क्याम्पसबाट निस्किनासाथ उकालो बाटो । बिहानको कलेज सकेर निस्कदा उसै त भोकले लखतरान भइन्छ त्यहा माथि जेस्ठको दिन । धनकुटामा माटो नै बल्ला झै घाम लागेको छ । एउटा झोलामा केही किताब र कपि छन म सधै झै हतार हतार गेट बाहिर निस्किएर हाईवे क्रस गर्छु र सिँढी चढ्न थाल्छु।

बिचतिर पुग्दा एक कलेज ड्रेस लाएकी केटी बसिरहेकी हुन्छिन । म अचम्ममा पर्छु त्यो साँघुरो गल्लीमा उनी किन बसेकी होलिन मनमा प्रश्न उब्जिन्छ । मैले सोधेँ के भयो मिस किन बिच बाटोमा बस्नुभयो ?

कि आपत परेर हो मैले जिस्क्याउन खोजेँ। उनी बोलिनन् पुलुक्क मेरो मुखमा हेरीन र मलाई बाटो छोडिदिइन । मेरो कौतुहलता मेटिएन फेरि सोधेँ कि डेटको लागि कसैलाई पर्खिएको हो ? म पनि खालि नै छु है फेरि जिस्क्याएँ । उनी हेर्दा मभन्दा जुनियर देखिन्थिन त्यसैले मैले तिमी नै भनेको थिएँ ।

उनी अँझै बोलिनन् । अब मेरो कौतुहलता झन बढ्यो म उनीसँगै सिढिमा बसेँ । उनलाई लागेछ मलाई केही गरेर धपाउन नसकीने भयो । र अन्त्यमा भनिन चप्पल चुडियो ..। म एक हलको मेलो हाँसेँ । अनि के बाटोमा बसेकी त यहाँ बसेर आउछ चप्पल ? ‘हैन तपाई गएपछि पछाडि जान भनेर पर्खेकी ‘ म यस्ता अभाव र अफ्ट्याराहरू बच्चै देखि सामना गर्दै आएको मलाई कसैको छिनेको चप्पल देखेर घृणा लाग्दैन र उपहास पनि निस्कदैन । उनी एउटा हात र एउटा खुट्टामा चप्पल लिएर मेरो पछि पछि आइन । उनको कोठा पनि देब्रेबास नै रहेछ झण्डै आधाघण्टा हिड्नु पर्ने थियो । मैले भने मास्तिर किराना छ चप्पल किनेर लगाउ । सिढी सकिना साथ किराना पसल थियो र किरानामा चप्पल जुत्ता पनि राखेको थियो, तर उनसँग पैसा पनिरहेनछ । विद्यार्थी जो परियो तैपनि म चाहि घरमा खर्चका वाईयात शिर्षकहरू सुनाएर भए पनि केही पैसाको जोहो राख्ने गर्थेँ पर्समा । उनले सस्तो खाले हिरो चप्पल किनिन ६० रुपैयाको । उनी लज्जित देखिन्थिन मैले साफ भन्दिएँ मलाई पैसा फर्काउनु पर्छ है । हामीसँगै गयौ । उनी भोजपुर पात्लेपानी कि नयाँ विद्यार्थीरहिछन । नाम पनि भनिन इन्दिरा लोकसेवासम्मसँगै गयौ । मेरो तल्तिर अधिकारी टोल उनको अलि पर्तिर अमला टार ।

फेरि हाम्रो भेट भएन ।

उनी आई ए प्रथम वर्ष कि छात्रा म स्नातक दोस्रो वर्षको उनको कहिले छुट्टी हुन्थ्यो, मेरो कहिले हामी निकै समय भेट भएनौ । करिब श्रावणको अन्त्यतिर हुनुपर्छ बर्खा मास भएकोले सिम सिम पानी परिरहेको थियो म कलेज जादैँ थिएँ भिमनारायण चोक मास्तिर उनी फर्किएर भाचिएको छाता बनाउदै घरको कौसीमा ओत लागिरहेकी रहिछन मैले चिनिहालेँ । म हाँसेँ उनी पनि हाँसिन् ।

“के हो तिमीलाई सधैँ समस्या मात्र पर्छ कि क्याहो ?”

”हेर्नु न हावाले छाता भाचियो कसरी कलेज जाने ?”

“हिड मसँगै म पुर्याइदिन्छु,” उनी बिग्रिएको छाता सम्हाल्दै मेरो छातामा घुस्रिइन । अलि तल मन्दिर छेउमा छाता बनाउने ठाउँ थियो छाता बनाउन दियौँ र कलेज गयौँ । बाटामा ”दाइको पैसा दिनु थियो, आज पनि पैसै छैन” भनिन्, मैले ठिकै छ भने ।

फेरि सोचेँ ।

”छाता बनाउनु दिएको छ पैसा छैन भने कसरी लान्छौ त ?”

हामी एउटै छाता भित्र थियौ मैले त्यसोभन्दा पुलुक्क मेरो मुखमा हेरेर मुस्कुराइन मात्र । मलाई एउटा अनौठो उर्जा प्राप्त भएको महशुस भयो । हरेक बिपरित लिँगीमा आकर्षण हुनु कुनै नौलो कुरै भएन ।

”मेरो छाता छैन फर्किदासँगै जौ न है सर म पासाङ ल्हामु हल बाहिर पर्खिन्छु,” मैले हल्कै ल भन्दिएँ ।

आज शरिर स्फुर्त भएको थियो । कलेजका हरेक पिरियडहरू भयाङ्कर लामा जस्ता भएका थिए अन्तिम पिरियड जोग्राफी .. सबैभन्दा अल्छी लाग्ने विषय नै त्यै थियो । कलेजको चार वर्षमा त्यो दिनको जोग्राफि पिरियड जसरी गार्हो र लामो मलाई कहिले पनि लागेको थिएन ।पछाडिको ढोकाको छेउमा थिएँ सर सँगसँगै क्लासबाट बाहिर निस्किएँ । र सरभन्दा अघि अघि माथ्लो हलतिर लागेँ । उनी मलाई पर्खेर बसिरहेकिरहिछन पानी बिहान कोभन्दा ठुलो परिरहेको थियो । हामी फेरि एउटै छाता ओढेर उकालो लाग्यौ । मेरो दाँया पट्टी उनी थिइन म आफैलाई भिजाएर उनलाई ओताउने प्रयास गरिरहेको थिएँ । उनको सामिप्यतामा म मेरो पूर्णता देखिरहेको थिएँ ।

छाता बनाएर तयार रहेछ पच्चीस रुपियाँ तिरेँ मैले । उनले हिसाब सुनाइन, ःतपाईको पचासी भयो है ।”

मैले अँ भन्दै हाँसेँ ।

खासमा बाटो सन्नाटामा काटिरहेका थियौ । के बोल्ने भनेर शब्द नै निस्किरहेको थिएन यति धेरै घबराहट जीवनमा पहिलो चोटी भएको महशुस गरेँ मैले ।

”किन नबोल्नुभएको ? के सोचिरहनु भएको ?”

“तिम्रो छाता भोलि नि बिग्रिए हुन्थ्यो भनेर सोच्दैछु ।”

उनी अट्टाहासले हाँसिन् । सिल्ली हुनुहुदो रहेछ भनिन् ।

यतिबेलासम्म मेरो नाम थाहा थिएन उनलाई ।

हामी सल्लेरीको रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र छेउबाट माथि चढ्दैथ्यौँ ।

मैले घडी हेर्दै भने ”सँगम रेकर्डिङ हुने समय भएछमा जौ आज एउटा कविता बाचन गर्नु पर्यो ”

”कविता लेख्नुहुन्छ ?”

“अँ कहिलेकाहीँ ।”

“सुनाउनु न त !”

“भित्र सुनाउँछु ।”

हामी भित्र छिर्यौ सँगम रेकर्डीङ सुरूभयो मैले मेरो परिचय ठेगाना सहित एउटा कविता बाचन गरेँ । उनले सँगममा मेरा कविताहरू पहिले पनि सुनेकी रहिछन । तर मलाई चिनेकी रहिनछन ।

”तपाई त ‘छुपा रुस्तम’ पो हुनुहुदो रहेछ । कति सुन्थे तपाईका गजल र कविताहरू अँ साँची अस्ति बुधबारको गीतिकथा ‘रुपा’ तपाईले नै लेख्नुभएको पो रहेछ त ?”

“अँ हो पहिलो प्रयास त्यति राम्रो थिएन ।”

”अनि ‘रुपा’ चाहि को नि ?”

“कथाकी पात्र,” मैले सस्तो उत्तर दिएँ । उनले मेरो आँखामा हेरिन् । सायद मेरो सत्यता परिक्षण गरेको होला ।

मैले पुन थपेँ, “कथा हो कथा । अब सबै कथाका चरित्र आफ्नै जीवनसँग मेल खान्छन त ?”

“खादैनन् ।”

“अनि के त ?”

उनले ढुक्कको श्वास फेरीन, गफै गफमा छुट्टीने ठाउँ आईपुगियो आज २ बजेसम्म पनि भोकको महशुस भएन । हामी कोठातिर लाग्यौं ।

शनिबार दिनभर छुट्टी भए पनि आईतबार बिहान कलेज जानको लागि केही तयारी नगरी दिन बित्थ्यो । बिहान हस्याङ फस्याङ उठेर आँखा मिच्दै र आवश्यक सामाग्री खोज्दै कलेज दगुर्नु पर्थ्यो, अक्सर कलम बोक्न म जहिल्यै बिर्सिन्थेँ । र इन्दीराले जहिल्यै मेरै लागि एउटा एक्स्ट्रा पेन बोक्न थालेकी थिइन । हामी प्राय छुट्टी तमोरमा बिताउथ्यौ । चुलीबन अली छाडा थियो ।

हामीले सँबन्धलाई यौन मात्र हो भन्ने बुझेनौँ । एकपटक चुलीबन पनि गएका थियौ । तर हामीलाई लाग्यो त्यो ठाउँ जवानीले उन्मत्तहरूको भारी बिसाउने चौतारिरहेछ । उनले नै त्यो ठाउ उपयुक्त नहुने निर्क्यौल निकालेकी थिइन ।

सल्लेरीको महेन्द्र पार्कलाई हामीले निजीकरण नै गरेका थियौ । भनौ न त्याहाका बादरले पनि हामीलाई चिन्थे । अलि माथि नेपाल आर्मीको २ नम्बर बाहीनी अन्तर्गतको कृष्णदलगण थियो । पोस्टमा सेन्ट्री बस्ने दाइ पनि हामी त्यो पार्कमा पुग्दा माथिबाट हात उठाउथे । चौताराको अगाडि एउटा सुक्नै लागेको सल्लाको रुख थियो । हामी त्यसलाई हेरेर जीवनको ब्याख्या गर्थ्यौ । त्यै सल्लो जसलाई जवान हुन्जेल टिन घोपेर खोटो (चोप) निकालिन्छ सबैले कति सुन्दर भन्दै सुमसुम्याउछन । जब चोप निस्कन छोड्छ कसैको नजर त्यसमा पर्दैन । पूर्ण रुपमा सुकेर नढलुन्जेल दाउरा बाल्न पनि निषेध हुन्छ । दसकौँसम्म जिङ्राएर आफ्नो बुढ्यौली प्रष्ट्याउछ र एक दिन डङ्रङ् लड्छ जमिनमा । त्यति बेला मानीशहरू डोको बन्चरो र आरा बोकेर तँछाड मछाड गर्दे पुग्छन कोही हाँगा बटुल्छन कोही झिक्रा सोहोर्छन त कोही काठ काट्न मुढा पल्टाउछन । मानिश पनि ठिक त्यस्तै हो बुढेसकाल लागेपछि मानिसको पनि हाल उस्तै हुन्छ । जब ढल्छ मानीश उसले जीवन भर कमाएको चिजलाई तँछाड मछाड गर्दै लुछाचुडी हुन्छ ।

मैले यो दर्शन सुनाउदा उनको एक लट आँसु झर्थ्यो । सल्लाको पात बटार्दै आँखाले एक टक मलाई हेर्थिन । अनुहार निन्याउरो बनाएर बिस्तारो सुक्क सुक्क गर्थिन् र कम्पित स्वरमा भन्थिन्, “हा.. हामी त बुढो हुन्जेल बाँच्नु हुदैन ।”

म फेरि सम्जाँउथेँ लाटी त्यस्तो हैन । हामीले हाम्रो बुवा आमालाई भरपुर सेवा गर्यौ भने हामीले पनि सुखद उत्तरार्ध बिताउन पाउछौ ।

“अँ त्यो त हो,” उनी विश्वस्त हुन्थिन ।

घर उनको पनि टाढा मेरो पन टाढा हामीलाई समाजको डर थिएन कोही चिनेजानेका पनि हत्तपत्त भेटिदैनथे । मानौ हामी स्वतन्त्र पंछी हौ जता बेग हाने पनि खुला आकाश ।
अक्सर उनीसँग पैसा हुदैनथ्यो । र उनका ससाना आवस्कता म पुरा गरिदिन्थेँ ।

जसको फलस्वरुप मेरो खर्च स्वभाविकभन्दा बढेको थ्यो । घरबाट पनि बुबाले बेला बेला सँझाउनु हुन्थ्यो खर्च कन्ट्रोल गर्न भनेर । उनी आफ्नो परिवारको दर्दनाक कहानी सुनाउथिन । एउटा निम्न बर्गको परिवारमा सात सन्तानको जन्म हुनु र पर्याप्त जमिन अभावमा खान लाउनकै समस्या हुनुले मलाई उनी प्रति औधी सहानुभूति हुन्थ्यो । काम गर्दै पढ्दै गर्ने अभिलाषाले उनलाई धनकुटासम्म डोर्याएको थियो । तर धनकुटा यस्तो सहर हो जहाँ सामान्य कामहरूको अवसर धेरै कम छ उध्योग धन्दा र कलकारखानाभन्दा सरकारी कार्यलय र स्कुल कलेजले चलेको छ धनकुटा ।

समयको रफ्तार आफ्नै हुन्छ न रोकिन्छ न दौडिन्छ । हरेक दिन पछिका रातले यै प्रमाणित गर्छ कि समय घुमिरहन्छ । आयुले यै प्रमाणित गर्छ कि समय अबिराम छ । उनका आवश्यकता दिनानु दिन बढ्न थालेका थिए । र म पुरागर्न असमर्थ हुन थालेको थिएँ ।

उनी मलाई हरेक ठाउमा पैसा तिर्नु मेरो कर्तव्य सँझन थालिन । मलाई यो कुराले अलि डिसअप्वाइन्टेड महसुस हुन्थ्यो । एकदिन कलेजबाट फर्किदा बाटोको फेन्सि पसलमा केही किन्नु छ भनिन र हामी छिर्यौ । उनी महँगो बडि स्प्रे हेर्दैथिइन । मैले वास्ता गरिदिइन । मैले सिधा भनिदिएँ मसँग पैसा छैन तिमीसँग छ भने किन । उनी रिसाइन तर केही भन्न सकिनन । हामी नबोली पुरै बाटो काट्यौ । र बाई नभनी चौताराबाट छुट्टिएर आआफ्नो कोठातिर लाग्यौ ।

बिचमा धेरै कुरा मनमा खेले । बिहान साबिक अनुसार नै म कलेज गएँ र चौतारामा पर्खिएँ उनी आइनन् सात बज्यो, आठ बज्यो कलेज ढिलो भयो तर उनी आइनन् । म अन्तिम पिरियड भए पनि पढ्ने उद्धेश्यले कलेज गएँ । तर उनी त मभन्दा अगाडि नै कलेज गइसकेकिरहिछन । हल बाहिर बसिरहेकी उनले मलाई देखेर अर्को पट्टी फर्कीइन । मैले पनि बोलाउने हिम्मत गरिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “डायरीबाट”

  1. तोयानाथ पौडेल

    कथा पुर्ण गरिएको
    यो कथाको पुर्ण पाठ
    “मेरो डायरी को पुर्ण रुप ” शिर्षक मा प्रकाशित भएको छ
    https://www.majheri.com/node/16681

Leave a Reply

Your email address will not be published. Required fields are marked *