”छक्का……”
लालिगुराँश होटल को दोस्रो तल्लामा छक्का भनेको आवाज तल भुइसम्म सुनिदै छ !
‘यि थरी बालाई जुवा खेल्न तिहार आउनु परेन, फेरि कहिल्यै हार्दैनन बुडा बरदान नै पाएका छन जुवामा ‘
सन्तोशले मतिर हेर्दै भन्यो,
‘पैसावालाले खेल्छन नि चुपो लागेर समोसा खा न’ मैले सुझाएँ
खाल उठेछ बुढा र अरु चार पाँच जना खुत्रुक खुत्रुक भर्याङबाट ओर्लिए । हामीलाई देखेर ” ए तिमीहरू पनि खाजा खान आएका ? ” भने
मैले अँ हजुर्बा भने -होटलको साहुलाई बोलाएर यी केटाले के के खान्छन दिनु र मेरा खातामा लेख्दिनु भनेर उनी बाहिर निस्किए । हामीले फेरि खुसी हुदै दुई दुई वटा समोसा र दुध हालेको चिया पनि मागरे खायौ र घरतिर लाग्यौ ।

गाउका पुराना थरी सबैले मानेगुनेका थिए हरिबोल बाजे !
थरी बा भनेपछि सात गाउँसम्म पहिचान बनाएका थिए !
ऊ जमानाका थरी भएकाले जग्गा जमिन को कमि थिएन । तिनधुरे झिगटी घर र चापट ढुङ्गा छापेको आँगन अनि बगैँचा र केही कामगर्ने मान्छे हेर्दा अहिलेका मन्त्री को जस्तो रबाफ थियो । सधैँ जसो दौरासुरुवाल कोटमा मुठे जुगा र पित्तल बेरेको बाङ्गे लौरो लिएर जुवा खेल्न मेरो घर छेवैको मुलबाटोबाट उकालो चढ्थे । मेरा बुवा सधैँ गोबर सोहोर्नु हुन्थ्यो बारी खन जोत गर्नु हुन्थ्यो अजँग को घाँसको भारी बोक्नु हुन्थ्यो । हामीलाई पनि सँगसँगै काम लाउनु हुन्थ्यो । कहीं जानु परे बुबाको त्यै एउटा ‘जुजुमान’ कोट थियो बिहेमा सिलाएको, आईरनको अनुहार नदेखेको । कलरमा मयल परेर कोटको असली रँग के हो ठम्याउन हम्मे पर्थ्यो । म अचम्ममा पर्थें सधैँ काम गर्नेहरू चाहि धुलोमैलो भएर हिड्नु पर्ने जुवा खेलेर एेस आराम गर्नेहरू चाहि सुकिला मुकिला भएर हिड्न पाउने ? मेरो बुवा भन्नु हुन्थ्यो ” सत्यको धन मात्र हराउदैन, अर्कालाई दुख दिएर लुटेर जोडेको सम्पति एक दिन खरानी हुन्छ ”

कसैले गाउमा खसी काट्यो भने उनलाई घर मै पुर्याइदिनु पर्थ्यो । उनको रवाफ सान सौकत अहिलेसम्म उस्तै थियो ।
छोराहरू पनि ठुल ठुला भैसकेका थिए ‘जेठो विश्वमित्रेले त नेपाल पढिसको अरे’ भनेर गफ गर्थे गाउका बुज्रुकहरू ! उनीहरू सहर तिरै बस्थे बिहे गरेर ।
दिनहरू बित्दै गए थरी बा को बास नै लालीगुराँसमा हुन थालेको थ्यो सधैँ जसो जुवा चल्थ्यो अलैची साहुहरूसँग ।
बिस्तारै सुनिन थाल्यो थरी बाले खोक्लिङ को दुई मुरी बिउको खेत हारे अरे । फेरि सुनियो पिपु को सिम खेत पनि जुवामा हारे अरे ।
केही दिन चकमन्न भयो बुढा उकालो लागेको वा ओरालो झरेको देखिएनन् । १०- १५ दिन पछि फेरि सुनियो मधेश को दुई बिगाहा खेत नै जुवामा हारे रे ।
कसैले त्यति ध्यान पूर्वक लिदैनथे किनकि उनको हारमार भै नै रहन्थ्यो ।
तर यो पटक उनले मार्न सकेनन हारेको हार्यै भए । हुदा हुदा घरमा पालेका हल गोरु दुहुना भैसी र केही खसी समेत हारे भनेर सुनियो ।
फेरि लौ थरी बाले त घरबारी पनि हारे अरे भनेर एका एक हावा झै हल्ला फैलियो ।
दसैको मुखमा थरी सुकुम्बासी भए । समाज भेला भयो उनलाई तीन दिनमा घर खालि गर भन्दै काँटे साहूले भाका राख्यो । सधैँ ठाडो रहने हरिबोल बा को शिर आज चुक घोप्ट्याएको अनुहार लिएर बसेका थिए । गहनाले झिरिझट्ट भएर हिड्ने उनकी पत्नी आज पछ्यौराले ढाकिएर अनुहार मात्रै देखाएर बसेकी थिइन । नाकमा एउटा फुली पनि नदेख्दा उनी नै हुन भनेर छुट्याउन पनि हम्मे थियो ।
आखीर उनलाई घरबाट निकालियो र बास बस्न बर्खामा भैसी सार्न बनाईएको कटेरो उनलाई दिलायो समाजले ।
हिजो निहुरेर नमस्कार गर्ने गाउलेहरू मुन्टो बटारेर हिड्न थाले । पहिले उनी आउना साथ घरमा चिनी छैन भने आमा मलाई पल्लोघरमा पैँचो लिन दगुर्याउनु हुन्थ्यो थरीलाई चिया खुवाउन । आज उनी आए भने बस्नलाई पिरासम्म पनि पाउदैनन् कहिलेकाहीं । हिजो सार्हो गार्हो पर्दा तिनै थरीलाई गुहार्न पुग्ने गाउले आज उन्लाई १० पैसा रिण दिन पनि तयार छैनन् । साईला दाइ कोमा खसि काट्ने भने र म मासु लिन गएको, भीडमा आवाज आउदैथ्यो ” छिटो छिटो भाग हान है केटा हो अहिले थरी बुढो आईपुग्छ ”

मङसिरे चटारो सकेर म मुढे बजार गएको थिएँ । घाम ढल्किनै लागेको थियो खाजा खाएर घर झर्ने सोचेर म होटलतिर लागेँ । मलाई असाध्यै मन पर्ने समोसा त्यै लालीगुराँस होटल को ।
होटलमा भीड जम्मा भएको थियो बिचमा कसैको धिमा आवाज आउदैथ्यो
” जाबो १० रुपियाँको पुरी तर्कारी पनि बाँकी नदिने ?”
होटल साहु को कडा आवाज आउदैथ्यो ‘ केले तिर्छौ र दिनु तिम्लाई बाँकी ? पहिले पैसा देऊ अनि खाऊ ‘
भीडलाई चिरेर बिचमा पुगेँ अरु कोही नभएर ती नै चिर परिचित थरी बा हरीबोल रहेछन !

#शिक्षा – सकुनी को हातमा पर्यो भने कुबेरको भण्डार पनि रित्तिन्छ
– अक्सर मानिशहरू पैसालाई सम्मान गर्छन नकी व्यक्तिलाई ।

तोयानाथ पौडेल
सँखुवासभा
हाल – मरुभूमिको छातीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *