Skip to content

कन्चटमा पेस्तोल तेर्छिएकाे त्याे दिन

घटना घटेको अवधिपछिका निकै वर्ख बिते । उहाँकरुको भाटे कारबाहीबाट कारबाहीको प्रक्रिया अलिक बेग्लै हुन थालेको थियो । देशै भरिका गाविसका कार्यालय भवनहरु ता धेरै नै ध्वस्त गरिसक्नु भएको थियो । सेना र पुलिस चौकीहरुमा पनि उहाँहरुले हमला गर्न थालिसक्नु भएको थियो । त्यसबाट देशमा जनताहरुका छोराछोरीहरु पनि निकै नै सोतर पारिसक्नु भएको थियो । मेरो माओली दाजुकी छोरी आठ कक्षामा पढ्दा पढ्दै सामन्तवादी दलाल पुँजीपति र साम्राज्यवादी नोकरसाहीहरुको विरुद्धमा उहाँहरुको डफ्फामा लागेर देशलाई जनगणतन्त्र बनाउन लागिसकेकी र सेनाको हातबाट मारिइ पनि सकेकी थिई । यो ता एक उदाहरण मात्र थिई । यस्तै धेरै बालबालिकाहरु शोषक, सामन्त, दलाल, पुँजीपति, नोकरसाही, साम्राज्यवादी, विस्तारवादी, उपनिवेशवादीहरुका विरुद्धमा चलाएको उहाँहरुको युद्धमा वीरगति पाइरहेका थिए । ठाउँठाउँमा सहिद भइरहेका थिए । हो कक्षा आठ भन्दा तलका नानीहरु भने सेनासँग कतै भिडेको उदाहरण पाइएको थिएन ।
कताबाट हो यो रेडियो जनगणतन्त्र नेपाल भन्ने नामको रेडियो पनि सुन्न थालिएको थियो । नेपालभित्र दुई समानान्तर सरकार भइसकेको बेला थियो । म चाहिं डराइ डराइ बिजुली पानी र टेलिफोनको बिल तिरिरहेको थिएँ तर मेरा केही आफन्तहरु गाउँतिरका केही छरछिमेकीहरु मालपोतको रकम, बिजुलीको बिल र सरकारी करहरु तिर्न छाडिसक्नु भएको थियो । केही बसहरु यात्रीहरुसहितै डढाइसक्नु भएको थियो । हडताल, चक्काजाम, राँकेजुलुस ता दैनिकको दिनचर्या नै गरिसक्नु भएको थियो । युद्ध जारी नामको लेटर प्याडमा अति गोप्य र औपचारिक रुपमा विद्यालय, कार्यालय, कारखाना, उद्योगहरुमा चन्दा मागका पत्रहरु आउन थालिसकेको निकै भइसकेको थियो । राति बार बजेतिर चन्दा लिन आउनुहुन्थ्यो । हामीले चन्दा लिएर कुनै अज्ञातज्यूलाई समर्पंण गर्न घरमा राति बार बजेतिर तयार हुनु पथ्र्याे । नदिएको अवस्थामा उहाँहरुबाट र दिएको थाहा भएको अवस्थामा यता सेजाज्यूहरुबाट भौतिक कारबाहीको भागी हुनु निश्चित थियो । सुनिन्थ्यो युद्धका लगि प्रत्येक घरबाट कि एक जनदान गर्नु पर्छ कि चन्दा दान गर्नु पर्छ । यी दुइटै नगर्ने र अटेर गर्नेको तेजोबध गरी भौतिक कारबाही गर्नुहुन्थ्यो । सामन्तवादबाट देशको मुक्तिका लागि लडिरहनु भएको उहाँहरुको त्यो युद्धमा छोराछोरी लड्न नपठाउनेहरुले वैदेशिक कामदारको रुपमा विदेशतिर पठाउने बहाना बनाउन थालेका थिए । आफ्ना सन्तानहरुलाई विदेश पनि नपठाउने र सामन्तवादी पुँजिपति दलालहरुलाई सखाप पार्ने उहाँहरुको जनयुद्धमा होमिन पनि नदिने मेरो निर्णय निकै कठोर र खतरापूर्ण थियो । यस्तो अवस्थामा म भने छोरी पढाउन काठामडौ लाँदै थिएँ । लगेर होस्टलमा राखेर फर्कंदै थिएँ ।
वास्तवमा अहिले म सम्झन्छु मैले पो गलत काम गरेंछु कि क्या हो । समयमा छोराछोरी नदिएर गलत काम पो गरेंछु भनेजस्तो भएको छ । उहाँले ल्याइदिएको गणतन्त्र आउना साथ सबै खुसी भएकै हुन् । सबैमा हर्ष छाएकै हो । सबैले सोचेको कुरा राखेकै हुन् । आफूआफूलाई बेग्लाबेग्लै मुलुकको माग गरेर देश तताएकै हुन् । कहिलेदेखि गाई काटेर खान नपाएको भोक रहेछ हाम्रा केही नेपालीहरुमा । यो अघिदेखिको भोक पनि गणतन्त्र आउनासाथै पूरा भएकै हो । सबै जातजातिका मान्छेहरुलाई देशको हिस्सा भागबन्डा हुँदा पनि म चाहिं अडियल भएर देशका कुनै पनि तप्कामा नलागी बसेकै हुँ । यसो हुनु भनेको समयअनुसार चल्न नसक्नु थियो । यसैले पछिपछिका वर्षहरुमा खसबाहुनको राज्य अलग हुनु पर्छ भनेर भन्नेहरुको कित्तामा म टाँसिएकै हुँ । मेरो यथार्थ यही हो । यस पृष्ठभूमिका साथ अब म मेरो संस्करणका दुई अध्याय स्रोताहरुलाई सुनाउँछु ।
फेसबुकका मेरा मित्रहरुलाई मैले केही दिन पहिले नै यसको सानो क्याप्सन दिएर बाँकी रहेकोे मेरो सस्मरण कुनै बेला लेखूँला भनेकै हो । यसैले यो कुरा पुरा गर्न र मेरै पनि आत्मकथ्यलाई अलिक स्थायी बनाउने मनले म अहिले यहाँ त्यही कुरा लेख्न बसेको छु ।
म यहाँ मेरा कन्चटमा भाला वा पेस्तोल उझ्याउने वा तेर्छाे पार्नेहरुलाई उहाँ भन्छु । उहाँहरुले भौतिक कारबाही गर्नु पूर्वको ममाथि गर्नुभएको सबै अध्यायको अक्षरशः पूर्णपाठ भने अब अलिक ढिलो भइसकेकोले यथावत् रुपमा सम्झन सक्तिनँ तापनि म त्यो यथार्थ घटनाका केही क्लाइमेक्सहरु भने झलझली सम्झन्छु ।
यस खण्डमा एक कोटेश्वर भाला पेस्तोल अध्याय र अर्काे जुगेडी जाम अध्याय गरी दुई अध्याय छन् ।
१. कोटेश्वर भाला पेस्तोल अध्याय
यो अध्यायको तिथी मितिको र साल सम्बत् कुन, कहिलेको कहाँको हो भन्ने कुराको टुंगोका लागि पत्रपत्रिका पल्टाउनु पर्ने हुन्छ अथवा उहाँहरुको डायरी पल्टाए पनि होला । जुन दिन उहाँहरुले चितौनको जुगेडी किल्लामा सेना वा प्रहरी कोसँग हो युद्ध गर्नुभएको थियो जय पराजय के भएको थियो त्यो भने मलाई हेक्का रहेन, घटना त्यही दिनको हो । यसो पनि भने भो मेरा जीवनमा घटेको यो घटना पनि त्यही दिनको थियो । घटना घटेको मितिलाई यसरी नै सम्झन्छु म । अझ म के पनि सम्झन्छु भने त्यो हिउँदको बेला थियो । किनभने मैले जाडोको लुगा लगाएको थिएँ । बिहान चार बजेको जाडोमा उहाँहरुले मलाई सुइटर खोल्न लगाउनु भएको थियो । उहाँहरुको कृपा नै भन्नुपर्छ मलाइ नाङ्गेझार भने गर्नु भएको थिएन । नत्र म जाडाले पनि सेकिने थिएँ । यसै कारण भन्छु यो समय हिउँदकै थियो । बर्खाको बेलामा सुइटर लगाइन्न ।
मैले दिवा सेवाका गाडीको टिकट लिएको थिएँ । देशको रात्रिकालीन सम्पूर्ण सेवाहरु ता उहाँहरुले नै लिनु भएकोले रात्रिसेवाका गाडीहरु चल्न छाडेका थिए । उहाँहरुको कार्यक्रम रात्रिसेवामा मात्र चालु थियो । राजधानीबाट लामो दूरीका गाडीहरु खालि दिवासेवाका मात्र गुड्थे । रात्रिकालीन गाडीको सेवा बन्द थियो । रातिको बाटोघाटो मानौं सबै उहाँहरुको एकछत्त थियो ।
यही उहाँहरुको एकछत्तको बेला म काठमाडौंबाट फर्कंदै थिएँ । झापा आउनु थियो । भोलिपल्ट यात्रा गर्नु छ भने राति राम्रो निद्रा लाग्दैन मलाई । झपक्क निधाएर बिउँझदा रातिको दुई बजेको रहेछ । फेरि सुतियो भने बस छुट्ला भनेर म अब सुतिनँ । आलेटाले गर्दै नित्यकर्मलाई तागिता गर्दै तिन बजाएँ । चार बजेको कोटेश्वरतिरका यात्रीहरुलाई कलंकीसम्म ड्रप गराउने अग्नि सेवाको बस चढ्नु थियो । भद्रपुर जानु थियो । घरमा भाउजू र दाजुका साथ बिदा मागेर म लागें साढे तिन बजेतिर सेतीओपीनिरबाट कोटेश्वर मूल चोकतिर ।
हिउँदको बेला भएकोले चार बजे भनेको निकै रात हुन्छ । यसपछि पनि लगभग काठमाडौंमा अरु दुई अढाई घन्टा रात नै रहन्छ । यसैले अलिक राति नै थियो साढे तिन बजे । तैपनि म केही बेर अघि नै जानु बुद्धिमानी ठानेर बाटा लागें । भिरेको एक झोला थियो । हातमा भने प्याक गरेर झुन्ड्याएको एक ग्यास गिजर थियो । श्रीमती बाथकी बिरामी भएकोले तातो पानीले नुहाउनु पर्ने चिसो चलाउनै नहुने भएकोले मैले ग्यास गिजर राख्ने बिचार गरेर गुच्चाटोलबाट ४५ सयमा एक गिजर किनेको थिएँ । मेड इन फ्रान्स लेखिएको थियो । चिनियाँ ता सस्ता पनि पाइन्थे गतिलै माल लगुँ भनेर अलिक बढीकै माल किनेको थिएँ । दाहिने हातमा त्यो झुन्ड्याएको थिएँ । मेरा अघिपछि कोही मान्छे थिएनन् । म एक्लै गइरहेको थिएँ ।
हालको नवजीवन उच्च माध्यमिक विद्यालयनिर आइपुग्नु भन्दा अलिक पहिलेतिरकै कुनै घुम्तीतिरको कुरा हो । बाटामा सडक बत्ती नभएको ठाउँ थियो । अचानक त्यही ठाउँमा केही मान्छे झर्यापझुरुप्प मेरा अघि झुम्मिए, दायाँतिरको मान्छेबाट मेरा दायाँ कन्चटमा पेस्तोल तेर्छियो । बाँयातिरकोबाट मेरो अर्काे कन्चटमा भालाले घोचियो । अरु केही ओरपरको बाटोमा फिंजिनुभो । सायद अहिले म सम्झन्छु बाटोमा मेरो सहयोगका लागि वा अर्काे यात्री कारबाहीको अवधि भरि कोही नआउन् भनेर रुँगालाहरु बाटोमा खटिएको हुनुपर्छ । कमसे कम दस जना जति हुनुहुन्थ्यो होला भन्ने ठान्छु । तर यकिन हुन सक्तैन । सबैका हातमा निकै शक्तिशाली टर्च लाइट थिए ।
ए झोला खोल् यसको । एकजनाले अर्काेलाईं अर्डर गर्नुभो । म सल्याकसुलुक थिएँ, केही बोल्ने क्षमता ममा सकिएको थियो तापनि हैन यो क्या हो हँ ? सम्म भनेको जस्तो लाग्छ ।
“दुबै हात माथि गर्, केही बोलिस् कि सकिइस्…!! पेस्तोलधारीले भन्नुभो । मेरो जिउ थर्थरी कामिरहेको थियो ।
“बाँच्ने मन भए चूप लाग् !! भालाले घोच्दै भन्नुभो भालाधारीले । अघि नै सल्याक सुलुक भइसकेको थिएँ मैले अब के बोल्नु थियो र ।
“छिटो खानतलास र्ग !! अराउ भोे अघितिरकाबाट एक अर्काेलाई । मानौ कुनै सेनाप्रमुख तल्लोतहकोलाई अराइरहनु भएको छ । मेरा मनमा लागिसकेको थियो— “अब मरिस् केटा ! यति नै रहेछ तेरो जिन्दगी । यसरी मरेपछि न सहिद हुन पाइस्, न गाणतन्त्रका (म यो देशको अहिलेको तन्त्रलाई गणतन्त्र भन्दिन गाणतन्त्र भन्छु) लागि सहादत गर्न पाइस् । लौ खाइस् । र्म अब र्म । बाँच्ने मन भए आत्मसमर्पण गर्, नत्र र्म !” मेरो मनले यस्तै सोचेर मैले आत्मसमर्पण गरें । टाउकोमाथि जोडेर ठाडा हात लगाएँ । मेरो स्वेटर खोल्न लगाउनुभो । मेरो जिउ खानतलास गर्नुभो । गोजीमा पर्स थियो । पर्मा भएको परिचयबाट म सेना नभएको जनाउ पाउनु भयो । पर्समा साथीहरुको परीक्षानियन्त्रण कार्यालयबाट निकालेर ल्याइदिनु भनी निकालेर ल्याइदिंदै गरेका र आफ्नो पनि गरी करीब पन्ध्रहजार जति रुपियाँ थिए । पर्स खानतलास गरेर उहाँहरुले पैसा हस्तगत गर्नु भयो । मेरो वसको टिकटलाई उहाँहरुले राम्रो पढ्नुभो । म झापा आउन लागेको कुरा उहाँहरुमा बसको टिकटबाट राम्रो गरी अवगत भो ।
अघिल्लोतिरको महाशयबाट ग्यास गिजरतिर हेरेर हुकुम भो “त्यो के हो ?” । डराई डराई मैले यथार्थ भनें ।
अनि उहाँकै डफ्फाको विशेषज्ञलाई हुकुम भो “ए, यो राम्रो चेक र्ग त । कुनै विस्फोटक ता होइन ?”
विशेषज्ञले यस्तो वस्तु नदेखेको जनाउ गर्नुभो । अनि उहाँ निकै भयभीत भएको देखिनुभो । त्यसपछि मैतिर खनिनु भो । यो उसैले खोल्छ नि, लौ यो खोलेर देखा । बन्दी कैदीलाई बाहिरबाट खाना लगिदिनेलाई पहिले चाख्न लगाएकै शैली थियो । मैले अब बाँधिएको पशु जस्तै भएर उहाँहरुले जे भन्नुहुन्थ्यो त्यही नगरे बाँच्ने आश छाडिसकेको थिएँ अघि नै । अब बाँच्ने मन भए उहाँहरुले जे भन्नुहुन्थ्यो त्यो मैले गर्नै पथ्र्यो । यसैले उहाँहरुले जे भन्नु भो म त्यही त्यही गर्दै गएँ । तर ग्यास गिजरका बारेमा उहाँहरु अनभिज्ञ नै रहनु भएको रहेछ क्यारे । त्यो बम वा विस्फोटक कुनै बस्तु हो कि भनेर निकै सशङ्कित देखिनुभएको जस्तो लाग्छ । विशेषज्ञबाट केही आश्वस्त भएपछि उहाँहरुले मेरो सम्पूर्ण शरीर छामछाम छुमछुम गर्नु भो । हातका हरेक औंला हेर्नुभो । किन यसो गरिएको हो उहाँहरुले नै जान्नु पर्ने हो । पैन्टको गोजीमा हात हाली हाली चेकजाँच गर्नुभो । चेक जाँच गरिसकेपछि उहाँले मेरो रित्तो पर्समा मेरो परिचय पत्र, बसको टिकट हाल्दै मतिर हेरेर भन्नु भो— “झापा जान लागेको रैछस्, ला यो बिस रुप्या, दिउसो यसको चिया खानु, बेलुका भात खान ता घर पुगिहाल्छस् नि । धेरै पैसा बोकेर हिंड्नु हुन्न । अचेलको जमाना खराब छ । यो तेरो झोला र यो के गिजरसिजर के हो त्यो पनि लैजा । लौ त जा है । पछाडि नहेरी अघि बढ्लास् ।”
उहाँले यति कारबाही गरिसकेपछि अघिकै जस्तो सबै सदस्यज्यूहरु एकैचोटि भेला हुनुभो । अनि सानो र मध्यम गतिको आवाजमा सबै मिलेर लगाउनुभो…………. बाद जिन्दावाद । अब यो खाली ठाउँमा उहाँहरुले के भन्नु भएको थियो म भन्दिनँ । जानिफकारलाई थाहै हुने कुरा हो । यत्रो कारबाहीको अवधिभरि पनि कारबाही स्थल वरपरका घरको एक झ्याल पनि खुलेनन् । झ्याल खुल्नु ता कता हो कता कतै कोही मान्छे बोलेन । कतै कुनै घरमा एक बत्ती पनि बलेन । म कराएकै भए पनि कुनै सहायता पाउने रहिनछु । ठिकै भएछ । धन्न मरिएनछ ।
मलाई ता बाँचेकोमा केही खुसी लागेको थियो । त्यसपछि म नौनाडी गलेर रिंगटा लाग्ला लाग्ला जस्तो जिउ लिएर अघि बढें र बडो मुस्किलसँग पुगें चोकमा । कोटेश्वरमा अग्नि वसको टिकट बेच्ने काउन्टरबाट मैले दाजुलाई फोन गरें—“दाजु म ता धन्न बाँचेर आएँ । त्यहाँ म घेराउमा परें । कन्चटमा भालाले घोचेको सानो घाउबाट रगत मात्र आउँदै छ । मार्न भने मारेनन् । बेखर्ची पो भइयो । रित्तो पारेर पर्स फिर्ता गरेका छन् ।”
दाजुलाई फोनमा यसो भन्दा नभन्दै बस आएकोले म दाजुको बाटो नहेरी कलङ्कीतिर हिंडें । पछि ट्याक्सी लिएर दाजु कलङ्की आउनु भएको थियो ।
क्रमशः जुगेडी जाम अध्याय
अर्काेअंकमा । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *