आजपर्यन्त उपलब्ध भएका नेपाली उपन्यासको गति र प्रगतिलाई सूक्ष्मरूपले सिँहावलोकन गरेको खण्डमा नेपाली साहित्यमा आख्यान विधाको परम्परा निकै लामो भैसकेको छ । उपन्यासकार शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्वदेखि वर्तमान समयमा प्राप्तभएका थुप्रै नेपाली शैली, ढप, बान्की, विषयवस्तु र प्रयोगोन्मुख उपन्यासमा अनेकानेक प्रवृत्ति र प्रतिभाहरूको लामलस्कर नै लागेको छ । आजको नेपाली उपन्यासलाई यस पृष्ठभूमिमा लेराउन विभिन्न कालखण्डका कलमविरहरूको अनेकौं बुद्धितत्व र लगनले उत्साहपूर्वक काम गरेको छ भनेर हामी सहजै भन्न सक्ने अवस्थामा छौं ।
हामी जो आज उपन्यास भनेर पढ्छौं त्यो परापूर्व समयमा आजकोजस्तो रूपाकृति र विषयवस्तुमा हुँदैनथ्यो । नेपाली उपन्यासले लामो फड्को मारेको भनेकै आधुनिक उपन्यासकार रुद्रराज पाण्डेको रूपमतीदेखि नै हो ।
त्यसबीचमा रूपनारायण सिँहको भ्रमर र विष्णुचरण श्रेष्ठको सुमतीलाई पनि तिनीहरूको योगदानका रूपमा हामीले चटक्कै बिर्सिहाल्न पनि हुँदैन । समयक्रममा लैनसिँह बाङ्देलको मुलुकबाहिर, माइतघर, लङ्गडाको साथी र रेम्ब्रान्टजस्ता उपन्यासले नेपाली उपन्यासको क्षेत्रमा नयाँ आयाम थपेका थिए । त्यसैगरी मनोवैज्ञानिक उपन्यासकारका रूपमा तहल्का मच्चाएका विश्वेश्वरप्रसाद कोइरालाका तीन घुम्ती, नरेन्द्र दाइ, मोदिआइन् र सुम्निमाले उठाएका सन्दर्भलाई रिद्धिबहादुर मल्लका मेधावी पुत्रद्वय गोविन्द गोठालेको पल्लो घरको झ्याल र विजय मल्लका कुमारी शोभा र अनुराधाजस्ता उपन्यासले पनि नेपाली औपन्यासिक साहित्यको इतिहासमा निकै महत्व पाएका छन् ।
समयक्रममा उदाएका लीलाध्वज थापाको मन, तुलसीराम कुँवरको रने, मोहनबहादुर मल्लको उजेली छाँया र समयको हुरी, दौलतविक्रम विष्टको एक पालाुवा अनेकौं याम र चपाइएका अनुहारहरूका साथै पारिजातका शिरीषको फूल, महत्ताहीन, पर्खालभित्र र बाहिर तथा परिभाषित आँखाहरूमा आइपुग्दा त नेपाली उपन्यासले आफूलाई निकै परिमार्जित र परिष्कृत नै गरेको पाइन्छ ।
एक्काइस सालमा दार्जिलिङ्बाट इन्द्रबहादुर राईको आज रमिता छ उपन्यासले त्यसका पाठकहरूलाई एकैपटकमा अभिभावकीय निरुपाय, दु:खान्तता र आञ्चलिकताको सन्देश दिन सफल भएको पाइन्छ । चालीसको दसकका नेपाली उपन्यासको कुरागर्दा उपन्यासकार डा.धु्रवचन्द्र गौतमको नामोल्लिखित नगर्नै हो भने समग्र आधुनिक उपन्यासप्रति नै अन्याय गरेझैँ हुन्छ । गौतमको अलिखितलगायत छबीसौँवटा औपन्यासिक कृतिहरू नेपाली उपन्यास साहित्यका पूँजी नै हुन्भन्दा गल्ती अवश्य हुँदैन । आञ्चलिकताको सुभारम्भ गर्ने उपन्यासकार शङ्कर कोइरालाको खैरिनीघाटबाट सुरूभएको सो परम्परामा चिल्ला र दराखरा इँटा थप्ने गौतमको अलिखित उपन्यास आजसम्मकै प्रसिद्ध नेपाली आधुनिक आञ्चलिक उपन्यासका रूपमा रहेको छ । त्यसैगरी जगदीश घिमिरेको लीलाम र सावितीका साथै ध.च.गोतामेको घामका पाइलाहरू, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, राजेश्वर देवकोटाको द्वन्द्वको अवसान, मदनमणि दीक्षितको माधवी, सरुभक्तको पागलवस्ती, खगेन्द्र संग्रौलाको जूनकीरीको संगीत, प्रदीप नेपालको आकाशगंगाको तीरैतीर, नारायण ढकालको आत्महन्ता, नयनराज पाण्डेको उलार, इन्द्रकुमार श्रेष्ठ ‘सरित’को अर्धसत्य, गोविन्द गिरी प्रेरणाको उत्खनन, डा.गोविन्दराज भट्टराईको सुकरातका पाइलाहरू, नारायण वाग्लेको पल्पसा क्याफे, कृष्ण धरावासीको राधा, कृष्ण अविरलको रक्तकुण्ड, डा.सञ्जीव उप्रेतीको घनचक्कर, तेजराज खतिवडाको सर्वजा र मधेश आन्दोलनमा केन्द्रित रहेर लेखिएको धीरकुमार श्रेष्ठको घुरजस्ता उपन्यासहरूको पङ्तिमा आज रामेछापको भूमिबाट फेरि अर्का एकजना होनहार युवा उपन्यासकार माधव ‘सयपत्री’को ‘सीमान्त विचलन’ नामको प्रेम र राजनीतिक इतिहासप्रधान विषयवस्तुमा आबद्ध नयाँ शैली र छाँटको उपन्यासले नेपाली उपन्यास जगत्मा आफ्नो प्रकाशनको घुम्टो खोल्ने जमर्को गरेको छ । सयपत्रीका यसअघिका सफल कथाकृतिहरूबाटै उनी सफल आख्यानकारका रूपमा नेपाली वाङ्मयका क्षेत्रमा दरिइसकेका छन् ।
भनिन्छ, उपन्यास लामो कालखण्डमा लेखिने वृहदाकार आख्यानात्मक कृति हो । विश्व साहित्यमा उपन्यासको बजार र गरिमा दुवै निकै उँचा देखिन्छन् । नेपाली बजारलाई हेर्दा त्यसो नभएपनि विगत् वि.सं. १९९१ को रुपमतीदेखि २०६५सम्मको ‘सीमान्त विचलन’लाई विश्लेषण गरेर नियाल्ने हो भने अबको नेपाली उपन्यास पनि विश्व साहित्यमा पौँठेजोरी खेल्ने हिसाबको भैसकेको छ । हो, हाम्रा उपन्यासकारका कृतिले बुकर र नोबेल पुरस्कारजस्ता अन्तर्राष्ट्रिय पुरस्कार जितेका छैनन् तर त्यसो भन्दैमा हामीकहाँ कालजयी कृति नलेखिएका भने होइनन् । आम पाठकहरूले आजको समयसम्ममा लेखिएका र प्रकाशित भएका उपन्यासहरूलाई राम्ररी समालोचना गरिरहेका छन् । आजको पाठक प्रविधिको सुविधाले बजारमा आएजति र कम्प्युटरमा छाएजति सबै रचनाहरूको राम्रो पारख गर्न सक्ने भैसकेको छ । उसलाई बजारको यतिबिघ्न सुविधाले आफूलाई मन परेको कृति छानेर मनोयोगपूर्वक पढ्न र स्वाद लिन सक्ने स्वतन्त्र स्वच्छन्द बनाएको छ ।
राम्रो र सुपाच्य कृतिको विज्ञापन गर्न पर्दैन । भनिन्छ, फूलको बास्नालाई मालीको प्रचारप्रसारको जरूरत नै छैन । प्रकृतिको शोभा मानिने फूलले आफ्नो परिचय आफैँ दिन सफल हुन्छ । पारखीहरू अनकण्टार या अक्करमा फुलेका फूलको पनि पारख गर्न सक्षम हुन्छन् । अप्राकृतिक वस्तु र साधनहरूको मात्र उपभोक्तावादी बजारीया सभ्यतामा विज्ञापनको सेरगुल छाएको हुन्छ । यस सन्दर्भमा सयपत्री आफ्नो सद्य प्रकाशित प्रस्तुत ‘सीमान्त विचलन’ नामको उपन्यासका माध्यमबाट नेपाली साहित्यको आख्यानात्मक विधामा जबरजस्त आफ्नो सिर्जनात्मक उपस्थिति देखाउँन सफल हुनुभएको छ । अहिलेका लागि यही नै खुसीको कुरो हो ।
‘सीमान्त विचलन’ भित्र लुकेको विषयवस्तुलाई सर्सर्ती निलाल्दा यसभित्र कतै राजनैतिक ऐतिहासिक घटनाक्रमले तीव्र रूप लिएको छ भने त्यसैमा प्रगतिवादी प्रेमको चिन्तनलाई पनि माक्र्सवादी सौन्दर्यशास्त्रअनुसार देखाइएको छ । सुरूका घटनाक्रमहरूमा ऐयासी र विलासी जीवनलाई तिलाञ्जली दिँदै करूणा सागरको पवित्र प्रेममा आश्रित हुन पुगेकी छे भनेपछिल्ला घटनाक्रमहरूमा तिनीहरू बीचको पवित्र प्रेमलाई अनेक किसिमका षडयन्त्रहरूले भाँजो हालेर लथालिङ्ङ् र भताभुङ्ङ् बनाइदिएका छन् । यहाँ उपन्यासमा बास्तवमै प्रगतिवादी राजनीतिले प्रेमलाई डोर्याएको छ भने हाम्रै समाजभित्रको फासिष्ट चरित्रले समाजमा पन्पिँदै गएको समाजवादी प्रेमका माध्यमबाट फुल्न र खुल्न खोजेको पारिवारिक संरचनामा कुठाराघात गरेको छ । उपन्यासमा छयालीस सालदेखि बैसठ्ठी÷त्रिसठ्ठी सालसम्मका ससाना राजनीतिक घटनापरिघटनाहरूको यति राम्रो र सजीव वर्णन उपन्यासकारले गरेका छन् कि यस्तो लाग्छ हामी नेपाली इतिहासलाई कुनै जीवन्त वृत्तचित्रमा रमाइरमाई हेरिरहेका छौं । घटना र परिवेश चित्रणमा यति सजीव वर्णनपरक चित्रण मैले यसअघि पढेका एकादुई उपन्यासमा बाहेक कतै पनि पाएको थिइनँ । यथार्थवादी उपन्यासका रूपमा म ध.च.गोतामेको घामका पाइलाहरू र प्रगतिवादी उपन्यास अविरल बग्दछ इन्द्रावतीबाट जति प्रभावित भएको छु त्यति नै माधवजीको म अर्थात् करूणा उपन्यासबाट तानिएको छु । म कृतिकारको परिचयपश्चात् मात्र कुनै कृतिहरू पढ्दा त्यसमा जीवन जीवन्त रूपले भरिएको पाउँछु । मैले सयपत्रीको प्रस्तुत उपन्यासलाई पाण्डुलिपिमा कैँयौँ पटक पढेकाले पनि त्यस्तो भएको हुनसक्छ ।
अर्कातिर, यहाँ उपन्यासकार राजनीतिक तटस्थवादलाई पनि सर्सर्ती वर्णन गर्छन् । उनमा राजनीतिको यो वा त्यो वाद र दर्शनप्रति आग्रह वा पूर्वाग्रह केही पनि छैन । हुन त उनी माक्र्सवादी सौन्दर्यशास्त्रमा विश्वास राख्ने एक कुशल कलमजीवी हुन् तर घटना उपस्थित गर्ने उनको तरिकामा एक प्रकारको रिपोतार्ज शैलीले काम गरेको छ । आफ्नो आस्थालाई समेत उनले कैँयौँ स्थानमा डिमार्केसन लगाएर चुपचाप परीक्षा हेरिरहेको अनुभवी निरीक्षकजस्तो भई केवल एउटा निर्भिक स्रष्टाको कलमले ओकल्ने सत्यांशको आभाले कृतिलाई रंगाइदिएका छन् । जुन उपन्यासकारको सफलता हो । प्रेमको शाश्वत रूपलाई देखाउँदै प्रेममा पागल भैसकेकाहरूले यो उपन्यास पढेभने तुरूक्क आँसु नचुहाइरहन सक्दैनन् । मलाई के विश्वास छ भने मोफसलमा बसेर यस्तो प्रकृतिको उपन्यास लेखेर सत्तामा बसी अकूत सम्पत्ति कमाउँनेहरूलाई उनी तिनीहरूको लाजको धोती पनि नडराइकन खुस्काइदिन चाहन्छन् । लेख्नु कठिन कार्य हो अँझ साँचो कुरालाई निडर भई लेख्नु अँझ फलामको चिउरा चपाउनुजस्तै हो । यहाँ सयपत्रीजीले अनेक सन्दर्भमा फलामका चिउरा बिना दाउन नै चपाउनु भएको छ –मर्याङ्मर्याङ् ।
राजनीतिको वलिवेदीमा होमिएको उपन्यासको प्रमुख पात्र सागरजस्तो क्रान्तिकारी र साहसी योद्धा चरित्रको खाँचो नेपाली राजनीतिक इतिहासमा खट्किरहेको छ तापनि उसका अनेक किसिमका श्यामश्वेत दु:ख र वेदनाहरूले बास्तवमै उपन्यासलाई कारूणिकताको शिखरमा पुर्याएको छ । पाठकहरूले जब यो उपन्यासको पठन सुरूआत गर्छन् तब यसलाई एकपटक सजिलै नधुल्याइकन छाड्दैनन् । अनेक किसिमका कौतुकमय घटनाहरूको रोमाञ्चक प्रस्तुति, विभिन्न विशेषता बोकेका कद र चरित्र भएका पात्रका मुखारबिन्दबाट निस्किएका दार्शनझैँ लाग्ने संवादात्मक कुराकानी, संसदीय व्यवस्थाका विकृति र विसङ्गतिबीचबाट उठेका राजनीतिक हिलो छ्यापाछ्यापका जीउँदा रोमहर्षण गर्ने खालका चित्रण, जनयुद्धपछिका ससाना उहापोहमा समेटिएका प्रगतिउन्मुख घटनाहरूलाई चिरफार गर्ने काम सरल एवं प्राञ्जल भाषाशैलीका माध्यमबाट सजिलै सम्पन्न गरेको पनि हामी थाहा पाउँछौँ ।
उपन्यासकार श्रीसयपत्री समाजका छरिएर रहेका विभिन्न सामाजिक रोगहरूका सफल उपचारक र शल्यचिकित्सक हुन् भनेर लख काट्न सक्छौं । हामी यतिखेर उपन्यासका पाठकहरूलाई प्रस्तुत उपन्यासको मनोयोगपूर्वक पठन गरी नेपाली राजनीतिको लगभग दुई दसक समयावधिभित्रको सुखान्त र दु:खान्त परिवेशलाई प्रेम, युद्ध, राजनीति, गृहस्थी, त्याग, अभाव, संघर्ष, समर्पण, षडयन्त्र र विलासी जीवनप्रतिको मोहकारिताजस्ता सामाजिक मानवीय चाहना र कमजोरीका बीचमा पनि एउटा मानवीय अस्तित्व कसरी दृढोक्तिका साथमा अडिएको हुन्छ भन्ने जिज्ञासालाई देखाउनमा प्रस्तुत उपन्यासका स्रष्टा सफल बनेका छन् भनेर भन्छौं । नयाँ नेपालको निर्माणमा जुटेका सबै किसिमका अभियन्ताहरूलाई यो उपन्यासले मार्गदर्शन गर्न सक्नेछ भन्ने हामीलाई लाग्दछ । अँझ एक कदम अगाडि बढेर म त के पनि भन्छु भने नेपाली युवा र किशोरवयका व्यक्तिहरूले यो उपन्यासलाई अण्डरलाइन लगाएर हरफहरफ नपढी हुँदैन । हाम्रो हिजोको राजनीति कहाँनेर कसरी चुक्यो भन्ने दसी पनि सयपत्रीले देखाइदिएका छन् । उनको पहिलो उपन्यास नै यति सफल बन्न सकेकोमा म भित्रको लेखकले उनको लेखनकारितालाई सिर्जनात्मक ईष्र्या पनि गरेको छ । ग्लोबलाइजेसन भनिने यो दुनियाँमा माधवजी र हामीजस्ता मोफसलका कलमजीवीले लेखेका यी र यस्ता कृतिहरू बजारमा ल्याइपुर्याउन खुनको आँसु निकालेर अनि टुपीदेखि पैतालासम्म पसिना चुहाएर राजधानीका बगरे व्यवहारभएका प्रकाशकका दैलादैलामा आफ्नो उपस्थितिको तारिख थमाउँदै आफ्ना कृतिहरू प्रकाशित भएपछि प्रतिशतमा बेच्नु पर्दाका क्षणमा हामी किस्ताकिस्तामा मरेका हुन्छौं । हिजो पञ्चायतमा पनि बरू प्रकाशनको एक किसिमको शान र आत्माभिमान थियो तर बहुदल र अँझ लोकतान्त्रिक गणतन्त्रमा हामीजस्ता खाँटी भुइँ लेखक (सोर्सफोर्स नभएका र चाकरी नगर्ने अदना लेखक)हरूको के अस्तित्व हुने हो ? हामी राज्यलाई प्रश्न गर्न चाहन्छौं । के हामीले आफ्नो विज्ञापन आफैँ गर्दै हिँड्नु पर्ने हो या राज्यका प्रकाशन मठाधीशहरूले हामीजस्ता भुइँ लेखकहरूका पनि कालजयी कृतिहरू प्रकाशनको अभिभारा लिने हुन् । यतिखेर म यो भूमिकामार्फत राज्यका जिम्मेवार प्रकाशकलाई सोध्न चाहन्छु ।
र अन्त्यमा कसैले कठै भनेर दिएको जीवनदानलाई एक चिम्टी पनि लोभको नङ्ले नकोतर्दै बरू दु:ख र पीडाका बीचमा पनि आस्थाको द्यूती बालेर वर्ग संघर्षको ज्वाला दन्काउँदै अन्तत: शानदार मृत्युवरण गर्न पुगेको सागर र उसको त्यो पार्थिव शरीरलाई गिद्धले लुछेझैँ लुछ्न खोज्ने राजनैतिक निच चरित्र भएका लिलिपुटका कुमान्छेहरूको चित्रण गरेर समाजको मुखुण्डो उतारिदिन सफल भएको प्रस्तुत सामाजिक–प्रगतिवादी उपन्यास आम नेपाली साहित्यका पारखीहरूलगायत जनताको पक्षमा खम्भीर भई सच्चा राजनीति गर्न खोज्ने राजनैतिक पार्टीका नेताहरूसमेतले एकपटक शान्तचित्त गरेर पढेमा यसले तिनीहरूमा नयाँ विचारको जन्म हुनेछ भन्ने मैले सकारात्मक सोच राखेको छु । अहिलेलाई म श्रीसयपत्रीजीको उपन्यासकारिताका बारेमा यति नै बोल्दै उहाँको भावी साहित्यिक जीवनको सुसफलताको कामना पनि गर्दछु ।
पेशल आचार्य
उपप्राध्यापक, नेपाली
मन्थली सहिद स्मृत बहुमुखी क्याम्पस, मन्थली, रामेछाप ।
email: espeshal2023@gmail.com
