कुनै बेलाको कुरा हो । यो बेला र त्यो बेला भनेर कुरा नकोट्याऊँ । त त्यो कुनै बेलाको कुरा हो हुन सक्न्नेसममकै कुरा हो । त्यस कुनै बेलासँग सम्बन्धित यस कथाको तारतम्यभित्रको देश भनेपछि नेपालकै नाम लिए पनि भइहाल्छ । अँ त्यस समय भन्दा अघिदेखि नै त्यो देश हल्लाएको र देशकै व्यवस्था उल्टाउने पल्टाउने, तोड्ने मोड्ने, देशका मूर्धन्यहरुलाई नै बस् भने बस् र उठ् भने उठ् गर्न गराउन सक्ने, अनि सारा समाजै हल्लाउने उचाल्ने (अथवा पछार्ने ता नभनौ क्यारे) तै जे भनौं त्यही गर्न सक्ने अपार क्षमता भएको नेताको लामो र निकै नै लामो समयदेखि अस्पतालमा बास हुन सक्छ । अस्पताल पनि के भन्ने र, पाँच तारेको बास हुन सक्छ भने पनि भो । आफूले लगाएका तयार पारेका नौजवानहरुले सोहोरेको वा लुटेको श्रीसम्पत्ति लगानी गरी खोलिएको जनसेवा अस्पताल । जनताको नेता भएकोले (जन शब्द नछाडेको हुँदा) जनसेवा नाम राखिएकै थियो यसो ता जनताको नाममा हुर्केको हुँदा हुनैपर्छ । तर त्यसभित्र भोगविलासका सामग्रीहरुको पौल भएकोले पाँचतारे (ताराहरुको संख्या थप गर्न त्यहाँ दिइने सुविधा र ऐश आरामको स्थितिलाई हेरेर ग्रेडिग गर्ने होे भने यसलाई सात आठ तारे भने पनि हुने हो, तर अहिले पाँचतारे भनिराखौ है) अस्पतालमा उहाँको बास हुन सक्छ । अब राज्य नै आफ्नो भएपछिलाई त्रास कतैको पनि नहुन सक्छ, भरियाहरु, तयार गरिएकाहरु र आफन्तहरुको बाँचून् भन्ने आस मात्र हुन सक्छ । आखिर उहाँ पनि प्राणी नै भएको हुनाले उहाँले पनि काललाई वशमा पार्न सक्नु भएको हुन्न तर उहाँका अनुयायीलाई यो कुरामा रत्ति पनि विश्वास छैन । उहाँले हुर्काएका (जुठो खाएर हुर्किएका नभनौं क्यारे) पालेका पाल्तु कार्यकर्ताहरु ता उहाँका बारेमा “उहाँले चाहनु मात्र पर्छ काललाई पनि जित्न सक्नु हुन्छ” भन्न पनि पछि पर्दैनन् । उहाँको गुणगानका लागि तयार पारिएका रेडिमेड अन्धभक्तहरुले बूढो भएको बेला पनि ‘क्या जवान देखिएको हाम्रो नेता ?, उहाँ ता सिद्ध नेता पो त । उहाँले बूढो हुन जानेकै छैन, उहाँ कालभन्दा पनि माथिको पो त’ भन्ने जस्ता तयारी सूत्रहरु ठाउँठाउँमा र गाउँगाउमा पेस गरेर अतिभक्तिको बेहोरा पेस गरिरहेकै हुन सक्छन् । तबसम्म पनि गाउँ, घर, टोल, इलाका, रनबन, बस्ती पाखाहरुमा उहाँको जयगानका रुपमा मृत्युपथलाई ड्यासिंग दिने गरी तयार गरिएका उहाँ नेताका वाणीपथ टलल टल्किरहेका हुनेछन् जबसम्म उहाँको इहलीलाको पाँचतारे लीला समापनको मार्गतिर लाग्न थालिने क्रम आरम्भ हुँदैन । केही अति कट्टर अनुयायीहरु ता यसै बेला पनि ‘उहाँ कालभन्दा पनि माथिको कालजयी हुनुहुन्छ’ भन्ने अन्धभक्तिको घिड्घिडो लिएर पनि बसेका हुन सक्नेछन् । यसैले यस्तो बेलामा उहाँका अनुयायीहरुले पाँचतारे अस्पतालमा धर्ना दिएर भए पनि बचाउने उपाय गरिरहन सक्नेछन् । नेतालाई भेन्टिलेटरमा राखिएको हुनेछ । यस कार्यलाई मृत्युपछि पनि खलाँती दिएर नेताको फोक्सो हल्लाइएको छ भने पनि हुन्छ । तर कार्यकर्ताहरु भने मान्न तयार छैनन् । भ्यान्टिलेटरलाई खलाँती भने पनि भो । अँ यो खलाँती उहाँको मुखबाट झिक्ने आँट कसैको छैन । नेता फिजिकल्ली समाप्त भएको कुरा अस्पतालले घोषणा गर्न सकेको छैन । उहाँ नेता स्वयंले अघि राज्य सत्ताको लागि खनिन तयार गरेको अरिँगाल अहिले आफूमाथि खनिएला भन्ने डर अस्पताललाई छ । बाहिर उनका भक्तहरुको रन्कोले गर्दा अप्रियताको खहरे बग्ला भनेर अस्पताल साँचो अर्थमा डराइरहेको हुनेछ । डाक्टरहरु निश्चय नै डराइरहेका हुनेछन् ।
यसै बेला बाहिरको शान्त हुलमा नेताको नियोजित एक अतिभक्तले भन्न सक्नेछ, ‘हाम्रो नेताले चाहनु भएन । नत्र उहाँले बुढ्यौलीलाई पनि जित्न सक्नुहुन्थ्यो ।’ उसको अझै दार्शनिक सोचको कथन आउन सक्नेछ, ‘वास्तवमा प्रकृतिको नियमलाई ईश्वरले पनि तोडेनन् भने हामीले उनको रचनालाई भत्काउनु पनि हुन्न । दूरदर्शी नेताले यसो गर्नु पनि हुन्न । भगवानले ता गरेनन् भने हामीले त्यसो गरेर कहाँ हुन्छ ?’
यत्तिकैमा अर्काेले भन्नेछ, ‘तपाईंलाई थाहै रहेनछ, उहाँ अर्काे अवतारका लागि अवतार फेरिरहनुभएको छ । अब चाँडै अर्काे अवतार लिनु हुनेछ । कहाँ अवतार लिन लाग्नु भएको हो भन्ने कुरा गोप्य रुपमा राखिएको छ अरे ।’
डाक्टरहरुको टोलीलाई उनै नेताद्वारा विदेश विभाग समाल्न नियुक्त गरिएका उनैका नातेदार भारदार उपनेताको फोन आउन सक्नेछ । उनी उतै आर्जन गरेर विदेशमा बसोबासो गरी विदेश विभाग हेर्न नियुक्त उनै नेताका भक्त महोदय हुन् नातामा उनी महान् नेताका साडुभाइ पर्छन् । उनको फोन आउन सक्नेछ, अनि भन्न सक्नेछन्, ‘डाक्टर साहेब, तपाईं जेजसो गरेर भए पनि उहाँलाई बचाउनुहोस् । जसोजसो गर्नुपर्छ त्यसैत्यसै गरेर भए पनि बचाउनु होस् । दबाइ, पानी, थेरापी, मसाज, शरीरको कुनै पनि पुरानो भएको अंगमा प्रत्यारोपण आदि गरेर भए पनि उहाँको जीवन हामीलाई चाहिएको छ । जे जसरी भए पनि बचाउनु होस् । कार्यकर्ताहरु मुटु भने मुटु, फोक्सो भने फोक्सो, किड्नी भने किड्नी दिन तयार छन् । तपाईं यो कुरा चाहियो भन्नुहोस् त्यो कुरा दिन सबैको तँछाड् मछाड हुन सक्नेछ । तपाईं भन्नु मात्र होस् ब्रेन दिन पनि कार्यकर्ता तयार छन् । आँखा भने आँखा, कान भने कान, मुख नाक के चाहिएको हो । सबै तुरुन्तातुरुन्त उपलब्ध हुनेछ । लौ भन्नुहोस्, तपाईंलाई के चाहिन्छ ? त्यहाँ हुन्न भने अहिले नै भन्नुहोस् एरोन्याटबाट उहाँलाई यहाँ ल्याउन हामी तयार छौं । लौ भनिहाल्नुहोस् । कति डलरको खाँचो छ हामी तपाईंहरुको खातामा जमा गरिहाल्छौं । क्षणिक स्पुतनिक द्रूतातिदू्रततर एरोन्याटिक सेवाबाट उहाँलाई संसारको जुनसुकै मुलुकको अस्पतालमा लान सकिनेछ । के छ कुरा भन्नु होस् त ?’
यस्तो प्रश्नको उत्तर दिंदादिंदा डाक्टर आजित भइसकेकाले यहाँ पनि उनी ‘सब ठिक छ’ भनेर चूपै लाग्न सक्नेछन् । कसैलाई उत्तर दिएर नसक्ने अवस्था उनीहरुको हुन सक्नेछ । अतिभक्तलाई उत्तर दिएर उनले नसक्ने स्थिति हुन सक्नेछ ।
निकै बेर भइसकेर पनि अस्पतालले कुनै कारबाही नगरेकोमा भक्तहरुको आक्रोश बढ्न थालेको हुनेछ । त्यो बेलाका भक्तहरुमा पनि उही पुरानो धंधगी अझ बढी रहेको हुँदा अस्पताल र डाक्टरलाई कारबाही गरिनु पर्ने गाइँगुइँ पनि भक्त र भजनमण्डलीका माझमा सुनिन थाल्नेछ ।
‘एक एक गरी यी सबै डाक्टरहरुलाई कारबाही गर्नुपर्छ ।’ एक भक्तले अस्पताल घेराउ गरेर बसेको भजनमण्डलीका माझबाट कुरा फुत्काउनेछ ।
‘के हेरिरहेका साथीहो ? डाक्टरलाई कालो मोसो दलेर घुमाउनु पर्छ, तयार पार कालो मोसो र जुताको माला । भौतिक कारबाही नै गरे पनि हुन्छ ।’ अर्काे भक्तको आवाज आउनेछ ।
‘होइन होइन, हाम्रै नेताको इच्छा हो अरे । यो अवतारबाट अर्काे अवतार लिन लाग्नु भएको हो अरे ।’ एक अर्काे भक्तको आवाज पनि साथसाथै आउनेछ । ‘उहाँले यो देशको कायापलट गरिहाल्नुभयो । जोसुकैले पनि आफ्नो क्रेडिट क्लाइमेक्समा पुगेको बेला नै हो चोला फेर्र्ने भनेको । नेताले ता झन् यसै गर्नुपर्छ । किरा मरेजसरी मरेर नेतालाई के फाइदा । भैगो साथीहरु अब हामी उहाँले लिने अर्काे अवतारको प्रतीक्षामा लाग्नुपर्छ ।’ एक अलिक समझदार जस्तो देखिने भक्तले भन्न सक्नेछ । तर कसैले उसको कुरा सुन्ने छैनन् ।
‘काँ त्यसरी हुन्छ, यी डाक्टरको के काम ? बचाउनु पर्छ नि । नत्र लगाइन्छ आगो । तयार पार साथी हो पुल्ठो ।’ अन्धभक्तहरुको डफ्फाबाट आवाज आउनेछ ।
यसै बिच अस्पताल घेराउ गरेर बसेका त्यस भक्तमण्डलीको भिडमा कताबाट हो एउटा हल्ला आउँछ । ‘थेरापी गर्नुपर्छ अरे । अनि निको हुने चानस छ अरे । थेरापी गर्नुपर्छ अरे, थेरापी गर्नुपर्छ अरे ।’ निकै उच्च र दू्रत रुपमा यो हल्ला फिजिनेछ ।
‘उसो भए किन ढिलो गरेको त ? लौ चाँडै थेरापी गरौ, भन कहाँ लानुपर्छ ? कसरी गर्नुपर्छ ? कि यसै अस्पतालमा हुन्छ थेरापी ?’ बडो तुमुल कुतूहल फिजिन थाल्नेछ । बजारभरि थेरापी, टोलभरि थेरापी, घरघरमा थेरापी ।
नेताको ओरिपरि बसेका रुँगाला, भक्त, रुवावासीका लागि तयार गरिएका, भजन कीर्तनमण्डलीका गणहरु लगायत् सबै जना आफ्ना नेतालाई बचाउन थेरापी गर्नुपर्छ भन्ने विषयमा उत्सुक भएकाले नेताको शरीरमा फुक्तै गरेको खलाँतीका साथ अर्काे ठाउँमा लगेर थेरापी विधिबाट उपचार गर्न राजी हुनेछन् । अनि सारा इन्तजाम हुनेछ नेताको अस्पताल स्थानान्तरणका लागि । अन्ततः थेरापी विधिबाट नै नेता फिर्ने कुरा पक्का हुनेछ र स्थानान्तरणको प्रक्रियाको शुभारम्भ हुनेछ ।
साधारण मान्छेको शरीरले नेताको शरीरले अहिले जुन दशा प्राप्त गरेको छ त्यो अवस्था आउँदो हो त डाक्टरहरुले भन्न सक्ने थिए, ‘अब तपाईंहरुले यस अस्पतालबाट यिनलाई घर लगे भयो । यो जिउ लाश सरह भइसकेको छ । तपाईंहरु जति नै पैसा खन्यानुहोस् यो शरीर अब उठ्तैन । ईश्वरले पनि यसलाई बचाउन सक्नेछैनन् । सिनेमा र सिरियलमा हो भने कुन्नि बचिहाल्थे कि ।’ अरुको बिरामी यो अवस्थामा भएको भए उसका लागि डाक्टरहरुले यसै भन्न सक्ने थिए तर यिनलाई हेरेर यस बेलामा डाक्टरले यसो भन्नु भनेको आफंैमाथि भुत्भुते खन्याउनु सरह हुने हुनाले चुप लाग्नेछन् ।
त्यस बेला चारैतिरबाट डाक्टरका टोली र टोलीप्रमुखलाई नेताभक्तहरुबाट फोन आइरहेका हुन सक्नेछन् । ‘लौ डाक्टरसाहेब कति लाग्छ पैसा ? जति लागे पनि हामी दिन तयार छौं, कसरी हुन्छ बचाउनु पर्छ । सरकार नै लागेको छ ।’
त्यस अवस्थामा डाक्टरहरुलाई जिउ जोगाउनु नै प्रमुख समस्या हुनेछ । कथम् यो मान्छेको खलाँती झिक्नासाथ मरिसक्यो भनियो भने नेताले तयार गरेको बाँदर सेनाका हातमा भएका सबै शस्त्रअस्त्र डाक्टर र अस्पतालमा बर्सन थाल्नेछन् ।
यदि सर्वसाधारण बिरामी भएको भए बिरामीको त्यस्तो अवस्थामा तिनै डाक्टरहरु बिरामीका आफन्तलाई भन्न सक्ने थिए, अब तपाईंहरु आफ्नो बिरामीलाई घर लानुहोस् । यसो केही धार्मिक कार्यहरु गर्नु पर्ने भए गराउनुहोस् । वैतरणी गर्ने समय ता सकियो ।’ तर उनीहरुले आत्मरक्षा र अस्पतालको सुरक्षाको लागि यहाँ त्यसो पनि भन्न सक्नेछैनन् ।
एकैछिन पछि भजनमण्डलीका सबै सदस्यहरु थेरापी गर्ने ठेगानामा पुगेर तयार पर्नेछन् । अनि अन्तमा सोधिनेछ डाक्टरसँग, ‘अब हामी उहाँको थेरापी गर्ने निर्णयमा पुग्यौं । कहाँ छ थेरापी गरिने अस्पताल ? त्यो कसरी गर्नुपर्छ ? हामी अब उतै लानु तयार छौं । सास रहुन्जेल आस । लानु पर्ने कता हो ? तपाईंहरुमध्ये अरु नगए पनि उहाँका साथमा टोलीप्रमुख हामीसँगै बिरामी लिएर जानुपर्छ ।’
डाक्टरहरुमध्येका प्रमुख डाक्टरले बडो चलाखीका साथ एम्बुलेन्स तयार गरेर उहाँलाई थेरापी गर्नका लागि भनी लिएर अति शीघ्र जान आदेश दिनेछन् ।
त्यसै गरिनेछ । जे त पर्ला भनेर उनी पनि साथैमा लाग्नेछन् ।
नेताको शरीर हालिएको एम्बुलेन्स भित्र बसेर उनै डाक्टर आफैं अघि लागेर जानेछन् । उनले एम्बुलेन्सलाई बाटो देखाउँदै अन्तमा बेगसँग पशुपति आर्यघाटमा गाडी पुराउनेछन् । पहिलेबाटै पुलिसलाई तयार पारिएको हुँदा सुरक्षाको कडा व्यवस्था हुनेछ । तर तयारी अवस्थाका मुढे बोक्रे बाँदरको रुपका कलियुगीन सेनामेनाहरु भने यो कुराबाट बल्ल मात्र झल्यास्स हुनेछन् र डाक्टरमाथि जाइलाग्ने सुरमा पुग्नेछन् ।
नेताको शरीरबाट खलाँती झिकिसकिएको हुँदा उसको मृतशरीरमा जीवनको कुनै लक्षण देखिनेछैन । अनि आर्यघाटको तयारी चितामा राखेर नेताका शरीको फायर थेरापी गर्ने योजना सुरु गरिनेछ । ओरिपरिबाट वारिपारिबाट भजनकीर्तन मण्डलीले डाक्टरलाई कारबाही गर्र्नुपर्छ भन्ने तुमुल नारा लगाइनेछन् । अरुको लास भएको भए यतिबेला केही धार्मिक गतिविधिहरु हुँदा हुन् उनको ता कडा सुरक्षाका बिचमा फायर थेरापी गरिनेछ किनभने उनी अरु सर्वसाधारण जस्ता हुन् र उनी ता भौतिकवादी पो हुन् त । तबैतारे ।

हो त नि। अाखिर सबैलाइ
हो त नि। अाखिर सबैलाइ अन्त्यमा चाहिने त फायर थेरापी न हो। कार्यकर्ताहरूले बुझ्नै पर्ने कुरा।
यस कथालाइ मैले केही परिमार्जन
यस कथालाइ मैले केही परिमार्जन गरेकाे कुरा पाठकहरुमा अनुराेध छ ।