Skip to content


मनको आँखा खोलेर हेरेँ, लागेछ असार।
आऊ खेलौँ हिलो, आँउ खेलौँ झ्याउरे, मर्दैछौँ के छर!

मानोलाई रोपौँ मुरीमा फल्छ, माटोमा सुनहरू।
मरौँला तिरी मनैले मायाँ, मोहका गुणहरू।

ढुकुर जोडि डालीमा बसी, कुर्लन्छ असारे गीत!
आऊ हामी पनि जोडौँ न एकछिन, असारे गीतमा प्रीत।

हिलोमा रोप्ने धानको बाल, मुटुमा हो मायाँ।
मरेर जान्छौ जिन्दगी हाम्रो, हो सानु घामछाँया।
सानु जिन्दगी घामछाँया।।

हलीमा दाइले सिवै नै पिच्छे, पोख्दैछ पसिना!
लाठ्ठेमा दाइले बाउसेसँगै, छोप्दैछ पसिना।

हामीले पनि रोपौँ न कान्छी, धानको बालालाई।
मुटुमा राखि असारे मायाँ, चुमौँ न गालालाई।

कृष्णले पनि राधाको, मनमा बजाँउछ बाँसुरी।
असारे मायाँ मुटुमा राखे, झरिमा नाँचुली।

छुपु र छुपु हिलोमा धान, रोपेझैँ मनमा।
रोपिदेऊ कान्छी मायाँको बाला, दु:खीकै मनमा।

आँउदा जाँदा भेटेर जाँउला, आएर घरैमा;
पिपलले पनि राख्दछ मायाँ, मायालु बरैमा।

हामीलाई पनि राखिदेऊ मायाँ, मनकै कुनामा।
सजाई राखौँला कान्छीको मायाँ, ज्यानकै कुनामा।
कान्छी, जीवनकै कुनामा।।।।

खेतकै डिलमा आलीमा बसि, खाएर दहिँ चिउरा।
लगायौँ मायाँ हिलोमा खेली, चाखेर दहिँ चिउरा।

माँयाको चिनो रुमाल लैजाउ, सम्झना दिलाउन।
बालाले जस्तै सप्रिनु पर्छ, यो मायाँ मिलाउन।

मँसिर महिना धानैले पाक्दा, भेटौँला सम्झेर।
आउनु है जेठी, आउनु है कान्छी, दुखीलाई सम्झेर।

नमरि बाँचे, कालैले साँचे, आउने छु ज्यान पनि।
आँउनेछ पक्कै मायाँलाई सम्झि, बिरानो मनपनि।

काटौँला धान, झारौँला बाला, जोडौँला माँयाप्रेम।
मिलेछ भने गरौँला बिहे, सोचौँला मायाँप्रेम।

धानको बाला भकारी भर्छौँ, मायाँले मनमा।
राखिराखे है दुखीको मायाँ, कान्छीले मनमा।
कान्छी, साँचेर मनमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *