Skip to content

बृध, अशक्त र महिला


तिम्रा मौन आँखाहरू
विनम्र तर निर्बलिया
आवाजहरू
रुमलिरहेछन् तिम्रा इक्षासँग
शुन्य शब्दहरूका साथमा
काउलो खोजिरहेछन्
फूलका गुच्छा अनि उपहार माग्दैछन्
पाइला अघि घिसारेर
प्रतिउत्तर खोज्दैछन्
तर पिर नगर
बृध, अशक्त र महिलाका लागि सिट छुट्याईएका छन्

मानिसहरूको भीडमा
शिर झुकाएर
आगोसँग जस्तै
शरीर आफ्नो पन्छाएर
सँगै:
हुलै बीच पनि
एक्लै ठानेर
हात खोज्दैछन्
तिमी भित्रका स्त्रीत्वहरू
पुरुषसँगै दाझने
अनेक भोगाइहरू
अनुहारमा उज्यालो घसेर
कुम थोरै खुम्चाएर
समाइदिने बाहु खोज्दैछन्
तर पिर नगर
बृध, अशक्त र महिलाका लागि सिट छुट्याईएका छन्

तिमीमा भएका आत्मबल अनि
अडिगता अंगालेर
उडिरहेको परेवालाई
समाएर
उडाएर
शान्ति खोज्दैछन्
तिम्रा अस्थिर मन अनि
सोचाइहरू
भूगोल जस्तै असमान तिम्रा
अनेक बोलीहरू
स्वर थोरै खोलेर
जीव्रो थोरै टोकेर
स्वीकृति खोज्दैछन्
पिर किन गर्छौ
बृध, अशक्त र महिलाका लागि सिट छुट्याईएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *