जब तिम्रो हातमा भिसा लागेको पासपोर्ट हुन्छ
जब तिम्रो हातमा विदेशको कामको
नियुक्तिको कागज हुन्छ
तिमी आफ्नो सँघार नाघेर
अरबका ताता कुनै नैऋत्यिक मुलुकतर्फ
रङ्गीन सपनाहरू गोडमेल गर्ने
उच्च कामना लिएर
हवाइजहाजको सिटमा बसेका हुन्छौ
बस् त्यसैबेला तिमीलाई
नेपालको झल्झली याद् आउनेछ,
घर रहँदा घरको सम्झना नहुनु केही होइन
थर पाउँदा थरको हेक्का नुहुन पनि केही होइन
जब तिमी परदेश या दूरदेशमा
आफ्नो साथी आफैँ बनेर
दिनका प्युरीहरूबाट
अहर्निष घर परिवारको सम्झनामा बत्ती कातिरहेका हुनेछौ
त्यसबेला तिमीलाई
आफ्नो नेपालको याद्ले खूब रुवाउनेछ,
हुनुमा केही छैन
नहुनुमा सबथोक छ
नरुनुमा केही छैन
रुनुमा सबथोक छ
मनिसको यात्रा
गुफाबाट आजसम्म
छ सय पैँसठ्ठी पुस्ताको भैसकेको छ भन्छन् समाजशास्त्रीहरू
बिरानो देश
बिराना मानिस
बिरानो हावापानी र
बिरानो भावभङ्गीले
त्यसबेला चिमोट्द
जब तिम्रासाथ
तिमीलाई नचिन्ने हूलहरू नै वरिपरि हुनेछन्,
आऊ फर्केर आफ्नै आमाको पाउमा साष्टाङ्ग दण्डवत् गर
तिम्री आमा फेरि पनि तिमीलाई
मायाको सुकिलो आँचलमा लपेट्न आतुर हुनेछिन्
आफ्नो फराकिलो छातीको सरहद्मा समेटन सक्रिय हुनेछिन्
आऊ नेपालै रहेर नेपाललाई हँसाऊ ।
-पेशल आचार्य
हालः मन्थली, रामेछाप ।

पेशलजी कवितामा अभिव्यञ्जित
पेशलजी कवितामा अभिव्यञ्जित देशभक्तिलाइ म नमन गर्छु । तर तपाइँले भनेका जस्ता देशभक्त पुत्रपुत्रीहरु यहाँ छेनन् । डलर वा विदेशी रुपियाँका लाेभमा विदेशीकाे गर्भ धारण गरेका महिलाहरु र विदेशीहरुकाे तलुवा चाट्न बाध्य पारिएका युवाहरुमा अब कहाँ देशभक्तिकाे कल्लपना म ता देख्न छाडे ।
देशैमा दुःखसुख चलेकै थियाे तर याे जङ्गलीहरुकाे अातङ्कदेखि यता नेपालीहरुलाई विदेशीकाे तलुवा चाट्न बाध्य पारिएकाे छ । जब सम्म जङ्गलीकाे अातङ्क रहिरहन्छ देश सुध्रिनेवाला छैन मनस्थिति पनि सप्रिनेवाला छेन । याे मेरो साेचाइ छ ।
कविताको विषय सकारात्मक छ तर
कविताको विषय सकारात्मक छ तर अाजका युवासँग यसको परिकल्पना गर्नु पनि उचीत देख्दिन म। कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूमध्ये देशमै स्नातक पढ्ने युवाहरूको प्रतिशत मात्र हेर्ने हो भने पनि यो दृश्य प्रष्ट हुन्छ। अझ ४ वर्षे स्नातक र त्रि.वि.को नतिजामा हुने ढिलासुस्तीले अलि अलि अध्ययनशील युवाहरूको पनि देशमा पढ्ने चाहना त्यत्तिकै तुहिएर जान्छ।