Skip to content

ज्यालादारी


साधारण गाउँले अपठित किसानहरू अँझै पनि उनलाई बिरस्पति पन्चपर्धान भन्छन् तर उनको नाम बृहस्पति हो । पन्चपर्धानबाट बुझिन्छ उनी ऊ बेलाका प्रधान पञ्च थिए । पञ्चायतको पछिल्लो चरणमा उनी आफ्नो गापंमा निरन्तर पन्ध्रवर्ष प्रधानपन्च भएपछि उनी राजनीति फेरियो अनि उनी पनि फेरिएर अध्यक्ष भए गाविसका । देशको स्थानीय तहको चुनाब हुन छाडेपछि उनी गल्ला व्यापारमा लागेका थिए । पाँचै वर्षमा गल्लाव्यापार फस्टाएर उनी साहू बृहस्पति माजनका रुपमा रुपान्तरित भएका हुन् । हुनेको दैव पनि दाहिनो भनेझैं उनको व्यवसाय यति धेरै फैलियो कि केही कामदारहरूलाई रोजगारी नै दिएर राखे उनले । अब बूढो हुँदै गएपछि कति एक्लो दुःख गर्ने भनेर त्यो व्यवसाय छोरालाई जिम्मा लगाई उनले अर्को लाइन समात्ने विचार गरे ।

समाजमा प्रतिष्ठा पनि हुने, माला, अबिर, खादाहरू ओढ्न पाइने, सम्मान, पुरस्कार आदि पनि पाइने ठानेर बुढेसकालबाटै भए पनि उनको विचार साहित्य सेवा गर्नेतिर गयो । हो पनि यसो नाम पनि ता राख्नु पर्छ समाजमा ।

समाजका निकै जान्ने कहलिएका एक जना साहित्यकारकोमा यो कामका लागि गए । गएर उनले केही कविता लेख्ने आइडिया लिन खोजे, कथा लेखनको तरिका जान्न खोजे र आजकल ता गजलको बाढी आएको छ गजलतिर लाग्नु राम्रो हुन्छ भन्ने सल्लाह कतैबाट मिल्यो उनलाई । यसैले उनले गजल लेख्न पनि अभ्यास गरिहेरे । जिन्दगी भर मान्छेहरूलाई तौलने, उचाल्ने पछार्ने र पछिल्लो घडीमा काइते ब्यापार गरेर उमेर ढल्किएका उनलाई यी साहित्यका कुराहरूमा छेकछन्दै आएन । केही दिन ता मेहनत गरे तैपनि भित्रबाट उनलाई साहित्य फुटेन । खन्डै गर्दा पनि केही सिप लागेन । भनेजस्तो वाक्य फोर्न पनि उनले सकेनन् । एक दिन ता जससँग अभ्यास गर्न गएका थिए उसैसँग- “मेरो नाममा तपाईं नै केही लेखिदिनुहोस् न बरु, म यसो खर्चवर्च पनि दिइहाल्छु”सम्म पनि भने । तर स्वाभिमानी साहित्यकारले मानेनन् यस कुरालाई उनले गम्भीर रुपमा लिएनन् पनि ।

साहित्यकारले पनि उनलाई अभ्यास गराउनुको साटो “तपाईंलाई नाम राख्नै मन छ भने समाजसेवामा लाग्नुहोस् न” भनेर सल्लाह दिए । बृहस्पतिलाई अलिक हीनताको बोध हुन खोज्यो । यसैले उनी अभ्यास गर्न आउन छाडे ।

केही महिनापछि उनले आफ्नो पिताको नाममा अक्षयकोष राखेर जनस्तरबाट निकै ठुलो रासीको पुरस्कारको स्थापना गरेको खबर आयो । कुरा राम्रो थियो । साहित्यकार पनि खुसी भए । स्थानीय साहित्यकारहरूलाई प्रोत्साहनका रुपमा दिइने पुरस्कारका लागि यो अक्षय कोश राखिएको थियो ।

अरु केही पाँच सात महिना बित्ता नबित्तै उनका नाममा देशका उत्कृष्ट पत्रपत्रिकाहरूमा निकै उच्च तह र स्तरका साहित्यिक रचनाहरू छापिएको देखिन थाल्यो । यता बृहस्पतिलाई अभ्यास गराउने साहित्यकारले सोचे-“अब उनी निकै राम्रो क्षमताको विकास भएछ । हो, अभ्यास गर्दै जाँदा किन सकिन्न र ? लेखिन्छ, अभ्यास न हो सबै कुरा । मैले पनि ता पहिले पहिले अभ्यासै गरेको न हुँ ।”

एउटा कार्यक्रममा बृहस्पतिलाई साहित्यलेखनमा अभ्यास गराउने साहित्यकार र नवोदित साहित्यकार बृहस्पतिजीलाई एकै मञ्चमा विशेष अतिथिका रुपमा बस्ने अवसर मिल्यो ।सँगै बस्ने अवसर परेकोले साहित्यकारले बृहस्पतिलाई खुसुक्क सोधे- “हैन साहित्य ता निकै नै स्तरीय लेखिन्छ नि, पुरस्कार पनि थापना गर्नु भो । बधाई छ है । बडो राम्रो काम गर्नु भो । हन यस्तो स्तरीय रचनाहरू लेख्न तपाईंलाई कसरी यति चाँडै आयो ? मसँगको अभ्यासमा ता यति चाँडै विकास हुने देखिएको थिएन । कसरी लेख्न सक्ने हुनु भो ? सरस्वती माताबाट वरदान नै पो पाउनु भो कि कसो ?”

“सरस्वती माताको हैन । लक्ष्मीमाताको ।” उनले भने ।

“मेले कुरा बुझिन नि !” साहित्यकारले सोधे ।

“कसैलाई नभन्ने भए म सुटुक्क तपाईंलाई मात्र भन्छु ।” उनले ससर्त भने । बास्तवमा बृहस्पति इमानदार पनि थिए ।

“के भन्थे नि कसैलाई ? भन्नु होस् न के कारण हो यति चाँडै राइज गर्नुको ? मैले ता तपाईंबाट एक राम्रो वाक्य पनि भाँती पारेर लेखिन्छ भन्ने सोचेको थिइँन, मै मूर्ख रहेछु । तपाईंमा यत्रो प्रतिभा रहेछ ।”

“कविजी तपाईं सही नै हुनुहन्छ ।” उनले कानैमा भने । “अँ, कुरा के भने नि मैले ज्यालामा दुई जना साहित्यकारलाई राखेको छु । उनीहरूलाई राम्रो दर्माहा दिएको छु । पहिले ता तपाईंलाई पनि राख्ने मन थियो । तर तपाईं अलिक आउट डेटेड भएको कारणले नराख्ने घरसल्लाह भएकोले अरु नै राखेको छु । कुरा बुझ्नु भो नि ।”

” ए……बुझें बुझे…. ।”

“कतै नभन्नु होला ।”

“के भन्थे । तपाईंको यो तारिफ लायक कुरा ।”

यता यसरी मञ्चमा उनीहरूका माझमा कुरा चलिरहेको थियो यसै बेला उनको गजल बाचन गर्न नाम बोलाइयो । तर गजलकार बृह्स्पतिले अाफ्नो गलो ठिक नभएको जनाउ गरेर आफ्नो गजल सभामा उपस्थित एक जनालाई वाचन गर्न लगाए । यता उनैसँग बसेको साहित्यकार भने उनको गजल वाचन गरिरहेको उक्त व्यक्ति नै सायद वृहस्पतिको ज्यालादारमध्येको एक हो कि भनेर नियाली नियाली हेरिरहेका थिए ।

1 thought on “ज्यालादारी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *