जाजरकोटको सीमानामा पाईला राख्नासाथ एउटा नयाँ स्वरले मलाई चेतवनी दिदै भन्यो–‘सावधान ! मनुवा, तिम्रो पाईला अनधिकृतरुपले हाम्रो राज्यमा नपरोस् ।’
मलाई अचम्मित बनायो, आजसम्म बिल्कुलै नसुनिएको स्वरले मलाई त्यो पनि मेरै देश भित्र उसको राज्य रहेको चेतावनी दिएकामा । अनि मैले कडा लवजमा सोधे–‘हाम्रो देशको सम्विधानले आफूलाई नेपाली मान्ने, नेपाली भन्ने र नेपाली ठान्ने जो कसैलाई नेपालको जुनसुकै स्थानमा आवत जावत गर्ने, सम्पति खरिद बिक्रि गर्ने र बसोबास गर्न पाउँने स्वतन्त्रता दिएको छ अनि तिमी को हौ ? र मलाई रोक्ने ?’
‘तिम्रो देशको नियम कानून नलाग्ने भाइरस’–उसले रौबकासाथ उत्तर दियो ।
भाइरसको नाउँ सुन्नासाथ मलाई झलक्क स्वाइन फ्लुको नाउँ याद आयो र मेरो रिसको पारो एक्कासि ओर्लियो उत्सुकताले अनि मैले नरम स्वर बनाएर उसलाई प्रश्न राखें–‘तिमीलाई यो देशको कानून नलाग्ने कारण के छ र !’
‘किन कि हामी नेपाली हैनौ र नेपाल कब्जा गर्न आएका चै हौं त्यसैले, अब नेपालीको कानून हामीलाई लाग्ने हैन बरु हाम्रो कानून चैं नेपालीलाई लाग्छ’–उसले निर्धक्क भएर उत्तर दियो ।
‘यस्ता बिकट ठाऊँ छानेर आउँनुको कारण ?’–मैले प्रश्न थपे |
उसले अलिकति पनि नहच्किकन उत्तर दियो–‘पहिले जाजरकोटेलाई सोत्तर पार्न त्यसपछि त सिंङ्गो नेपाल छदैछ ।’
उसको ओठे जवाफ सुनेर मलाई झनक्क रिस उठ्यो अनि ‘पार्लास् जाजरकोटेलाई सोत्तर, काठमाण्डौले तिमेरुलाई चैं सोत्तर बनाउँन भारीका भारी सर्जाम पठाउँदा देख्लास् बाउको बिहे’–मैले पनि ठाडै उत्तर दिएँ उसलाई ।
मेरो उत्तरले हा–हा–हा–हा गर्दै ठूलो स्वरले हाँस्यो भाइस र भन्यो–‘पार्छ काठमाण्डौले हामीलाई स्वत्तर ! पैसा जति राजनीतिकर्मीको छद्य्म भेषमा काठमाण्डौमा बसेका हाम्रै सगोत्रीले बिरामी भएको निउँमा करोड–करोड बाँडेर तिमीहरूलाई कङ्गाल बनाइसके र बाँडेका पैसा पनि बिदेशमा लगेर थन्क्याइसके अब तिमी कङ्गालहरूसँग के छ र केका पैसाले सामान जाजरकोट पठाउँछौ ? पाँचवटा उद्योग फेरि बेच्न आँटेका छन् त्यही पैसाले किनौला भन्ने ठानेको होलास् त्यो पैसा त तिमीहरूले सुँघ्न पनि पाउँदैनौ जसरी बाँसवारी छालाजुत्ता कारखाना, हरिसिद्ध ईंटा टायल कारखाना, महाकाली नदी बेचेको पैसा सुँघ्न पाएनौ ।’ र थप्यो–‘हाम्रातिर गुहु सोर्ने, भाँडा माझ्ने र चौकिंदारी गर्ने जाजरकोटे र नेपालीको के हैसियत छ काठमाण्डौका लागि र औषधी पठाएर उपचार गर्छ काठमाण्डौले ?’
उसको भनाइले एक भन्नु दुई भन्नु बनायो मलाई । मन त्यसै त्यसै मुर्मुरियो, दिमागले काम नगर्ला–नगर्ला जस्तो भएर आयो तैपनि मैले उसलाई चुनौती दिएर भनें–‘पख्लास् अँझै देश खोज्ने जिउँदा नेपालीको कमी छैन नेपालमा । हामी सबै मिलेर तिमेरुको गर्धन छिनाएनौ भने त ।’
मेरो कुरा सुनेर ऊ निकै उत्तेजित भयो र भन्यो–‘तराईमा मधिसे भाइरस, पहाडमा आदिबासी भाइरस र बाँकिरहेका ठाउँमा हामी भएर फैलीइसकेका छौ, हेरौला के गरी छिनाउँदो रहेछस्’ र ‘अँझ सबैले कार्यगत एकता गरेर नेपालै सिध्याई दिन्छौ अनि चाल पाउँलास्’ –उसले मेरो देश प्रेमलाई चुनौती दिँदै थप्यो ।
जीवन दहाल
जुरोपानी-४,झापा