘कहाँबाट आउनु भएको होला ?’

यसपटक भने उनको गुरूङ लवज प्रष्टै भयो ।

‘केहीबेर उकालो चढेर थोरै ओरालो झरेपछि गुरूङ गाउँ पुगिन्छ ।’

मलाई सदरमुकामबाट बाटो देखाउने मान्छेले भनेको थियो ।

दिनभरीको हिँडाईले जिऊ पसिना पसिना भएको थियो । खल्तिबाट रुमाल झिकेर पसिना पुछ्दै जवाफ फर्काएँ ।

‘सदरमुकामबाट ।’

‘भाइ आज तिमी पुग्दैनौ । धेरै उकालो छ । उकालो काट्न अझैँ दुई घण्टा लाग्छ । साँझको ६ बजिसक्यो ।’ दिदीले नाडिको घडी नियाल्दै समय घर्केको संकेत गरिन् ।

‘माथि घरहरू छैनन् । आज हाम्रै गाउँमा बस । भोली विहानै उकालो चढ्नु ।’

उनको त्यो आग्रह आफ्नै दिदीको मायालू बचन भन्दा कमको थिएन । तथापी भोली विहानबाटै कार्यालयको एक हप्ते कार्यक्रम सुरू गर्नुपर्ने भएकोले जसरी भएपनि डाँडो छिचोल्नै पर्ने थियो ।

‘ धन्यवाद दिदी ! यत्ति भन्नु भएकोमा’ भन्दै नाक ठोक्किने उकालो चढेँ ।

पाखाभरी फुलेका गुराँस र उँडालूको रंगिन छटामा गोधुली रंग पोतिएको थियो । कोइलीको कुहुकुहु र चराहरूको चिरविर आवाजनै बाटो कटाउने साथि बनेका थिए । घाम डाँडापारी नपुगुञ्जेल मनमा त्यति डर र निरासा पलाएन ।

‘रात आफ्नो हुँदैन । दिन ढल्किएपछि बास खोसेर बस है ।’

आमाले घर छोड्ने वेलामा भनेको बचन झल्याँस्स मनमा सम्झेँ । जति चढेपनि डाँडोको टुप्पो पुग्ने छनक देखिँदैनथ्यो । घाम ओरालो लागेको त अघि नै हो तर पनि उपत्यकामा भन्दा डाँडामा अँध्यारो ढिला हुने भएकाले म जसोतसो घिस्रँदै थिएँ । डाँडो काट्ने इच्छा नै भएपनि रात छिप्पिँदै गएको र लगातारको हिँडाइले गोडा फतक्क गल्न थाल्यो

तल फेदिमा भेटिएकी दिदीको कुरा मानेको भए हुन्थ्यो, नलागेको पनि होइन तर पनि भोली विहानैको कार्यक्रम आफैँले सुरू गर्नुपर्ने भएकाले उनको आग्रह मानेर तलै बास बस्न सकिनँ ।

‘ज्यानले आज दुःख पाउने भयो’ मनमनै यस्तो सोचेँ ।

जति उकालो चढ्यो त्यती नै रात ढल्कँदै थियो । अध्यारो छिप्पिँदै थियो । बाटो देखाउन जुनकिरीहरू हुँल बाँधेर आउँथे र फेरि रातको सन्नाटा भित्रै हराउँथे । चराचुरुङ्गीको आवाज विस्तारै घना हुन थाल्यो । कहिले झ्याउँकिरी र उल्लुको आवाज एकसाथ मिसिएर आउँदा वातावरणनै डरलाग्दो हुन्थ्यो । बेलाबेला त कहिल्यै नसुनिएको चराको आवा पनि सुनिन्थ्यो र म तर्सन पुग्थेँ ।

जव रात बढ्दै गयो मेरो मुटुको धड्कन र गतिपनि विस्तारै बढ्न थालेजस्तो लाग्थ्यो । ओरीपरिका बुट्यान र झाडिहरु पनि एकाएक डरलाग्दो देखिन्थे । स–साना रुखका पोथ्राहरू पनि मानवाकृति जस्ता देखिन थाले । छस्र्याक्क गरेको आवाज आउँदा पनि म डराउथेँ ।

कोइलीको आवाज अचान कानमा पर्दा मुटुमा ढ्यांग्रो ठोक्थ्यो । घडीले रातको ८ बजाई सकेको थियो तर पनि डाँडो कटिने सुरसार थिएन । साँझमा भन्दा रातमा डाँडो उक्लन छिट्टो भएको हो तर दुरी भने छोट्टिएको थिएन ।
अचानक आँखा अलि परको उज्यालो बस्तुमा पर्यो । धिपधिप गरि बलिरहेको बत्ति देख्दा सुरुमा त मुटु नै चिसो भयो । तर नजिकै पुग्दा एउटा फुसको छाना भएको कटेरो मुनि मान्छे चलेका जस्तो लाग्यो । त्यसपछि भने मनमा केही शान्ति मिल्यो । आज यतै बास बस्नु पर्ला

त्यहाँ नपुग्दै मनले सोचेँ ।

‘आमै बास पाइन्छ कि’

ढोकाबाट भित्र चिहाउँदै सोधेँ ।’ तर आमै बोलिनन् । सायद आफ्नै धन्दामा थिइन् ।

दोस्रो पटकमा उनले सुनिन् तर त्यो पटक पनि बुझिनन् र नजिकै आएर उनले सोधिन्, ‘ यत्ति राति को मान्छे ?
उनलाई पनि डर भयो होला

‘जिल्लाबाट आएको । राम्दी हिँडेको । उकालैमा रात पर्यो । मिल्छ भने आज यतै बास बस्नु पर्यो ?’

यत्ति आग्रह के गरेको थिएँ । आमैले मलिन श्वरमा भनिन्, ‘किन नमिल्नु नानी’ बरु खाना पो के गर्ने, मैले त खाइसकेँ’ तत्कालै उनैले थपिन् ‘केही छैन म दोहोर्याएर भातभान्छा गरूँला ।’

‘भैगो पर्दैन आमा ! मसँग झोलामा केही खानेकुरा छ त्यही खाएर रात गुजार्छु । राती केको दुःख पाउनु हुन्छ ?’

‘हैन नानी लुगा फेरेर खाटमा बस्दै गर म केही बनाउँछु ।’

‘चामल छैन नानी ढिँडो कत्तिको मनपर्छ, तरकारी पनि गुन्द्रुक छ, आमाले कराहीमा पानी बसाल्दै सोधिन् ।’

रातको बेला पाहुना लाग्न पुगेको मान्छेले रोजी छाडि खाने कुरा के हुन्छ र !

‘आमैले दुःख नगरेको भए नि हुन्थ्यो ? अव जे पकाए पनि हुन्छ’

सिटासाटी सल्काएर आमैले गुन्द्रुक उमालिन् र ढिँढो मस्काइन् । र लुगा फेरेर तयार हुँदा नहुँदै उनले खाना खान बोलाइ हालिन् ।

रातको मानो जे जस्तो भएपनि खानै पर्छ भन्ने सोचेर पेटमा हालेँ । कोदाको ढिँडो भन्दा पनि सिन्की मिठो रहेछ । लेकाली मुलाको सिन्की दाँत कुँड्याउने अमिलो थियो । सोचे भन्दा बढी नै ढिँढो खाएछु ।

‘बाबु त निकै भोकाउनु भएको रहेछ ।’

आमैले उठ्ने बेलामा यसै भनिन् ।

‘मेरो नाती जस्तै हुनुहुँदो रहेछ । कहाँबाट आउनु भएको हो कुन्नी ?’

तेल सकिन लागेको दियोको बत्ति उकास्दै आमैले सोधिन् ।

‘सदरमुकामबाट आमा, माथि राम्दी गाउँमा काम छ त्यहीँ आएको ।’

‘ए, ढिला हिडेछौ त नानी !’

‘हिँड्न त चाँडै हिँडेको हो आमै । तर, बाटोमा आउँदा आँउदै ढिला हुन पुग्यो ।’

‘नयाँ ठाउँ यस्तै त हो नी ।’

‘ल तिमी खाटमा सुत, म भुईमै पल्टन्छु ।’

आमैले सुत्न आग्रह गरिन् । तर, किन किन मन बेचैन भयो । फुसको एक तल्ले छाप्रो । भत्किन लागेको दैलो । एक्लै बनिबुतो गरिहेकी ति बृद्धआमै बारे नबुझि त्यसै सुत्न मनले मानेन ।

‘अनि आमै तपाईं एक्लै हुनुहुँदो रहेछ नी ?’

‘खुट्टा लागेकाहरू आफू आफैँ हिँडे । म बुढी कहाँ जान सक्थेँ र बाबु !’

बुढी आमैको आसय बुझ्न कठिन भयो र पुनः सोधेँ । ‘बुझिन आमा किन तपार्र्इं एक्ल बस्नु भएको ? छोरा बुहारी नाती खोइ त ?’

‘एउटा छोरो छ, ऊ सहर तिरै बस्छ । बुहारी पारी गाउँमा बस्छे । नाती केटा पनि छ, उ पनि बाउसँगै सहरमै बस्छ ।

‘अनि तपाईँ किन यहाँ एक्लै बस्नु भएको नी ?’

‘किन भन्नु बाबु, बुहारीलाई म बुढी घाँडो भएँ रे !’

आमैको अनुहारमा एक किसिमको मलिनता देखियो । तेल सिध्धएर अघि नै बल्न गाह्रो मानिरहेको दियोको प्रकाशमा पनि उनको अनुहारका दुःख र पीडाका अनगिन्ति रेखाहरू प्रश्टै देख्न र पढ्न सकिन्थ्यो ।

यस्तै हो बाबु बुहारीले नसहेपछि म एक्लै दिन कटाउँदै छु । दमको रोगी छु । बुढा थिए । उनले पनि पोहोर छोडेर गए । म बुढीलाई दुःख पाउन लेखेको रहेछ । आफूलाई लेखेको भाग नभोगी कहाँ सुख छ र ! उनले च्यातिएको च्यादरको भित्रि सप्कोले

आँखाको चेपबाट बगेको आँसु पुछ्दै बताइन् ।

आमैले आफ्ना बेदनाको सागर बगाइन् । मानौ उनीसँग अथाह पीडा छन् तर पोख्ने मान्छे पाएकी थिइनन् ।

‘छोरो महिनामा एक पल्ट घर त आउँछ तर यहाँ नआई फर्कन्छ’ उनले छोरोले भेट्न नआएको दुःखेसो आँसुमा मिसाइन र तप्प चुहाउँदै मझेरीमा पोखिन् ।

कहिले काँही नाती केटो मलाई भेट्न आउँछ र सहरबाट ल्याएको केही खानेकुरा दिन्छ । ठ्याक्कै नानीकै अनुहारको छ मेरो नाती ।

‘छोरो राम्रै थियो तर बुहारी ल्याएपछि अचानक बदलीयो ।’ आमैले छोरा बदलिएको बारे मलाई सुनाइन् ।

रातको झण्डै ११ बजि सकेको थियो तैपनि आमैका वेदना पोका रित्तिएका थिएनन् । त्यस्तैमा उनले पट्पटि फुटेका गोलीगाँठो र पैताला अघि तताएको पानीमा डुवाइन् र आगोमा सेकाउँदै नौनी दलिन् । फाटेका उनका खुट्टाका धाँजाहरूबाट रगत चुहिएला जस्तो भएको रहेछ । आखाँ अघिल्तिरको हृदय विदारक दृष्यले मेरो मन झनै कुँडियो ।

उनको भलाकुसारी र बेदनाको बीचमै रात वित्लाजस्तो भएको थियो । ओछ्यानमा पल्टिएको त हो तर राम्ररी निद्रा परेन । निद्रा पर्न खोजे पनि के–के कुरा मनमा आइरहन्थ्यो । विहानीपख निद्रा लाग्न लागेको थियो, आमैले दैलो घत्रक्क पारेपछि विउँझिन पुगेँ ।

लुगासुगा लगाएँ ।बिदाबारी भएर हिँड्न खोजेँ ।

आउँदै गर ल नानी ! आमैले आँखाबाट आँसु चुहाउँदै यत्ति भन्न सकिन् ।
मैले पनि मन थाम्न सकिनँ । अनायस आँखाबाट दुई थोपा आँसु तप्प चुहियो ।
‘हुन्छ ।’

आमाले बाटो खर्च भनेर दुई हजार दिनुभएको थियो । त्यस मध्ये पाँच सय रुपैयाँ खर्च भइसकेको थियो । कार्यक्रम सकिएपछि संस्थाले भत्ता बापत थोरै पारिश्रमिक दिन्थ्यो । त्यही आशले आमैलाई हजार रुपैँया हातमा थमाइदिएँ । नातीको कोसेली सम्झेर लिनुहोला र मनलागेको कुरा किनेर खानुहोला भन्दै बिदा भएँ ।

बाटाभरी पनि मन शान्त भएन । त्यस्तै एक घण्टामा गुराँसे लेक काटेँ । पाखाभरी राता र सेता गुराँस फुलेका थिए आँखामा फगत तिनै आमा र उनको बेदना आइरह्यो ।
000

हप्ता दिनमा तालिम सकियो । तालिम सकिएकै दिन फर्कन भ्याइएन । भोलीपल्ट विहानै झिसमिसेमा गुराँसे डाँडाबाट ओरालो झरेँ । तर किन किन एकाविहानै पानीको प्यासले भाउन्न बनायो ।

तिनै आमैका पुगेर पानी पिउँला भन्ने सोचेँर ओरालो झरिरहेँ ।

केही तल झरेपछि मान्छेहरूको गाईँगुईँ गरेको सुनेँ । केही वास्ता नगरि श्वासकै गतिमा ओरालो लागिरहेको थिएँ । आमैको कटेरो नजिकै पुग्नै आँटेको हुँदो हुँ तर उनको कटेरो मा त मान्छेको भीड लागेको रहेछ । मन चिसो भयो ।

नजिकै एकजना मान्छेलाई सोधेँ ।

‘दाइ के भएको त्यहाँ ?’

उनले दुःखीत हुँदै भने, ‘एकजना बुढी आमै बस्नु हुन्थ्यो हिजो राति वित्नुभएछ ।

उनले पुनः बताए, छोराबुहारीसँग छुट्टिएर एक्लै बस्नुहुन्थ्यो । विहान अवेरसम्म ढोका नखोलेपछि गाउँलेले थाहा पाएर ढोका फुटाउँदा ओछ्यानमै वितिसक्नु भएको रहेछ ।’

उनलाई भेटेर आँत भिजाउने गरि पानी पिउने धोकोले खुरमुरिएको म त्यो समाचारले स्तव्ध बन्न पुगेँ। अचानक मेरा आँखाबाट आँसुका धारा लाग्न थालेछन् ।म रोएको देखेर ति मान्छे पनि आश्चर्यमा परे । मैले भावुक हुँदै वेलिस्तिार लगाएपछि उनीपनि दुःखीत बन्न पुगे ।

बुढी आमैको लास पिँढीमा रामनामीले छोपेर राखिएको रहेछ । नजिकै छोरा बुहारी छाँद हाल्दै रुदैँ थिए । त्यो दृष्यले मेरो मन झन् भाँडियो र चुपचाप बाटो लाग्नु हितकर देखेँ । बाटाभरी तिनै बुढीआमा र उनका कारूणिक वेदनाहरु एकपछि अर्को गर्दै मष्तिष्कमा आइरहे । घर आएपछि पनि त्यो दृष्य बिर्सन निकै गाह्रो भयो

यसैगरी उँडालु र गुराँस फुल्दा अझैपनि त्यो दृष्यले मष्तिष्क विथोलिरहन्छन् । अस्तु ।
– See more at: http://ramnathkhanal.blogspot.com/#sthash.oPvc3HUk.dpuf

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *