हे पृथ्वी !
तिमीले गाँसेको धर्तीलाई
रगतले धोएको देख्दा,
मेरो हृदय क्षतविक्षत हुन्छ ।
तिम्रा सिंगा भूमिहरुमा सिंगा सपनाहरुमा
विभाजनका दुर्गन्धहरु सलबलाउदा,
म भक्कानिन्छु ।
तिम्रो हरेक सीमारेखालाई गिद्धहरुले रातदिन लुछ्दा,
मेरो आंङ जिरिङ जिरिङ हुन्छ ।
अनि म एक्लो रातमा लामा लामा
रुवाइ रुन्छु ।
तिम्रा ति कोमल सपनाहरु
विदेशी मुद्रामा विनिमय भएको देख्दा,
मेरो पैतालाको जमिन भासिन्छ ।
तर म अर्धमृत, अशक्त, अवचेतन
केहि पनि गर्न सक्दिन ।
तिमिलाई म कुन मुख देखाँउ ?
आज आमाको लाज ढाक्न सकिन,
दिदिबहिनीको अस्मीता जोगाउन सकिन,
म दुस्मन भन्दा खराब,
म दुस्मन भन्दा दुष्ट,
आफन्तहरु र बारीका कान्लाहरुमा
दुस्मनले तरबार रेट्दा ….
म चुपचाप बसें ।
कुनै प्रतिकार गरिन ।
म कातर, असक्षम अनि स्वार्थी ।
हे पृथ्वी !
तिमिसँग माफी माग्ने
मेरो औकात छैन ।
