साहित्यिक कृतिमा साइबर संस्कृतिका विविध पक्षलाई खोज्ने, खोतल्ने र विश्लेषण गर्ने प्रक्रिया नै साइबर समालोचना हो

नेपाली साहित्यका मानक स्रष्टा तथा वरिष्ठ समालोचक प्रा. मोहनराज शर्मा (१९९४) सृजना र समालोचनामा परम्परित शैली र प्रविधिलाई भत्काएर नवमूल्यको स्थापनाका साथ सृजना गर्ने स्रष्टा र नवीन दृष्टिकोण एवम् पद्धतिका साथ समालोचना लेख्ने विशिष्ठ समालोचक हुनुहुन्छ । २०१६ को ब्रह्मपुत्र पत्रिकामा बिलु शीर्षकको संस्मरणात्मक निबन्ध र २०१६ कै दीपक पत्रिकामा एकको एक हात लाग्यो शून्य शीर्षकको कथा प्रकाशित गरेर साहित्य यात्रा थाल्नु भएका मोहनराज शर्माको त्यस यात्राले साँढे पाँच दशकभन्दा बढीको समय पार गरि सकेको छ र यस अवधिमा उहाँका च्याँखे धर्ना (२०२४), कोर्रा (२०४०), महाशून्य (२०५०), बैखरी (२०५४) र भर्खर (२०६८) गरी चार ओटा कथासङ्ग्रह, इन्टरभ्यू स्पेसलिस्ट मि. झ्प्पूसिंह डबल एम.ए. (२०३९) र पुछारको पातो (२०४०) गरी दुई ओटा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, यातनामा छटपटाएकाहरू (२०३९), वैकुण्ठ एक्सप्रेस (२०४२), उता बाध (२०६२) गरी तिन ओठा नाटक तथा एकाङ्की सङ्ग्रहहरू सलिजो (२०६६) र पल्ली (२०७०) जस्ता दुई ओटा उपन्यास, नेपालीका केही आधुनिक साहित्यकार (२०२६), नेपाली साहित्यकारको सङ्क्षिप्त इतिहास (सह. २०३४), कथाको विकास प्रक्रिया (२०३५), शैली विज्ञान (२०४८), शोधविधि (सह. २०५२), समकालीन समालोचना : सिद्धान्त र प्रयोग (२०५५) र आधुनिक तथा उत्तर आधुनिक पाठकमैत्री सालोचना (२०६६) लगायतका समालोचना र भाषा विज्ञान एवम् व्याकरण समेत गरी दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् भने उहाँले धेरै पुस्तकहरूको सम्पादनसमेत गर्नु भएको छ । पाश्चात्य लेखक गोगोलका कथा, मारिया स्यालीको फ्रेन्केस्टाइन जस्ता उपन्यास जर्ज अर्बेलकर एनिमल फार्म र नाइन्टिन एट्टी फोर जस्ता कृतिहरू र माध्यमिक कालीन नेपाली आख्यान साहित्यबाट समेत प्राभावित भएर आफ्ना नाटक, कथा र उपन्यासमा स्वैरकल्पनाको प्रयोग गर्नु भएका शर्मा नेपाली साहित्यमा स्वैरकल्पना प्रर्वतक हुनु हुन्छ र त्यसलाई विस्तार गर्ने काम पनि उहाँले गर्नु भएको छ। त्यस्तै नेपाली समालोचनामा वस्तुवादी समालोचनाका प्रर्वतक शर्माले शैली वैज्ञानिक समालोचनाका माध्यमबाट नेपाली समालोचनामा नयाँ धार र मोड समेत ल्याउनु भएको छ भने हाल उहाँका उत्तर आधुनिकतावादी बहुलवादी प्रवृत्तिका समालोचनाहरू प्रकाशित छन्। साहित्यमा अरुले बनाएको बाटोमा नहिँडेर आफै बाटो बनाएर हिँड्न चाहने शर्माले ‘लेखनमा कल्पनालाई नागेर जब बाहिर गइन्छ, जब हाम्रा संज्ञानहरू बाधित हुन्छ तब स्वैरकल्पनाको जन्म हुन्छ’ भन्ने धारणा राख्दै यसलाई आफूले अभ्यासका रूपमा प्रयोग गरेको बताउनु हुन्छ । साइबर संस्कृत र साइबर साहित्य तथा साइबर समालोचनाका समेत विशिष्ठ ज्ञाता मोहनराज शर्मासँग साइबर समालोचनामा केन्द्रित भएर समकालीन साहित्यका सम्पादन डा. लक्ष्मणप्रसाद गौतमले लिनु भएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ :

• पछिल्लो समयमा उत्तर आधुनिकतावादी प्रवृत्तिका धेरै समालोचनाहरू देखिएका छन्, ती मध्ये अहिले नेपालीमा के कस्ता समालोचना बढी प्रचलित छन्?

– सन् २००७ देखि उत्तर आधुनिकता / वादको मृत्युबारे चर्काचर्का छलफल हुन थालेका हुन्। यसका सट्टा पोस्ट-पोस्ट मोडर्निज्म वा मेटामोडर्निज्मको बाक्लै चर्चा भएको पाइन्छ । साथै पर्फर्मेटिज्म, हाइपरमडूर्निटी, अल्टरमडर्न, डिजिमर्डनिज्म आदिले पनि उत्तर आधुनिकता / वादको अवसान विषयक गम्भीर विमर्श गरेका छन्। यस्तो स्थिति देखा परे पनि माथि उल्लेख गरिएका मध्य कुनै पनि सिद्धान्त वा चिन्तनले व्यापक स्वीकृति नपाएको हुँदा अझै उत्तर आधुनिकताकै वर्चस्व कायम रहेको देखिन्छ । उत्तर आधुनिकताको छातामुनि रहेका अनेक सिद्धान्तमध्ये नेपाली विनिर्माणिक, नारीवादी डायस्पोरिक, लैङ्गीक, नव मनोविश्लेषणात्मक, उत्तर औपनिवेशिक, पर्यावरणवादी, अवरजन (सबाल्टर्न) मूलक आदि सिर्जना र समालोचना बढी प्रचलित रहेका छन्। अहिले नेपाली साहित्यमा साबर आख्यान र साइबर समालोचना पनि राम्ररी फस्टाएको छ ।

• नेपाली साहित्यमा साइबर संस्कृतिको के कस्तो प्रभाव देख्नु भएको छ ?

– नेपाली साहित्यमा र विशेषत: आख्यानका क्षेत्रमा साइबर संस्कृतिको बाक्लै प्रभाव परेको छ। विश्वमा प्रविधिको अतिशय विकासका कारण प्रविधि नै यस युगको संस्कृति बनेको छ । प्रविधि अन्तर्गत सूचना प्रविधिका क्षेत्रमा झनै अभूतपूर्व विकास भएको हुँदा साइबर प्रविधि नै साइबर संस्कृति बन्दै जानु र त्यसको प्रभाव साहित्यिक लेखनम पनि पर्नु स्वाभाविकै हो । समसामयिक नेपाली लेखनमा पनि नेट, कम्प्युटर, भिडियो, विज्ञापन आदिको सघन प्रभाव परेको हुँदा साइबर झल्को दिने कृतिहरूको सङ्ख्या बढ्दो छ । यन्त्र मानव तथा तिनका अर्ध मानवीय र अर्ध यान्त्रिक गतिविधि भएका कृतिहरूले पनि नेपाली साहित्यमा साइबर संस्कृतिको प्रसार गरेका छन् । साथै अहिलेका कृतिहरूमा प्रविधिसँग सम्बद्ध परोक्ष यथार्थ र अतिशय यथार्थको बढ्दो प्रयोगले पनि साहित्यमा साइबर संस्कृतिको गहन रसबसतर्फ इङ्गित गर्छ । अब अहिलेको अत्याधिक प्रचलित साइबर शब्दलाई अर्थायाउनु उपयुक्त होला । विद्युतीय सञ्चार सञ्जालमा विशेषत: इन्टरनेटसँग जोडिएकालाई साइबर भनेर परिभाषित गरिन्छ । यो नै साइबरको सोझो र स्पष्ट अर्थ हो ।

• साइबर संस्कृति र साइबर समालोचनाका बिच के कस्तो सम्बन्ध छ?

– सन् १९८० मा अभूतपूर्व प्राविधिक उन्नति भएका कारण कम्प्युटर क्रान्ति भएको हो र परिणामस्वरूप साइबर संस्कृतिले जन्म लिएको हो । यसैसँग गासिएर साइबर विमर्श, साइबर साहित्य, साइबर पङ्क आदिका साथै साइबर समालोचनाको पनि शुभारम्भ भएको मानिन्छ । यहाँ के हेक्का गराउनु आवश्यक छ भने साइबर संस्कृति यथार्थ नभएर परोक्ष यथार्थ हो । विश्वग्राम र त्यसका समुदायहरू पनि त्यस्तै परोक्ष सत्ता हुन।। परोक्ष भए पनि प्राविधिक उन्नतिसँगसँगै नाटिएर आएको साइबर संस्कृतिले वर्तमान शताब्दीको विश्व जीवन, साहित्य र समालोचनालाई गहिरो गरी प्रभावित गरेको छ । साइबर समालोचनाको जन्म नै साइबर संस्कृतिबाट भएको हो ।

• खासमा साइबर समालोचना भनेको के हो ?

– साहित्यिक कृतिमा साइबर संस्कृतिका विविध पक्षलाई खोज्ने, खोतल्ने र विश्लेषण गर्ने प्रक्रियालाई साइबर समालोचना भनिन्छ । साइबर समालोचक स्टासी गिलिसका अनुसार ‘साइबर समालोचना प्रविधि विज्ञान (टेक्नोलोजी) / परोक्षता (भर्चुआलिटी) र देह (द बडी) सँग, अनि प्रविधि विज्ञानको विश्लेषणसँग र साथै प्रविधि वैज्ञानिक साधन र परोक्ष समुदायको अध्ययनसँग सम्बद्ध छ ।’ वर्तमानमा यस समालोचनाको परिधि झन फराकिलो हुन पुगेको छ । अहिले यसले प्रविधि संस्कृतिको लिङ्ग विधानका साथै जैविक र अजैविक सम्बन्धबारे अध्ययन समेत गर्छ । साथै यसले प्रविधि विज्ञानबाट उत्पन्न हुन डरहरू र साइबर शक्तिका षड्यन्त्रहरूको पनि खोजी, विश्लेषण र व्याख्या गर्छ । साइबर समालोचनालाई परिभाषित गर्न आएका माथिका तथ्यहरूका आधारमा साइबर समालोचकले के गर्छ भन्ने कुरा छोटकरीमा पनि प्रस्तुत गर्न सकिन्छ । छोटकरीमा भन्नु पर्दा साइबर समालोचक त्यो हो जसले साइबर संस्कृतिको विकेन्द्रणकारी सम्भाव्यताहरूसँग परिचित भइ त्यसको अध्ययन गर्छ । दोस्रो विश्व युद्धपछि हलुका हलुका मिर्मिराउन थालेको साइबर समालोचना ई. नब्बेको दशकका माझदेखि वर्डवाइज वेव (WWW) को व्यापक उपस्थितिका कारण प्राज्ञिक एवम् शैक्षिक क्षेत्रमा समेत राम्ररी फिजिएको हो ।

• साइबर समालोचनाका कुने निश्चित सैद्धान्तिक तत्वहरू पनि छन् कि? ती के के हुन्?

– यस युगमा साइबर संस्कृतिको चरमोत्कर्षका कारण देह एवम् जैविककता र प्रविधि एवम् यान्त्रिकताको दूरी मेटिएर दुबैका बिचको भिन्नता अथवा पृथक पहिचान हराएको छ भन्ने साइबर समालोचनाको प्रमुख सैद्धान्तिक पक्ष हो । आजको मानव साइबोर्ग (आधा मानिस र आधा मेसिन) का अवस्थामा पुगेको हुँदा जैविकता र यान्त्रिकता एउटैमा मिसिएर एक प्रकारको बेग्लै मिश्रण तयार हुन पुगेको छ । तर यसका सैद्धान्तिक पक्षहरूलाई बुँदाका रूपमा प्रस्तुत गरिएको छ:
१) वर्तमानमा भएको यान्त्रिक- यान्त्रिक प्रविधिक विकासका कारण नैसर्गिक र कृत्रिमको भेद समाप्त भएको छ ।
२) त्यस्तै मस्तिष्क र शरीरको भिन्नता पनि दुर्बोध्य हुँदै गएको छ।
३) देह र यन्त्रको पृथकता मेटिदै गएर यी दुबैका बिच समानताको सम्बन्ध बढ्दो छ ।
साइबर समालोचनाले मुख्यत: प्राविधिक एवम् यान्त्रिक विकासका कारण मानवको भविष्य कस्तो हुने हो र उसको नियति के हुने हो भन्ने कुराको विवेचना गर्छ ।

• साइबर समालोचनाले कृति विश्लेषणका लागि के कस्ता प्रारूप (मोडल) दिन्छ ?

– साइबर समालोचनाले कृति विश्लेषणका लागि कुनै सैद्धान्तिक प्रारूप वा ढाँचा निर्धारित गरेको छैन। साइबर समालोचक पाएक पर्दो कुनै पनि ढाँचा निर्धारित गरेर विश्लेषण एवम् व्याख्या गर्न स्वतन्त्र छ । साइबर साहित्य आख्यान भएकाले साइबर उपन्यास वा साइबर कथाको विश्लेषण गर्दा आख्यानका तत्वहरू (कथानक, पात्र, परिवेश, उद्देश्य, दृष्टिबिन्दु र भाषा र शैली) का आधारमा गरिन्छ । यसो गर्दा कृतिमा प्रयुक्त निम्न लिखित कुराहरूको विशेष खोजी, विश्लेषण र व्याख्या गरिन्छ: साइबर स्पेस, साइबर बडी, साइबर नेटिक्स, भर्चुअल रियालिटी, भर्चुअल आइडेन्टिटी, भर्चअल स्पेस, भर्चुअल कम्युनिटी, साइबोर्ग, साइबर पङ्क, साइबर सेक्स, सिमुलेसन, सिमुलाक्रा, हाइपर टेक्स्ट आदि । यी सबै शब्दहरू साइबर संस्कृतिक परिचायक हुन् ।

• यहाँले आफ्नो ‘पल्ली’ उपन्यासमा साइबर संस्कृतिको प्रयोग गर्नु भएको छ, यस्तो साइबर संस्कृतिको प्रयोग यहाँका अन्य कृतिहरूमा पनि भएको छ ?

– मैले पल्ली उपन्यासमा साइबरको खासै उपयोग गरेको छैन । यसमा जहाँजहाँ किन्डलको सन्दर्भ आएको छ त्यहाँत्यहाँ मात्र साइबर पक्षको उपस्थिति रहेको छ । मेरा अन्य कृतिहरूमा ‘यमा’ साइबर नाटकका रूपमा संरचित छ । यसमा मानव पात्रका साथै रोबट पात्रले पनि अहं भूमिका खेलेका छन् । यस बाहेक मैले केही कथाहरूमा समेत साइबर प्रयोग गरेको छु । यस प्रकारको मेरो पहिलो कथा भर्खर (२०६८) प्याँलो ख्याक (२०६८), अग्निमुख (२०६९), सात नम्बर बेन्च (२०६८) आदि पनि साइबर कथा नै हुन्। यी सबै कथाहरूमा प्रमुख पात्र साइबोर्ग छन् । मैले भर्खरै लेखेर टुङ्ग्याएको फुलहरू कुल्चेर दौडेकी केटी (अप्रकाशित) पनि साइबर कथा हो ।

• एउटा साइबर उपन्यासमा यहाँले लेख्नु भएको गहन भूमिका पढेको थिएँ, त्यसमा यहाँले साइबर संस्कृतिका बारेमा प्रशस्त कुरा उठाउनु भएको छ । त्यसमा साइबर समालोचना विषयका के कस्ता कुरा समेटिएका छन्?

– हो, मैले टङ्क चौलागाईँको जिरो कटेज नामक उपन्यासमा साइबर उपन्यास : साइबर समालोचना शीर्षकमा भूमिका लेख्ने प्रयास गरेको छु । उक्त भूमिकामा मैले उपर्युक्त उपन्यासलाई नेपालीको पहिलो सम्पूर्ण साइबर उपन्यास मानेको छु । यस भूमिकामा मैले मुख्यत: निम्नलिखित कुरालाई समेटेको छु : प्रविधि संस्कृति र साइबर संस्कृतिको चिनारी, साइबर शब्दको अर्थ निर्धारण, कम्प्युटर र इन्टरनेटको विस्तारका साथै साइबर संस्कृतिको प्रसार, परोक्ष समुदायको तात्पर्य, साइबर उपन्यास र साइबर पङ्क आख्यानबारे खोलुवाका साथै साइबर पङ्कमा प्रयुक्त हुने ह्याकर आदि विशिष्ट शब्दहरूको अर्थ, जिरो कटेजको कथासारको प्रस्तुतिका साथै उपन्यासमा पाइने साइबोर्ग र अन्य पात्रहरूको परिचय, साइबर समालोचना र पर्यावरणवादी समालोचनाको निकटतामाथि प्रकाश तथा जिरो कटेजमा चित्रण गरिएको प्रविधिद्वारा प्रदूषित पर्यावरणको विवरण, भाइरस पात्र र तिनको गतिविधि, अनुरूपण (सिमुलेसन) र अनुरुपित पात्रहरूको विवरण, भाइरस आक्रमणमा परेर साइबर संस्कृतिको एउटा बलियो थलो जिरो कटेजको विनाश तथा उपन्यासको त्रासद टुङ्ग्याउनी आदि ।
साथै मैले आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना (२०६६) मा पनि साइबर समालोचनालाई यसरी चिनाएको छु:
‘मानिस र मेसिनको सम्बन्ध तथा प्रतिक्रियालाई खोतल्ने अध्ययनलाई साइबर समालोचना भनिन्छ । मानिसले कम्प्युटरलाई आफ्नो बुद्धि, मेसिनलाई आफ्नो बल र रोबोटलाई आफ्नो आवेग (प्रेम, घृणा, क्रोध आदि भावना) र कार्यकुशलता (घरेलु एवम् व्यावसायिक शिष्टाचार आदि) दिएको छ । यिनै सन्दर्भबाट मानव र मेसिनका सम्बन्धको खोजी गर्नु यस समालोचनाको मुख्य क्षेत्र हो।’ साथै कृतिमा प्रयुक्त इन्टरनेट तथा त्यसको सञ्जालको प्रकार्य एवम् अवस्था खोतल्नु पनि यसको लक्ष्य हो ।

• पाश्चात्य जगत् र नेपालीमा समेत साइबर समालोचनाको के कस्तो विकास भएको छ ?

– पाश्चात्य जगत्‌मा साइबर समालोचनाको विकासक्रम नियाल्दा दोस्रो विश्वयुद्धपछि यसको थालनी अत्यन्त क्षीण रूपमा भएको पाइन्छ । त्यतिखेर नौलो एवम् अतिवादी विषयका रूपमा आरम्भ गरिएको देह र प्रविधिको सम्बन्ध सम्बन्धी सैद्धान्तिक विमर्शलाई यस दिशामा चालिएको प्राथमिक तथा झिनो प्रयास मानिन्छ । सन् १९८० मा कम्प्युटर क्रान्तिका फलस्वरूप साइबर संस्कृति एवम् साइबर समालोचनाको प्रसारित हुने अवसर पाएको हो । सन् १९९० को मध्यतिर WWW को व्यापकताका कारण यस समालोचनाले स्थायित्व पाउनाका साथै प्राज्ञिक एवम् शैक्षिक क्षेत्रमा समेत महत्त्वपूर्ण ठाउँ ओगटेको देखिन्छ ।
नेपाली साहित्यतर्फ २०६८ मा प्रकाशित जिरो कटेज नामक उपन्यासमा रहेको मेरो भूमिका नै पहिलो साइबर समालोचना हो। यसतर्फ अरू केही छिटपुट कार्य भए पनि विस्तृत एवम् गम्भीर प्रयासका रूपमा भुवन त्रिपाठीको अनलाइनका नेपाली कथामा साइबर संस्कृतिको प्रयोग (अप्रकाशित नेपाली एम.फिल. शोधप्रबन्ध, २०७१) देखिएको छ । यसमा साइबर संस्कृति एवम् साइबर समालोचना सम्बन्धी निम्न लिखित विषयहरूको विस्तृत विवेचना गरिएको छ ।
साइबर संस्कृतिको अवधारणा, साइबर कथाको विश्लेषण गर्ने आधार, नेपाली कथामा साइबर संस्कृतिको प्रयोग र प्रयोजन, नेपाली कथामा साइबर संस्कृतिको प्रभाव, नेपाली साइबर कथाको रचना विधानगत स्वरूप । साथै यस शोधप्रबन्धमा सोह्र जना कथाकारका एक एक वटा कथाको पनि साइबर समालोचनाका आधारमा विश्लेषण एवम् व्याख्या गरिएको छ ।

• पाश्चात्य साहित्य र नेपाली साहित्यमा साइबर आख्यानको के कस्तो विकास भएको छ ?

– साइबर आख्यान भनेको साइबर उपन्यास र साइबर कथा हो । पाश्चात्य साहित्यमा विलियम गिब्सनले निउरोमान्सर (सन् १९८४) उपन्यासद्वारा यसको थालनी गरेपछि ब्रुस स्टर्लिङ, प्याट क्याडिगन, जोन सिर्ले, रुडी रकर आदिले साहित्यिक साइबर पङ्क उपन्यासलाई उत्कर्षको चुलीसम्म पुर्‍याएका छन् । सन् १९८० को कम्प्युटर क्रान्तिभन्दा पहिला पनि साइबर आख्यान नरचिएको होइन, जस्तै- जर्ज अर्वेलको नाइन्टिन एटी-फोर: अ नाबेल, कुब्रिकको २००१ :ए स्पेस ओडेसी (सन् १९६८) आदि । मरिया स्यालीको उपन्यास फ्र्याङ्केस्टिन (सन् १८१८) लाई पनि साइबर आख्यान श्रेणीको कृतिभित्र राख्न मिल्ने रचना मानिन्छ । उपर्युक्त पूर्ववर्ती उपन्यासकारहरूको महत्त्वपूर्ण योगदान रहे पनि पाश्चात्य साहित्यमा साइबर पङ्क उपन्यासले गिब्सनबाट एउटा आन्दोलनको स्वरूप पाएको हो भन्ने मानिन्छ ।
नेपाली साहित्यमा पूर्णत: साइबर उपन्यासको पहिलो बान्कीका रूपमा जिरो कटेज (२०६८) देखा परेको छ । यसपछि अरू केही उपन्यासमा समेत यसको पूर्ण वा आंशिक प्रयोग भएको पाइन्छ; जस्तै – रमेश पौडेलको द सुप्रिम ह्युमन उपन्यासमा पूर्णत: साइब प्रयोग छ भने होमराज आचार्यको टुल्कु उपन्यामा आंशिक साइबर प्रयोग छ। नेपाली साहित्यमा उपन्यासको तुलनामा कथामा साइबर संस्कृतिको बढी प्रयोग भएको देखिन्छ । नेपाली साहित्यमा साइबर कथाको थालनीबारे भुवन त्रिपाठीको भनाइ यस्तो छ:
‘नेपाली समाजमा कम्प्युटर, इन्टरनेट, मोबाइल जस्ता साइबरजन्य पक्षको प्रयोग नभइ सकेको तत्कालीन, समयमा कथाकारहरूले कल्पनाको आधारमा कथाहरूमा प्रविधि संस्कृतिको छिटपुट प्रयोग तिसको दशकबाट सुरु भएको हो तर समाजमा प्रत्यक्ष प्रयोगमा भएको साइबर संस्कृतिको यथार्थ स्वरूपलाई कथामा समेटेर लेख्ने कार्यको निरन्तरता भने साठीको दशकबाट भएको हो । पूर्ववर्ती चरणदेखि कथा लेख्न सुरु गरेर समकालीन चरण अन्तर्गत साइबर संस्कृति प्रयोग गरी कथा लेख्ने कथाकारमा मोहनराज शर्मा, पद्मावती सिंह, राजव, विजय चालिसे, अविनाश श्रेष्ठ आदि हुन् ।’ (ऐजन, शोधप्रबन्ध, पृ.२३)।

भुवन त्रिपाठीले समकालीन चरणमा साइबर कथा लेख्ने कथाकारहरूको यस्तो विस्तृत नामावली पनि प्रस्तुत गरेका छन् : अनमोलमणि, मनोज बोहोरा, सुषमा मानन्धर, इन्दिरा प्रासाईँ, लक्ष्मणप्रसाद गौतम, भारती गौतम, विद्या सापकोटा, गोविन्द बेल्बासे, बखतबहादुर थापा, शर्मिला खड्का, मिलन सङ्ग्रौला, दीपकजङ्ग हमाल, निर्मल ज्ञवाली, उदय गौतम, भुवन त्रिपाठी, राजेश नतांश, श्रीधर पौडेल, सुविसुधा, सुमन मञ्जरी, ऋषिराम पाण्डे, जनकराज भट्ट, विप्लवमान सिंह, सविना सिन्धु, होम सुवेदी, झलक सुवेदी, सविन सिंह, धीरजकुमार श्रेष्ठ, मणि लोहनी, सुमन घिमिरे, मिलन बगाले, क्रिस लेटाङ, हरि घिमिरे, विन्देश मगर, विभोर बराल, राजकुमार पण्डित क्षेत्री, सुधीर ख्ववि, महादेव अधिकारी, बिजु अधिकारी आदि । उनले उपर्युक्त सबै कथाकारका एक दुई साइबर कथाको शीर्षक तथा प्रकाशन मिति समेत दिएका छन् । (ऐजन शोधप्रबन्ध, पृ. २३-२४)।

• साइबर समालोचनामा अधिकांशत: प्रयुक्त हुने विशिष्ट शब्दहरू मध्ये भर्चुअल रियालिटी, हाइपर रियालिटी, विश्वग्राम, भूमण्डलीकरण, साइबर दिक्, साइबर नेटिक्स, साइबर पङ्क, साइबोर्ग, हाइपर टेक्स, परामानव, एक्स्ट्रोपिय, ह्याकर, कथाकार, सिमुलेसन आदिको तात्पर्य के होला ?

– माथि उल्लेख गरिएका विशिष्ट शब्दहरूको प्रयोग साइबर संस्कृति, साइबर समालोचना र साइबर आख्यानमा पटक पटक भइरहन्छ । उपर्युक्त शब्दहरूको संक्षिप्त अर्थ तल प्रस्तुत गरिएको छ:
भर्चुअल रियालिटी : दिक् (स्पेस) मा नभएको अवास्तविक यथार्थलाई परोक्ष यथार्थ (भर्चुअल रियालिटी) भनिन्छ । परोक्ष भएकाले यो भ्रम हो, तर फिल्म, साहित्य आदिमा यसलाई यथार्थझैँ प्रस्तुत गरिन्छ । यसको औपचारिक उपस्थिति कति पनि हुँदैन ।
हाइपर रियालिटी: साँच्चै लाग्ने तर छुन नसकिने यथार्थलाई अतिशय यथार्थ (हाइपर रियालिटी) भनिन्छ । यो श्रव्यदृश्य साधनद्वारा पर्दामा देखिने भए पनि यसलाई समाइ राख्न सकिन्न ।
विश्वग्राम : सन् १९६० मा मार्सल म्याकलुहानले विश्वग्राम (ग्लोबल भिलेज) को अवधारण अघि सारेका हुन्। यसको तात्पर्य सूचना एवम् सञ्चारको प्राविधिक सञ्जालमा बेरिइ पूरै संसार साँघुरिएर एउटा गाउँ समान बन्नु हो । यसो हुँदा क्षणमै फिजिँएर एक ठाउँको प्रभाव विश्वभरि पर्छ । यो पनि परोक्ष यथार्थ हो ।
भूमण्डलीकरण : व्यक्तिको जीवन र स्थानीय समुदायलाई विश्वव्यापी आर्थिक तथा सांस्कृतिक शक्तिद्वारा प्रभावित पार्ने प्रक्रियालाई भूमण्डलीकरण (ग्लोबलाइजेसन) भनिन्छ । यसलाई विश्व एक डल्लो बन्दै जाने प्रक्रिया मानिन्छ ।
साइबर दिक् : कम्प्युटरका पर्दा पछाडिको त्यस ठाउँलाई साइबर दिक् (साइबर स्पेस) को नाम दिइन्छ जहाँ विद्युतीय सन्देश आदि कम्प्युटरहरूका माझ पठाउँदा स्थित रहन्छ । यप काल्पनिक ठाउँ हो ।
साइबर नेटिक्स : इलेक्ट्रोनिक नियन्त्रण प्रणाली र यान्त्रिक उपकरणहरूको अध्ययनका साथै तिनको तुलना जैविक प्रणालीसँग गर्ने विज्ञानलाई साइकर शास्त्र (साइबरनेटिक्स) भनिन्छ ।
साइबर पङ्क : विज्ञान आख्यानको एउटा भेद मानिने साइबर पङ्कलाई प्रविधि तथा कम्प्युटरद्वारा नियन्त्रण गरिएको कल्पित भावी संसारका बारेमा लेखिएको आख्यान मानिन्छ ।
साइबोर्ग : साइबर आख्यानमा पाइने त्यस जीवलाई साइबोर्ग भनिन्छ, जो आंशिक मानव र आंशिक मेसिन हुन्छ । यस्ता पात्रमा जैविकता र यान्त्रिकताको मिश्रण गरिएको हुन्छ ।
हाइपर टेक्स : परम्परित पाठ एवम् लेखन रैखिक, परिबद्ध र स्थित हुन्छ तर हाइपर पाठ (हाइपर टेक्स) र त्यस्तो लेखन नानुक्रमिक (अघिपछि हुने, तलमाथि जाने, भित्र बाहिर गर्ने) हुन्छ । यसलाई कम्प्युटर वा यन्त्रका माध्यमबाट मात्र लेख्न र पढ्न/देख्न सकिन्छ । यसले पाठकको सीमालाई तोडेर अनि लेखन एवम् पठनको आयामलाई फराकिलो पारेर गतिशील, वेगवान् र तरल तुल्याउँछ ।
परामानव : प्रविधिको दोहन गरेर जीवनको प्रत्याशा तथा मानव शक्यता बढाउन खोज्ने व्यक्तिलाई परामानव (ट्रान्स ह्युमन) भनिन्छ ।
एक्स्ट्रोपियन : अन्तरिक्ष उपनिवेशतर्फ प्रबल रूचि भएको परामानवतावादी व्यक्तिलाई एक्स्ट्रोपियनको संज्ञा दिइन्छ ।
ह्याकर : कम्प्युटरको प्रणाली वा सञ्जालमा बलात् छिरेर चोर्न सफल भइ त्यसको प्रयोग आफ्ना हितका लागि गर्ने व्यक्ति ह्याकर हो ।
क्र्याकर : कम्प्युटरको प्रणाली वा सञ्जालमा छिर्न र चोर्न असफल भए पनि त्यसलाई प्रभाव पार्ने व्यक्ति क्र्याकर हो ।
सिमुलेसन : वास्तविक यथार्थको अनुकृति वा नक्कल तयार पार्ने प्रक्रियालाई अनुरूपण (सिमुलेसन) भनिन्छ । वर्तमानमा प्रविधिको विकासका कारण वास्तविक र अनुकृतको भिन्नता मेटिएको छ र वास्तविकका सट्टा अनुकृतकै प्रयोग बढीभन्दा बढी हुन थालेको छ । कम्प्युटर तथा अन्य उपकरणमा वास्तविकभन्दा त्यसको पुनरुत्पादित विम्बको वर्चस्वं एवम् प्रयोग बढेको छ ।

• साइबर समालोचनाको मुख्य केन्द्र के हो ?

– साइबर समालोचनाको मुख्य केन्द्र साहित्य एवम् जीवनमा साइबर संस्कृतिको बढ्दो प्रभावको अध्ययन एवम् विश्लेषण गर्नु हो । अतिशय प्राविधिक उन्नति मानव समाजका लागि जति हितकारी छ त्यति नै अहितकारी समेत भए पनि वर्तमान समयमा मानिसका जीवनमा यसले अपरिहार्य स्थान लिएको छ । फलत: मानवीय भविष्य एवम् नियतिले लिनसक्ने असलखराब मोडबाट मानिसलाई सतर्क तुल्याउनु पनि यसको एउटा मुख्य विषय हो ।
साइबर आख्यान मुख्यत: परोक्ष यथार्थसँग सम्बद्ध हुने हुँदा साइबर समालोचनाको मुख्यत: परोक्ष यथार्थको विश्लेषण गर्छ र साइबर संस्कृतिको प्रभावका कारण मानिसको भावी जीवनमा आउने अवस्था एवम् परिवर्तनको दिग्दर्शन गराउँछ । विकासका लागि प्राविधिक उन्नति आवश्यक भए पनि अधिकांश साइबर चिन्तकले अत्याधिक प्राविधिक उन्नतिलाई विनाशक समेत मानेका छन् ।

• नेपाली साहित्यका सन्दर्भमा साइबर समालोचना कत्तिको उपकारक (अनुकूल) र अपकारक (प्रतिकूल) होला ? यसले नेपाली समालोचनालाई कतातिर लैजाला?

– वर्तमान नेपाली साहित्यमा पनि साइबर आख्यानको लेखन बढेको छ । यस्ता कृतिको विश्लेषण एवम् व्याख्या विशेष ढङ्गमा गर्नाका निम्ति साइबर समालोचना मात्र समर्थ रहेको हुँदा समालोचनाको यो प्रकार पनि आवश्यक छ । साइबर कृतिको अध्ययन गर्ने सन्दर्भमा यो समालोचना पूर्णत: अपकारक छ, किनभने यस्ता कृतिको गहन र विस्तृत विवेचना गर्ने यो मात्र एउटा आधार हो । साइबर समालोचनालाई अपकारक भन्न मिल्दैन तर नेपाली जीवनमा समेत भिजिसकेको साइबर संस्कृतिलाई चाहिँ उपकरण तथा अपकारक दुवै भन्न सकिन्छ । साइबर इतर कृतिको अध्ययन नगर्ने साइबर समालोचनाले नेपाली साहित्यमा एउटा नौलो समालोचना बान्कीको अभिवृद्धि गरेको छ । अन्य भाषाका समालोचनाझैँ नेपाली साइबर समालोचनाले पनि सङ्केत गर्ने मुख्य तथ्य के हो भने बढ्दो साइबर संस्कृतिले हाम्रो भावी जीवनलाई सुखकरका साथै दुखकर पनि बनाउन सक्छ, तसर्थ हामी यसतर्फ सावधान रहनु पर्छ ।

• साइबर समालोचनालाई उत्तर आधुनिकतावादी बहुलवादी प्रवृत्तिभित्र राखेर हेरिने भएकाले कतिपय मार्क्सवादी वा प्रगतिवादीहरूले त यसको विरोध गर्छन् नि ? यसप्रति यहाँको दृष्टिकोण ?

– हो, साइबर समालोचना बहुलवादी हो भने मार्क्सवाद एकलवादी, एकलवादले आफ्नो गोरुको बाह्रै टक्का गर्ने हुँदा अरूका जुनसुकै कुरालाई पनि अमान्य गर्छ । प्रगतिवादीले साइबर समालोचनाको विरोध गर्नु पनि यही एकलवादी दृष्टिकोणको परिणाम हो भन्ने देखिन्छ ।

• यी कुराहरू बाहेक यस सम्बन्धमा यहाँका अन्य कुरा ?

– उपर्युक्त बाहेक अन्य कुनै कुरो भन्नु पर्दा एउटा कुरो भन्ने रहर जागेको छ । म साइबर आख्यानको सिर्जना गर्न चाहने लेखकसँग पहिला विज्ञान आख्यान र साइबर आख्यानका बिचको भिन्नता राम्ररी बुझ्न र त्यसपछि मात्र कलम चलाउन आग्रह गर्न चाहन्छु ।
मेरो बुझाइमा विज्ञान आख्यानको विषय कुनै वैज्ञानिक शोधखोज, आविष्कार वा अन्तरिक्ष यात्रा आदि हुन्छ, तसर्थ यो सामान्यत: काल्पनिक भए पनि स्वैर काल्पनिक हुँदैन । यसका विपरीत साइबर आख्यानको विषय इन्टरनेट र त्यसकै सञ्जाल, मानिस र मेसिन, स्वचालित यान्त्रिक गतिविधि आदिमा आधारित हुने हुँदा काल्पनिक, स्वैर काल्पनिक तथा परोक्ष हुन्छ ।
अन्त्यमा, यस प्रश्नोत्तरद्वारा मैले साइबर सम्बन्धी कुराहरू भन्न पाएकामा सम्बद्ध सबैलाई हार्दिक धन्यवाद दिन्छु । •••

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *