Skip to content

मातृचिन्ता

उसका पिताको ता निकै अघि निधन भइसकेको थियो माताजी मात्र हुनुहुन्थ्यो त्यो पनि लगभग अपाहिज जस्तो । यसैले उसलाई माताजीको सेवा सुश्रूषामा निकै समस्या हुने गरेको थियो । ख्वाइप्याइ, सरसफाइ, दिसापिसाप आदि गराउनु पथ्र्याे । यसैले उसको परिवारमा आमा निकै तनाव दिने विषय बन्नु भएको थियो । निकै पटक वृद्धाश्रममा लाने योजना पनि नगरेको होइन तर किन हो उसले यसो गरिरहेको थिएन । आमाको रेखदेख गर्नका लगि उसकी श्रीमती ता थिइन् तर तिनको सानो काखे नानी थियो यसैले उनले आमाको सेवामा समय दिन धेरै पाउन्नथिन् ।
बजारबाट घर मात्र आइपुग्दै थियो अचानक भूकम्पलको कडा धक्काको अनुभव भयो । घरको बाहिर तरकारी केलाइरहेकी उसकी पत्नीले बाहिरैबाट कराइन्- “आउनुहोस् भूइँचालो आयो । चाँडो बाहिर आउनुहोस् !”
कोठामा गएर ऊ लुगा फेर्दै थियो उसलाई भूकम्प आएको थाहै भएन । यसै बिच उसकी पत्नी बडो हतारसँग भित्र गएर उसको हात समाएर बाहिर तानिन् र सुरक्षित स्थानतिर लगिन् । छरछिमेकीहरुको हल्लाखल्ला भयो । वातारण त्रासमय भइरहेको थियो । सबै भयभीत थिए । उसको घरको पनि केही नोक्सानी भएको बुझिन्थ्यो ।
उसले सोच्यो- “लौ खा ! आमा ता घरभित्रै छिन् ।” अनि सायद भूकम्पले आमा रुपी समस्याको समाधान गरिदेला, कसैले संका गर्ने कुरा पनि भएन भन्ने सोच्यो र थाहा पाए पनि नपाएझैं गर्यो । आमालाई बचाउने कुनै उपाय गरेन । डराएर कामेझैं मात्र गरिरह्यो । उसकी पत्नी ता स्वाभाविक रुपमै थरहरी गरेर कामी रहेकी थिइन् । तिनको सम्झने बिर्सने कुनै ठेगानै थिएन । भूकम्प थामिन थामिन लागेको बेला बल्ल उसकी श्रीमतीलाई होस आयो उनको काखे नानी ता घर भित्रै पो रहेछ ।
“लौ न नि…… म ता के भएकी ? छोरालाई बचाउनु होस् ! हे भगवान लौ न नि !! मैले ता घरभित्रै छोरालाई कोक्रोमा सुताइराखेकी थिएँ । हे भगवान् । मेरो बाबु । मेरो राजा !!”
भू्कम्प केही थामिएको कारण बाबुचाहिं हतारिंदै र जोगिंदै घरभित्र पस्यो, रुँदै कराउँदै उसकी श्रीमती पनि डराइडराई छोरो सकुशल होस् भन्ने आशा मनभरि बोकेर उसका पछिपछि घरभित्र पसिन् । घरमा कोक्रोमा एक खम्बा खसेर कोक्रो किचिएको रहेछ । बच्चो जीवित हुने आशै देखिएन । अनि ता तिनको सातो यसै उड्यो, होस गुम भयो । डाँको छाडेर रुन थालिन् ।
एकै छिनपछि उनीहरुले देखे घरको एक कुनामा सुरक्षित रुपमा हजुरआमाका साथ बच्चो ता खेलि पो रहेको रहेछ ।
“तिमीहरु कोही थिएनौं । कोक्रोबाट कसै गरी मैले नानीलाई लिएर यो कुनामा सुरक्षित ठाउँसम्म आएर बसेकी छु । मैले अलिक मौकैमा होस नपुर्याएको भए हे भगवान मेरो नातिलाई आज यो खम्बाले………..!” यसो भन्दै बच्चोलाई उनले गहिरो म्वाइँ खाइन् ।
बच्चो भने हजुरअामाकाे काखमा खुट्टा ट्कारी फट्कारी खेलिरहेकाे रहेछ । त्यसका आमाबाबु भने हेरेको हेरेकै भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *