युद्ध त सम्झैतामा टुङ्गिसक्यो
नेताको कुर्सी सुरक्षित भइसक्यो
मान, सम्मान पाइसक्यो पद पाइसक्यो
तर युद्धका अवशेषहरू अँझैनी बाँकी नै छन् ।
गरिबको झुपडी जलिरहेको छ
अँझैनी विध्वंसको ज्वालाले
निमुखाको पसिनामा रमाइरहेका छन्
संवेदनाहिन ती सत्तामा पुग्नेले ।
ती रसाएका आँखाहरू
अँझै पनि आभाएका छैन
गरिबका ती झुपडीमा
ओभानमा आगो बलेको छैन ।
डर र धम्किको त्रास रोकिएको छैन
बोली बचनमा पक्का छैन
सम्पति गुमाउनेको त के कुरा
सन्तान गुमाउनेको त नाम निसानै छैन ।
युद्ध त सकियो तर
अवशेषहरूले अँझैनी पिरोलिरहन्छ
हाँसो छ मुस्कानमा ठुलाको तर
निमुखाको पीडा उस्तै छ ।
नकोट्याऊ उनीहरूका सुकेको घाउहरू
अँझै नि रगत आउछन् त्यहाँबाट
नसुनाऊ उनीहरूलाई युद्धका कथाहरू
आँसु आउन थाल्छन नयनबाट ।
सेता छन् बकुल्लाको ताँतीजस्तै
ती महिलाहरूको भीड हेर
पीडा छन् उनीहरूको हृद्य भरि
निहुरिएको उनीहरूको शीर हेर ।
गरिबको ती झुपडीमा हेर
नाङ्गै बच्चाहरू कापिरहेका छन्
आफन्तको पर्खाईमा तिनीहरूका
निर्दोष आँखाहरू टोलाइरहेका छन् ।
जयदीप मगर
पिंखुरी–९, अदुवाबारी
