सफाइ अभियान


आज सहर, टोल, नाली, घर करेसाहरु र भवनका कुनाकाप्चा आदिलाई सफाइ राख्नु पर्ने बारे बडो गम्भीर सभा भयो । सहरको मध्यभागमा रहेको सभाभवनमा सभा भएको थियो । सामाजिकको स्वास्थ्यप्रतिको चासोको कुरामा याे बहस भइरहेको थियो अनि किन सभा गम्भीर नहोस् त । बर्खाको बेला विभिन्न सरुवा रोगहरु सर्न सक्ने भएकोले सहरमा र गाउामा पनि जनचेतनाको वृद्धिका लागि सभा गरिएको थियो, भवन खचाखच थियो । समाजका ख्यातनामा नरनारीहरु, राजनीतिक हस्तीहरु र बुद्धिजीवीहरु, पत्रकार, शिक्षक कर्मचारी, प्राध्यापक आदिको ठुलो जमघट थियो ।

सरसफाइका बारेमा बहस भयो । छलफल भयो । फेस टु फेस भयो । प्रश्नोत्तर भयो । बर्खाको बेलामा गर्मीको याममा नाना थरीका रोगहरु फैलन सक्ने कुरामा सबैलाई सतर्क हुन रेडियोबाट पत्रपत्रिकाहरुबाट र पर्चा पम्प्लेटहरुको माध्यमबाट जनहितमा बल पुग्ने खालका प्रचार सामग्रीहरुको माध्यमबाट जनतालाई सरसफाइमा र खानपानमा विशेष ध्यान दिन प्रचार गर्ने सबैको सहमति भयो । खाजा पानी चिया नास्ता पछि बडो सौहाद्र्र रुपमा सभा सकियो । उपस्थित सबैले चित्त बुझाए । उपस्थित सबैले धन्यवाद पाए ।

सरसफाइ बारेको छलफल भएको सभाभवन सभा सकिएपछि एकै छिनमा सुनसान भयो । सभाभवनबाट आमन्त्रितहरु सबै बाहिर गएपछि एकै बाजि टोलछिमेक र सडकैमा बसेर जीवन गुजारिरहेका दस बार जना बालबालिकाहरु भित्र पसेर हलभरि सक्सकाउन थाले । उनीहरुका साथमा दुई तिन ओटा कुकुरहरु पनि भित्र पसेको देखियो । बालबालिकाहरु केही दुर्लभ कुराको प्राप्तिमा छिनाझपटी गर्न भनेजसरी भित्र पसे र भर्खरै समाप्त भएको सभामा उपस्थितहरुले कुर्सीमुनि फालेका पानीका रित्ता बोतल, गुट्खाका खोल, प्याक गरिएका खाजा खाएर फालिएका कागजका डब्बाहरु खोज्नमा हारालुछ भयो ।

सभामा उपस्थित भएका कसै कसैले यसै छाडेका खाजाका पुरियाहरु, पानीका बोतलहरु र गुट्खा, रजनीगन्धा र सुर्तीका रित्ता प्याकेटहरु पाएर मानौं प्रसन्न भइरहेका थिए ।

एक बालक खाजाको केही रहलपहल भएको प्याकेट भेट्टाएर भर्खरसम्म सभापति बसेको कुर्सीमा गएर ठाँटसँग बस्यो र खाजाको रहल फहल खान थाल्यो । अरु भन्दा पनि यो दृश्य हेर्न लायक थियो, अरु सबै बालबालिकाहरु कुनाकुनामा केके भे्ट्न छिनाझपट गरिरहेका थिए । तर त्यसै बेला पालेले बाहिरबाट भन्यो- “सफाइ सकियो ?”

केटाकेटी सतर्क भए ।

फेरि उसले भन्यो- “सकियो भने तिमीहरु अब बाहिर आओ ।”

नभन्दै सबै बालबालिकाहरु सतर्क भए र रित्ता प्लास्टिकका बोतल, खाजा प्याक गरेका प्याकेटका खोल लगायत्का कुडा कर्कटहरु हातमा लिएर बाहिर निस्किए । तर भित्र पसेका कुकुरहरु भने के भेटेर हो कुन्नि केटाकेटी निस्किएर गए पनि सभाभनकाे पल्लो कुनामा ङारङार र ङुरङुर गरिहेकै थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *