खर्पन राखेर मालिँङ्गे भुने मा
र झुण्डाएर नौनीको हर्पे
बिर्खे टोपी लााएका काँल्दाई
जब हाक्पारे गाउछन
सँझनुस त्यो मेरो गाँउ हो !
हँसिया सिउरेर कम्मर मा
ला..मो बरियो भएको नाम्लो
र पुवालो को माला लगाई घाँटिमा
लाज ढाक्न धौ धौ टाला बेरेर
एकहुल घसेरी आमा हरु तेर्सिए भने
मुलबाटो बाट
सँझनुस त्यो मेरो गाँउ हो
मदनको ख्याली गाउदै
केहि बैसालू मुना हरु
खाङ्रे बोकेर माघे ठिही मा
पत्कर बटुल्दै हुनेछन
हातमा पत्कर
मुखमा ख्याली
मन मा परदेशी मदन
ओठमा हाँसो र आँखा मा ओस देख्नु भयो भने
सँझनुस त्यो मेरो गाँउ हो
चर्चरी फुटेका पैताला घिस्याउदै खालिखुट्टा
गल्फन को पटुका बाधेर
डेडकिले बन्चरो ले अनकन्टार जँगल मा
ठ्वाङ ठ्वाङ .. हलो तास्दै
बार्ह छोरा र तेर्ह नाती का बुढा बाउ
पसिना पुछ्दै हुनेछन
फाटेको टोपीले
सँझनुस त्यो मेरो गाँउ हो
लटरम्म फलेका आरु आल्चा र नास्पती
कल कल बगेको मुलको पानी
ठेकी भरी मोहि र जमेको दही
सिकुवामा कोदोको कुन्युँ
र पालि मा आलुको रास
अथवा कान्ला भरी भरी एेसेलु
जँगलै भरी चुथ्रो र घँगरु पाकेको
चराले खाईनसक्ने एेसेलुघारी
आँगन मा छ कोठे मकैको थाङ्रो
र गोठ भरी लैना पाडा बाच्छा
रहेछन भने
सँझनुस त्यो मेरो गाँउ हो
तोयानाथ पौडेल
सँखुवासभा
हाल – मरुभुमिको छाती बाट
