अमेरिकाको एटलान्टास्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा अनेसास जोर्जिया च्याप्टरको आयोजना गत जुन ११, २०१६का दिन “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” सफलताका साथ सम्पन्न भयो । उक्त कार्यक्रमको प्रारम्भमा नेपाली राष्ट्रिय गानका संगीतकार स्व. अम्बर गुरुङलाई श्रद्धाञ्जली अर्पण गर्न वहाँको तस्वीरमा माल्यार्पण गरेर एक मिनेट मौन धारण गरिएको थियो ।
च्यापटरका महासचिव किरण ढकालले संस्थाको बारेमा संक्षिप्त बोल्दै दिनेश अधिकारीद्वारा रचित राष्ट्रिय भावको “पहाडमा जाडो बडे तराइले सेक्नु पर्छ” वोलको गीत गाएर सबै श्रोता तथा दर्शकहरूलाई कार्यक्रमप्रति आकर्षित पारे भने कार्यक्रमको उद्घोषिका तथा अनेसास जर्जिया च्यापटरका उपाध्यक्ष अम्विका लोहनीले कवि तथा गीतकार दिनेश अधिकारीको बारेमा छोटो परिचय प्रस्तुत गरिन् ।
कार्यक्रमको संयोजक नासाका पूर्व अध्यक्ष समाजसेवी राजा घलेले उपस्थित कला, साहित्य र संगीतप्रेमी सबै महानुभावहरूलाई हार्दिक स्वागत गर्नुका साथै यति महत्वपूर्ण कार्यक्रम गर्ने अवसरको व्यवस्था मिलाई कार्यक्रम सम्पन्न गर्न उर्जा प्रदान गर्नुहुने कोलोराडो निवासी अनेशासका पूर्व अध्यक्ष कवि/गीतकार ज्ञानेन्द्र गदाललाई विशेष धन्यवाद दिनुभयो ।
त्यसपछि आयोजकबाट प्रमुख अतिथि तथा कार्यक्रमका आकर्षण कवि/गीतकार दिनेश अधिकारी र वहाँकी धर्मपत्नी श्रीमती उषा अधिकारीलाई खादा अर्पण सहित मायाको चिनो प्रदान गरी सम्मान गरेपछि “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” को औपचारिक कार्यक्रम शुरुभयो ।
उक्त कार्यक्रममा कवि/गीतकार दिनेश अधिकारीले आफ्ना प्रस्तुत गीत-कविताका सन्दर्भमा केही मिठा-मिठा किस्साहरू बोल्दै दुई दर्जन जति कविता र गीतहरू वाचन गर्नुभयो । वहाँका सिर्जना, प्रश्तुति शैली र विचार सम्प्रेषणबाट कार्यक्रममा श्रोता एवं दर्शकहरूले आनन्द लिए ।
एकल प्रस्तुतिको समाप्तिसँगै आफ्ना केही विचारहरू राख्ने क्रममा कविजीले कार्यक्रमप्रति आफू अत्यन्तै खुशी भएको र यो नै नेपाल बाहिर विदेशी भूमिमा आफ्नो पहिलो एकल प्रस्तुति भएको समेत खुलासा गर्दै आयोजक अनेसास जोर्जिया च्याप्टरका सबै पदाधिकारीहरूप्रति धन्यवाद अर्पण गर्नुभयो ।
साथै यस कार्यक्रमका संयोजक साहित्य, संगीत र कलाप्रेमी समाजसेवी राजा घले र यसको व्यवस्थापन सहित प्रवन्ध मिलाइदिनुहुने कोलोराडोवासी कवि/गीतकार ज्ञानेन्द्र गदालप्रति विशेष आभार प्रकट गर्दै उपस्थित दर्शक-श्रोतामा कृतज्ञता ज्ञापन गर्नुभयो ।
अन्तमा कार्यक्रमका सभापति एवं अनेसास जर्जिया च्यापटरका अध्यक्ष चेतनाथ घिमिरेले श्रष्टा तथा दर्शकश्रोता सबैलाई धन्यवाद दिंदै कार्यक्रम अन्त्यको घोषणा गर्नुभयो ।



