गुरु ब्रह्मा गुरु विष्णु: गुरु: देवो महेश्वर
गुरु साक्षात् परं: ब्रह्म तस्मै श्रीगुरवे नम: ।
बेलुकी फेसबुक खोल्नेबित्तिकै मेरा आँखा फेसबुकका भित्तामा परे । मन खल्लो भएर आयो । मेरा प्रेरक व्यक्तित्वआदरणीय गुरु पुरुषेत्तम यादव नोबेल अस्पतालमा हुनुहुँदोरहेछ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिएका अनगिन्ती शुभकामनाहरू प्रोफाइलभरि थिए । कमेन्ट बक्स खोलेँ । जसले मलाई जीवनहेर्न सक्ने आँखा, बुझ्न सक्ने चेतना दियो, त्यस्ता गुरुको स्वाथ्यलाभको कामना गर्दै मैले पनिशुभकामना सन्देश छोडेँ ।
मैले उहाँलाई चिनेदेखि नै उहाँ धेरथोर बिरामी भइरहनुहुन्थ्यो । एकपटक धेरै दिनसम्म अस्पतालको शिरानीलाई आमाको काख बनाएर बस्नुभएको मेरो संझनामा छ । । मैले धेरैपटक कारण बुझ्ने कोसिस गरेँ तर सकिन । संयोग नै मान्नुपर्छ, एकपटक भने ट्युशन पढ्ने क्रममा उहाँको डाक्टरी रिपोर्ट हेर्न पाएको थिएँ । पाचन प्रणालीको खराबीका कारण उहाँ बिरामी भैरहनु हुँदोरहेछ भन्ने कुरा मेरो सानो मष्तिष्कमा बसेको थियो । विज्ञान र प्रविधिको युगमा यो समस्या धेरै ठूलो हो जस्तो मलाई लागेन । अधिकांश समय गुरुकै विषयमा सोच्दासोच्दै यस दिनको दैनिकी सिद्धियो ।
अर्को दिन बिहान सबेरै उठेर पुन: फेसबुक खोलेँ । यसपटक भने म साँच्चिकै निराश भएँ ।‘सायद स्वर्गमा राम्रो मानिसको खाँचो छ’ फेसबुक सन्देशवाहकको सन्देश यस्तै थियो । विचलित मनले धैर्य गर्न सकेन । हतार हतारमा फोन गरेँ ।
मिरमिरे उज्यालोमा पनि मलाई औँशीको अनुभूति हुन थाल्यो, आँखा रसाउन थाले । विद्यार्थी जीवनमा हामीले धेरै शिक्षकलाई भेट्छौँ, घुममिल गर्छौं रसामीप्यता पनि बढाउँछौँ ।जससँग हाम्रो सामीप्यता र घनिष्टता बढ्छ त्यसैलाई प्रेरक गुरुका रूपमा स्वीकार गर्छौं । यो विद्यार्थीको स्वभावजन्य मनोविज्ञान हो । गुरु पुरुषोत्तम यादवप्रति मेरो यस्तै मोह र आकर्षण थियो ।
संस्कृतका दुई अक्षर ‘गु’ को अर्थ अँध्यारो र ‘रु’ को अर्थ प्रकाश अर्थात् अन्धकाररूपी अज्ञानलाई हटाएर ज्ञानरूपी प्रकाश छर्नेमहान् व्यक्ति गुरु । शिक्षा क्षेत्रमा समर्पित हुने र शिक्षासेवीभनेर चिनिन चाहने व्यक्ति समाजमा धेरै होलान् तर निष्ठा र इमान्दारिता पूर्वक विद्यार्थीको मनोविज्ञानभित्र पसेर कठिनलाई सरल बनाई सिकाउने गुरुहरू यथार्थमा कमै हुन्छन् । वास्तवमा त्यो महान् गुरु हो जस्ले विद्यार्थीको मनोविज्ञान बुझेर शिक्षा प्रदान गर्छ र विद्यार्थीको शिक्षित र समृद्ध जीवनप्रति गर्व गर्छ । मैले आदरणीय गुरुलाई यही रूपमा पाएको थिएँ । सबैले स्वीकार गर्न सक्ने निष्ठावान् गुरुको खाँचो परिरहेको समयमा जब पुरुषोत्तम गुरुको आगमन भएको थियो तब हामी सबैले एककिसिमको नि:स्वास लिएका थियौँ, लिटल फ्लावर उच्च मा. वि. राजविराज, सप्तरीका परिवारले उहाँको आगमनमा सभक्ति, सविश्वास स्वागत गरेको थियो ।
हिलोमा फुल्ने भएको हुनाले नै कमलको महत्व बढेका हो भनिन्छ । असन्तोष, अभाव र आवश्यकताका बिच आउनुभएका गुरुका अगाडि धेरै चुनौती थिए । तर प्रतिभाशाली उहाँले पहिलो भेटमै ठूलो छवि छोड्नुभयो । यही प्रभावकै कारण कलिलो उमेरमै विज्ञान शिक्षकका रूपमा उहाँ नियुक्त हुनुभयो ।
मेरो विद्यार्थी यात्राका क्रममा अहिलेसम्म धेरै गुरुहरू आउनुभयो, पढाउनुभयो, सिकाउनुभयो तर पुरुषोत्तम गुरुको शैक्षिक व्यक्तित्व, सिकाउने शैली र क्रियाकलापले सबैलाई आकर्षित गर्यो । उहाँकै कारण विद्यालयमा विद्यार्थी भर्नाको चाप बढ्न थाल्यो, घरमा ट्युशन पढ्न चाहनेहरूको घुइँचो लाग्न थाल्यो । विद्यार्थीहरूमा सिकाइमुखी प्रवृत्तिको विकास हुन थाल्यो, सकारात्मक सोच विकसित हुन थाल्यो । भिन्न पढाउने शैलीका कारण उहाँमा कलिलो उमेरमा नै परिपक्वता आइसकेको थियो ।व्यक्तिगत रूपमा म उहाँको व्यक्तित्व र व्यवहारप्रति अति नै आकर्षित हुँदै गएँ ।
गुरु पुरुषोत्तम यादवको व्यक्तित्व निर्माणमा उहाँका मामा जीवछ यादव (मा.वि. शिक्षक, अङ्ग्रेजी, मानराजा) को ठूलो योगदान रहेको छ जसले विगत १२ वर्षदेखि भरणपोषण र लालनपालन गरेर संसारसँग जुध्न सिकाउनुभयो उहाँलाई । शिक्षण पेसा, त्यसै पनि चुनौतीपूर्ण पेसा हो । एउटा बाल्टिनबाट अर्कोमा पानी खन्याउँदाको अवस्थाभन्दा एउटा मानसपटलबाट हजारौँ विद्यार्थीको मानसपटलमा खन्याउनु धेरै कठिन हुन्छ । बालुवामा पानी पोखेसरि खेर गइरहेको शैक्षिक लगानीका बीचमा पुरुषोत्त यादव एउटा यस्ता उदाहरण हुनुहुन्थ्यो जसले आफ्नो जागिरलाई धर्म र सेवाका रूपमा रुपान्तरित गर्नुभयो । विद्यार्थीलाई जहिले पनि परीक्षामा राम्रो अङ्क ल्याउनुभन्दा असल, कर्तव्यशील, लगनशील र विवेकी मानिस बन्न प्रेरित गर्नुभयो । शिक्षित मूर्ख बन्नुभन्दा विद्वान् मूर्ख बन्नु बेस भन्ने सिद्धान्तबाट उहाँ निर्देशित हुनुहुन्थ्यो ।उहाँ हरेक शीर्षकलाई हाम्रो दैनिकीसँग जोडेर दीर्घकालीन समयसम्म याद होस् भनी पढाउनुहुन्थ्यो ।
शिक्षा कमाई गर्ने व्यापारको रूपमा मौलाउँदै गएको वर्तमान सन्दर्भमायसलाई सेवाकै रूपमा स्थापित गर्नसहज अवश्य थिएन । त्यो पनि तराईको माहोल जहाँको समुदायमा अँझै पनि सङ्कीर्णताको पर्खाल भत्किन सकेको छैन, त्यस्तो माहोलमा जन्मेहुर्केको भए पनि उहाँको सोच र विचार विशाल र व्यापक थियो, उदार र प्रगतिशील थियो ।उहाँलाईयस्तो महामानव बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो पुजनीय बुबा जीवद यादव र आमा रासमनी यादवले ।
मध्यमवर्गाीय परिवारमा जन्मिएका उहाँले विद्यार्थीको समस्या बुझ्नुहुन्थ्यो र महिनौँ बितिसक्दा पनि कहिल्यै पैसाको ताकेता गर्नु हुन्नथ्यो ।विद्यार्थीलाई ट्युशन नपढ्न उत्प्रेरित गर्ने उहाँ विद्यालयको थोरै समयमा पनि किताबी शिक्षाभन्दा विज्ञानको प्रयोगात्मक क्रियाकलापमा राख्नुहुन्थ्यो । उहाँ विद्यार्थीलाई सफलभन्दा पनि असल बनाउन प्रेरित गर्नुहुन्थ्यो, कुलमा असल, नातामा असल, व्यवहारमा असल र कार्यमा असल बनाउन उहाँ क्रियाशील हुनुहुन्थ्यो ।
पाठ्यक्रममा नभएको कुराकोउत्तर दिन पाउँदा झन् प्रफुल्ल हुने पुरुषोत्तम गुरु अध्ययन, अनुसन्धान, खोज र प्रयोगमा बढी ध्यान दिनुहुन्थ्यो ।निरन्तरको व्यवस्तताले मानिसलाई कर्तव्यच्यूत हुनबाट बचाउँछ भन्ने उहाँको सिद्धान्त थियो । शिक्षा मानिसको आवश्यकता हो तर त्योभन्दा बढी आवश्यकता उसको सोच, विचार, व्यवहार र कार्यशैली हो भन्ने उहाँको दृष्टिकोण थियो । सायद यी सबै गुणहरूले उहाँ विद्यार्थीहरूको गुरु, अभिभावक, साथी सबै बन्नुभयो, सबैका प्रिय र आदरणीय बन्नुभयो, समस्त विद्यार्थीहरूका लागि उर्जा र प्रेरणा बन्नुभयो ।
सदैव विद्यार्थीको मनमा बसिरहने देवता समान उहाँमा ठूलो स्वास्थ्य समस्या थियो । सामाजिक सञ्जाल र टेलिफोन वार्तालापका क्रममा उहाँले सधैँ एउटै कुरा भन्नुहुन्थ्यो, ‘मैले धेरैको माया पाएको छु र ती सबका अगाडि यी समस्या केही होइनन् । म चाँडै निको हुन्छु ।’
तर उहाँको यो चाहना अधूरो रह्यो। २०७२ साल श्रावण ७ गते बिहीबार साँझ ६:४० बजेको अनिष्ट समयले उहाँलाई बलजफ्ती निमोठेर लग्यो ।हजारौँ शुभेच्छुकहरूको करूण पुकारलाई पनि निर्दयी कालले सुनेन । एउटा महामानवको एउटा सिङ्गो इतिहासको अन्त्य भयो ।
मेरो उहाँसँगको अन्तिम भेट सामाजिक सञ्जाल फेसबुकमै एक महिना अगाडि भएको थियो । त्यस समयउहाँ उपचारका लागि भारतको दिल्लीमा हुनुहुन्थ्यो । उहाँले आफू चाँडै निको हुने आश्वासन दिनुका साथै मलाई ११ को परीक्षाको लागि अग्रिम शुभकामना दिनुभएको थियो । दसैँमा भेटेर गुरुको आशीर्वाद लिने इच्छा मैले पालेको थिएँ तर त्यो पनि मनमै रह्यो ।
उहाँको स्वर्गारोहण समान्य मानिसको जस्तो सरल थिएन र यसको पीडा केवल घरपरिवारमा मात्रै पनि सीमित थिएन । उहाँको योगदानले एउटा विशाल धर्ती ओगटेको थियो । उहाँको वियोगमा मोहवा विल्ही २का गाउँलेहरू धरधरी रोए, उहाँका शिष्यहरूले भक्कानो छोडे, उहाँले वर्षौंदेखि सेवा गरेको विद्यालयको रुँदारुदै आँसु सुक्यो, उहाँको परिवार, साथीभाइ, इष्टमित्र कहालीए । मृत्यु कसैको पनि सहज हुँदैन तर जसको मृत्युमा पूरै धरती शोकले व्याकुल हुन्छिन्, समस्त मानवका आँखा रसाउँछन् भने त्यो मृत्यु चाहिँ अवश्य सहज हो । किनभने त्यही मृत्युमा उसको बचाइ जीवन्त हुन्छ,मृत्यु सम्मानित र स्मरणीय बन्दछ ।
अर्को दिन चितामा चढाइएको भान्जालाई बिदाइ गर्न नसकेर अर्धचेत अवस्थामा हुनुहुन्थ्यो मामा, जीवछ यादव । सधैँ औँला समातेर हिँड्न सिकाएको छोराले गरेको प्रगति देखेर वृद्ध पिता आँसुका तरेलीहरू भिजाउँदै झोक्राएर बसिरहनु भएको थियो । छोरालाई ९ महिनासम्म गर्भमा राखेर जन्माएको सुपुत्रको स्वर्गारोहणको पीडाले आमा बेहोस हुनुहुन्थ्यो । रुवावासीकै बीचमा उहाँका प्रिय भाइ हरिबोल ओइलिएर झेरेको फूल सरह मौन थिए । अन्तिम बिदाइ स्थलमा उपस्थित उहाँका आत्मीय मित्रहरूशिर झुकाएर अश्रुधारा पुछ्दै थिए । सुनेको थिएँ, धेरैले माया गर्ने राम्रो मान्छे ईश्वरका प्यारा हुन्छन् रे । सायद यही सत्यताभित्र उहाँ पनि पर्नुभयो र छोटो उमेरमै विलीन हुनुभयो । सम्पूर्ण अवशेष बलान नदीलाई सुम्पेर फर्किए मलामीका ताँतीहरू ।
दम्भ थियो त्यो दिन मानिसको ठूलो लाम थियो
मलामीको लामो ताँती मुखमा राम राम थियो
पोष्टमार्टम गरिएपछि थाहा भयो
उनको मुटुमा काल बनेको ठूलो दाग थियो ।
विगतका वर्षहरूमाझैँ गुरुपूर्णिमाका दिन उहाँबाट आशीर्वाद लिने अवसर त दैवले खोसेर लग्यो तर उहाँप्रतिकोश्रद्धा, माया, प्रेमको भावना अँझै जीवन्त छ उहाँका हजारौँ शिष्यहरूमा । उहाँ भौतिक रूपमा यस धर्तीबाट अस्त भए पनि विज्ञानको आकाशमा एक नक्षत्र बनी सदासर्वदा चम्किरहनु हुनेछ । विज्ञानको प्रगति पथमा चाल्ने हरेक पाइलामा उहाँको दिवङ्गत आत्मा खुसीले फुल्ने छ । त्यतिखेर आफ्नाले गरेको कर्तव्य र आफ्नाको योगदान संझेर जीवित आफन्ती आत्माहरू मुस्कुराउनेछन्, गर्व गर्नेछन् । हामी शिष्यहरू जसले उहाँबाट शिक्षाको उज्यालो पायौँ, प्रेरणा पायौँ जीवन बाँच्न सक्ने आँट र साहस बटुल्यौँ, हामी उहाँको सिद्धान्त, शिक्षा, योगदान खेर जान दिने छैनौ । यदि पुनर्जन्म निश्चित छ भने अर्को जन्ममा उहाँलाई नै गुरुको रूपमा पाउनेछौँ । हार्दिक श्रद्धाञ्जली पुजनीय गुरु स्वर्गीय पुरुषोत्तम यादवप्रति ।
खुसी सबै आफू राखी पीर पढाइदिइस्
मेरो मात्रै यस्तो दु:ख तकदिर पठाइदिइस्
फेरि पनि मानेकै थिएँपूजा गर्थें सधैँ
तर आज शोक, व्यथा पीडा बढाइदिइस् ।
समादरणीय गुरु स्वर्गीय पुरुषोत्तम यादवको चिरस्मरणमा, शिष्य रोशन कुमार यादवको संस्मरण श्रद्धाञ्जली,
एस. ओ.एस. इर्मन माइनर उ.मा.वि. ।
सानोठिमी, भक्तपुर ।
