अवधि भाषा नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया तथा कही मात्रामा कैलाली तथा कञ्चनपुरमा बोलिने गरिन्छ । यही भाषाभाषीहरूका बीच पाइने लोककलालाई अवधि लोककला भनिन्छ । ‘लोककला लोक’ र कला’ मिलेर बनेको छ । ‘लोक’को अर्थ सहर र गाउँमा फैलिएका त्यो विशाल जनसमुदायसित सम्बन्धित छ जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर रूपले चलिरहेको व्यवहार सित सम्बन्धित छ ।
अवधि लोकसमाजका अधिकांश मानिस आर्य मूलका हुन् । प्राचीनकालदेखि नै यी आर्यहरू अग्निपूजक थिए । यीनीहरूले इन्द्र, सूर्य, वरुण आदि देवताहरूको उपासना गर्दथे । देवी देवताहरूलाई खुशी तुल्याउन यज्ञ, हवन र बली चढाउँथे । यी यज्ञका वेदीहरूलाई बिन्दु, रेखा, त्रिकोण, वृत्त, आयताकार आदि ज्यामतीय आकारमा सजाउँथे । आर्यहरूले यी आकारलाई सजाउनका लागि अन्न, बेसार, कुमकुम, फुलपती आदिको प्रयोग गर्दथे । यी ज्यामतीय चित्रहरूको विशेष अवसरमा विशेष अर्थ हुने गर्दथ्यो । यी चित्रहरूको विधिवत पूजा हुने गर्दथ्यो । हालसम्म पनि अवधि समाजमा यी चलनहरू रहेको पाइन्छ । समाजका घर तथा आँगनहरू सजिन थाले । बिस्तारै यही कला आˆनो धार्मिक पृष्टभूमिका साथ अवधि भाषी महिलाहरूको व्रत, उत्सव र संस्कारहरूमा सामिल भयो । जुन अवधि समाजमा विकसित हुँदै आइरहेको छ ।
खासगरेर आगन, भित्तामा देखिने चित्रहरू स्थानीय रूपमा नै पाइने कपास, माटो, पात, सुकेको काठ, विभिन्न रड्ढका चामल, पीठो, गहुँ, जौ बेसार, फूल, गाई-भैँसीका मलबाट स्थानीय महिलाहरूले बनाउँछन् । अवधि समाजमा पाइने यस्तो लोक चित्रहरुलाई निम्न भागमा विभाजित गर्नसकिन्छ ।
भित्रिचित्र अवधि लोककलामा भित्रि चित्रको विशेष महत्त्व छ । यी चित्रहरू अवधि समाजमा कहिले देखि चलनचल्तीमा आए । यसबारेमा निश्चित गरेर केही भन्न सकिँदैन । अवधि लोकसमाजको घरको भित्तामा आजभोलि हेर्न पाइन्छ । भित्तामा पाइने यी चित्रहरूलाई समग्रमा भित्रि चित्रको रूपमा लिइन्छ । अवधि समाजका विवाह तथा अन्य संस्कार एवं उत्सवहरूमा यस्ता चित्रहरूबाट अवधि हरूका भित्ता सजिने गर्दछन् । अवधि जनजीवनमा पक्की घर बनाउने चलन बढेपछि यी भित्रि चित्रहरू हटाउन थालेका छन् ।
ठप्पा -छाया) चित्रः- ठप्पा अवधि समाजमा प्राचीन कालदेखि नै पाइने तथा चलनचल्तीमा रहेको कला हो । अवधि जीवनको लगातारको विकासका साथै यो प्रथा विकसित हुँदै आइरहेको छ । आजभोलि यो प्रथा पर्व, उत्सव तथा संस्कारगत माङ्लिक अवसरका साथै साजसज्जा तथा कपडाको छपाईमा विशेष रूपमा प्रयोग गर्ने गरिन्छ । आजभोलि आलु रामतोरिँया, मोम, काठ, रबर आदि ठप्पाको साथसाथै विभिन्न किसिमका आधुनिक ठप्पाहरू बनाएर घर, गाइवस्तु, कपडा आदिको छपाईको कार्य गर्ने गरिन्छ । आधुनिकताको विकासका साथसाथै यो चित्र पनि भारतीय क्षेत्रमा रहेको गाँधी आश्रमका कपडा, हैन्डलुम्सका कपडाहरूको छपाईमा प्रयोगमा आउनु बाहेक अन्य ठाउँमा यो चित्र हटाउन थालेको पाइन्छ ।
सांस्कृतिक रूपमा यो समाजमा धेरै जसो दाहिने हातको पञ्जाको छाप लगाउने चलन रहेको पाइन्छ । यी छाप गृह प्रवेश गर्दा घरको मुखियाको घरभित्र भित्र्याइने बुहारीको ज्वाईको बिदा गर्ने छोरीको, जन्मेको बच्चा तथा सम्धी सम्धिनीको आदिको हातबाट घिउमा मिसाइएको बेसार चोपेर घरको भित्ता वा कपडामा लगाइने गरिन्छ । अवधि क्षेत्रमा तिहारको समयमा मूठाको छाप घरका भित्ताहरूमा लगाएर लक्ष्मीजीको स्वागत गर्ने गरिन्छ । यसै प्रकार गोरू आदि सिँगार्नका लागि पनि छाप प्रयोगमा ल्याइन्छ । अवधि जीवनको गृहस्थाश्रममा मात्रै ठप्पा चित्र चलनचल्तीमा रहेको पाइन्छ ।
भूमि अलङ्ककरण चित्रः माङ्गलिक अवसरमा चामलको पिठो, चामल, गहूँ, गहूँको पीठो विभिन्न किसिमका रड्ढ आदि प्रयोग गरेर जमीनमाथि चित्रहरू बनाउने गरिन्छ । भूमिमाथि बनाइने यी विभिन्न किसिमका चित्रहरूलाई समग्रमा भूमि अलङ्ककरण चित्रका नामले जानिन्छ । यी चित्रहरु छुट्टाछुट्टै पर्व, उत्सव तथा संस्कारहरूमा छुट्टाछुट्टै किसिमका हुन्छन् । कहिलेकाहीँ यी चित्रहरू गाईगोरूका मल र माटोबाट तथा कहिले काही रड्ढीन, चामल, बेसार तथा गहूँको पीठोबाट पनि बनाइने गरिन्छ । भूमिमा बनाइने चित्रहरू मुख्यतः विन्दु, रेखा, वर्ग, त्रिभुज, षटभुज, अष्टभूज, स्वास्तिक, कमल, शङ्ख, माछा, हात्ती सुगा, मयूर आदिका हुने गर्दछन् । ओमको चित्र पनि बनाउने चलन छ । मल र रड्ढीन माटोबाट लीपपोत गरिएको आँगनमा बनाइएका यी चित्रहरू अत्यन्त सुन्दर देखिन्छन् ।
पात्र चित्रण चित्रः- पर्व, उत्सव तथा संस्कारहरूमा कलश आदिको स्थापना गर्ने चलन अवधि समाजमा प्राचीनकालदेखि रहँदै आएको पाइन्छ । त्यो बेला यी कलशहरूलाई महिलाहरू एकत्रित भएर सजाउने गर्दछन्, चित्रित गर्ने गर्दछन् । यो चित्रमा उनीहरूले गाइको मल, चामलको पीठो, बेसार र विभिन्न किसिमका रड्ढहरू प्रयोग गर्ने गर्दछन् । विहेवारी, पुत्रजन्मको समयमा आˆना सम्बन्धीहरूसित उपहार पठाउँदाखेरि माटाका भाँडाहरूलाई रड्ढ लगाएर र चित्रित गरेर विभिन्न किसिमका चित्रकारी गर्नेगर्दछन् । विभिन्न किसिमका भाडाकुडाहरूमा गरिने यस किसिमको चित्रणलाई पात्र चित्रण भनिन्छ ।
अवधि लोककलाको यी सबै क्षेत्रहरूमा अवधि समाजका महिला समुदायको एकाधिकार रहेको पाइन्छ । यसका साथसाथै माटोका विभिन्न किसिमका खेलौनाहरू पनि अवधि समाजमा चलनचल्तीमा रहेको पाइन्छ । यी खेलौनाहरूलाई अवधि भाषी कुम्हाल जातिका मानिसहरूले बनाएर बेच्छन् । यी खेलौनाहरूलाई बच्चाहरू अत्यन्त रमाएर खेल्ने गर्दछन् । यी मध्ये केहीलाईर् तिहार, कृष्ण जन्माष्टमी आदि व्रत र पर्वहरूमा पूजा गर्ने काममा पनि प्रयोग गर्ने गरिन्छ ।
