१२ को परिक्षा दिइसकेपछि वुवाले भन्नुभएको थियो–“छोरा, अब तिमी अमेरिका जाऊ । उतै अन्कलसँग बसेर पढ । देशको हालत यस्तै छ । म अन्कंलसँग कुरा गरिदिउला ।“
त्यतिवेला अमेरिका सपनाको देश थियो । अहिले पनि नभएको होइन । नाउँ सुन्दै जिउँ फुरुङ्ग हुने देशमा जान पाउने अवसरलाई लत्याउदै मैले यसो भनेको थिए–“देशको हालत त ठिक छैन वुवा तर यदि हामी पढे लेखेका सबै मान्छेहरू युरोप अमेरिका भनेर कुद्यौ भने आखिर कोनै आएर ठिक बनाइदिन्छ त ? उताका मान्छेहरूले आएर त पक्कै बनाइदिदैनन् होला । त्यसैले वुवा म जति दु:ख गर्नुपर्छ यही गर्छु । देश राम्रो भयो भने हामी सबैलाई राम्रो हुन्छ ।”
त्यतिवेला वुवालाई लागेको थियो होला छोराको मन त महान रहेछ । राष्ट्र भावनाले ओतप्रोत । वुवाको कुरालाई म विना कारण लत्याउने हिम्मत राख्दिँनथेँ । एकदिन मलाई अमेरिका पठाउन चाहेको कुरा मेरो वुवाले आमासँग गर्नुभएको रहेछ । पछि आमाले मलाई भन्नुभयो । मलाई कुनै पनि हालतमा आफ्नो घर, ठाउँ छाड्ने मन थिएन । के त्यसो भए म घर छोड्न चाहान्न भनेर भनी दिउँ त आमा वावु दुवैलाई ? सोचे यदि त्यसो भने भने उहाँहरूले के भन्ँनुहुन्छ होला ?सायद–घर छोड्नै नसक्ने यो कस्तो केटा हो ? नामर्द जस्तो । हँ !! यदि त्यस्तो सोच्नुभयो भने त ! जिउँ सिरिङ्ग भयो । सोचे–यो विपत्तीबाट कुनै राम्रो वहाना खोज्नु नै उत्तम विकल्प हुन सक्छ । धेरै सोच विचारपश्चात त्यही वहाना राम्रो लाग्यो । त्यो त्यस्तो वहाना थियो जस्लाई वुवाले पनि ठाडै अस्वीकार गर्ने हिम्मत सायदै गर्नु हुन्थ्यो ।
एकदिन छिमेकीहरूले आपसमा कुरा गरिरहेको सुने ।
“फल्नाको छोरा त अमेरिका जा भन्दा पनि गएन रे, कस्तो पाजि रहेछ है । भाग्य भएर पनि भाग्यलाई चिन्न नसक्ने । आखिर किन हुदैन, जान्न भनेको होला है त्यस्ले ?”
उनीहरूका कुरा सुनेँ मात्रै । कुनै प्रतिकृया दिन चाहिँन । उनीहरूको सामु पनि गएर राष्ट्रवाद फलाक्ने कुरा मेरा मनले पचाउन सकेन । त्यसैले आफ्नो बाटो लागेँ चुपचाप । हिड्दै जादाँ सोचे –के साँचिकै म आफ्नो भाग्यलाई चिन्न नसकेको हो त ? के अमेरिका गएर मात्रै भाग्य बन्ने हो त? अमेरिकाका सु:ख सुविधाका कुराहरू सुन्दा हर कसैलाई अर्कै दुनियाको कुरा गरेको जस्तो लाग्थ्यो । मैले पनि धेरै त्यस्ता कुराहरू सुनेको थिए । त्यतिवेला कहिले अमेरिका जान पाउला भन्दै कल्पिन्थेँ । तर मलाई त्यही ठाउँ जान पाउने अवसर आएको थियो र पनि मनले मलाई रोकिराखेको थियो । आखिर मनलाई चाहिँ केले रोकिराखेको थियो त ?
मेरो मनलाई रोक्ने अरु कोही थिएनन्, उनै मनिता थिइन् । हामीसँगै पढ्थ्यौ । एउटै व्यिालय । एउटै कक्षा । कक्षामा बस्ने चाहि ठिक वारिपारि । उनी दोस्रो लहरको दोस्रो बेन्चको कुनामा । म पहिलो लहरको चौथो बेन्चको कुनामा । उनी त्यहाँ किन बस्थिन् त्यो त मलाई थाहा थिएन तर म किन चौथो बेन्चमा बस्छु भन्ने कुरा चाहि मलाई राम्रोसँग थाहा थियो । त्यो के भने ब्ल्याकवोर्डमा हेरिसकेपछि एक नजर उनीतर्फ पनि दौडाउन सकुँ र जुन कुरा साथीहरूलाई थाहा पनि नहोस् र उनले पनि मलाई हेर्न सजिलो होस् ।
मनितालाई मैले चिनेको लगभग दुई वर्ष जति भएको थियो । एस्एलसी पास भैसकेपछि बडो सानका साथ म कक्षा ११ को पहिलो कक्षा लिन गइरहेको थिए । एसएल्सी पासको छुट्टै सान थियो । मेरा साना पाइलाहरू कुनै ठुलो कार्यतर्फ लम्किरहेको भान र्भैरहेको थियो । नया कक्षा हेरिसकेपछि साथीहरूसँग पानी खान गए । साथीहरू पानी खादै गर्दा केहीबेर उभिइरहेको थिए, त्यतिकैमा मलाई कम्मरमा कसैले चिमोटेको आभास भयो । झटपट फर्किहेरे,कुनै केटीले मलाई “जाऊ के आईज कलासमा” भनिरहेकी थिई । उस्ले मलाई हेरिरहेकी थिइन । अगाडि कतै इशारा गर्दै थिई । पछाडिबाट हेर्दा मैले पनि उस्लाई चिन्न सकिन । सटको एकछेउ समातेर हल्का तान्न थालेपछि भने मैले उस्को हात समाति दिए र रोक्ने प्रयास गरे । उस्ले फर्केर हेरी । मलाई देख्नासाथ उस्को अनुहार रातो निलो भयो । प्रश्नवाचक चिन्न लिएर मैले उस्को अनुहार हेरिरहे तर कुनै जवाफ पाइन, केवल ओठमा सानो मुस्कुराहट वाहेक । सायद त्यो नै उत्तम जवाफ थियो त्यतिवेला । मैले उस्को हात समातिरहेको रहेछु । उस्ले हात हल्का हल्लाई । मैले उस्को हात समातिरहेको चाल पाए र तुरुन्तै छोडी दिए ।
अन्तमा टाउको थोरै झुकाएर हल्का मुस्कुरावटमा उस्ले भनी, “मेरी साथी सम्झिएर… सरी है ।”
त्यति भनिसकेपछि ऊ आफ्नो साथी भएतिर दौडिई । म भने ऊ भएतर्फ मेरा आँखाँमात्र दौडाए । अर्थात ऊ पर जादाँसम्म मैले हेरिरहे । ओझल पर्नै लाग्दा उस्ले फेरि एक नजर मलाई हेरी । करेन्ट लागे जस्तो भयो । बल्ल मेरो दिमाग ठिक ठाउँमा आयो । अस्लाई हेर्न छाडी अर्कैतर्फ हेर्न थाले । त्यतिकैमा फेरीकसैले चिमोटेको आभास भयो । अघिको चिमोटाई र अहिलेको चिमोटाई बिचमा निकै भिन्नता थियो । तुलना गर्नुपर्दा अघिको कमिलाले चिलेको जस्तो र अहिलेको अरिङ्गालले ।
फर्केर हेरे मेरै साथी रहेछ, भन्दै थियो, “कक्षामा जाने होइन ? कि यतै टोलाएर बस्ने ?”
मैले पनि उस्लाई केही भनिन । केवल ओठमा थोरै मुस्कुरावट ल्याए । यस्तो लाग्यो हर कुराको जवाफ शब्दमै दिनु उपयुक्त नहुदो रहेछ । कुनै कुनै वेला ईशारा नै काफी हुदो रहेछ ।
त्यतिवेला मलाई सेकेण्ड अनि माईक्रो सेकेण्डको महत्व पनि वोध भयो । ती कुराहरू यति सानो समयमा भएका थिए कि त्योभन्दा बढी समय मैले एउटा जुताको तुना कस्नमा खर्चिन्थे । साचिकै त्यो सानो समय निकै वलवान थियो । त्यही सानो समयका कारण मनमा एककिसिमको तरङ्ग पैदा भयो । कक्षाको ढोकैनेर पुग्न थाल्दा पो वल्ल थाहा पाए –मैले त पानी खानै भुलेछु,जबकी त्यहाँ पानी खान भनेर गएको थिए । ढोकाबाट छिरेपछि फेरि अचम्म–त्यो केटी हाम्र्रै कक्षामा ? म छक्क परे । मैले दुईचार हिन्दी फिल्म हेरेको थिए –हिरोलाई कुनै हिरोइन मन पर्न थालेपछि अरु मान्छेलाई पनि त्यही हिरोइन भन्ठान्ने अचम्मको भ्रान्ती हुनेवारे । कहीं मलाई पनि त्यस्तै भ्रान्ती त भएको होइन ? आँखाँ मिचे । ऊ मलाई नै हेरिरहेकी थिई । ओठमा हल्का मुस्कुरावट पनि थियो । सायद अघि नै हाम्रो परिचय भैसकेको प्रतिकृया थियो होला । आफ्नो बेन्चमा बस्नै लागेको थिए,अगाडिबाट कसैले मदन भनेर मलाई बोलाएको सुने । सरले हो रहेछ । सरतर्फ फर्किएँ ।
“निद्राले अँझै छोडेन ? आँखाँ मिच्दै आएका छौ ।” सरले मलाई हेरेर भन्नुभयो ।
त्यतिकैमा कक्षामा हासोको फोहोरा नै छुट्यो । म अलमलमा परे । एकपल्ट सबैमाझ नजर दौडाए । सबैजाना मलाई खिल्ली उडाउदै हासिरहेका थिए । अन्तमा दोस्रो लहरको दोस्रो बेन्चको कुनामा हेरे । ऊ पनि हासिरहेकी थिई । मैले पहिलो बेन्चको छेउमा आफ्नो सिट रोजेको थिए । मैले सिट रोज्दाँ गल्ती गरेको महशुस गरे । कमसेकम कुनामा हुन्थेँ त लाज अलि कम हुन्थ्योँ होला । एकचोटी फेरि सरलाई हेरे । उहाँ अँझै पनि मलाई नै हेरिरहनु भएको रहेछ,सायद मबाट कुनै प्रतिकृया पाउने आशमा । मसँग सरलाई दिन मिल्ने कुनै जवाफ थिएन,अर्को कुरा जवाफ दिन मिल्ने कुराको वहाना पनि दिमागले छोटो समयमा भेटाउन सकेन र अन्तमा म पनि हल्का मुस्कुराइदिए । हासैहासोमा लाज पचाउने कोशिस गरे । त्यतिकैमा अघिको कुरा याद आयो कि कुनैकुनैवेला जवाफ शब्दमा मात्र होइन अरु कुरामा पनि दिन सक्नु पर्छ ।
त्यो केटीको नाम मनिता रहेछ भन्नेकुरा थाहाँ पाउन मलाई पुरै एकहप्ता लाग्यो । झटपट कसैसँग नवोल्ने उनको बानिरहेछ अन्तर मुखी स्वभावकी । कक्षामा पनि एकदमै कम वोल्ने,फाल्तु कुराहरू नगर्ने, उनी हाम्रो स्कुलकी नया विद्मार्थिरहेछिन । कक्षाको दोस्रो दिन देखी म चौथो बेन्चको कुनामा बस्न थालेको थीय । शिक्षकको आँखाँ छलेर म घरीघरी उनैलाई हेर्थे । कुनै कुनै वेला उनले पनि मलाई हेर्थीन । हाम्रो आँखाँ जुत्थ्यो । दुवै मुस्कुराउथ्यौ र लजाएर फेरि जबरजस्ती किताबमा आँखा लगाउथ्यौ । म उनलाई किन हेर्थे त्यस्को कुनै ठोस कारण म भन्न सक्दिनथे तर पनि उनलाई हेर्थे । उनलाई हेर्दा मनमा एककिसिमको आनन्द आउथ्यो । अँझ आँखा जुधे भने त त्यो भन्छन नि खाए जस्तो हुने भनेर,त्यस्तै मलाई बल्ल स्कुल आए जस्तो हुन्थ्यो । दिन प्रतिदिन एकअर्कालाई हेर्ने कम बढ्दै थियो । मलाई उनीसँग वोलु जस्तो लाग्थ्यो तर सक्दिनथेँ । उनी पनि वस हेरिमात्रै रहन्थिन् । यस्तो लाग्थ्यो हामी सिसाका फरक फरक दुई कोठामा छौ,हामीले एकअर्कालाई इशारा गर्न पनि सक्छौ,हामी बिच दुरी पनि खासै छैन र पनि हामीले एकअर्काले बोलेको सुन्न सक्दैनौ ।
म पढाईमा त्यस्तो अब्बल विद्मार्थी थिइन । खासै त्यस्तो कमजोर पनि थिइन । मलाई लाग्थ्यो प्रस्र्ट बिद्मार्थीले जस्तो रातभरि पढे भने त उस्लाई पनि उछिन्न स
क्छु तर मैले यो कहिल्लै सोच्दिनथेकी रातभरि पढ्न म कदापि सक्दिन,त्यसरी पढ्न पनि क्षमता चाहिन्छ । विद्मालय पनि नियमित जादिन थिए । कुनै काम पर्नासाथ सहजै स्कुल नजाने निर्णय गर्थे । तर जब मनिता बिच सामित्यता बढ्दै गयो तव मेरो स्कुल जाने कुरा एकदमै नियमित हुन थाल्यो । कुनै दिन स्कुल गइन भने पनि नरमाइलो महशुस हुन सुरु भयो । स्कुल किन जान्छस् भनेर कसैले सोधे भने सायद त्यतिवेला मेरो दोस्रो जवाफ यस्तो हुन्थ्यो होला –मनितालाई हेर्न ।
धेरै समयपश्चात,मैले मनितालाई मन पराएको कुरा महशुस गरे । म उस्लाई हेरेर मुस्कुराउन त सक्थेँ तर उस्लाई प्रेम प्रश्ताव राख्न सक्ने खुबि ममा पटक्कै थिएन । म केटीहरूसँग खासै घुलमिल नहुने केटा थिए । केटीसँग वोल्न असजिलो मान्थे । त्यहीमाथि प्रेम प्रश्ताप कसरी राख्नु र ? एक मनले सोच्थ्यो, मनिता नै आएर मलाई प्रेम प्रश्ताव राखि भनेत ! यो कुरा मनको लड्डु घिउसँग खाँ बराबर थियो । मनिता एक त केटी मान्छे अर्को औधी लजालु पनि । उस्ले झन कसरी प्रेम प्रश्ताव राख्न सकोस् र ?
धेरै सोचे । बल्लतल्ल एउटा उपाए निकाले –उस्को साथीलाई भन्न लगाउने । यो उपायले पनि खासै काम गर्ला जस्तो लागेन । झन संकट पैदा गराउने सम्भावना भयो । त्यो के भने –हाम्रो प्रेमको खुलासा । यदि यो कुरा कक्षाका अरु साथीहरूलाई थाहा भयो भने त स्कुलै जान नसक्ने गरी जिस्काउन वेर लगाउदैनथेँ । यो कुराले मनितालाई झन अप्ठ्यारोमा पार्न सक्थ्यो । अब के गर्ने भन्ने कुरामै मेरो दिमाग घुमिरयो ।
एकदिन अचानक अर्को जुक्ति फुर्यो–एउटा प्रेमपत्र लेखेर उनको किताब भित्र राखिदिने । यो जुक्तिले चाहि काम गर्ला जस्तो लाग्यो । कतै मेरो पत्रलाई सिधै लगेर सरलाई दिइन भने ? मनमा चिसो पस्यो । एकमनले उन्ले यस्तो कदापि गर्न सक्दिनन् भन्ने कुराको ठोकुवा गर्यो । त्यतिकैमा अर्का मनले सचेत रहन उर्दि जारी गर्यो । ऊ भन्दै थियो –कस्को मनमा के हुन्छ कस्लाई के थाहा हुन्छ र ? दुवै मनलाई चित्त बुज्दो बनाउने गरी जुक्तिलाई केही सुधार गर्ने निर्णय गरे –पत्र देब्रे हातले लेख्ने छु,त्यस्मा आफ्नो नाम लेख्ने छैन र मनिताको पनि,आफू चिनिनको लागि पहिलो भेटको कुरा लेख्ने छु र यदि मलाई मन नपराउने भए पत्रलाई कृपया चेतेर फालीदिनु मैले अन्यथा मान्ने छैन भनी पत्रमा आग्रह गर्नेछु ।
योजना वमोजिम नै मनिताको किताबमा पत्र राख्ने कार्य सफल भयो । एकदिन वित्यो,दुइदिन बित्यो । तर मनिताको कुनै प्रतिकृया आएन । मलाई असहीय हुदै गयो । मैले उनलाई उसै गरी हेर्न छोडेको थिइन । उनको हेराईमा पनि कुनै फरक पन थिएन । चारपाँच दिन बित्दा पनि कुनै प्रतिकृया नआउदा पत्रमा आफूले लेखेको याद आयो–मलाई मन पराउदैनौ भने पत्रलाई च्यातेर फालीदिनु । सायद उन्ले त्यो पत्रलाई च्यातेर फाली दिएको हुनुपर्छ,त्यस्तै सोचे । त्यसपछि भने उन्लाई हेरी मुस्कुराउनुको कुनै अर्थ रहेन । दिनदिन उनलाई हेर्न कम गरे । उनले मेरो केही बिगारी दिएकी थिइनन्, उनीप्रति सत्रुता व्यवहार गर्नु पाप हुन्थ्यो तर पनि उनको जुन अनुहार जुनभन्दा कम लाग्दैन थियो, त्यही अनुहार मलाई नराम्रो लाग्न थालिसकेको थियो । आखिर सबै कुरा मन नै रहेछ,राम्रोलाई पनि नराम्रो भन्न सक्ने रहेछ ।
त्यसै कुराले मनमा चिसो पसेछ । म खुलेर हास्न नसक्ने भए । पहिलेको जस्तो जोस जागर हराउदै गयो । पढाईमा पनि त्यति मन जान छोड्यो । तरपनि जबरजस्ती पढाई मै ध्यान केन्द्रित केन्द्रित गर्ने प्रयास गरे । आफ्नो मनलाई केही भएकै छैन,सबै पहिलेको जस्तो त छ नि भनेर भुलाउने कोशिस गरे । एकदिन गृहकार्य गर्दै थिए, गणित किताब मेरो हातमा थियो । किताबको गातामा सुन्दर गुलाबको फुल थियो । त्यही फुललाई हातका औलाहरूले स्पर्श गर्न थाले । गाता भित्र कागजको टुक्रा भएको जस्तो लाग्यो । एकातिरको खुला भागबाट त्यो कागजको टुक्रा निकाले । कागजमा केही लेखिएको रहेछ । अक्षर एकदमै नराम्रा थिए बाङ्गा टिङ्गा,आफैले देब्रे हातले लेख्ने गरेका जस्तै ठ्याक्कै । कतै यो पत्र उही मनिताको त होइन ? मनमा एउटा तरङ्ग पैदा भयो । पत्रलाई बिस्तारै पढ्न थाले । पत्र मनिता कै रहेछ । पत्रमा –मेरो पत्र पाएको,पढेर औधी खुसी लागेको, पहिलो कक्षाको दिनमा ऊ र उस्को साथी पानी खान गएको,खाएर साथीसँगै वर उभिइरहेको, संयोगवस उस्को साथीको ठाउँमा म पुगेको,आफ्नै साथी ठानेर मलाई चिमोट्न पुगेको, मैले उस्को हात समाती दिदाँ छुट्टै अनुभव भएको,मनैमन मन पराईरहेको र पत्रको सुरक्षाको लागि मैले जस्तै देब्रे हातले लेखेर किताबको बिचमा नराखी गाताभित्र राखिदिएको र आउदै गरेको मेलाको अवसर पारी भेट्न चाहेको आदि कुराहरू थिए । मन एकाएक परिवर्तन भयो । आँखाँ वरिपरि उही मनिताको तस्विर नाँच्न थाल्यो । मलाई भोलि कहिले आउछ भनेर छट्पटि हुन थाल्यो ।
दिन प्रतिदिन हामी बिचमा प्रेम बढ्दै गयो । तर यसकुरामा कसैले पनि सुईकोसम्म प्राप्त गरेका थिएनन् । हामी दुवै लजालु पाराका थियौ र हरबखत प्रेमको बारेमा सर्तक हुने गर्थ्यौ । हामी कम वोल्थ्यौ,ईशारा ज्यादा गर्थ्योै अर्थात म उनलाई हेरेर मुस्कुराउथे त उनी मलाई हेरेर अनि आँखाँ जुद्यो भने तुरुन्तै अन्त हेरी हाल्ने । यसै गरी समय चल्दै गयो । चोर जति चलाख छु भन्ठाने पनि कुनै न कुनै निशान छोडेर जान्छ भने जस्तै मेरो मन मिल्ने साथीले मेरो प्रेमको बारेमा सुईको पाएछ । उस्ले एकदिन मलाई सोध्यो–
“ए त जहिले पनि घरीघरी त्यो मनितालाई किन हेर्छस् ह ?”
किनकि म उस्लाई मन पराउछु भनेर भन्ने म आट गरीन र भनिदिए –“कसैलाई हेर्न पनि नहुने ?”
त्यतिकै कुरालाई छोड्ने पक्षमा ऊ थिएन र भन्यो –
“मैले मनिताको किताबमा तैले केही कागजको टुक्रा राख्दै गरेको थिए,त्यसैले सोधेको ।”
म केही वोलिन । मेरो मौनतालाई महशुस गरेर ऊ आफै कुरा थप्यो –
“लव सबको चक्कर हो भने यस्मा नपरेकै राम्रो हो । मनितालाई मैले राम्रोसँग चिनेको छु । उस्का बाउ निकै धनी छन् । एकदिन तलाई चटक्क छोडेर ऊ कहाँ जाँन्छे तैले पत्तोसम्म पाउने छैनस् । त्यसैले छोडिदे यस्तो लफडामा पर्न । प्रेम भएर छुट्नुभन्दा प्रेम नहुनु नै धेरै राम्रो हो,बुझिस् ?”
साथीको कुरा सुनेर मलाई झनक्क रिस उठ्यो किनकि उस्ले मेरो प्रेमको बिरुद्धमा बोलेको थियो । अनि मैले पनि भनिदिए–
“उस्का बाउ मात्रै धनी हो र ? हामी पनि त गरिब होइनौ । मनिता संसारको जुनसुकै कुनामा गएपनि म उस्लाई भेट्टाई छाड्ने छु र अर्का कुरा राम्रोसँग सुन मनिताले मलाई छोडेर कहिपनि जानेछैन किनकि उस्ले पनि मलाई माया गर्छे । यदि त मेरो असल साथी होस् भने हाम्रो प्रेमको बिरुद्धमा कहिले वोल्ने छैनस् ।”
मैले त्यसो भनिरहदा ऊ हल्का मुस्कुराइरहेको थियो । अनि भनेको थियो –
“इमोस्नल नबन् न यार,यदि तेरो यस्तै कुरा हो भने भन् बरु म के गर्न सक्छु ।”
त्यतिवेला मलाई लागेको थियो,साथी भनेको साथी नै हो ।
यसैगरी समय धरै बितिसकेको थियो । कक्षा १२ को परिक्षा पनि दिइसकेका थियौ । मेरो र मनिताको सम्बन्ध पनि राम्र्रै तरिकाले चलिरहेको थियो । म एकदिन घरमा टिबि हेरेर बसिराखेको थिए,त्यतिकैमा मेरो उही साथी हस्याङ्ग फस्याङ्ग गर्दै मेरो घरमा आयो । उस्ले मलाई केही भन्न चाहिरहेको जस्तो थियो । म अचम्म मानिरहेको थिए । त्यतिकैमा उस्ले कुरा खोल्न सुरु गर्यो । ऊ भन्दै थियो–
“जे नहुनु पर्ने थियो त्यही भयो । मनिता उस्को ममी ड्याडीसँग बिदेश गईछे । कुन ठाउँ कुन देश केही थाहा पाउन सकिन ।”
यति सुनिसकेपछि उस्को ओठमात्रै चलेको देखे तर केही पनि सुन्न सकिन । संसार घुमे जस्तो लाग्यो । जुन माया निश्छल छ भन्ठानेको थिए त्यही माया,माया नै नभएको प्रमाणित हुदै थियो । एकचोटी मनितासँग सारै रिष उठ्यो । कमसेकम जादैछु भनेर त भन्न सक्थी । यदि उस्लाई राम्रो हुन्थ्यो भने मैले उस्को बाटो छेक्थे होला र?
अब मसँग कुनै उपाय थिएन उस्लाई भुल्नु सिवाय । जुन कुरा मेरो लागि एकदमै गारो थियो । संझिदा त भुल्छु भन्थे तर केहीदिन भुल्दा के विर्षिए विर्षिए जस्तो लागेर फेरि संझिहाल्थे । एकमनले भन्यो –“हेर, त्यस्ती निस्ठुरी केटीलाई सम्झेर बस्ने त कस्तो मुर्ख मान्छे ? अब ऊ छिट्टै फर्किएर मलाई माफ गरीदेऊ भनेर तेरो अंगालोमा आउछे भन्ठानेको छस् ? उस्ले त सदासदाको लागि तलाई छाडेर गएकी छ । अलिकति भए पनि उस्ले तलाई माया गर्थी भने कहाँ जादैछु भनेर जान्थी । तलाई सिधै भन्न नआए पनि कुनै साथीलाई त भन्न पठाउन सक्थी नि । तर उस्ले केही गरिन, किनकि उस्ले तलाई माया गरेकै रहिनछ ।” अर्का मन अलि लाटो रहेछ । हरबखत मनिता कै पक्ष लिएर वोल्थ्यो । उस्ले भन्यो –“यस्मा मनिताको कुनै दोष छैन होला । कुनै वाध्यता वा परिबन्धमा ऊ परेकी छ होला ।”
एकदिन उही साथीको घरमा गएँ । ऊ घरमै रहेछ । उस्लाई मनिताको घर देखाई दिन आग्रह गरे । मैले त्यतिवेलासम्म पनि मनिताको घर देखेको थिइन । उस्ले मेरो कुरालाई सहर्ष स्वीकार गर्याे र मनिताको घरसम्म पुर्याई दियो । घरमा ताला झुण्डाईएको थियो । छिमेकीहरूलाई सोधे उनीहरूले पनि मनिताको बारेमा केही बताउन सकेनन् । उनीहरू त्याहाँ बसेको जम्मा जम्मी दुई वर्ष जति मात्र भएको रहेछ । घरको गेटबाट भित्र चिहाई हेरे । मनिता त घर भित्रै पो रहिछे । उस्ले बिस्तारै मूल ढोका खोली र बाहिर आएर पहिलेको जस्तो मुस्कुराउन थाली । तर अचम्म ढोकामा फेरि ताला भुन्डाईएको देखे । होइन आखिर मनिता कसरी बाहिर निस्किई त ? आँखाँ मिचे । भ्रम रहेछ । घरमा साँचिकै ताला झुन्डाईएको रहेछ । साथीले फर्कन आग्रह गर्दै थियो तर पनि मेरो मनले मानिरहेको थिएन । अँझै केही कुरा बाँकी छ जस्तो लागिरयो । अन्तमा घरलाई चारै तिरबाट नियालेर हेरे । साथीलाई जाऊ हिड भन्ने भावमा ऊ तर्फ हेर्नै लागेको थिए,गेटमा केही लेखिएको भान भयो । साथीलाई नहेरी त्यसै तर्फ हेरे । अक्षर निकै बाङ्गाटिङ्गा थिए । एकदुई कक्षाको बच्चाले लेखेको जस्तो । झल्यास्स संझिए आफूले मनितालाई र मनिताले मलाई देब्रे हातले चिठी लेख्ने गरेको । अक्षरलाई अँझ गौर गरेर हेरे । अक्षर उही चिरपरिचित लाग्यो । नंबर नोट गरेर राखे । साथीले पनि ठुला ठुला आँखाँ पारेर हेरिरहेको रहेछ । उस्लाई “जाऊ हिड “मात्रै भने,अरु केही भनिन । ऊ पनि केही बोलेन । उस्ले मनमनमा सोचेको हुनुपर्छ —केटाको प्रेममा केही न केही त दम छ ।
त्यतिवेलासम्म हाम्रो घरमा टेलिफोन जोडिएको थिएन । छिमेकी अंकलकोमा गएर अन्टीलाई नंबर डायल गर्दिन भने । उहाँले कुन देशको नम्बर भनेर चिन्नु भएछ क्यारे, अमेरीका कस्लाई फोन गर्न लाग्नुभएको भनेर जिस्काउन थाल्नुभयो । अमेरीका सुन्ना साथ टन्टलापुर घाममा शितल हावाले स्पर्श गरेको जस्तो अनुभव भयो । मन औधी प्रशन्न भयो । मेरो तिनै अङ्कल जस्को घरमा फोन गर्न गएको थिए, उहाँ पनि अमेरीकामै हुनुहुन्थ्योँ र अँझ सबैभन्दा खुसीको कुरा त प्रन्ध्रबिस दिन अघि स्वय म वुवाले अमेरीका गएर पढ वावु भन्नुभएको थियो । एकाएक मेरो मुखाकृतमा आएको परिवर्तनलाई आँन्टीले महशुस गर्नुभएछ क्यारे, हास्नुमात्रै भयो केही बोल्नुभएन र फोन डाएल गर्न लाग्नुभयो । अन्टीले फोन लगाएर मेरो हातमा रिसिभर दिदा मेरो छातीभित्र १९९० सालको महाभूकम्प गएजस्तो मुटु धकधक गरिरहेको थियो । मेरो आशा मारिसकेको माया फेरि प्राप्त हुदै थियो । फोनमा फान गइरहेको घन्टी बजिरहेको थियो,यताभने मेरो दिमागमा मनितालाई के भन्ने ? गाली गर्ने कि ? कहाँ गाली गर्ने,हुदैन हुदैन । त्यसोभए के भन्ने त ? प्यारी मनिता मलाई छोडेर कहाँ गएको तिमी भन्ने त । यस्तै यस्तै कुराको घन्टी बजिरहेको थियो । त्यतिकैमा फोन उठ्छ । मनिताको उही चिरपरिचित सुरिलो आवाजलाई सुन्न मेरो कानहरूले गरेको ब्यग्र प्रतिक्षा विपरित उताबाट बुढो आवाज वोल्छ –हेल्लो, हजुर को बोल्नुभएको होला ? कस्लाई खोज्नुभएको ?
म झस्किन्छु । यस्तो लाग्यो अब कोहीली कुहुकुहु गर्छ भनेर प्रतिक्षा गरी बसिरको वेला एकछिन पछि काँ काँ गरे जस्तो । हत्पत् फोन राखिदिए र अन्टीलाई भने– ‘अन्टी, गलत नम्बरमा फोन गए जस्तो छ । यो त मनिताको आवाज होइन । कुनै बुढो मान्छेको जस्तो छ । अनि नेपालीमै बोलिरहेको थियो ।
कुरैकुरामा मनिताको नाम फुस्काएछु । अन्टी ट्वा परेर शंकालु पारामा मलाई हेर्नू थाल्नुभयो । मलाई भने लज्जा बोध भयो । अन्टीलाई सबैकुरा बताउनुको विकल्प रहेन । उहाँले तिब्र जिज्ञासाकोसाथ मेरो अनुहारमा हेर्नलाग्नुभयो । अन्टी एकदमै खुला स्वभावको हुनुहुन्थ्योँ । मलाई औधी माया पनि गर्नुहुन्थ्यो । उहाँलाई कूरा लुकाउनुको कुनै फाईदा थिएन । त्यसैले वहाँलाई सबैकुरा भन्न राजी भए तर एउटा सर्तमा –अरु कसैलाई भन्न नपाउने ।
सबै कुरा सुनिसकेपछि अन्टीले मलाई मायालु पाराले गाली गर्दै –“अघि किन फोन काटेको त ? त्यो मान्छे मनिताको वुवा पनि त हुनसक्छ ।” भन्नुभयो । हो त त्यो मान्छे मनिताको ड्याडी हुनुपर्छ, मलाई पनि यस्तै लाग्यो । तर ड्याडीलाई के भन्ने ? म अलमलमा परे । मेरो मनोविज्ञानलाई पढ्नु भएछ क्यारे, आन्टीले जिस्काउन थाल्नुभयो । “के हो ? ससुरासँग वोल्न लाज लाग्यो कि क्या हो हाम्रो बावुलाई ?” मैले मन्टो हल्लाँए मात्रै । केही बोलिन । फोनको रिसिभर समातेर नम्बर रिडाएल गर्दै तस आन्टीले ‘त्यसोभए मै कुरा गरिदिन्छु’ भनिदिदा टाउको माथिको ठुलो बोझ हटेको अनुभव भयो । त्यतिकैमा फोन उठ्यो । अन्टीले त्यो मान्छेसँग बोल्न थाल्नुभयो । निकै लामो कुरा गर्नुभयो । म एकनाशले वहाँलाई हेरिरहे । उहाँको मुहार हसिलो हुदाँ म पनि हाँसे । उहाँको मुहार मनिलो हुदाँ म पनि रोउँला जस्तो भए । धेरैवेरको कुरा पछि उहाँले फोन राख्नुभयो । म उहाँलाई हजार प्रश्नहरू मेरो आँखाँमा राखेर हेरिरहेको थिए तर उहाँले मलाई हेर्नु भएन । उहाँको एउटा हातले रिसिभर छोडेको थिएन । उहाँ टोलाए जस्तो हुनुभयो ।
त्यतिवेलासम्म मेरो आँखामा आशु टिलपिल भैसकेका थिए । अन्टी भनेर रुन्चे स्वरमा मैले बोलाए । उहाँको अनुहार मलिन थियो । त्यो मान्छे मनिताको ड्याडी होइन रहेछ । उस्ले त मनिता नाम गरेकी केटी समेत चिनेको रहेनछ । आन्टीले सबैकुरा बताउनु भयो । मलाई यस्तो लाग्यो –म एउटा ठुलो समुद्रमा खसे, जेनतेन जहाजसम्म पुग्ने डोरी भेटाए र औधी खुसी भए । त्यस्को क्षणभरमै त्यो डोरी पनि चुड्यो र अथाहा समुद्रमा मलाई एक्लै छोडेर त्यो जहाज सदासदाको लागि टाढा गयो । अर्थात मेरी मनिता अब मेरो जीवनबाट सदासदाको लागि टाढा गई ।
गेटमा लेखिएका ती अक्षरहरू मनिताकै थिए भन्ने कुरामा ढुक्क थिए । त्यसैले –आखिर मनिताले त्यो नम्बर किन लेखि त ? भन्ने कुराले बारबार चस्का हान्न थाल्यो । मनलाई धेरै सम्झाउन खोजे तर सकिन । फेरि गए अन्टीकोमा फोन लगाउनको लागि । संयोगवस अन्टी घरमा हुनुहुदो रहेनछ । फोन लागाए त्यो मान्छेसँग रोईंकराई गरे । मनितालाई आफूले औधि माया गर्ने गरेको बताए । सायद उस्को मन पनि पग्लिएछ क्यारे, मनितालाई खोज्न सक्दो प्रयास गरिदिने आश्वासन दियो । मैनौसम्मको भोक एकैचोटी पुरा भएको जस्तो लाग्यो । प्रशन्न मन लिएर घरतर्फ आए ।
मनिताको खवर पाउने आशमा एकदिन दुइदिन भन्दै दिन गन्दै बसे । दिनहरू पनि कति लामा हुन भन्ने जस्तो लाग्न थाल्यो । धैरैसम्म पनि त्यो मान्छेको फोन नआउदा मन फेरि अमिलो हुन सुरु भयो । विचारा उस्लाई पनि के दोष । नेपालभन्दा कैयौ ठुलो देशमा उस्ले भन्ने वितिकै कसरी खोजोस् । म आफै भएको भए पनि उस्लाई खोज्दा खोज्दै बुढो हुन्थेहोला । यस्तै सोचे । हुनत अमेरीकामा अंकल पनि हुनुहुन्थ्यो तर वहाँलाई पनि कसरी खोजीदिनु भन्ने र –न फोटो न नम्बर । अर्कोतर्फ मनिता अमेरीका नै गएको भन्नेकुरामा पनि केही टुङ्गो थिएन । मन नमिठने हुन थाल्यो । दिनदिन मनिताको आश मार्ने प्रयास गरे – झिनो प्रयास ।
एकदिन अन्टीले मलाई आफ्नो घरमा बोलाउनु भयो । म तुरुन्तै गए । उहाँको मुहार निकै हसिलो थियो । मलाई देख्नासाथ नजिकै आउनु भयो । त्यो मान्छेले फोन गरेको रहेछ । त्यही कुरा सुनाउनको लागि उहाँ आतुर हुनुभएको रहेछ । भन्नुभयो – त्यो मान्छेलाई एउटी मनिता भन्ने केटीले पनि फोन गरेकी थिई रे । कोही मदन भन्ने व्याक्तिले हजुलाई फोन गरेको थियो कि भनेर सोधेकी थि रे । उस्ले पनि हामीले फोन गरेको बारेमा सबै भनिदिएछ र ऊ धेरै खु:सी भई रे । त्यो मान्छेसँग यहाँको नम्बर लिएकी छ रे । अब चाडै मनिताको फोन हजुरलाई आउछ होला, त्यसैले हजुरलाई बोलाएकी ।
मेरो खु:सीको सीमा रहेन । वर्षौ वर्ष थलिएको मान्छेलाई एकै चुडिकको भरमा उपचार गरिदिएर स्वस्थ तुल्लाई दिदाको जस्तो खु:सी मेरो मनमा भयो । अनायासै मेरो आँखाँबाट हर्षासू बगेछन । आशु पनि कस्तो चिज होला, दु:खमा पनि आउने र सु:खमा पनि आउने –भन्ने सोचे । त्यतिवेला मेरो जीवनमा सूर्य उदाइसकेको थियो र मैनबत्ती बाल्नुको कुनै अर्थ थिएन अर्थात अब मनितालाई संझेर रुने दिन गएका थिए र उनलाई भेट्ने दिन चाडै आउदै थिए ।
त्यतिकैमा ‘ट्रिङ् ट्रिङ् …’ गर्दै फोनको घन्टी बज्यो । हतपत उठेर आन्टीले नम्बर हेर्नुभयो । ‘नम्बर अमेरीकाको जस्तो छ, पक्कै पनि मनिताको हुनुपर्छ’,भन्नुभयो । मेरो रौं ठाडा भैरहेको जस्तो भान भैरहेको थियो । मनमा अचम्मको छटपटी छाएको थियो । बढो बल गरेर रिसिभरलाई माथि उठाए । किनकिन मलाई रिसिभर अति गह्रौ लाग्यो त्यतिवेला । छातीको धडकन पनि कानले सजिलै सून्न सकिने गरेर जोडजोडले धड्किरहेको थियो । अगुल्टाले हानेको कुुकुर बिजुली देखी तर्सिन्छ भने जस्तै कतै उताबाट मैले कल्पना गरेको सुमधुर कोईलीको धुन विपरित कागको काका सुनिने त होइन भन्ने कुरामा मेरा कान सर्तक थिए । उताबाट ‘हेल्लो ’ भन्ने आवाज आयो । त्यो आवाज उही मेरी चिरपरिचित मनिताको नै थियो । त्यो आवाजलाई चिन्नकोलागि कति पनि समय लागेन । उनले हेल्लो हेल्लो भनिरहिन् । यता म भने त्यही हेल्लो शब्दलाई भित्रि मन देखि स्पर्श गरेर आनन्दित भैरहे । केही वोल्न खोजे तर मेरो मुखबाट कहीं आवाज निक्लेन । छेउमा भएकी आन्टीले कासेको जस्तो आवाज सुने । सायद मलाई केही बोल्नको लागि उहाँको त्यो एउटा इशारा थियो । एकचोटी आन्टीको मुहारमा हेरे । उहाँले ईशारै ईशाराबाट ‘बोल बोल’ भनिरहनु भएको थियो । निकै बल गरेर ‘हेलो मनिता’ भन्न सके ।
सुरुमा कुरै गर्न सकेनौ । दुवै जोड जोडले रोयौ मात्र । बिस्तारै सहज वातावरणमा आयौ । त्यातिवेलासम्म नजिकै आन्टी पनि हुनुहुन्छ भन्ने कुरालाई मैले भुलि राखेको रहेछु । एकपटक आन्टी भएतिर हेरे । उहाँ त्यहाँ हुनुहुन्थेन । कतै गइसक्नुभएको रहेछ । सायद आन्टीलाई आफ्नो लजालु बावुको लजाउने बानी पहिले देखि थाहा थियो । हामी बिच निकै लामो कुरा भयो । मनितालाई भेट्टाउनको लागि आफूले गरेको सबै प्रयास उनलाई सुनाए ।
वास्तबमा उनलाई आफू अमेरीका जादैँछु भन्ने कुरा एकदुइदिन अघिमात्र थाहा भएको रहेछ । आश नभएको अवस्थामा अचानक भिषा लागेको रहेछ । सबै परिवार अमेरीका जाने भनेपछि उनले म जाँन्न भन्न सकिनछन् । आफू बाध्यताले अमेरीका जानलागेको कुरा मलाई भन्न चाहेकिरहेछिन् तर अमेरीका जाने तयारीमा लाग्दा कतै निस्कने फुर्सद पाइनछन् । अन्तमा घरबाट एर्पोट हिड्नै लाग्दा, म उनको घर खोज्दै अवश्य आउने ठानेर हतार–हतारमा अमेरीकामा रहेका आफ्ना अंकलको नम्बर लेखिछन् ।, तर फेरि उनलाई डर लागेछ,कतै अंकलले सबै कुरा थाहा पाउनुहुनेहोकी भनेर । त्यसपछि अन्तिमको १ अंकलाई २ बनाइदिछन् र ‘मदन, म अमेरीका जादैँछु । यस नम्बरमा फोन गर्नु ’–भनेर लेख्न चाहेकिरहेछिन् । त्यतिकैमा उनको वुवाले उनलाई वोलाउनु भएछ र मन अमिलो बनाउदै उनी अमेरिका लागिछन् । त्यहाँ पुगेर पनि उनी चयनले बस्न सकिनछिन् ।
कुरैकुरामा उनले अगाडि भनिन् –‘ मदन, तिमी चिन्ता नगर । म तिमीलाई भेट्न अवश्य आउनेछु । तिमीविना आफ्नो ध्यान पढाईमा लगाउन सकिरहेकी छैन । किताब हेर्योकी उही पहिलेको कुरा याद आउछ । अब तिमी नै भन यस्तो अवस्थामा म कसरी पढ्न सक्छु होला । म तिमीबिना खुसी हुन सक्दिन, मदन । त्यसैले तिमी पर्खि बस, म कुनै बहाना बनाएर चाडै फर्की आउनेछु ।’ उहाँ पुगिसकेको मान्छे त्यो पनि परिवारसँगै,त्यस्तो अवस्थामा त्यतिछिट्टै फर्किआउन सकिने सम्भावना थिएन तर पनि मेरो मन बुझाउनको लागि मनिताले त्यसो भनिरहेकी थिई । उस्ले त्यस्तो भनेपछि सम्झाउदै मैले भने –‘मनिता तिमी पिर नगर । तिमीलाई भेट्न म चाडै आउनेछु । राम्रो पढाईहुने ठाउमा गएकी छौ, राम्रोसँग पढ्नुपर्छ । केहीदिन अगाडि मेरो वुवाले पनि मलाई अमेरिका पठाउने कुरा गर्नुभएको थियो । तिमीलाई छोड्नुपर्छ भनेर जान मानेको थिइन । त्यसैले वुवालाई फकाएर म चाडँै त्यहाँ आउनेछु । मेरो प्रतिक्षा गर ।’ मैले यति भनिसकेपछि मनिताले ‘हुन्छ’ भनी रुन्चे श्वरमा ।
अस्ति भक्खर वुवालाई –“म अमेरिका समेरीका जादिँन,जति दु:ख गर्नु परे पनि यतै गर्छु। हामीले नबनाए देश को आएर बनाइदिन्छर ?” भनेको याद आयो । अब कुन मुख लिएर वुवालाई ‘वुवा, म अमेरिका जान चाहान्छु ’ भन्नु । मनमा लज्जा बोध भयो । नभनिरहन पनि सक्दिनथे, भनुँ पनि कसरी ? बढो संकटको स्थिति पैदा भयो । छोरो अमेरीका जान चाहेको कुरा पहिले आमाद्धरा वुवालाई सुनाउने निर्णय गरे । वुवासँग वोल्ने आँट ममा थिएन । बुबाले कुरा सुरु गरेपछिमात्र उहाँसँग कुरा गर्न सक्थेँ । आमाले वुवालाई त्यो कुरा सुनाइदिसक्नुभएछ क्यारे । खानाखाने वेलामा कुरा झिक्नुभयो । वुवाले कुनैपनि वेलामा कुरा निकाल्न सक्ने मलाई राम्रोसँग थाहा थियो । त्यसैले एउटा जवाफ मनमा तयार बनाइसकेको थिए ।
“छोरा, त त अमेरिका जान्छु भन्दैथिस् अरे आमासँग” । वुवाले मुखको गाँस चपाउदै मलाई प्रश्न गर्नुभयो । बुबाले कतिवेला कुरा निकाल्नुहुन्छ भनेर व्यग्र प्रतिक्षा गरेको थिए,त्यो पुरा भयो । हातमा रहेको गाँस मुखमा राखेर ‘अ’ भन्ने पाराले मुन्टो हल्लाए ।
अस्ति त खुव देशको चिन्ता गर्दैथिस् । आझ फेरि के भो ? देशको चिन्ता यतिछिटै मरिसक्यो ? हुनपनि त नाँथेले के नै लछारपाटो लगाउन सक्थिस् होलार ? कस्ता कस्ता मै हुँ भन्नेले पनि केही गर्न नसकेको देशमा । मुखमा रहेको गाँस चपाउदै निलेर गिलासको आधा पानी सकुन्जेलमा वुवाले आफ्नो कुरा पुरा गर्नुभयो । वुवाको अनेपेक्षित रुपमा आएको व्यङ्ग मिश्रित वाणले मलाई चसक्क छोयो । ‘त्यही त वुवा म नाथेले के नै गर्न सक्छुर ?’ भनेर आफू लाचार हुन पनि चाहिन । केही गरेर देखाउछु भनेर भनौ भने पनि आफूलाई अमेरिका जो जानु थियो । केही छिन अलमलमा परे । मेरो रेडिमेड उत्तर वुवाको प्रश्नसँग मेल नखाने भयो । केही त वोल्ने पर्यो त्यसैले भनिदिए –“वुवा अमेरिका त म पढ्न पो जान लागेको होनी । धेरै पढेपछि पो वल्ल केही गर्न सकिन्छ नि,होइन र वुवा ? मैले सुनेको त्यहाँको पढाई राम्रो छ रे । त्यसैले वुवा अंकलसँग चाडोभन्दा चाडो कुरा गरीदिनु पर्यो । पढाई सुरु हुन थाली सक्यो अरे ।” बुवालाई मेरो कुरा मन परेछ क्यारे । एकनासले मेरो कुरा सुनिराख्नुभएको रहेछ । “मैले त तलाई कैले पो राकि राखेकोछु र ? पहिले मैले जाँभन्दा मानिनस् । अहिले आफै जान्छु भनिस् झन ठिकै भयो नि त ।” खाना खाइसकेर हात धोइन्जेल बुवाले आफ्ना कुरा सक्नुभयो । मलाई निकै आनन्द लाग्यो । खाइरहेको खानेकुरा पनि झन मिठो लाग्यो र भने,“आमा,अलिकति भात थपिदिनोस् त, आझ कस्तो मिठो लाग्यो भन्या ।”
त्यतिन्जेलसम्म बुवा भान्साबाट बाहिरी सक्नुभएको थियो । आमाले मुस्कुराउदै मेरो लागि खाना ल्याइरहनु भएको थियो । आमाले त्यतिवेला मनमनै यस्तो सोचिरहनु भएको थियो होला –छोरालाई अमेरिका जाने कुराले भात पनि मिठो भएछ । हुन पनि बिचराले आमाले पकाएको खान नपाउने भयो । जस्तो जे भएपनि आमाले पकाएर दिएको खाना नै मिठो हुन्छ भन्छन् ।”
मेरो अमेरिका जाने कुरा तय भयो । उड्ने मिति पनि नजिक नजिक आइरहेको थियो । नभन्दै त्यो दिन पनि आइसक्यो । साथीभाइ, घरपरिवार, देश सबैलाई छोडेर सपनाको देश अमेरिका तर्फ हानिँए । अमेरिका पुग्दा विहानको सातआठ बजिरहेको रहेछ । अंकल मलाई लिन वयटिङ् रुममा बसिरहनु भएको रहेछ । त्यो दिन म सिधै अंकलको कोठामा गए । त्यहाँका बाटा निकै फराकिला लागे । घरहरू पनि निकै अग्ला थिए । दुईचार घरको कति तला रहेछ,गन्न खोजे तर सकिन । सहर औधी सुन्दर थियो । धुलो मैला कतै पनि थिएन । गाडीहरू पनि कति धेरै लाग्यो । अमेरीका साँच्चैको अमेरिका रहेछ ।
अमेरिका उड्नु अघि एकपल्ट मनितालाई फोन गरेको थिए । दुर्भाग्यवश उनले पहिले सार्वजनिक टेलिफोन सेवाबाट फोन गरेकिरहेछिन् । त्यसैले उनीसँग कुरा हुन पाएको थिएन । त्यसैले मनिताले गेटमा लेखेको नम्बरमा फोन गरेको थिए र आफूँ अमेरिका आउन लागेको कुरा भनेको थिए । यदि मनिताले फेरि फोन गरेमा मनिता बस्ने ठेगाना सोधिराखीदिनु भनेर मैले गरेको आग्रहलाई उस्ले सहर्ष स्वीकार गरेको थियो । अंकल बाहिर गएको मौका मिलाई त्यही मान्छेलाई सम्र्पक गर्ने प्रयास गरे । फोन गयो । त्यो मान्छेसँग कुरा पनि भयो । मनिताले पुन: आन्टीको घरमा फोन गरेकिरहिछ । म यता आइसकेको कुरा उस्लाई थाहा भइसकेको रहेछ । उस्ले त्यो मान्छेसँग आफ्नो ठेगानाका साथै आईतवारको ठिक ९ वजे फोन गर्नु भनेर नम्वर पनि छोडिराखेकिरहिछ । त्यो दिन शनिवार थियो । त्यसैले आईतवारको प्रतिक्षमा बस्न थाले । दिनदिन मेरो मन निकै चन्चल भैरहेको थियो । मनितालाई भेट्न पाउने कुराले मन त्यसै गदगद भैरहेको थियो । म एक्लै एक्लै मुस्कुराँउन थालिसकेको थिए । त्यसरी मुस्कुराँउदा अन्कललाई लाग्दोहो, म अमेरिका आएकाले त्यसरी खुसी भएको हुलाँ तर अंकललाई के थाहाँ –म अमेरिका आउनुभन्दा पनि बढी खुसी मनितालाई भेट्न पाउने कुरामा थिए ।
आईतवार पनि आयो । जेनतेन सात त बज्यो तर एक घण्टा कुर्ने धैर्य ममा रहेन । त्यसैले अङ्कलको मोबाइल खुसुक्क लिए र अर्को कोठामा गए । निकै ध्यान दिएर नम्बर डाएल गरे । फोन गयो । कुनै कुइरे अंग्रेजीमा बोल्यो । त्यो त सार्वजनिक टेलिफोनको नम्बर रहेछ । अब ९ बजे नकुर्नुको कुनै विकल्प रहेन । ९ बज्न केही बाँकीँ छदै फेरि फोन हान्न सुरु गरे । त्यतिकैमा अंकलले मलाई बोलाउनु भयो । उहाँ अफिस जानलाई ठिक्क परिसक्नुभएको रहेछ । आफ्नो मोबाइल मैले देखेको छु कि भनेर सोध्नुभयो । उहाँको मोवाइल मेरो हातमा देखिइरहेको थियो । म केही नबोली अंकलको हातमा मोबाइल थमाइदिए । एकछिन एस्सो हेर्दै थिए,अंकल । उहाँ हिडिसकेसी बल्ल भन्नसके । आफूले त्यसरी ब्यग्र प्रतिक्षा गरेर फोन लागाइरहेको बेला एकछिन है अंकल भनेर भन्न नसकेकोमा आफूलाई आफैदेखि रिस उठ्यो । केहीछिन पछि सोचे सायद अंकल हतारमा हुनुहुन्थ्यो होला, जे गरे ठिकै गरे ।
अंकल तल रोडमा पुगिसकेको देखे । हतार हतारमा म पनि तल ओर्लिए र टेलिफोन भएतर्फ दौडिए । केही छिनमा टेलिफोन गर्ने ठाउँ पनि पाए । सासै नफेरी नम्वर थिच्न थाले ।
मनिताले मेरो फोन कतिवेला आउछ भनेर कुरीराखेकिरहेछिन् । कुरा पनि भयो । मन निकै प्रशन्न भयो । आफू अमेरिका आएको सफल भएको ठाने । हामीले भेट्ने तय गर्यौ । बुज्दै जाँदा मलाई अंकलले खोजिदिनु भएको क्याम्पस र उनले पढ्ने क्याम्पस संयोगले एउटै रहेछ । दुवै निकै खुसी भयौ । भगवानले हामी दुईलाई एकअर्काका लागि बनाएको भान भयो । तीन दिन पछाडिबाट हाम्रो कलेज सुरु हुने वाला थियो । त्यसैदिन भेट्ने योजना बनाई फोन राख्यौ ।
अब फेरि तीन दिन पर्खनु पर्ने । कति पर्खनु भन्ने मनमा लागिरहन्थ्यो । तर पनि मनलाई जसोतसो सम्हाल्ने कोशिस गरिरहे । तीन दिनको पर्खाई साच्चिकै मलाई तीन जुनिको लाग्यो । तेस्रो दिनको विहान ९:३० बजे जानुपर्ने कलेजको लागि ८ बजे नै पूर्ण रुपमा तयार भैसकेको देखेर अंकल पनि दंग पर्नुभयो र भन्नुभयो – पहिलो दिनको छुट्टै जोश जागर हुन्छ,होइन त मदन ? अंकलले भने जस्तै त्यो दिन ममा निकै जोश जागर थियो । कलेज ९:३०मा पुग्नुपर्ने तर म त चाडो नै तयार भैसकेको हुनाले पाईलाहरूलाई केही कम चलाउने प्रयास गर्न थाले तर पाईलाहरू ढिला हुन मानेनन् । बाटोमा टलिफोन गर्ने ठाउँ देखे । आज मनितालाई भेट्ने दिन भएको हुनाले हाम्रो भेट आज हुदैछ भनेर मनिताले गेटमा लेखेको नम्बरमा फोन गर्न मन लाग्यो । फोन गरे पनि । हामी भेट्न लागेको सुन्दा ऊ पनि औधि खु:सी भयो । उस्ले हामी दुवैलाई भेटेर आर्शिवाद दिन चाहेको कुरा गर्यो । मैले पनि खु:सी हुदै उस्को चाहनालाई सहर्ष स्वीकार गरे ।
पूर्व योजना बमोजिम नै कलेज पुगेर पानी पिउने धारा निर पर्खि बसे । म त्यसरी त्याहाँ उभिइरहेकाले सबै जनाले आश्र्चय मानेर हेरिरहेको थिए । म भने भीडहरूका विच मनितालाई नै खोजिरहेको थिए । त्यतिकैका पछाडिबाट कसैले कम्बरमा चिमोटेको महशुस भयो । हतपत पछाडि फर्केर हेरे । अगाडि एउटा मानव आकृति मलाई नै हेरेर मुस्कुराइरहेको थियो । कक्षा ११ को पहिलो दिन झल्यास्स संझिए । उतिवेला पनि म पानी पिउने धारा नजिकै उभिइरहेको थिए र कसैले यसैगरी कम्मरमा हल्का चिमोटेको थियो । तर एउटा कुरा चाहिँ बिल्कुलै फरक थियो । त्यतिवेला त्यो चिमोट्ने मान्छेलाई मैले चिनेको थिइन र पहिलो चोटि देखेको थिए तर आझ उस्तै गरी चिमोट्ने अरु कोही नभएर उही मेरो चिरपरीचित मनिता नै थिई । मनितो अनुहार हेरेर म त टोलाइरहेछु । मनिताले फेरि चिमोटेपछि बल्ल होशमा आए र तुरुन्तै उस्ले चिमोटिरहेको हात समाती दिए । मोरी जोडले हाँसी र अंगालोमा बेरिन आइपुगि । म अलमलमा परिरहे । त्यस्तो लजाउने मान्छे अंगालोमा आफै बेरिन आईपुग्दा मोरीलाई के भयो जस्तो लाग्यो । सोचे – जस्तो देश त्यस्तै भेष त गर्नै पर्यो नि ।
हाम्रो भेट हुनमा ठुलो मद्दत गर्ने त्यो मान्छलाई भेट्ने निधो गर्यौ र उस्ले भनेको ठाउँमा गएर वेइटिङ् रुममा पर्खि बस्यौ । केही समयपश्चात एउटा पैतालिस् पचास वर्षको अर्धबैसे मानिस हाम्रो नजिक आयो । ऊ,ऊ नै भए नभएको निधो गरे । ऊ ऊ नै रहेछ । उस्को पाउ छोइ आर्शिवाद लिन मन लाग्यो र अगाडि गए । मनिता मसँग आइरहेकी थिइन । उस्लाई एक नजर फर्केर हेरे । उस्को अनुहार रातो र पिरो भएको थियो । एक्कासि उस्को अनुहारमा आएको परिवर्तन देखेर आश्चर्य लाग्यो । उस्को नजिक गएर के भयो भनेर सोधे । ऊ केही बोलिन । घुसे मन्टो लागाएर उभिइरहि मात्र । ‘आउन, उहाँको पाउ छोएर आर्शिवाद लिउ। हाम्रो भेट हुनुमा उहाँको ठुलो हात छ । उहाँको यो सहयोगलाई हामीले कदर गर्नुपर्छ ’ भनेर सम्झाउने प्रयास गरे । त्यतिभन्दा पनि उस्ले अटेर गरेको देख्दा लाग्यो– सायद उस्लाई त्यसो गर्न अप्ठेरो लागिरहेको होला । त्यो मान्छे प्रति मेरो मनमा ठुलो श्रद्दा थियो । त्यसैले मनितालाई अँझै पनि मनाउने प्रयास गरे ताकी मनितासँगै उहाँको आशीर्वाद लिन सकूँ । त्यसैले भने, ‘ आखिर उहाँ पनि त हामं्रो बुबा जस्तो हुनुहुन्छ आखिर तिमीलाई केको समस्या ? ’
त्यतिवेलासम्म मनिता चुप लागिरहेकी थिई । तर एक्कासि बोली – उहाँ मेरो बुबा जस्तो होइन,बुबा नै हो । संसारमा सात आश्चर्य त सुनेको थिए तर आठौ आश्चर्य आफ्नै आँखाले देख्न पाएको जस्तो आश्चर्य लाग्यो । यो कसरी हुन सक्थ्योँ ? मैले पत्ताउनै सकिरहेको थिइन । त्यहाँ त्यतिकै उभिइरहन मनितालाई ठिक लागेनछ क्यारे,मेरो हात समातेर बाहिर ल्याउन खोजिन् । मैले एकपल्ट त्यही मान्छे भएतर्फ हेरे । सायद उस्लाई पनि आठौ आश्चर्य हेरिरहेको भान भैरहेको थियो होला । हामी कोठाबाट बाहिर निस्कनै लागेका थियौ, पछाडिबाट आएको आवाजले हाम्रो पाईला एकाएक रोकिए । कानले सुनेको कुरालाई कानले नै विश्वास गर्न सकेनन् । मनिता र म एकअर्काका मुखमा हेर्यौ । त्यो आवाज फेरि कानमा गुन्जीँयो –बाबु जस्तोको चाहि आशीर्वाद लिन हुने तर आफ्नै बाबुको आशीर्वाद लिन चाहि यति गारो ? हामी फनक्क फर्किर्योै र बुबाको पाउ पर्यौ बच्चा बेलामा जस्तो पुरै खुट्टा अंगालोमा हालेर । सबैभन्दा आश्चर्य र खु:सीको घटना बनेर त्यो अँझै पनि मेरो मानसपटलमा आइरहन्छ र अनायासै मेरो मुखबाट हल्का मुस्कुरावट फैलन्छ ।
म्नका खुलदुलीहरू अँझै मेटिएका थिएनन् । पछि मनितासँग जिज्ञशा राखे । पहिलो जिज्ञसा त उनले घरको गेटमा लेखेको नम्बर बारे । के उनले आफ्नो बुबाको नम्बर जानि जानि लेखेकी हुन त ? त्यस्तो होइन रहेछ । उनका अंकलले सिम लिने वेलामा दुई ओटा एकै चोटी लिएका रहेछन् । एउटा आफूले चलाएका रहेछन् र अर्को चाहि त्यतिकै राखिराखेकोमा पछि मनिताको बुबालाई दिएका रहेछन् । हुन पनि मनिताको अंकल र मनिताको बुबाको फोन नम्बर एउटा अंकले मात्र फरक थियो । अर्को जिज्ञासा उनको नाम बारे थियो । उनको आमा बुबाले राखिदिएको नाम मौनता रहेछ र घरमा पनि मौनता नै भनेर बोलाइने रहेछ । साथीहरूलाई आफ्नो नाम मौनता भन्यो भने मौनता अर्थात सधै मौन भनेर जिस्काउने हुनाले मनिता भँन्ने गरेकिरहेछिन् सोचे मैले यतिधेरै माया गर्ने मान्छेको बास्तविक नाउ समेत मलाई थाहा रहेनछ । लाग्यो थाहा नभए पनि के भो त ? नाममा के नै हुन्छर ? रावणलाई राम भनेर राम हुने होइन । जे भनेनी भैगो नि । तेस्रो जिज्ञसा चाहि मनितालाई आफ्नै ड्याडीको फोन नम्बर पनि थाहा नभएको बारे थियो । सोधूँ भनेर आट गरे तर त्यस्को जवाफ मनैले दियो । मैले कति चोटि मनिताले गेटमा लेखेको नम्बर पढ्ें,लेखे, डाएल गरे तर पनि अँझै मुखाकृत भएको थिएन । काम पर्यो त डायरी निकाल्थें । त्यति लामो कस्ले संझिरहने झेउ गर्ने ।
यो कथा लेखिरहदा मेरी मनिता मसँगै छिन् । मेरो टेवल अगाडि बसेर मुस्कुराइरहेकी छिन् । हाम्रो बिहे भएको पनि धेरै वर्ष बितिसकेछ । मनिता नेपालकै एउटा विद्यालयमा शिक्षिकाको काम गर्छिन् । म पनि सरकारी सेवामा छु र समय मिल्दा कनिकुथि लेख्ने गर्छु । अघि केही समय अगाडि मनिताले मेरो अगाडि चियाको कप ल्याएर राखिदिएकिरहेछिन् । मेरो छोरीले पोखुला जस्तो गरिरहेकी छिन् । त्यसैले यो कथालाई टुङ्गाई मलाई चिया खानुँ छ । कथा टुङ्गाउनै थाल्दा फेरि एकपटक मनितालाई हेर्न मन लाग्छ । उनी अँझै पनि उस्तै गरेर मुस्कुराइरहेकी छिन् । सोच्दै होलिन् –मलाई हेर्दै के लेखिरहनु भएको होला ? म उनको हासो यसैगरी सधै हेरिरहन पाउ भन्दै मनमन कामना गर्छु ।
०६९ –१२–११ © देव पाण्डे सूर्य ९८४९६७३६०७
