Skip to content


कलेजमा ग्राजुयसनको अन्तिम वर्षको अन्तिम दिनहरू चल्दै थिए । केही उत्साहित र केही बिस्मित पनि थियौं हामी । उस्साहित यस कारण कि यो हाम्रो अन्तिम वर्ष थियो र अघिल्ला वर्षहरूका कुनै पेपर ब्याक लागेको थिएन । आउँदो वर्षको यसै मौसममा हामी मध्येका कति साथी बैंकमा, कति सरकारी अड्डामा र कतिपय एनजिओ आईएनजिमा काम गरिरहेका हुनेछौं । विस्मय यसकारण कि हामीले जीवनको यो रमाइलो पाटो, केटौलेपन र जिम्मेवारी बिहीन जिन्दगीलाई कहिल्यै नपाउने गरी पछाडि छाड्दै थियौं ।

क्लास बंक गरी चुलबुले केटी साथीको साथमा हलमा पुगी शाहरूख खानका फिलिम हेर्नु अनि चौरमा बसी बदाम खाने यी पलहरू कलेजको तेस्रो वर्षको अन्त्यसँगै हाम्रो जीवनबाट अतित बन्ने तरखरमा छन् । कहिले चुरोट पिउँदै गर्दा केटी साथीले खोसेर एक टिप तानेको त कहिले लुकेर निला चलचित्र हेरेको बेला तिनै केटीहरूले फेला पारेको, अब यी कुराहरू अर्को वर्षदेखी हाम्रा मानसपटलमा मिठा अतित बनेर बल्झिरहने छन् ।

म साथी सुलोचनाको डायरीमा सम्झनाका शब्दहरू कोर्दै थिएँ । तिनताका इन्टरमिडियट, ग्राजुयशन वा डिग्री तहका अन्तिम वर्षका विद्यार्थीले सम्झनाका लागि डायरी बनाउने र साथीहरूका हातबाट केही शब्द लेख्न लगाउने, तस्वीर टाँसेर राख्ने चलन थियो । मैले डायरी बनाइसकेको थिएँ । मेरो डायरीमा सुलोचना, पद्मा, सन्तोष, आरती, विशाल, विजया लगायतका थुप्रै साथीहरूले लेखिसकेका थिए । सुलोचनाको डायरी भरेर त्यसमा आफ्नो फोटो चिप्काउँदै थिएँ, समाजशास्त्रमा अध्यापक मिश्र सर कक्षामा प्रवेश गर्नुभयो, मैले डायरी बन्द गरें र समाजशास्त्रको किताब निकालें ।

मिजासिलो स्वभावका मिश्र सर नेपाली भाषामा कतैकतै मैथेली र हिन्दी मिसाएर बोल्नु हुन्थ्यो यधपी त्यो मिठो र सुन्दर भाषिक शिल्पीले निखारिएको हुन्थ्यो । हामी उहाँको क्लास कहिल्यै बङ्क गरेनौं किनकि उहाँले किताबी ज्ञान कम्ती र व्यवहारिक ज्ञान ज्यादा दिनु हुन्थ्यो । सरको प्रवेशले क्लासको वातावरण एकाएक शान्त बन्यो । सरले उही चिर परिचित शैलीमा भन्नुभयो- “आज एक खेल खेल्ने ।” खेल भन्नासाथ सबै विद्यार्थीको मस्तिष्क बाहिर मैदानमा पुगिसकेको थियो । सरले खल्तीबाट एउटा पोलिथिन ब्याग र त्यो ब्यागबाट थुप्रै बेलुन निकाल्नुभयो । यो कस्तो खेल हो हँ ?- हामी मुखामुख गर्न लाग्यौं। सरले ती बेलुन हाम्लाई दिनुभयो र फुक्न लगाउनु भयो । फुकिसकेपछि ती एकएक बेलुनमा क्लासका एकएक विद्यार्थीका नाम लेख्न लगाउनु भयो, लेख्यौं ।

सर आफैले एउटा प्याकिङ् बक्स ल्याएर ती फुकिएका बेलुन त्यसभित्र राख्नुभयो र भन्नुभयो: “लौ सबैजना एकैसाथ अगाडि आओ र बक्सबाट आफ्नो नाम लेखिएको बेलुन निकाल ।”

दाम्लोबाट फुकाइएका डिँगा झैं हामी सबै एकसाथ तँछाडमछाड गर्दै बेलुन खोज्न लाग्यौं । पच्चिस विद्यार्थी हामी बेलुन खोसाखोस जस्तै गर्न थाल्यौं । भीडभाडमा कसैले आफ्नो नामको बेलुन भेटाएन । मेरो नामको अरूको हातमा, अरूको नामको मेरो हातमा….यस्तै यस्तै भयो । पाँच मिनेट बित्यो असिनपसिन भैयो । सर एक छेउमा बसेर मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । सकिएन । बेलुनको केटाकेटी खेलले पनि आज हामी पाका उमेरका विद्यार्थीलाई थकाउँदा लज्जित भयौं । जिन्दगीमा आज न पाको भयौं न केटाकेटी हुन सक्यौं ।

सरले बेलुन खोज्ने खेल रोक्ने इशारा गरेपछि हामी रोकियौं । उहाँले खेलमा नयाँ नियम लगाउँदै भन्नुभयो: ‘ल फेरि पनि सबैजनाले पहिले जसरी नै बेलुन खोज्नु तर यसपटक जसले जसको नाम लेखिएको बेलुन भेटाउँछ उसले सम्बन्धित व्यक्तिको नाम बोलाउनु र फटाफट बेलुन दिनु । हामीले त्यसै गर्यौं । मैले उदय, आशिस र सन्तोषको नामको बेलुन भेटाएर दिएँ । विजयाले मेरो बेलुन भेटिन् र मलाई दिइन् । एक मिनेट नपुग्दै सबैको हातमा आ- आफ्नो नामको बेलुन थियो । तर खेल अँझै बुझिएन कसले जित्यो कसले हार्यो कहाँ सुरु कहाँ खतम ।

मिश्र सर सबै विद्यार्थीको अगाडि उभिनु भो र भन्नु भो: ‘खेल बल्ल सुरु भो ।’

खेल बल्ल सुरु भो- यो कुराले हामी झन् जिल्ल भयौं । सकिए पछि सुरु हुने यो कस्तो खेल? हामी त मरुभूमिमा हराएको सिकन्दरको घोडा जस्तै पो भयौं ।

सरले चिरपरिचित हँसिलो मुद्रामा भन्नुभयो, “मेरा प्यारा विद्यार्थी हो, बेलुनको खेल त एक दृष्टान्त मात्रै हो । तिमीहरूले जीवनमा यस्तै थुप्रै वास्तविक खेल खेल्नु छ । बल्ल तिमीहरू जीवनको खेल मैदानमा आएका छौ र खेल बल्ल सुरु भएको छ ।”

मिश्र सरले अगाडि भन्नुभयो, “पहिलो खेलमा सबैले आफ्नो नामको मात्र बेलुन खोज्यौ र असफल भयौ । दोस्रो पटकमा एकले अर्काको बेलुन भेट्यौ र दियौ, सबैले जित्यौ । म कसम खाएर भन्छु जुन दिनदेखी म मात्रै भन्ने स्वार्थी भावना त्यागेर हामी सबै भन्ने भावनाले काम गर्नेछौ, तिमी सबैजना सफल हुनेछौ ।”

यस्तो गहन विषयलाई यति सरल र यति मिहिन पाराले सम्झाउने मिश्र सरको अध्यापकीय शैलीले हामी नतमस्तक भयौं ।

आज पनि जब जब मेरो सानो छोराले बेलुन फुक्छ म तिनै मिश्र सरलाई सम्झन्छु ।

अजित क्षेत्री,
युएई

2 thoughts on “बेलुन”

  1. सन्देशमुलक कथा
    कथाकार अजित क्षेत्रीका कथामा सामाजिक सन्देश पाइन्छ । यो कथा पढेर मलाई नि कलेजका दिनको याद आयो । कथामा मिश्र सर जिवन्त लागेका छन् ।

  2. अजित सर मेरो प्रेरणाको श्रोत
    तत्कालीन समयमा मेरा बिधालयका मेरा गुरु रहिसक्नु भएका अजित क्षेत्री कथा र कबितामा स्याङ्जा जिल्लामा स्थापित नाम हो । उहाँका सिर्जना थुप्रै पत्र पत्रिका र अनलाईनमा पढेको छु । यो कथा पनि उत्तिकै राम्रो छ । मेरो प्रेरणाको श्रोत साहित्यकार अजित क्षेत्री सरलाई शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *