दिन त त्यति रमाइलो त होइन । म प्राज्ञिक जीवनका लागि अलिकति खुराक बटुल्न कर्कश काठमाडौँ सहरका गल्लीहरू छिचोलिरहेको थिए । बस पर्खने र ग्राहक खोज्नेहरूको भीड पन्छाउँदै म जामे मस्जिदबाट भोटाहिटी हुइँकिने क्रममा कलेज ड्रेसमै अँगालो मार्दै अश्लीहर्कत गर्दे गरेको एकजोडी महानगर प्रहरीको फन्दामा परिसकेको देखेँ । फुटपाथे व्यापारी र महानगरीय प्रहरीहरूको लुकाछिपी खेल पनि रमाइलै थियो ।
भीडम्भीडको सडकमा सबै भागाभाग गरिरहेको यो तथाकथित व्यस्त सहरमा मैले महांनगरका यी प्रहरीहरू चाहिँ बैशाख महिनाको टन्टलापुर घामको न्यानो लिइरहेको पाए । पसलेहरू ग्राहकलाई कुर्दै, ग्राहकहरू पसलेलाई खोज्दै, जागिरेहरू जागिर बचाउँदै, बेरोजगारीहरू जागिर खोज्दै, विद्यार्थीहरू कलेज बङ्क गर्दै र शिक्षकहरू लाजमार्दै, नगर वरहरू वधुखोज्दै र नगर बधुहरू आफ्नो व्यावसायिक धर्म निभाउदै सबै आआफ्ना काममा भ्याई नभ्याई व्यस्तथिए ।
मायावी अभ्यस्त सहरका राशलीला पन्छाउदै म अगाडि बढ्नै खोज्दा भोटाहिटीको ढोकैमा असनको विशाल साँढे निर्धक्क विराजमान थियो । मैले उसलाई देखेँ । उसले मलाई देख्यो । भीमकाय थियो –ऊ । ज्याङ्ग्रो, उन्मुक्त र विन्दास थियो –ऊ । यत्रो विशाल सहरमा ऊ मात्रै आनन्दित र फुर्सदिलो देखिन्थ्यो । विधिको विडम्बना मान्नु पर्छ मानिस सुखको लागि दगुर्दादगुर्दै आफ्नै दुखी जीवनको नै अन्त्येष्टि गर्छ टोल्सटायको कथाको पात्रझैँ । सुखको खोजीमा कहिल्यै नभौतारिएको साँढे सग्लो जिन्दगी ढुक्कसँग बिताउँछ । मान्छेहरूले पुज्ने पशुकापतिनाथको कृपाले नै होला पशुहरूको जिन्दगी मानिसहरूको भन्दाउच्च, आनन्दित र स्वच्छन्द भएको ।
खैर ! सहरमा नमस्ते गर्दागर्दा थाकिसकेका मेरा हातहरू अनायासै असनको महान् साँढेलाई भोटाहिटीमा नमस्ते गर्न पुगेछन् । सायद गल्तीले भएपनि यो एउटा निःस्वार्थ नमस्ते थियो । एक सम्मानित नमस्ते थियो । जागीरका लागि गरिएका नमस्ते, व्यापारका लागि गरिएका नमस्ते, नाफाका लागि गरिएका नमस्ते, लोभका लागि गरएका नमस्तेभन्दा यो कहाँकहाँ महान् र उच्च थियो । सायद् यही बुझेर नै होला असनको साँढेले पनि कर्के नजर मतिर फ्याँक्दै ङिच्चदात देखाउँदै मुसुक्क मुस्कुरायो । प्रत्युत्तरमा म पनि मुस्कुराए । मलाई यो भीमकाय साँढेप्रति एक किसिमको श्रद्धा जाग्यो । त्योभन्दा बढी ईष्र्या । निर्धक्क छ –ऊ । मलाई मेरो देशको चिन्ताले दिनप्रतिदिन रोगी र कमजोर बनाउदै लगिरहेको छ । पुष्पकमल दाहाल उर्फ प्रचण्डलाईभन्दा बढी मलाई यो देश र जनताको चिन्ता छ । साँढेलाई यसको कुनै बाल मतलबै छैन । अनिकालको यो जिन्दगीमा उसलाई सुगर र ब्लडप्रेसरको औषधी खानु परेको छैन । मनमौजी छ –ऊ ।
समाजका सीमारेखाले उसलाई बाँधेको छैन, राज्यका नीतिले उसलाई घेरेको छैन, नैतिकताको बारले उसलाई कैदी बनाएको छैन । कहीँ कति न्यायालयमा गएर आफू निर्दोष भएको पुष्टि गरिरहनु परेको छैन । पूर्व युवराज पारसभन्दा बढी ढुक्क छ –ऊ । काही कसैप्रति रिसराग, लोभ, लालच छैन । तथाकथित लाज र डरको विरासतबाट पनि ऊ मुक्त छ । आदिमकालको साधुझैँ निष्कपट र निष्फिक्री छ । हिजोकोमापश्चाताप छैन, भोलिकोमा चिन्ता छैन र आजकोमा ग्लानि पनि छैन । ऊ सबै वाद र विचारबाट मुक्त छ । ऊ कसैको तथाकथित सिद्धान्तको दास पनि छैन । सायद् उसको मुस्कुराहट हृदयबाटै साँचो थियो, निस्वार्थ थियो, अनि मेरो लागि व्यङ्गात्मक पनि । मानिस भएर साँढेको जत्तिको पनि जिन्दगी बाँच्न नसक्ने ! नाथे मानिसलाई संसारको सत्र्बोकृष्ट प्राणी के भनिरहनु ?
हुन त मानिसले आफैँले आफैँलाई संसारको सत्र्वोकृष्ट प्राणी भनिदिएको हो । मपाइँत्व छाँटी दिएको मात्र हो । अरू कसैले सम्मानित गरेर दिएको पदवी भने यो होइन । मानिस नै हो आफनो अनिकालको जिन्दगीलाई झन् महाकाल बनाइदिने ! समयको अनिकाल, सम्पत्तीको अनिकाल, खुसीको अनिकाल, आनन्दको अनिकाल, क्षमताको अनिकाल, सम्मानको अनिकाल, मानवीयताको अनिकाल, कानूनी राजको अनिकाल, विधि विधानको अनिकाल, इमान्दारिताको अनिकाल । स्वतन्त्र जिन्दगीको अनिकाल र स्वाभीमानी जिन्दगीको अनिकाल । अनिकाल भित्रको बन्दी जिन्दगी । अनिकाल भित्रको महाकाल ।
म असनको साँढेलाई पुनः मनैदेखि नमस्ते गरी घरतिर नै प्रस्थान गरेँ । अनिकालको जिन्दगीमा केको किताब किनेर अनिकालको समयको पनि सत्यानास गरूँ ? फेसबुकलाई बजारीय बुकले प्रस्तिथापन नगरौं कि ? अनिकालको जिन्दगी बाँच्न सक्नेहरूलाई हृदय भित्रैदेखि सहानुभूति, नसक्नेहरूलाई श्रद्धाञ्जली । तथास्तु ।
।।समाप्त।।
नरेन्द्रराज पनेरू
