यामडाँडाको छहरीमा,
आफ्नो पसिनालाई,
माटोमा मुछेर ठाडाएको,
सानो झुपडीभित्र,
अँझै पनि,
जेठी हजुर आमा,
जाँतो पिनिरहेकी छिन।
ऊ सोच्छे,
‘जिन्दगी भनेकै जाँतो रहेछ।’
जाँतो जस्तै,
समयको ईशारमा पिनिनु पर्दो रहेछ,
जसरी म,
पिनिरहेछु जाँतो।
म जाँतो पिन्छु,
समय मलाई पिनिरहेछ,
म आफूले चाहे जस्तै,
उल्टो सुल्टो जता पनि घुमाउछु,
समय,
आफूलाई चाहै जस्तै,
मलाई उल्टो पाल्टो घुमाइरहेछ,
फरक यतिरहेछ,
धेरै पिनेपछि,
जाँतोमा धार सिद्धिन्छ,
मान्छेको धार,
निखारिदो रहेछ,
तिखारिदो रहेछ।
जाँतोलाई,
धेरै थरिका अन्न पिन्नु परे जस्तै,
मान्छेले पनि पिन्नु पर्दो रहेछ,
जाँतो भित्र अन्न सिधिन्छ,
म ओईरा हाल्छु,
समय मलाई,
ओईरो हालिरहेछ,
जिन्दगी भन्नु नै जाँतो रहेछ।
जसरी ओईरालाई,
जाँतो नाई भन्दैन,
मैले पनि भनेको नै कहाँ छु र?
गरिबी हटाउन,
बन्दुक बोकेर,
जँगल पसको छोरा नफर्कदा,
मैले किन नफर्केको भनेको छु र?
ईराक छिरेको छोरा नफर्कदा,
मैले मायाँ मारेछ भनेको छु र?
हलोक्रान्तिमा गोलि लागेको छोरा नब्यूँझिँदा,
मैले मरेछ भनेको छु र?
पुतली जस्तो मेरो शरिर
कुक्राई दिँदा,
के मैले किन गरिस् भनेको छु र?
मैले पनि सबै ओईराहरूलाई,
स्वीकारेकै छु नी।
जसरी जाँतोले स्वीकार्छ।
म जाँतो पिन्छु,
समय मलाई पिन्छ,
यो जाँतो र ममा,
फरक नै के छ र?
त्यसैले त,
म भन्छु,
म जाँतो हुँ।
जाँतो म हो।