पूर्वी नेपालको कुनै एक जिल्लामा अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने सामुदायिक विद्यालयका प्राथमिक शिक्षकहरूका लागि आयोजना गरिएको छ दिने प्रशिक्षण कार्यक्रमको समापनपश्चात कार्यक्रम स्थलबाट यसो बाहिर निस्केर के हिँडदै थिएँ, केही अगाडि एक सभा हल जस्तो देखिने एक भवनको वरिपरि मानिसहरूको जमात देखियो।

सँगसँगै हिँडिरहनुभएको सहकर्मी प्रशिक्षक मित्रसँग वहाँ स्थानीय नै हुनुभएकोले त्यस कार्यक्रमको पनि जानकार हुनुहोला भन्ने अपेक्षाका साथ उक्त जमातको प्रयोजनको बारेमा जिज्ञासा राखेँ। मित्रबाट उत्तर आयो, “अधिकारी जी, आज अन्धविश्वास बिरूद्धको सचेतना सप्ताहको अन्तिम दिन अरे। जिल्लाका कोही बिशिष्ट व्यक्ति प्रमुख अतिथिको रूपमा आउने रे। नगर स्तरीय समितिले कार्यक्रमको समापन भब्य रूपमा गर्नु पर्छ भन्दै थियो भन्ने सुनेको थिएँ। त्यही होला। यसो हेर्न जाने त?”

मलाई पनि काम सकिसकेकोले यसो हेरौँ न त भन्ने लागेको थियो त्यसैले मैले पनि स्विकृति जनाएँ। को रहेछन त गाउँका विशिष्ट व्यक्ति, मनमा जिज्ञासा पस्यो। प्रमुख अतिथिको आसन तर्फ हेरेँ सामान्य व्यक्तित्व भएका एक वयोवृद्ध प्रमुख अतिथिको रूपमा बसेको देखेँ। मेरा प्रशिक्षक मित्रलाई पनि अचम्म लागेछ र नजिकैका एक सहभागीलाई सोधे। प्रमुख अतिथिको गाडि दुर्घटनामा परेकोले आउन सक्नु भएनछ, त्यसैले भेला भएका अतिथिहरूमध्येका ज्येष्ठ नागरिकलाई प्रमुख अतिथि बनाएछन।

कार्यक्रम सकिए पछि कार्यक्रम स्थलबाट बाहिरिने क्रममा प्रशिक्षक मित्रको कार्यक्रम सञ्चालकसँग जम्काभेट भयो। केहीबेरको भलाकुसारी पछि प्रमुख अतिथिको दुर्घटनाको बारेमा कुरा उठ्यो। कार्यक्रम सञ्चालक मित्र उनलाई कानेखुशी गरे मेरो खुलदुली भने रोकिएन।

केही बेरमै मेरो गन्तव्य आइसकेको थियो। जिज्ञासा भने अँझै तिब्र नै थियो। मित्रसँग सिधै सोध्न पनि अप्ठ्यारो लाग्यो। सायद मेरो दशा मित्रलाई ज्ञात भएछ क्यार भन्न थाले – थाहा पाउनु भो अधिकारी जी, प्रमुख अतिथिको दुर्घटनाको कारण? वहाँ कार्यक्रम स्थलतिर आउँदै गर्दा कालो बिरालोले बाटो काटेछ क्या, अनि त्यसपछि अर्को गाडि आएर अगाडि नबढेसम्म गाडि रोकेर बसेछन, पछि आउने गाडिहरू पनि उनकै गाडिको पछाडि रोक्किँदै गएछन र त्यसैले ढिलो भएछ अनि फरक्क गाडि घर फर्काएर घरतिर पो गएछन।

२०७२ आषाढ १०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *